साढे सात करोड राजश्व सङ्कलन

गएको आर्थिक वर्ष २०७२÷७३ मा म्याग्दी जिल्लामा झण्डै साढे सात करोड राजश्व सङ्कलन भएको छ । गएको एक वर्षको अवधिमा म्याग्दीमा विभिन्न कार्यालयहरुमार्फत कुल सात करोड ४७ लाख एकजार २०२ रुपैयाँ राजश्व सङ्कलन गरिएको हो ।
सङ्कलित राजश्वमध्ये सबैभन्दा धेरै कोष तथा लेखा नियन्त्रक कार्यालयमा तीन करोड ३३ लाख ७७ हजार ४१७ रुपैयाँ ७३ पैसा सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीले जनाएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालयले दुई करोड पाँचलाख ६७ हजार १८९ रुपैयाँ २० पैसा, मालपोत कार्यालयले ६३ लाख ३५ हजार ६७४ रुपैयाँ ८० पैसा र जिल्ला शिक्षा कार्यालयले ४० लाख ४८ हजार ३९३ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
IMG_0021(1)
त्यस्तै जिल्ला विकास समितिको कार्यालयले ३० लाख ८९ हजार ५८३ रुपैयाँ ३९ पैसा, जिल्ला ट्राफिक प्रहरी कार्यालयले १८ लाख ५२ हजार तीनसय, घरेलु तथा साना उद्योग विकास समितिले १६ लाख ४२ हजार ४७५ रुपैयाँ, म्याग्दी जिल्ला अदालतले १४ लाख ८३ हजार ६८५ रुपैयाँ ७४ पैसा, जिल्ला हुलाक कार्यालयले सातलाख ८१ हजार १४३ रुपैयाँ र नापी कार्यालयले चारलाख ३१ हजार ८८० रुपैयाँ राजश्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रक युवराज पौडेलले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा थोरै राजश्व सङ्कलन गर्नेमा जिल्ला भू–संरक्षण कार्यालयले एकहजार ६७५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । जिल्लामा रहेका २३ ओटा सरकारी कार्यालयले राजश्व सङ्कलन गर्दै आएका छन्भने बाँकी ६ ओटा कार्यालयको राजश्व शुन्य रहेको उनको भनाई छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले मदिरा र सुर्तिजन्य पदार्थको अन्तः शुल्क र अन्य कार्यालयको सामाजिक सुरक्षा तथा पारिश्रमिक कर सङ्कलन गर्दै आइरहेको छ । राहदानी शुल्क, मालपोत रजिष्टेशन दर्ता, उद्योग दर्ता, मुद्दा मामिला जरिवाना, टेण्डर आह्वान, परीक्षा शुल्क र टिकट बिक्रीलगायतका कार्यबाट राजश्व सङ्कलन हुने गरेको कोष नियन्त्रक पौडेलको भनाई छ ।
गत आर्थिक वर्ष २०७१÷७२ मा कुल ८ करोड १३ लाख राजश्व सङ्कलन भएकोमा यसवर्ष राजश्व सङ्कलन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष राजश्व घट्नुमा राहदानी कम सिफारीस, उद्योग दर्ता तथा नवीकरणमा कमी, परीक्षा दस्तुर कम उठ्नुलगायतका कारण रहेको बताइएको छ । आन्तरिक राजश्व कार्यालय भएको ठाउँमा सोही कार्यालय र नभएको ठाउँमा कोष तथा लेखा नियन्त्रक कार्यालयले जिल्लामा राजश्व सङ्कलन गर्दै आइरहेका छन् । प्रताप बानियाँ
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment