देउवा–निधि दोस्तीदेखि दुष्मनी, वरियता विवादमा आखिर सबैथोक किन गुमाउँदैछन् निधि ?

कांग्रेसमा शेरबहादुर देउवा पक्षलाई नजिकबाट साथ दिंदै आएका कोही व्यक्ति छन् भने ती हुन विमलेन्द्र निधि । १३ औं महाधिवेशन अघिबाटै सभापति देउवा र निधिबीचको दोस्ती निक्कै राम्रो थियो । देउवा सभापति भएदेखि निधिले एमाले र माओवादी गठबन्धन भत्काउन हर कोसिस गर्दै भूमिका खेलेका थिए । पहिलो प्रयासमा सफल नभएपछि दोस्रो प्रयासमा निधिले गठबन्धन टुटाए । फलस्वरुप प्रचण्ड नेतृत्वको सरकारमा निधि उपप्रधान एवं गृहमन्त्री बनाइए ।
पार्टीमा देउवालाई सहयोग गर्ने मामिलमा निधि सधैं अगाडि नै रहँदै आए । कतिसम्म भने उपसभापति मनोनितमा समेत देउवाको पहिलो रोजाई निधि भएको देउवा निकट स्रोत बताउँछन् ।
तर, जब आइजिपी नियुक्तिमा देउवा र निधिबीच कुरा बाझ्यो यी दुईबीच सम्बन्ध सौहार्द भएन । देउवा जसरी हुन्छ जयबहादुर चन्दलाई प्रहरीका आइजिपी बनाउनुपर्छ भन्ने अडानमा रहे तर, निधिले रोलक्रममा रहेका नवराज सिलवालको पक्ष लिए । देउवाको जोडमा चन्दलाई आइजिपी बनाइयो । तर, सर्वोच्च अदालतले चन्दलाई आइजिपी बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि देउवालाई नराम्रो झड्का लाग्यो । यसपछि देउवा र निधिको सम्बन्धमा एकाएक धक्का लाग्यो ।
यो सम्बन्ध बिग्रिएकै बेला प्रधानमन्त्री प्रचण्डले अर्को चाल चाले । मधेसी मोर्चाले सरकार छोड्ने चर्चा गरिरहेका बेला राप्रपालाई सरकारमा ल्याउन कमल थापालाई उपप्रधान एवं स्थानीय मन्त्रीका रुपमा प्रचण्डले उभ्याए । थापालाई प्रचण्डले आफूपछिको उपप्रधानमन्त्रीको वरियता तिमी नै हौं भन्दै ढुक्क हुन आग्रह गरिरहे । यसबाट निधि झस्किए आफू उपप्रधानमन्त्री बनेदेखि नै कृष्णबहादुर महराभन्दा अघि आफू रहेको र प्रधानमन्त्रीपछिको पहिलो वरियतामा रहेकोमा निधिको जोड रहँदै आयो ।
यही विवाद बढ्दा प्रचण्ड चीन जाँदासमेत उपप्रधानमन्त्रीको पहिलो वरियता दिइएन । यसकै कारण चैत ३ गतेयता मन्त्रिपरिषद्को बैठकसमेत बस्न सकेको छैन ।
निधिलाई देउवाको रातो झण्डा !
आइजिपीको नियुक्तिमा देउवा र निधिबीच विवाद चर्केको थियो । बाहिर विवाद छताछुल्ल त भएन तर, असाध्यै राम्रो सम्बन्धम खटपट आएको भने कांग्रेस नेताहरु नै बताउँछन् ।
यस्तो बुझेपछि प्रचण्डले चाल चाल्दै थापालाई नै आफूपछिको वरियता दिने आश्वासन दिएपछि निधि तिल्मिलाएका हुन् ।
ठूलो पार्टीका रुपमा आफू पहिलो वरियतामा हुनुपर्ने भए पनि नदिइएको भन्दै निधि तीव्र असन्तुष्ट छन् । तर, देउवाले प्रचण्डलाई चिन्ता नलिन आग्रह गरेको बुझिएको विभिन्न संचारमाध्यमले जनाएका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकले त निधि नभए गोपालमान श्रेष्ठलाई गृहमन्त्री बनाएर अघि बढ्ने र चुनाव गराउने आश्वासन दिएको लेखेको छ । बिहीबार निधिले गृहमन्त्रालयमा कांग्रेसका १४ जना नै मन्त्रीलाई बोलाएर आफू कमल थापाभन्दा पछाडि बस्नुपरे राजीनामा दिने बताएका थिए । तर, कांग्रेसका मन्त्रीहरुले हतार नगरी पुनः प्रधानमन्त्री र पार्टी सभापतिसँग छलफल गर्न सुझाएका थिए ।
सबै गुम्दै निधिको
निधि देउवाको विश्वासपात्र मात्र नभएर भरोसा पनि हुन् । यसमा दुईमत छैन । तर, सत्ता र शक्तिको मादकताले यी दुईको सम्बन्ध एकाएक चिसिन पुगेपछि निधिले सबै गुमाउन लागेको जस्तो देखिएको छ । अहिले यही वरियताको विवादले निधिले उपप्रधान र गृहमन्त्रीबाट राजीनामा दिए पार्टीमा उपसभापति वा त्यो नभए महामन्त्री बन्न पाउने बाटोसमेत निधिको अन्त्य हुन सक्ने बताइन्छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment