देवनारायण यादवको बयान : यसरी लडियाे नेपाली भूमि बचाउन

जब नेपाली भूमि बचाउन लडे मधेसका जनता
सप्तरी तिलाठी– ४ हो मेरो घर । खाँडो खोला हाम्रै गाउँ भएर बग्छ । खोलापारि भारतको बिहार पर्छ, वारि नेपालको तिलाठी । त्यो दिन म घरमै थिएँ । नेपाली भूमि मिचेर खाँडो खोलामा भारतीयले बाँध बाँध्न सुरु गरेको खबर पाएँ । त्यसबाट म स्तब्ध भएँ । नेपाली भूमि मिचेकोे खबरले मन पोलेर आयो । हत्तपत्त निरीक्षणमा गएँ । भारतीयहरू धमाधम बाँध निर्माणमा जुटेका थिए । दशगजामा उनीहरूले निर्माण सामग्री थुपारेका थिए । इन्जिनियर र लेबर खटिएका थिए । बोराका बोरा निर्माण सामग्री नेपाली भूमितर्फ ल्याउँदै थिए । यो दृश्यले मलाई निकै पोल्यो । रोक्न सकिन्छ कि भनेर म अघि बढेँ । उनीहरूसँग कुराकानी गरेँ । तर, उनीहरू मान्ने पक्षमा देखिएनन् । उनीहरूसँग भिडौँ झैँ लाग्यो, तर आँट आएन । किनकि, म एक्लै थिएँ । घर फर्किएँ ।
घर आएर नेपाली पत्रकारलाई खबर गरेँ । सिडिओलाई भनेँ । सेना, प्रहरी र सशस्त्रका हाकिमलाई खबर गरेँ । पत्रकार तत्काल बाँध बाँधेको स्थानमा पुगे । उनीहरूले नेपाली जमिन मिच्दै भारतले बाँध बाँधेको खबर प्रचार–प्रसार गर्न थाले । सिडिओ, नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीका हाकिम पनि त्यहाँ पुगे । बाँध बाँधिएको सम्बन्धमा भारतीय पक्षसँग टेलिफोनमा कुरा गर्न थाले । तर, उनीहरू मान्ने पक्षमा देखिएनन् । टेलिफोनबाट कुराकानी गर्ने क्रम निरन्तर चल्यो । अन्तिममा उनीहरू बाँधको निर्माण कार्य रोक्न राजी भए ।
बिहीबार दिउँसो ४ बजे
म घरमै थिएँ । भारतीयसँग कुरा मिल्यो भन्दै प्रहरीले फोन गरे । सुनेर खुसी लाग्यो । खुसी साट्न घटनास्थलमै पुग्ने इच्छा जाग्यो । हतार–हतार घटनास्थल पुगेँ, तर घटनास्थलको गतिविधि अर्कै पाएँ । भारतीय पक्ष नेपाली भूमि मिच्दै धमाधम बाँध निर्माण गर्दै थियो । गिटी भरिएका बोराले उनीहरू खोला फर्काउँदै थिए । केही बाँसको भाटा खोलामा गाड्दै थिए । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना मूकदर्शकझैँ थिए । नेपाली भूमि मिचेर बाँध निर्माण गरेका दृश्यले मेरो रगत तातेर आयो । आफैँलाई थाम्न सकिनँ । निर्माण कार्य रोक्न म एक्लै अघि बढेँ ।
गालाको गम्छा टाउकोमा बाधेँ । नेपाली भूमिमा गाडिएको बाँस उखाल्न थालेँ । सिमेन्ट र गिटीले भरिएको बोरा हटाएँ । भारतीयहरू मलाई रोक्न खोज्दै थिए । तर, रोकिइनँ । निरन्तर अघि बढेँ । त्यसपछि म भारतीय भूमिमा पुगेँ । मलाई उनीहरूले घेरा हाले । छातीमा समाते । मुक्काले बजार्न लागे । मैले पनि उनीहरूको छातीमा समातेँ । मुक्काले हिर्काउन थालेँ । पछाडिबाट एउटा बाँसको भाटा मेरो टाउकोमा बजारियो । रिँगटा लागेझैँ भयो, तर पनि म रोकिइनँ । उनीहरूसँग निरन्तर भिडिरहेँ । मेरो पछि मेरै गाउँका दुर्गानन्द झा रहेछन् । उनले मलाई ताने । शरीरमा बगेको रगत देखाए । शरीर हेरेँ । रगतले गन्जी पूरै भिजेछ ।
घाइते भएपछि म नेपालतर्फ फर्किएँ । त्यसवेलासम्म गाउँका सबै घटनास्थलमा जम्मा भइसकेका रहेछन् । सेना, प्रहरी र सशस्त्रका टोली पनि सँगै थिए । गाउँलेको हातमा बाँसको भाटा थिए । नेपाली दाजुभाइहरू भारतीयसँग भिड्न अघि बढे । दुवैतर्फबाट बाँसको भाटा हानाहान भयो । ढुंगा बर्सिन थाले । घाइते भएकाले मलाई साथीहरूले अस्पताल लगे । गाउँले साथीहरू निरन्तर भिडिरहे । त्यसैले जित हाम्रै भयो । भारतीयहरू नेपाली जमिनबाट पछि हटे ।
यस्तो छ झडपअघिको पृष्ठभूमि
सप्तरी तिलाठी– ५ भएर बग्ने खाँडो खोलाले नेपाल र भारतको सीमा छु्ट्याएको छ । दशगजा खोला किनारमै पर्छ । प्रत्येक बर्खामा खोलामा बाढी आउँछ । बाढीले नेपाल तर्फका दर्जनभन्दा धेरै गाविस डुबानमा पार्छ । भारत सोही खोलामा बाँध बाँध्न चाहन्छ ।
०६४ असारमै भारतले खाँडो खोलामा पुल निर्माण गर्न खोजेको हो । इन्जिनियर ल्याएर नक्सा डिजाइन ग-यो । निर्माणका लागि आवश्यक सामग्री जम्मा ग-यो । त्यसवेलै हामीलाई लागेको थियो– उसले केही गलत गर्दै छ । तर, हामी त्यसवेलासम्म केही बोलेनौँ । पछि, पुलको जग खन्न सुरु भयो । निरीक्षणका लागि हामी त्यहाँ पुग्यौँ । उसले नेपालको जमिनमा पो जग निर्माण गर्दै रहेछ । नेपाली भूमि मिचेकोमा हामीलाई सह्य भएन । हामीले तत्काल विरोध ग-यौँ । तर, उनीहरू मान्ने पक्षमा थिएनन् ।
म प्रतिरोधमा मैदान उत्रिएँ । गम्छा कम्मरमा कस्दै पुल निर्माण गर्ने ठाउँमा उत्तानो परेँ । मैले भनेँ, ‘तिमीहरूले नेपालको एक इन्च पनि जमिन मिच्न पाउँदैनौँ । मिच्ने नै हो भने मलाई यही खाल्डोमा पुर, तब मात्रै सम्भव छ ।’ तर, उनीहरू अझै पनि मान्न तयार भएनन् । त्यसपछि हामीले सरकारलाई गुहा-यौँ । जिल्लाका सिडिओलाई भन्यौँ ।
नेपाल प्रहरी र सशस्त्र पनि हामीसँग मैदानमा उत्रियो । सारा कसरतपछि उनीहरू पछि हट्न बाध्य भए । नेपाली भूमि मिचेर पुल बनाउने उनीहरूको योजना विफल बन्यो । विरोधका बाबजुद पनि उनीहरूले भारतीय जमिनतर्फबाट बाँध भने बाँधिछाडे । उक्त बाँधलाई गत वर्षको बाढीले केही क्षति गरेछ । यसपालि भने पूरै क्षति गरेछ । क्षति भएको सोही बाँध मर्मत गरी उनीहरू खोलाको बाढी नेपालतर्फ फर्काउन चाहन्छन् ।
– नयाँ पत्रिका दैनिकबाट
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment