म नेपाल फर्कनै पर्छ आमा

पुजनिय आमा, सादर ढोग छ !
म यहाँ आजका मितिसम्म आरामै छु । आशा छ, तिमी पनि सञ्चै छौ होला । परदेशी भूमिबाट तिमीलाई आज पहिलो पत्र लेख्दै छु । सायद पत्र पढ्दै जाँदा मेरो अनपेक्षित निर्णयले तिमीलाई आश्चर्यचकित पार्न पनि सक्छ । तर आमाको मन न मलाई सजिलै बुझ्नेछौं ।bomlal-giri-feature-img
आमा ! तिमी खुशी भएपनि मेरा पाठक, साथीसंगी, छिमेकी र गाउँलेले मेरो कुरा काट्न सक्छन् । सायद कसैले मलाई पटमुर्ख भन्नेछन् त कसैले वुद्धिमान पनि भन्लान । देशलाई माया गर्ने वा आफ्नो भविष्यको ख्याल नगर्ने, आफ्नो पेशा प्रति नशा लागेको वा पत्रकारिताको भूत चढेको यस्तै यस्तै उपमाहरु दिनेछन् मलाई । तर जसले जे भने पनि तर्क सहित सबैको खण्डन गर्न सक्ने बलियो आधार लिएर फर्कदैछु । हो आमा, म मेरै देश फर्कदैछु ।
bomlal-giri-4कसैको नजरमा म मुर्ख हुन पनि सक्छु किनकी म युरोपको पीआर र रातो पार्सपोर्ट त्यागेर फर्कदैछु । कसैले मलाई कत्तिन पैसा कमाउने सपना बोकेर गएको थ्यो, पसिना बगाउन सकेन अनि लाचार भएर फर्क्यो भन्न पनि सक्छन् । कसैले देशलाई आवश्यक थियो, १० वर्ष पत्रकारितामा लगानी गरेको एउटा पत्रकार स्वदेश फर्क्यो भनेर मलाई समर्थन पनि गर्लान । तर त्यो जमात निक्कै थोरै हुन सक्ला ।
मैले फर्कने निर्णय गरे भनेर सुनाउँदै गर्दा मेरा केही मिल्ने साथीहरुले समेत मलाई मुर्ख नबन्न सल्लाह दिइरहन्छन् । भन्छन्, ‘समाजले मलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ रे’ । तर आमा ! के सुन्दर भविष्यको सपना देखेर विदेशिनु नै मेरो अपराध थियो र ? मैले मेरो समाजको के बिगारेको छु र मलाई गलत नजरले हेर्नु पर्ने ? विदेशको अनुभव संगालेर स्वदेश मै सक्दासम्म केही गर्छु भनेर फर्कदा त झन मलाई सहयोग गर्नु पर्ने होइन र ?bomlal-giri-1
फेरी विदेशीने म मात्र पनि त होइन नि । पीआर र रातो पासपोर्टको आशमा अध्यागमनका कर्मचारी, सचिव र सांसदका छोराछोरी, प्रहरी अधिकृतहरु लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुलाई यही भूमिमा भेटें । राम्रै व्यवशाय गरेर बसेका व्यापारीहरु अनि सरकारी स्कुलका हेडमास्टरहरु त झन कति हो कति । मभन्दा धेरै अनुभवी र पुराना पत्रकारलाई पनि यतै भेटे । उनीहरुलाई पनि ठिक गरे भनेर त हाम्रो चाँही कुन समाजले भन्छ र ? आखिर विदेश जाँदा पनि, फर्कदा पनि समाजले सधै गलत नै सोच्छ भने त्यो समाजसँग म नै मुकाविला गर्नेछु आमा । तिमी चिन्ता नगर्नु ।
कतिपयले मलाई विदेश पलायन भएको वा विदेश भासिएको पनि भन्न भ्याए । स्वदेशमा राम्रो भविष्य नदेखेर प्रसस्तै पैसा कमाउने धुनमा युरोप छिरेको म, मनबाट त्यो पत्रकारिताको मोह हट्नै सकेन । विदेशमा बसेर पनि पत्रकारितालाई अंगाल्ने प्रयास त गरे तर सम्भव हुँदो रहेनछ । यहाँ त समयको यति धेरै महत्व हुँदो रहेछ कि, सेकेण्डका भरमा चल्नु पर्ने । फाट्टफुट्ट लेख्ने प्रयास गरेपनि नेपालमा जस्तो पत्रकारिता यहाँ कसरी सम्भव हुनु र ?
मैले सोचेको युरोप कस्तो थियो ? मैले के सपना देखेर तिमीबाट विछोडिएको थिए ? म हिड्ने बेलासम्म पनि तिमीले बाबु ! विदेश नजाउँ भन्दा भन्दै पनि जिद्धि गरेर हिडेको थिए नि । हो, आज म त्यही दिन सम्झिरहेको छु । अनि आखिर वास्तवमा कस्तो रहेछ युरोप, युरोपबाट मैले के सिके, के गुमाए त्यो त म यो छोटो पत्रमा विस्तार गर्न नसकौंला । धेरै कुरा तिमीलाई भेटेरै भन्ने छु अनि भोगेका कुरा लेख्दै जानेछु ।
अघिल्लो पटक मैले नेतालाई चिठी लेख्दा दुई जनाले निक्कै तिखा बचन बाण हानेको म कसरी बिर्सन सक्छु र आमा ? नपत्याए हेर न उनीहरुले कस्तोसम्म लेख्न भ्याएका छन् । तिमीलाई त थाहा छ नि, के म मेरो पत्रको कमेन्ट बक्समा लेखिएको जस्तै थिए त ?comment-in-articleअनुप शर्मा र विवेक दाहालले मलाई कुन आशयले मेरो नेतालाई लेखेको चिठीमा कडा प्रतिकृया जनाएका थिए, त्यो मलाई थाहा छैन । तर मलाई ती तिता बचनले सधै पोलिरहयो । मैले मेरो मन सम्हाल्नै सकिन । हरेक दिन सम्झिरहें ती प्रतिकृयाहरु । परदेशबाट मेरो नेतालाई चिट्ठी लेख्दा म नेपाल आमाले सराप्ने कपूतको सूचिमा परें अरे ।
नेपाली पार्सपोर्ट फ्याकेर शरणार्थी बनिसकेको वा बन्ने शूरमा रहेको र राष्ट्रघाती भएकोसम्मका आरोपहरुको सामना गर्नु पर्यो मैले । जसले मलाई हरपल पिरोलिरहयो । ती आरोपहरु केबल आरोप मात्र थिए, म राष्टघाती थिइन, छैन र हुन्न भन्ने पुष्टि गर्नका लागि पनि म फर्कनै पर्छ आमा, हो म फर्कनै पर्छ । र अनुप शर्मा र विवेक दाहाललाई म धन्यवाद भन्छु, जसले मलाई मेरो देश फर्कन मुड जगाईदिए ।
म नेपालमै रहँदा बिग्रेको राजनीति सुध्रेको थिएन । अहिले पनि उस्तै छ । भूकम्प र नाकाबन्दीले तहसनहस पारेको मेरो देशलाई अव त राजनीतिक नेतृत्वले सुझबुझ ढंगले अघि बढाउला भन्ने अरुको जस्तै अपेक्षा मेरो पनि थियो । तर अँह भएन । बन्द, हडताल र तोडफोड अझै जारी छ । त्यो सम्झदा त कहिलेकाँही ‘ह्या…जे सुकै होस् ! म त यतै बस्छु, पीआर लिएर मात्र नेपाल जान्छु, ४-५ वर्षमा त रातो पार्सपोट पनि आइहाल्छ । छोराछोरीको भविस्य यतै छ’ भनेर मन बुझाउने प्रयास नगरेको पनि होइन ।
‘त्यति बेलाको जमानामा काठमाण्डौमा टन्न जग्गा किनेर राख्या भए अहिले यस्तो हुन्थ्यो र ?’ भनेर बेलाबेला बाबा र हजुरबाबासँग कराउने गर्थे नि म । पछि छोराले मलाई पनि त्यस्तै भन्ने हो कि भन्ने पनि सम्झिए । तर अँ हँ, मन मान्दै मानेन् । छोराले आफ्नो भविष्य आफै खोज्नु पर्छ । त्यसैले म फर्कदैछु आमा ।
आखिर म त्यही गाउँपाखा, त्यही हरियाली अनि त्यही काठमाण्डौको धुलो, धुवा, अस्तव्यस्तता र समस्याहरुमा भिजेको मान्छे न परें । युरोपको रमझम र झिलिमिलिले कहिल्यै पनि छुनै सकेन ।
bomlal-giri-2तन विदेशमा भएपनि मनले नेपाल छोड्नै मानेन । जव युरोपमा बसेर मन सन्तुष्ट हुन सक्दैन भने मलाई युरो किन चाहियो ? पीआर र रातो पार्सपोट किन चाहियो र ? त्यसैले आमा म फर्कने निर्णयमा पुगे ।
हो मलाई कसैले पत्रकारिताको भूत चढेको भन्छ भने मलाई त्यो सह्य छ । मेरो एक दशकको लगानी छ पत्रकारितामा । मैले नाम दाम जे कमाए, कमाईन त्यो पनि पत्रकारिताबाटै । मेरो वर्तमान र भविष्य पनि पत्रकारिता । तर मैले विदेशमा जति समय जे काम गरे त्यो विल्कुल नयाँ र अनौठो थियो । मेरो जिन्दगीको नयाँ यात्रा प्रारम्भ गर्दै थिए शुन्यबाट । तर सधै मनमा एउटा कुराले बास गरिरहयो, म त्यसका लागि जन्मेकै होइन । सबैभन्दा ठूलो कुरा त आत्मसन्तुष्टि हो, जुन मैले पाउनै सकिन । त्यसो भए म युरोपमा किन बस्ने ?
मेरो सोच थियो यदि म फर्कन्छु भने म जस्तै अरु केहीलाई पनि लिएर आउँछु । तर कसैलाई ल्याउन सकिन । मेरो पत्रकारिताका सहयात्रीहरु पोर्चुगलमा रहेका हिम विष्ट र स्पेनमा रहेका कमल पराजुली, जर्मनीमा रहेकी शारदा देवकोटा उनीहरुलाई पनि फर्काउन सकिन । नेपाल फर्कौ भन्ने आँट समेत गर्न सकिन । आफ्नो जस्तै सजिलै अरुको मन बुझाउन कहाँ सकिन्छ र ?
अनौपचारिक कुराकानीमा हुन्थे, नेपालको अस्तव्यस्तता र अस्थिर राजनीतिले बिगारेको अवस्था सुध्रेकै छैन । विजुली, पानी, पेट्रोल, ग्यास जस्ता आधारभूत आवश्यकताको समस्या पनि ज्यूँका त्यूँ छन् । त्यसैले त जाउँ भन्न सकिन र एक्लै फर्कदैछु । तर अहिले सुन्दैछु, काठमाण्डौं त लोडसेडिङ मुक्त भएको छ अरे । त्यसले त झन मलाई घर फर्कन प्रेरित गरेको छ । अरु यस्तै सुधार हुँदै जान्थ्यो भने कति नेपाली मनहरु स्वदेश फर्कन आतुर हुन्थे होला !
झण्डै एक वर्ष अघि विदेशिदै गर्दा मेरो पत्रकारिताको माध्याम र क्षेत्र बदलिएको र केही समय सकृय पत्रकारिता गर्न नसके पनि आवाजबाट नभई कलमबाट भेट्ने र नेपालबाट नभई युरोपबाट लेख्ने घोषणा गरेको थिए । आज फेरी त्यही दिनको याद आएको छ । अव नेपाल फर्केर कुनै मिडियाले मलाई काम दिएछ भने पत्रकारिताको भविष्य नेपालमै खोज्ने छु ।
संघर्ष गर्नेछु, मनलाई बुझाउने प्रयास गर्नेछु । अनि छ्टिै फेरी पहिले जस्तै आवाज र कलमबाट मेरा पाठक र श्रोतालाई भेट्ने छु अनि आफूलाई अभ्यस्त बनाउने छु पत्रकारिता मै । आमा, घर फर्कदा तिमीलाई केही उपहार ल्याउन सकिन, चित्त नदुखाउ ल । बरु युरोपमा नेपालीले भोगिरहेका पीरव्यथा, शोषण, दलाली, वेरोजगारी, जातीयता र क्षेत्रीयताले विथोलेको राजनीतिक प्रभाव अनि उन्नती र प्रगतीका गाथाहरु लिएर आउँदैछु ।
आ-आफ्नो भोगाई अनि बुझाई हो मैले यो पटक पनि विदेशिने तर्खरमा रहेका हजारौं नेपालीलाई रोक्ने आँट गर्न सकिन अनि विदेशमा भौतारिरहेका अनेक दुःख कष्ट र हण्डर खाएका कसैलाई पनि स्वदेश फर्कौ भन्न सकिन । त्यसैले आमा, म एक्लै फर्कदैछु, छिट्टै फर्कदैछु ।
उही अाज्ञाकारी छाेरा बाेमलाल गिरी, हाल युराेप
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment