“प्रेम”

- बिम्मी शर्मा
बिम्मी शर्मा
त्यो प्रेम नै त थियो
जब मैले मुखमा पहिलो गाँस
हाल्दै गर्दा तिमीलाई सम्झे
कँही तिमी पनि भोकै त छैनौं ।
तब मेरो आँखाबाट नुनिलो
केही भातमा झर्यो ।
त्यो प्रेम नै त थियो
जब तिमीसँगको भेटमा
मैले तिम्रो च्यातिएको शर्ट देखें
मेरो मननै फाट्यो नसिलिने गरी
म सियोधागो बनेर
तिम्रो शर्टमा संधैकालागि जोडिन चाहन्थे ।
त्यो प्रेम नै त थियो
जब झरीले धरति भिजेको रात
जाडोले काँप्दै सिरकमा गुटुमुटु हुंदा
मैले तिमी काँपेको सम्झे
त्यो रात म र धरति एकअर्कासँग
प्रतिष्पर्धा गर्दै रोएका थियौं ।
त्यो प्रेम नै त थियो
जब भूकम्पले धरति डोलायमान भयो
मैले आफुलाई सम्हाल्नु भन्दा
पैला तिमीलाई सम्झे ।
त्यो प्रेम नै त थियो
जब मैले तिम्रो मुस्कानमा
आफ्नो खुशी भेटें
तिम्रो पीडामा दुखको छाँया ।
परिस्थितिको हातको लौरो भएर
तिमी मबाट धेरै टाढा भयौ
तर पनि म भित्रका ती संवेदनाका तन्तुहरु
मरेका छैनन् ।
न तिमीले मलाई चिन्यौ
न बुझ्न नै सक्यौ ?
न मैले नै चिनाउन सके
सम्बन्ध को त्यो पुल
जसमा हामी मिलौं हिंड्यौ
भत्कियो तर टुटेन ।
त्यो पुलको एउटा छेउमा उभिएर
म तिमी फर्कि आउने आशमा
गोधूली साँझमा पर्खिबसेको छु ।
काँडाको बीचमा फ्रकिएको गुलाफझैं
तिमी प्रतिको मेरो प्रेम
मिलनमा भन्दा बिछोडमा
अझ बढी फक्रिएर गाढा भएको छ ।
जो आँसुको ओशमा भिजेर पनि
कसैको शीरको शोभा हुन मानेन ।
हो त्यही नै हो
अक्षुण र अटूट प्रेम।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment