म्याग्दीमा सहकारीमार्फत बंगुरपालनमा आर्कषण बढ्यो

जिल्लामा न्युन लगानीमा सहकारीमार्फत बंगरपालन तर्फ आर्कषण बढेको छ ।बजारमा मासुको माग बढ्न थालेपछि सहकारीको स्थापना गरी आर्थिक अवस्था कमजोर भएका र ग्रामिण क्षेत्रमा बंगुरपालनलाई विस्तार गर्न जिल्ला पशुसेवा कार्यालय म्याग्दीले प्राथमिकता दिएपछि चारओटा गाविसमा सहकारी बंगुरखेती कार्यक्रम शुरु गरिएको हो । आर्थिक वर्ष २०७०÷७१ देखि बेनी नगरपालिकाको अर्थुङे, रत्नेचौर, अर्जमका साथै बिम र कुहुँ गाविसमा समुदायमा आधारित बंगुरखेती मार्फत समुदायमा आर्थिक अवस्था कमजोर भएकालाई प्राथमिकतामा राखेर स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गरिएको हो ।
pig news myagdi  (2)
रत्नेचौरको देउराली व्यावसायिक कृषि सहकारी, अर्थुङेको म्याग्दी बंगुरपालन सहकारी डम्बरा, बिमको विम बहुउद्देश्यीय सहकारी संस्था, र भर्जुला व्यावसायिक कृषि सहकारी संस्था कुहुँबाट समुदायस्तरमा सहकारी बंगुरखेती शुरु गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. दयाराम चापागाईले बताए । ‘समुहमा गरिने खेतीप्रति आर्कषण बढेको छ ।यसलाई आगामी आर्थिकबर्षमा पनि निरन्तरता दिने सोच बनाएका छौ’ चापागाईले भने ।
सहकारी मार्फत गरिएको पशुपालनलाई दिगो र लक्षित बर्गको पहुँचमा विस्तार गर्न सजिलो हुने भएकाले पनि सहकारी खेतीमा लाग्नेलाई आवश्यक तालिम सहित प्राविधिक सहयोग र नगद अनुदान उपलब्ध गराउने गरिएको बताए । सहकारीमार्फत शुरु गरिएको बंगुरपालन खेती सन्तोषजनक रहेको समेत उनले बताए । प्रति सहकारीलाई तीन किस्ता गरी कुल ८ लाख ६० हजार रुपैयाँ जिल्ला पशु कार्यालयबाट अनुदानस्वरुप प्रदान गर्ने गरिएको छ । सहकारीका साथै ब्यक्तिगत रुपमा समेत बंगुर पालन गर्नेको संख्या बढ्न थालेपछि कार्यालयले बस्तीबाट टाढा खोर राख्न अनुरोध गरेको छ ।
pig news myagdi  (1)कुहुँ भर्जुलामा गरिएको बंगु्रपालन
दोस्रो वर्षमा अघिल्लो वर्ष कार्यक्रम सञ्चालन भएको सहकारीको फ्लोअपका लागि सहकारीलाई बायोग्याँस निर्माणमा २० हजार, दाना बनाउने मेशिन खरिदमा ४० हजार र प्रति सहकारी एकलाख ८० हजार रुपैयाँ उपलब्ध गराइएको कार्यालयले जानकारी दिएको छ । फ्लोअप अनुदानबाट थप पाठापाठी खरिद, खोर मर्मत, दाना खरिदलगायतका कार्यक्रमहरु रहेका छन् ।व्यावसायिक बंगुरपालनका लागि बंगुरका पाठापाठी खरिद ढुवानी, खोर निर्माण, विद्युत जडान, खानेपानी व्यवस्थापन र दाना खरिद ढुवानीलगायका कार्यक्रम रहेका छन् । अनुदान संगै सहकारीले आफ्नो लगानीमा पुर्वाधार सहित आवश्यकता अनुसार बंगुर खरिद गर्ने गरेको छ । ‘भनेजस्तो सजिलो छैन, तरपनि निरन्तर लागेमा आम्दानी हुने देखिएको छ’ भर्जुला कृषि सहकारीका अध्यक्ष बम बहादुर शेरपुञ्जाले भने ।
उनका अनुसार गाउँमा रहेका ६६ घरधुरी मध्ये पहिलो चरणमा ४२ घरधुरी आवद्ध रहेका सहकारी स्थापना गरी बंगुरखेती सुरु गरिएको बताए । सहकारीमा कुल १५ लाख लगानी भइसकेको छ । ग्रामिण क्षेत्रमा स्थापना गरिएको सहकारीलाई दाना र बंगुर ढुवानीमा समस्या हुने भएकाले अनुदानलाई बढाउनुपर्नेमा समेत सहकारीका सदस्यको माग गरेका छन् । जिल्ला पशुपालन र कृषि उत्पादनका हिसाबले प्रचुर सम्भावना रहेको जिल्लाका रुपमा चिनिएको छ ।बैदेशीक रोजगारबाट फर्किएका यूवाहरु पशुपालनमा आर्कषित हुन थालेपछि पशुसेवा कार्यालयले केन्द्रबाट समेत विभिन्न योजनाहरू माग गरेको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment