|
|
म्याग्दीका प्रजिअ र
स.प्रजिअको घूस प्रकरण छताछुल्ल
१२ जून, २००७ । पिप्ले गाउँ विकास समितिका तिर्थबहादुर मल्ललाई
दोहोरो नागरिकता दिलाएबापत ९० हजार रुपैंया घुस खाएको स्वीकार्दै म्याग्दीका प्रमुख
जिल्ला अधिकारी लोकराज रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराल र शाखाका कर्मचारी
बेदु सुवेदीले सोमबार सार्वजनिक रुपमा माफी मागेका छन् । उनीहरुले घुस लिएको स्वीकार
गर्दै बीरेन्द्रचोकस्थित चौतारीमा उभिएर सार्वजनिकरुपमा माफी मागेका हुन् ।
शाही शासनकालका जिविस उपसभापति अमृत श्रेष्ठले उनीहरुलाई ९० हजार घुस लिई काम गर्न
दवाव दिएको स्वीकार गरेपछि उनलाई पनि युवा विद्यार्थीले कालोमोसो दलेर प्रहरीमा
बुझाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी बरालले घुस लिएको स्वीकार गरेको समाचार
सार्वजनिक भएपछि सोमबार विहान १० बजे जिल्ला प्रशासन कार्यालय बाहिर हजारौंको संख्यामा
भिड् जम्मा भएको थियो ।

प्रजिअ नै घुसकाण्डका नाइके भएको ठहर गर्दै स्थानिय युवाको संलग्नतामा योङ्ग कम्युनिष्ट
लिग, अनेरास्वबियु र नेपाल विद्यार्थी संघले प्रशासन कार्यालय अगाडि पिपलबोटमा कोण
सभा गरेका थिए । सभालाई वाइसियल केन्द्रिय सदस्य ध्रुब घिमिरे, अनेरास्वबियुका
दिनेशशान्त बरुवाल, वाइसिएलका रेशम जुग्जाली, पूर्ण पुन, पत्रकार महासंघ सचिव
तारानाथ शर्मा, ने.वि. संघका प्रेम सि.के., स्थानिय युवाहरु सुनिलदास नेपाली, विनोद
के.सी., तथा सूर्य पुर्जाले सम्बोधन गरेका थिए । कोण सभामा उपस्थित जनताको रायमा
युवाहरुले प्रजिअ, सहायक प्रजिअ र कर्मचारीहरुलाई दलको परामर्शमा कारवाहीका लागि
केन्द्रमा जाहेर गर्ने निर्णय गर्दै जिल्ला प्रशासनमा तालावन्दी गरिदिएका छन ।
सोमबार साँझ जिल्ला सदरमुकाम स्थित विभिन्न दलका नेता र युवाहरुको बैठकले भ्रष्टचारमा
संलग्न जिल्ला प्रशासनका कर्मचारी, पूर्ब उपसभापति लगायतले घुस लिएको आम जनताहरुको
बिचमा स्विकारेकाले निज कर्मचारीलाई अविलम्ब निलम्बनमा राखी अनुसनधान र कारवाही
अगाडि बढाउन गृह मन्त्रालय र क्षेत्रिय प्रशासन कार्यालयमा पठाउने र बैकल्पिक व्यवस्था
नभएसम्मका लागि जिल्ला प्रशासनका सम्पूर्ण कामहरु बन्द गर्ने एक प्रेस विज्ञप्ति
मार्फत जनाएका छन् ।
जिल्लाका नेपाली काँग्रेस सभापति डा. भुपेन्द्रबहादुर खडका, एमाले सचिव भुपेन्द्र
थापा, माओवादी इन्चार्ज गोविन्द पौडेल, प्रजातान्त्रिक कांग्रेस सभापति नेत्रबहादुर
महत, एकिकृतका शिव श्रेष्ठ, जनमोर्चा सचिव जगत बि.क.द्वारा हस्ताक्षरित विज्ञप्तिमा
भ्रष्टचारीहरुलाई अविलम्व राज्यले नियन्त्रणमा लिई कारवाही बढाउन जोड्दार माग
गरिएको छ ।
सोमबार साँझ प्राप्त थप जानाकारी अनुसार घुस काण्डमा मुछिएका सहायक प्रमुख जिल्ला
अधिकारी नवराज वराल र नागरिकता फाँटका खरिदार बेदु सुवेदीलाई पश्चिमाञ्चल क्षेत्रिय
प्रशासन कार्यालय पोखराले मंगलबार १० बजेभित्र अनुसन्धानका लागि उपस्थित हुन निर्देशन
गरेको थाहा भएको छ । स्रोत : समुद्र पारी डटकम
|
|