नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण

जिल्ला सदरमुकाम बेनीमा करिब दुई करोड रुपैयाँको लागतमा कालीगण्डकी नदी नियन्त्रण आयोजना निर्माण भएको छ ।कालीगण्डकी नदीको कटान नियन्त्रण गरि बेनी बजारलाई सुरक्षित बनाउने उद्देश्यले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय पोखरा मार्फत पक्कि पर्खाल निर्माण गरिएको हो ।
विद्युत प्राधिकरणको कार्यालय मुनीदेखि जेसीज भवन भन्दा केही माथिसम्म १२४.५ मिटर दुरीमा सात मिटर अग्लो आरसीसी पर्खाल निर्माण भएको कार्यालय प्रमुख खगेन्द्र भट्टचनले जानकारी दिए । उनका अनुसार गत वैशाखदेखि काम सुरु गरेको मुक्तिनाथ बिएन कन्ट्रक्सन जेभीले लक्ष्य भन्दा एक महिना अघिनै काम सम्पन्न गरेको हो । आयोजना निर्माणका लागि एक करोड ८८ लाख रुपैया खर्च भएको छ ।
अघिल्लो वर्ष कालीपुलको मोटरेबल पुलदेखि विद्युत कार्यालय मुनीसम्म ६३ मिटर आरसीसी पर्खाल निर्माण भएको थियो । चालु आर्थिक वर्ष २०७३/७४ का लागि भने कालीगण्डकी नदी कटान नियन्त्रणका लागि एक करोड रुपैया बिनियोजन भएको छ ।
म्याग्दी सदरमुकाम बेनीबजार नदी कटानका हिसावले देशमै जोखिमयुक्त मानिन्छ । यसअघि नदी किनारमा तारजाली ग्याभिन भरेर पर्खाल लगाउदै आएपनि कटानको दिगो नियन्त्रणका लागि गत वर्ष गुरुयोजना तयार गरि पक्कि पर्खाल लगाउन थालिएको हो ।बेनी बजारस्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्की पर्खाल लगाउने गरि बहुवर्षे योजना सञ्चालन गरिएको छ । नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलीङ गरेर चक्रपथ सञ्चालन गर्ने योजना बनाइएको छ । Ratopati.com/सन्तोष गौतम
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment