दक्षिण एसिया पूर्वतिर सर्किँदा

- नारायण वाग्लेे
नयाँ दिल्लीमा अमेरिकी राजदूतको निवास पस्दा सुरूमै म झस्किएँ। त्यहाँ त नेपालका लागि राजदूत अलाइना बी. टेपलेट्ज पो उभिरहेकी थिइन्। 
सुरक्षा जाँच पार गरेर फराकिलो आँगन हुँदै रूजबेल्ट हाउसभित्र पुग्दा साँझको सत्कार सुरू भइसकेको थियो। पेयका ग्लास तथा खाजाका ट्रेहरूको बाक्लो आवतजावतबीच म भारतका लागि राजदूत रिचार्ड बर्मालाई हेर्ने उत्सुकतामा थिएँ।
राष्ट्रपति ओबामाले भारतीय मूलकै विद्धानलाई उदाउँदो शक्ति राष्ट्रसँग सम्बन्ध कसिलो बनाउन दिल्ली पठाएका थिए। अग्ला, खिरिलो ज्यानका, गाला टाँस्सिएका अधवैँशे राजदूत आफैँ स्वागत समारोहको आयोजक भएर पनि देखा पर्न बाँकी नै थियो।
अमेरिकी संस्था इष्टवेष्ट सेन्टरको अन्तर्राष्ट्रिय मिडिया सम्मेलनका आयोजकमध्ये एउटीले मलाई ईशारा गर्दै काठमाडौंबाट आइपुगेकी राजदूतसामू हाजिर गराइन्। ‘मैले त तपाईँको यता सरूवा भएछ कि भन्ठानेको,’ मैले उनीसँग हात मिलाउनासाथ हाँसो गरेँ।

कहाँ हुनु भन्दै राजदूत टेपलेट्जले आफ्ना सहायक मन्त्रीलाई साथ दिन दिल्ली आइपुगेको बताइन्। भर्खर एउटी सहायक मन्त्रीले नेपाल भ्रमण गरेकी थिइन् भने दुई जना अरू सहायक मन्त्रीहरू त हाम्रै सम्मेलनका लागि आइपुगेका थिए।
नेपाल भ्रमण गरेकी सहायक मन्त्री निशा देसाई विसवाल भारतकै गुजरातमा जन्मेकी थिइन्। उनले काठमाडौं छँदा अन्तर्वार्ता दिँदै नेपालबाट भारत वा चीनलाई चियाउने अमेरिकी नीति नभएको सफाई दिँदै थिइन्। 
टेपलेट्जले पो सोधिन्, ‘बरू के छ नेपालको खबर ?’
‘राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण स्थगनको समाचारले काठमाडौंलाई खल्लो बनाएको छ,’ मैले भनेँ।
‘निश्चित खबर हो ?’ उनले सोधिन्, ‘वा, आउने नै निधो पनि भइसकेको थियो र ?’
यसअघि तत्कालीन प्रधानमन्त्री बेन जिआबाओको भ्रमण पनि एक दिनअघि मात्र सार्वजनिक भएको सुनाउँदै मैले भनेँ, ‘स्याटसुट्ट आएर पाँच घण्टा बसीवरी उडिहाले।’
त्यहीबेला एकजना अमेरिकी हामी सामू टुप्लुकिएर दक्षिण एसियामा चीनको प्रभावबारे जान्न हामीलाई उकास्न थाले। मैले राजदूतलाई बोल्न उकेरा लाएँ, उनको राय बुझ्ने मेरो पनि चाख थियो। कूटनीतिकर्मीहरू किन त्यसरी सार्वजनिक ठाउँ आफ्नो मन अरूलाई चोर्न दिन्थे र ? उनले त्यो प्रश्न मैतिर पन्छाइन्।
चीनले दक्षिण एसियातिर आँखा लाउँदै भारत घेर्न खोजेको, भारतले पूर्वी एसियातिर आँखा लाउँदै चीन घेर्ने अमेरिकी नीतिलाई सघाउन लागेको, अमेरिकाले चीन र भारतबीच सन्तुलन खोजेर आफू एकल विश्वशक्ति रहिरहन चाहेको भन्ने टिप्पणी आजकल कूटनीतिक गाईँगुईँमा सीमित छैन।
ती प्रश्नकर्ता पर सरेपछि हामी नेपालतिर फक्र्यौँ। उनी हालैको मुस्ताङ पदयात्राबाट मोहित भएको बताउन थालिन्। आन्तरिक राजनीतिक स्थितिबारे साधारण विचार साटासाट गर्दा उनले हाँस्दै भनिन्, ‘मैले त काठमाडौं आएको एक वर्षमा तीन–तीनजना प्रधानमन्त्रीसँग काम गर्न पाएकी छु।’
सालाखाला वर्षको एउटा प्रधानमन्त्री उत्पादन गर्ने देशका दुई बलिष्ठ छिमेकीहरू भने केन्द्रीय सत्ताको स्थायीत्वसँगै विश्व शक्ति बन्ने होडमा कसरी अग्रसर छन् भन्नेबारे भोलिपल्टदेखि सम्मेलनमा छलफल हुनेवाला थियो।
ती दुई देशको उदयसँगै छरछिमेकमा बढ्दो घच्चमच्चले दक्षिण एसिया र पूर्वी एसियालाई कता लैजाँदैछ र दक्षिण एसिया आफैँ पनि पूर्व वा पश्चिम कता सर्छ भन्ने तय गर्न कूटनीतिक मनसुनका बादल मडारिने याम थियो।
बदलिँदो भूराजनीतिको एउटा केन्द्रमा रहेको भारतलाई प्रधानमन्त्री मोदीले अमेरिकी कित्तातिर सार्दै थिए। कित्ताबन्दीको विरोधमा जन्मेको असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा पहिलोपल्ट भारत सहभागी हुँदै थिएन। पाकिस्तानलाई सबक सिकाउन सार्क सम्मेलनमा भाग नलिने निर्णय गर्दै थियो र आफ्नो निर्णयमा पाकिस्तानबाहेकका दक्षिण एसियालीहरूलाई जुटाउँदै थियो।
अनि, आफैँ आयोजक भएको चीन, रूस, ब्राजिल, दक्षिण अफ्रिका सम्मिलित विकासोन्मुख अर्थतन्त्रहरूको ‘ब्रिक्स’ सम्मेलनमा दक्षिण एशियाका आफू अनुकूल मुलुकलाई पूर्व एशियाका निकटतम् छिमेकीहरूसँग मिसाउने ‘बिमस्टेक’ बलियो पार्न खोज्दै थियो।
भारतीय भूरणनीतिक विश्लेषक ब्रम्ह चेल्हानीका शब्दमा भारतका लागि सार्कभन्दा बिमस्टेक अनुकूल छ किनभने सार्क ‘कृत्रिम क्षेत्रीय ढाँचा’ हो। भारतका लागि ‘प्राकृतिक क्षेत्रीय खाका’ ठूलो र व्यापक छ भन्ने उनको टिप्पणी छ।
दक्षिण एसियाबाट नेपाल र भुटानजस्ता भूपेरिवेष्टित छिमेकी मिलाएर बंगलादेश, श्रीलंका, म्यान्मार र थाइल्याण्डजस्ता समुद्रतटीय क्षेत्र ‘राम्रो विकल्प’ भन्ने चेल्हानीले दिल्लीको मानसिकता प्रदर्शन गरेका छन्। सार्क छलेर गोवामा जारी ब्रिक्स र बिमस्टेक सम्मेलनमार्फत् भारतले आफूलाई निकट अनुकूलका छिमेकी र विश्व अर्थतन्त्रका शक्तिहरूबीच एकसाथ पूल बाँध्न खोजेको छ।
यसका दीर्घ असरहरू त क्रमशः देखिँदै जाने नै छन्। प्रतिक्रियामा पाकिस्तानले पश्चिम तथा उत्तरतिरका छिमेकीहरूको संगठन बनाउने अभिप्राय राखेको छ र चीनसहितको क्षेत्रीय समन्वय बढाउने गरी भारतलाई पाखा पार्न चाहँदैछ। चीन र पाकिस्तान मिलेर पश्चिमतिर गठजोड गर्ने र यता भारतले पूर्वी एसियातिर दक्षिण एसियालाई जोड्ने उपक्रम चल्दा भारत र चीनका दीर्घकालीन स्वार्थका छायाँ भूराजनीतिमा सर्किँदै जाने निश्चित छ।
यही बेला, सार्कले आफ्नै अस्तित्व कसरी रक्षा गर्छ वा यसको सान्दर्भिकता कसरी सिद्ध भइरहला भन्ने प्रश्न अहम् हुन थालेको छ। भारतीयहरू भने एकातिर क्षेत्रीयतावाद्को नारा दिँदैछन् भने अर्कातिर दक्षिण एसिया भनेकै के हो र को–को हुन् भन्नेमा मथिङ्गल चलाउँदै पनि छन्।
राजदूत बर्माको आगमनसँगै कसैले ग्लासमा टिनटिन बजायो र हामी सबै ती भद्रका सामुन्ने तल भव्य र खुला बगैँचादेखि फराकिलो भ¥याङसम्म तरेली पर्दै उभियौँ। उग्र प्रदूषणले दिल्लीको धुम्म आकाश वर्षे पानी दर्के पनि छिटाहरू आफैँ अलपत्र पर्लान् भन्ने आभाष दिँदै थियो।
अमेरिका र भारतबीच बढ्दो भाइचारा सुहाउँदो भावभङ्गीमा प्रकट गर्दै राजदूत बर्मा उभिएका थिए। उनले आफ्ना विदेश मन्त्री जोन केरीको भर्खरको दिल्ली भ्रमणमा बृहद् रणनीतिक तथा व्यापारिक संवाद भएको तथा ओबामा र मोदीबीच केही दिनकै अन्तरालमा विभिन्न शिखर सम्मेलनहरूका क्रममा द्धिपक्षीय वार्ताहरू भएको उभीउभी स्मरण गर्न भ्याए।
हालको अमेरिका–भारत सम्बन्धलाई इतिहासकै हौसलापूर्ण अवधिको संज्ञा दिँदै उनले तारन्तारका भ्रमण र वार्ताहरूप्रति लक्ष्य गरे, ‘एउटा राजदूत र उसको टोलीलाई पूरै थकाउन यो काफी छ।’ 
त्यसपछि उनले इष्टवेष्ट सेन्टरका अध्यक्ष चाल्र्स मरिसनलाई बोल्न बोलाए। मरिसनले अमेरिका र भारतबीच सद्भावनाको विशाल भण्डार भएको उल्लेख गर्दै लोकतन्त्र, नागरिक शासन र अभिव्यक्ति स्वतन्त्रताका साझा मूल्यहरूको प्रशंसा गरे। त्यति भन्दै उनले टोष्ट गर्न आफ्नो ग्लास उचालेका के थिए बर्माले झल्याँस्स भएर भीडमा निहुरिँदै र हतारिँदै बारतिर लुसुक्क पाइला चाले।
केही वर्षयता अमेरिका र भारतका कूटनयिकहरूको व्यस्ततासँगै आपसी चालढाल घनिष्ठ बन्दै छ। शीतयुद्धसम्म परस्पर विपरीत ध्रुवमा रहेका यी दुई मुलुकले पाकिस्तानसँग अमेरिकी साँठगाँठका कारण पनि एकार्कालाई विश्वास गर्थेनन्। पाकिस्तानसँग अमेरिकाको मोहभङ्ग हुँदै जाँदा दुबै अहिले अंकमाल गर्ने सम्बन्धमा छन्।
भारत–अमेरिका द्विपक्षीय सम्बन्ध ‘इतिहासको हिच्किचाहटबाट मुक्त’ भन्ने प्रधानमन्त्री मोदीलाई उद्धृत गर्दै सम्मेलनमा अमेरिकी उपसहायक मन्त्री एञ्जेला एग्ग्ेलेरले आफ्ना राष्ट्रपति ओबामालाई पनि सम्झिइन् जसले भनेका थिए, ‘अमेरिका–भारत सम्बन्ध एक्काइसौँ शताब्दीको एउटा सर्वाधिक उल्लेखनीय विकास हो।’
भेटघाट र भलाकुसारी त सतहमा देखिने कूटनीतिक अभ्यास हुन्। आपसी स्वार्थवशः यी दुई मुलुक समकालीन विश्व व्यवस्थाको अवश्यम्भावी परिवर्तनको लगनगाँठो कस्न स्वतः प्रेरित हुँदै आएका छन्। स्वार्थ उही साझा छ, चीन।
भन्न त अर्का अमेरिकी उप सहायक मन्त्री वाल्टर डगलसले आफ्नो सैन्य उपस्थितिलाई एसिया प्रशान्त क्षेत्रमा अमेरिकाको ‘परम्परागत सुरक्षा सुनिश्चिय गर्ने भूमिका’ भने। चीनलाई दृष्टिगत गर्ने आफ्ना गतिविधि नभएको प्रष्टीकरण दिँदै उनले भने, ‘अमेरिका चीनसँग शीतयुद्धमा छैन।’ भारतसँग बढ्दो तालमेलले अमेरिका कसरी हुन्छ चीनसँग रणनीतिक सन्तुलन कायम गर्न उद्यत छ भन्ने बुझ्न सम्मेलनको शीर्षक आफैँमा एउटा सन्देश थियो, ‘साउथ एसिया लुकिङ इष्ट’।
अमेरिकाका लागि साउथ एसिया भनेको इण्डिया।
भारतको केही वर्षयता ‘लुकिङ इष्ट’ विदेश नीति नै छ। नारा दिन सिपालु प्रधानमन्त्री मोदी ‘एक्ट इष्ट’ भन्दैछन्। हामी दिल्लीमा जम्मा हुँदा उनी दक्षिण पूर्वी एसियाली मुलुकका नेताहरूको लाओस् शिखर सम्मेलनमा थिए।
हाम्रो छलफलको मुख्य सत्रमा भारतले पूर्व हेर्ने सम्भावनाबारे मन्थन चल्यो। दक्षिण र पूर्व एसियाबीच राजनीतिक/सुरक्षा सम्बन्ध शीर्षकमा।
भारत साह्र्रै सुस्त भयो, सुस्त हात्ती डेग चल्दैन भन्ने भान पार्दै थाइल्याण्डका विश्लेषकले माहोल तताए। ‘भारत, कृपया छिटो पूर्वी एसिया आउनोस्, ठोस विचार र कार्ययोजनासहित,’ बैंककको अग्रणी दैनिक ‘नेसन’का एकजना सम्पादक तथा चुलालोङकर्न विश्वविद्यालयअन्तर्गत रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन संकायका अनुसन्धाता कवी चोङकित्ताभर्नले भने, ‘तपाईँहरू खालि लुक इष्ट भन्नुहुन्छ, अब एक्ट इष्ट गर्नुहोस्।’
पूर्वी एसियामा उपलब्ध अवसर छोप्न भारतको आनाकानीप्रति उनले कटाक्ष गरेपछिको अर्को सत्रमा बोल्न आएका भारतीय विदेश सचिव एस जयशंकरलाई एकजना भारतीय सहभागीले त्यही सोधिदिए। किन हो भारतको यस्तो सुस्त चाल भन्ने उक्त टिप्पणी सुनाउँदै त्यसबारे सरकारको धारणा मागे। ‘सायद् हो,’ उनले स्वीकार गरे।
भारत भूराजनीतिक चौबाटोमा उभिएको र पूर्वी एसियासँग जोडिने यसको क्षमताले एसियाली भूदृश्य परिवर्तन गर्ने टिप्पणी जयशंकरले गरे। ‘चार दशकको मेरो भारतीय कूटनयिक जीवनमा,’ उनले भने, ‘पूर्वतिरको यो जोड सबभन्दा ठूलो परिवर्तन हुँदैछ।’
जयशंकर आफैँ चीन, जापान र सिंगापुरस्थित नियोगमा काम गरेको अनुभवका आधारमा आत्मविश्वास प्रकट गर्दै थिए। दक्षिण एसिया पूर्वतिर मुखरित हुँदाको रणनीतिक प्रभाव हेर्न बाँकी छ र त्यसको द्रूतताले निश्चयै (विश्वको) बढी ध्यानाकर्षण गर्नेछ भने, उनले।
त्यो भनेको चीनले कस्तो रवैया अपनाउँछ भन्ने हो। भारत र चीनको सम्बन्ध जटिल रहेको मुखर गर्दै उनले भारतको ‘एक्ट इष्ट’ नीतिबारे कुनै पनि बहस गर्दा चीनसँगको सम्बन्ध स्वतः आकर्षित हुने बताए। भारत–चीन सम्बन्धले विश्व राजनीतिमा ज्यादा पार्न सक्ने प्रभावका कारण पनि भूराजनीतिका बदलावहरूप्रति उनले संकेतमात्र गरे।
भारत र चीनबीच औपचारिक सम्बन्धमा पछिल्लो समय पाकिस्तान एउटा विषय भएको छ। चीन–पाकिस्तान बढ्दो सहयोग र समन्वयप्रति भारत सशंकित हुँदै जाँदा पाकिस्तानी आतंककारीलाई राष्ट्र संघ सुरक्षा परिषद्बाट अनुमोदन गराउन चीनले भिटो प्रयोग गरी रोकिरहेको भन्नेमा भारतको पछिल्लो चित्त दुखाई छ।
जयशंकरले त्यसैलाई संकेत गर्दै भारत र चीनबीच एक अर्कासँग स्वार्थ नबाझिने विषयमा मतैक्यताको दरकार औँल्याए। 
चीन आफैँ भारतसँग कुनै पनि बेला कुनै पनि निहुँमा तनाव उत्पन्न हुन सक्नेमा होशियार छ। उसले साउथ चाइना सीमा मात्र भर नपरी बन्दरगाहसम्म पहुँचका लागि पाकिस्तानलाई पूरै दक्षिण–उत्तर चिरेर द्रूत आवागमनको बाटो बनाउने सम्झौता गरेको छ। त्यसबाट उसले आफ्नो पश्चिमी भूभागलाई समुद्री व्यापारसम्म जोड्न सक्छ र दुबैतिरको पहुँचबाट विश्व व्यापारमा पकड बढाउन सक्छ। 
व्यापार र लगानीसँगै चीन र पाकिस्तानको बढ्दो तालमेलले सुरक्षा रणनीति पनि अख्तियार गर्ने नै छ।
आफ्नो बोल्ने पालोमा चिनियाँ विश्लेषकले भारतसँगको सम्बन्धमा मात्र जोड दिए। चीनको प्रमुख दैनिक ‘चाइना डेली’का सहायक प्रधान सम्पादक सी सोङसिनले भने, ‘हामी दुबै मुलुक अझै निकै विपन्न छौँ,’ उनले भने। दुबैले आफ्नो इतिहासको सम्बन्ध पुनस्र्थापित गर्नु श्रेयष्कर रहेको मान्यता राख्दै उनले ‘गलत सुरक्षा आकलन’बाट जोगिन दुबैले आपसी संलग्नतामा जोड दिनु आवश्यक छ भने।
उता दक्षिण पूर्वी एसियाली मुलुकहरू र चीनबीच उतारचढावपूर्ण सम्बन्ध छ। अमेरिकाले आसियान क्षेत्रलाई उचालेर आफूलाई घेर्ने नीति लिएको चीनको गहिरो गुनासो छ। चीनले अविराम समुद्री पहुँचका लागि आफूहरूलाई प्रभाव क्षेत्र बनाउन खोजेको आसियान मुलुकहरूले ठान्ने गरेका छन्। जयशंकरले आफ्नो मन्तव्यमा पूर्वी एशियासँग भारतको समुद्री सम्पर्क रहेको र त्यसको सुरक्षाका संरचनाहरूमा जोड दिइएको उल्लेख गर्न छाडेनन्।
हिन्द महासागर र प्रशान्त महासागरबीच मुख्य चिनियाँ ध्यान रहेको ‘साउथ चाइना सी’लाई लिएर चीन र आसियानबीच खचपच चल्दै आएको छ। चीनको व्यापारका लागि त्यो मेरूदण्ड हो भने त्यस क्षेत्रका छिमेकीहरूसँग उसको कठ्याङ्ग्रिदो सम्बन्धमा अरू बाहिरिया पसेर भूराजनीति वा जलराजनीतिको रणनीतिक चाल नगरून् भन्नेमा उसको सरोकार समुद्रमा उफ्रिएको बेलाको ह्वेल माछाझैँ छर्लङ्ग देखिन्छ। 
अमेरिकाले त्यसै पनि आफ्नो सैन्य उपस्थिति रहेका पूर्वी एशियाली मुलुकहरूसहित थपसँग सामरिक सम्बन्ध कस्न खोज्दैछ भने त्यही साउथ चाइना सीलाई लिएर चीनको बढी विवाद रहेकोमध्येको भियतनामसँग भारतले हालैमात्र सैन्य समझदारी कायम गरेको छ।

‘आसियान चीनसँग डराएको होइन, म यो कुरा दोहो¥याएर भन्छु,’ थाइल्याण्डका कवीले आफ्नो पालामा भनेका थिए, ‘लजाएको अवश्य हो।’
चीनको उदयसँग पूर्वी एसियाका देशमध्ये सबभन्दा सशंकित त जापान नै छ। ‘चीनको एकलवादका कारण उसको उदयबाट सशंकित हुनुपरेको’ टोकियोस्थित कियो विश्वविद्यालयका कानूनका प्राध्यापक योशिहिदे सोइयाले खुलाए। कुनै बेला शक्तिशाली जापानको उपनिवेश बन्नुपरेको पीडा ओकल्ने गरेको चीनलाई आफूहरूले आधुनिकीकरण गर्न सघाउँदा ठूलो आशा र अपेक्षा राखेको बताए। 
‘आर्थिक रूपमा विकसित चीनले सामाजिक र राजनीतिक स्थायीत्व पाउला भन्ने हामीले ठानेका थियौँ,’ उनले भने।
त्यही जापानी तथा पूर्वी एशियाली मुलुकहरूको संशयपूर्ण मनस्थितिलाई सम्बोधन गर्नमात्र होइन, अमेरिका आफैँलाई पनि आश्वस्त पार्न अमेरिकी विश्लेषकहरूले चीनको उदयबाट लाभ लिनु पर्ने वकालत गर्न थालेका छन्।
तत्कालीन विदेशमन्त्री कन्डोलिजा राइससँग विदेश मन्त्रालयमा दक्षिण एसिया नीति निर्मातामध्येकी अञ्जा मनुएल तिनैमध्ये पर्छिन्। चीनलाई विश्वासमा लिएरै हिँड्नु पर्ने र उसको उदयमा सम्पूर्ण साथ दिनु पर्ने उनको दलिल छ।
तत्कालीन विश्वशक्ति बेलायतले उदारतापूर्वक उदीयमान अमेरिकाको संक्रमणलाई समस्त भरथेग गरेको उदाहरण दिँदै मनुएलले भनिन्, ‘हेर्नोस् आज बेलायत रणनीतिक रूपमा अमेरिकासँगै छ। हामी चीनलाई पूरै सहयोग गरौँ, भोलि अमेरिका र चीनको सम्बन्ध पनि त्यस्तै हुनसक्छ।’
चीनमात्र होइन, भारतलाई पनि सघाउने र अझ भारतसँग ज्यादा घनिष्ठ सम्बन्ध हुन सक्ने तर्कसहितको उनको पुस्तक ‘दिस ब्रेभ न्यू वल्र्ड’ भर्खरै प्रकाशित छ। त्यसमा उनले भारत, चीन र अमेरिकाले एकसाथ गर्न सक्ने उपायहरूको वर्णन गरेकी छन्।
उनी तीनवटै देश विश्वशक्तिका रूपमा स्थापित हुँदा अमेरिकाको प्रभाव कम नहुने जिकीर गर्छिन्। चीन र भारतको बढ्दो हैसियतको कदरस्वरुप ती मुलुकका असुरक्षाको भावना घटाउँदै लैजानुपर्ने र अन्ततः विश्व तीन शक्तिशाली राष्ट्रको सन्तुलनमा रहने उनको मजबुन छ।
तपाईँ त्यसो भन्नुहुन्छ तर अमेरिका आफैँ राष्ट्रपतीय निर्वाचनका उम्मेदवारहरूको बहसबाट विवादित देखिन्छ नि भन्ने प्रश्न उनले सामना गर्ने नै भइन्। हिलारी क्लिन्टन एकथोक भन्छिन्, डोनाल्ड ट्रम्प ठ्याक्कै अर्को थोक। त्यस्तोमा अमेरिकाले चीन र भारतलाई कसरी साथ देला त ?
‘म हाँसिरहेकी छु,’ निर्वाचनका बहसहरूप्रति निस्पृह उनले भनिन्, ‘नत्र म रोइरहेकी हुने थिएँ।’
विश्व मामिलामा राष्ट्रपति ओबामाभन्दा क्लिन्टन अझ दह्रो हुने उनले अनुमान गरिन्। ‘ट्रम्पले त विश्वव्यापीकरणबाट लाभान्वित हुन नसकेका अमेरिकी धारणाहरू उजागर गरेका हुन्,’ उनले भनिन्, ‘त्यस्ता धारणाहरू जबर्जस्त छन्।’
ट्रम्पले जितिहाले भने पनि केही छैन भन्ने आशय उनीपछिका अर्का वक्ता भारतीय लेखक तथा विश्लेषक सी राजामोहनले प्रकट गरे। ‘ट्रम्पले विश्वव्यापीकरणका शक्तिहरूलाई अमेरिकाको संस्थापन भनेका छन्, त्यसप्रति आशक्त नभएकाले उनी विश्व मामिलामा कम संलग्न हुनेछन्,’ उनले भने, ‘त्यो हामीलाई राम्रै हो। यतिका वर्षसम्म अमेरिकाको आलोचना गर्ने सुविधा हामीलाई 
थियो, अब हाम्रो आफ्नै भूमिका हुनेछ।’
अन्तर्राष्ट्रिय मञ्चमा भारतको बढ्दो भूमिका नियालिरहेका राजामोहन त पछिल्ला दिनमा सार्कको उपादेयता नै कम भइसकेको लेख्न थालिसकेका छन्। बरू पाकिस्तानबाहेकका दक्षिण एसियालीहरूलाई लिएर पूर्वी एसियातिरको आर्थिक सम्बन्धको सम्भावना बढाउनु पर्ने दिल्लीको दृष्टिकोण उनी प्रकट गर्दैछन्।
उनले दक्षिण एसिया भन्ने शब्दमै प्रश्न गरे। दक्षिण एसिया वा पूर्वी एसिया भन्ने पुराना शब्द होइनन्। ‘यी त दोस्रो विश्वयुद्धपछि विकास भएका अवधारणा हुन्,’ उनले भने, ‘पूर्वी एसियाली अर्थतन्त्रहरूसँग भारतको पहिल्यै बलियो सम्बन्ध थियो।’
दक्षिण एसिया, पूर्वी एसियाजस्ता सतही अवधारणाबाट मुक्त भएर बरू भारत, चीन, जापान, अमेरिका यस क्षेत्रका मतभेद कम गर्न सक्छन् कि सक्दैनन् भन्ने महत्वपूर्ण सवाल हो भने, उनले। 
भारतले सार्कप्रतिको प्रतिवद्धताबाट औपचारिक रूपमा मुख फर्काएको छैन। मोदीले क्षेत्रीयतावादको प्रवद्र्धन गर्दा दक्षिण एसियामा सम्पर्क र सम्बन्ध बलियो हुने र भारतको समृद्धिबाट छरछिमेकीले लाभ लिने बताउने गरेका छन्।
विदेश सचिव जयशंकरले पूर्व एशियातिर जोड दिँदा दिँदै पनि दक्षिण एसियामा भारतीय नीतिप्रति छरछिमेकीको सह्रानाको अपेक्षा ओकले। दक्षिण एसिया आपसमा घनिभूत भयो भने ‘अन्तर्राष्ट्रिय मञ्चमा उच्च महत्वसाथ उपस्थित हुने’मा उनले विश्वास त जनाए तर त्यो दक्षिण एसिया भनेको के हो भारतले छरछिमेकसँग सायद परामर्श गरेको छैन।
दक्षिण एसियाको आफू अनुकूल हिस्सालाई पूर्वतिर जोड्ने भारतीय नीति ब्रिक्स र बिमस्टेकको गोवा सम्मेलनपछि अझ बहसमा आउने छ। विश्व मामिलामा आफ्नो हौसियत बढाउने मोदीको अहम् सक्रियतालाई अमेरिकी आड अहिलेको वास्तविकता हो।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment