भारत र चीनमा पुरानै राजदूत पठाउने तयारी

भारत र चीनमा पुरानै राजदूत पठाउने तयारी
सरकारले भारत र चीनमा पुरानै राजदूत पठाउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार, मन्त्रिपरिषद्ले पूर्णता पाउनासाथ भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि डा। महेश मास्केको नाम राजदूतमा सिफारिश हुनेछ ।

दुबै देशमा रहेका नेपाली दूताबास नेतृत्वविहीन छन् । यस्तो बेलामा दुई उपप्रधानमन्त्रीलाई सरकारले विशेष दूतका रुपमा ती देशको भ्रमणमा पठाउन लागेको छ । यसबाट सरकारले दुबै देशसँगको सम्बन्धलाई उच्च महत्व दिएको देखिन्छ ।

स्रोतले भन्यो, ‘यसअघि संकटपूर्ण अवस्थाा पनि सम्बन्धित देशका उच्च अधिकारीहरुसँग राम्रो सम्बन्ध राखेका र सक्दो रुपमा सकारात्मक पहल गरेका कारण दुबै देशका लागि निवर्तमान राजदूतहरुलाई नै पठाउने गृहकार्य अघि बढिररहेको छ ।’

कांग्रेस नेता उपाध्यायलाई राजदूत भएर दिल्ली पुगेको एक वर्षमै गत बैशाखमा केपी ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको सबै तयारी पूरा भइसकेपछि नेपालमा सरकार परिवर्तनको प्रयासमा भारतका हात रहेको ठानेर तत्कालीन सरकारले भ्रमण रद्द गरेको थियो । उपाध्यायले त्यसको विरोध गरेपछि उनलाई तत्काल फिर्ता बोलाइएको चर्चा थियो । उपाध्याय त्यसअघिदेखि नै नेपालमा सरकार परिवर्तनको खेलमा संलग्न भएको सूचना सरकारससँग थियो । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता कृष्णबहादुर महरालाई दिल्लीमा भेटाएर सरकार परिवर्तनको खाका तयार गर्ने कामको संयोजन उपाध्यायले नै गरेका थिए ।

डा। मास्के चाहिँ चार वर्षे कार्यकाल पूरा गरेर पनि थप चार महिना बेइजिंग बसेर फर्केका हुन् । माओवादीको कोटाबाट नियुक्त मास्केको कार्यकाल सकिएपछि थप अर्को कार्यकालका लागि माओवादी नेतृत्वले निकै जोड गरेको थियो । तर, तत्कालीन प्रधानमन्त्री ओलीले नमानेपछि उनको चीन भ्रमणसम्मका लागि भन्दै चार महिना कार्यकाल थपिएको थियो ।

नयाँ समीकरण बनाउन सुरुदेखि नै सक्रिय उपाध्याय ओली सरकारका विरुद्ध अविश्वास प्रस्ताव आएपछि पनि दिल्ली पुगेर नेपाली दूताबासकै साधन(स्रोत प्रयोग गर्दै त्यसलाई सफल बनाउन खटिएका थिए । अहिले उनको पार्टी कांग्रेस सरकारको निर्णायक हैसियतमा रहेको र भारतीय पक्ष पनि उपाध्यायकै पक्षमा रहेका कारण उनी राजदूत हुनमा कुनै समस्या छैन । चुनाव हारेका कारण उनी मन्त्री बन्ने सम्भावना पनि छैन र उनका लागि अर्को कुनै इच्छाएको जिम्मेवारी दिने अवस्था पनि छैन । यस्तो अवस्थामा उपाध्याय दोहोरिएर दिल्ली जाने निश्चित रहेको उच्च स्रोतले बतायो ।

मास्के चाहिँ माओवादीभित्र राम्रो पकड राख्छन् । माओवादीका दोस्रो बरियताका नेता नारायणकाजी श्रेष्ठसँग निकट मास्के उनै परराष्ट्रमन्त्री भएको बेला राजदूत भएका हुन् । नेपालले नाकाबन्दी भोगिरहेको बेला चीनसँग राम्रो सम्बन्ध बनाएको भन्दै उनको प्रशंसा पनि भएको छ । पार्टीभित्रको सन्तुलन मिलनउनुपर्ने भएका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले श्रेष्ठलाई चिढाउन सक्ने अवस्था छैन । त्यही भएर मास्के दोहोरिने स्रोतको दावी छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment