टाढिए दुई राप्रपा

दुई राप्रपा एकीकरणको घोषणासभा मंगलबार दिउँसो १ बजे गर्ने गरी राजधानीको राष्ट्रिय सभागृहमा सम्पूर्ण तयारी भएको थियो । दुवै पार्टीका देशभरका नेता–कार्यकर्ता एकीकरण कार्यक्रममा सहभागी हुन राजधानी आउँदै थिए । राप्रपा नेपालबाट पार्टी अध्यक्ष कमल थापा र विश्वबन्धु थापा तथा राप्रपाबाट अध्यक्ष पशुपतिशमशेर राणा र वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द गरी वक्तासमेत तय भएको थियो ।  
पूर्व पञ्च पृष्ठभूमिका दुवै पार्टीबीचको सम्बन्धका घटनाक्रम अकस्मात् फेरियो । निर्धारित दिन र समयमा एकीकरण घोषणासभा भएन । बरु लगभग सोही समयमा पार्टी एकीकरणको साटो झन् टाढिने सन्देश आए । दुवै पार्टीका तर्फबाट बेग्लाबेग्लै खालका अभिव्यक्ति आए, आपसी खटपट र टुटफुटको सन्देशसहित । राप्रपा नेपालका अध्यक्ष थापाले त पत्रकार सम्मेलन नै गरेर भने, ‘अब राप्रपा एकीकरणको अध्याय सकियो ।’ थापाबाट यस्तो अभिव्यक्ति आउनुलाई राणाकै अघिल्लो दिन सोमबार साँझको विज्ञप्तिले सघाएको थियो । जहाँ विधानको प्रश्न उठाई राणाले घोषणासभामा राप्रपा सम्बद्ध नेता–कार्यकर्तालाई सहभागी नहुन उर्दी जारी गरेका थिए । त्यसलगत्तैका घटनाक्रमले पार्टी एकीकरण घोषणा तुहिएको हो ।
कसरी भयो भंग ?
नाम राप्रपा र झन्डा राप्रपा नेपालको राख्नेलगायतका सहमतिसहित जोडिन ठीक परेका बेला सोमबार बिहान राणाले थापालाई जरुरी भन्दै महाराजगन्जस्थित आफ्नो निवास बोलाएका थिए । उनीहरूबीच वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने, नहुनेबारे एकीकरणपछि मात्र निर्णय गर्ने सहमति बनेको थियो । ‘तर, मलाई बोलाएर पशुपतिजीले आफ्नो पार्टीका तर्फबाट मन्त्रीका लागि २ जना नाम पठाउनैपर्ने बाध्यता पर्‍यो भन्नुभयो । म त आश्चर्यचकित परें,’ पहिले भएको सहमति बाहिर गई जबराले त्यस्तो प्रस्ताव ल्याएको दाबी गर्दै उनले मंगलबार दिउँसो पत्रकारमाझ भने, ‘मैले हुँदैन भनें । उहाँले मलाई बाध्यता छ भनी दोहोर्‍याउनुभयो । अनि मैले तपाईंका लागि सत्ता कि पार्टी एकता एक छान्नुपर्ने अवस्था छ भनें ।’
राणासित कुनै समझदारी नभई थापा बाहिरिएका थिए । राणाले सोही दिन दिउँसो विज्ञप्ति निकाली पार्टीभित्र विधानबारे विवाद मिलिनसकेकाले घोषणासभालाई अस्वीकार गरेका थिए । लगत्तै राप्रपाका तर्फबाट २ जना सांसद दीपक बोहरा र विक्रम पाण्डेलाई मन्त्री चयन गरियो । दुवै जनाले सोमबार साँझ नै मन्त्रीको शपथ लिई वर्तमान मन्त्रिपरिषद्मा प्रवेश गरे । यो घटनाले नै दुई पार्टी एकीकरणलाई रोकेको थियो ।
संसद्मा २५ सांसद सदस्यसहित चौथो शक्ति राप्रपा नेपाल र १२ सदस्यको राप्रपाको एकीकरण पहल केही महिनादेखि बाक्लिँदै आएको थियो । दुवै पार्टीले वार्ता समिति बनाई एकीकरणका खाकासहित अवधारणापत्र बनाएका थिए । जहाँ एकीकृत भएको पार्टीमा दुई अध्यक्ष हुने नौलो व्यवस्था प्रस्ताव थियो । राप्रपा नेपालको अध्यक्ष पार्टी अध्यक्ष हुने र राप्रपाको अध्यक्ष राष्ट्रिय अध्यक्ष हुने अवधारणापत्रलाई दुवै पार्टीको केन्द्रीय समितिले पारित गरेपछि एकीकरणलाई नजिक तुल्याएको पनि थियो । एउटै पार्टी बनेपछि बस्ने कार्यसम्पादन समिति बैठकले सरकारमा सहभागी हुने/नहुने निर्णय गर्ने टुंगोसमेत लागेको थियो । त्यही सहमति तोडेका कारण अब एकीकरण नै हुन नसक्ने निष्कर्ष राप्रपा नेपालले निकालेको हो ।
आपसी आक्षेप
राप्रपा सत्तामा जानुलाई नै पार्टी एकीकरण हुन नसक्ने कारण देखाएका छन् थापाले । त्यसमा ‘अदृश्य शक्तिको प्रयत्न र दबाबसमेत रहेको’ उनले पत्रकारमाझ बताए । छिमेकी भारतको नाम लिएनन् । तर बुझ्ने गरी उनले बाहिरी शक्तिले बलियो राष्ट्रवादी समीकरण बनेको हेर्न नचाहेको दाबी गरे । राणा पक्षधर नेता भने त्यसलाई स्विकार्दैनन् ।  
राप्रपाका प्रवक्ता ठाकुरप्रसाद शर्माले दुई पार्टीबीच सरकारमा सहभागी हुनेबारे निर्णय पनि भइनसकेको दाबी गरे । ‘अन्तरिम विधानमा कुरो मिलेको थिएन । नमिलुन्जेल पार्टी एकता हुने थिएन,’ उनले भने, ‘हामीले पहिले विधान मिलाऔं अनि अन्य विषयमा निर्णय गरौंला भनेका हौं ।’
निवर्तमान केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि नै यी दुई पार्टीले दुई थरी निर्णय गरेका थिए । राप्रपाले ओलीलाई समर्थन फिर्ता लिने र राप्रपा नेपालले ‘अन्तिमसम्म साथ दिने’ निर्णय गरेका थिए । ‘त्यतिबेला ओलीलाई साथ दिने निर्णय पनि राप्रपा नेपालले हामीसँग छलफलबिनै गरेको थियो । एकीकरण अवधारणापत्रको अन्तिम तयारी भइरहेका बेला त्यस्तो गल्ती गर्नु हुन्थेन,’ शर्माले भने ।
दुई पार्टीले आपसी आक्षेप जसरी लगाए पनि शीर्ष नेताले ३ दिनअघि स्विकारेको समझदारीपत्रको उल्लंघन भएको छ । राणा र थापाले संयुक्त हस्ताक्षर गर्दै गत शनिबार भनेका थिए, ‘मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरणको घोषणा आगामी साउन २५ गते काठमाडौंमा हुनेछ ।’
राप्रपाले भने थापाले भनेजस्तो एकीकरण अध्याय नसकिएको दाबी गरेको छ । थापाको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै राप्रपाले मंगलबार दिउँसो जारी गरेको विज्ञप्तिमा एकीकरणका लागि आफ्नो पार्टी सधैं खुला र उदार रहेको बताएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment