१६ घन्टा धौलागिरी बेसक्याम्पमा हराउँदा...

जेष्ठ २१, २०७३- जेठ ११ गते विहान टेन्ट, सिल्पिङब्याग समेतका यात्रा सामाग्री बोकेर म घरबाट निक्लिएँ । धौलागिरी पदमार्गको पर्यटन पूर्वाधारको अवस्था, संभावना र समस्याहरुको स्थलगत अध्ययन गर्ने उद्देश्यले जिल्ला विकास समितिको सहयोगमा धौलागिरी पर्यटन विकास परिषदले जिल्लाका राजनीतिक दल, प्राविधिक टोली, संञ्चारकर्मी, संस्कृति अध्येता र स्थानीयसमेत २७ जना धौलागिरी आधार शिविरतर्फ लागेका थियौं ।
दोस्रो दिन म्याग्दी खोला पछ्याउँदै हामी धेरै पर्यटक, भरिया र स्थानीयको प्राण हरण गरेको चर्चित पहाड ‘नाउराको भीर’ छिचोल्दै ८ घन्टा यात्रापछि बगरा पुगियो । नाउराको भीरमा अहिले भने डोरीमा झुण्डिएर यात्रा गर्नु पर्ने छैन । 
स्थानीयले कसै गर्दा पनि फोर्न नसकेको यो बाटोको करिब १ किलोमिटर पहरो मध्ये आधा पहरो सशस्त्र द्वन्द्वकालमा माओवादीले ‘श्रम शिविर’मा राखेका मानिसहरु प्रयोग गरि फोरेको थियो । बाँकी आधा गणतन्त्र आइसकेपछि नेपाली सेनाले फोरेको हो । 

 
धौलागिरीको नाम संस्कृतमा धवला भनेको सेतो र गिरी भनेको पर्वत भन्ने अर्थ अनुसार धौलागिरी नाम रहन गएको बताइन्छ । धौलागिरी प्रथम संसारको सातौं र नेपालको छैठौं अग्लो हिमाल हो । धौलागिरी हिमश्रृंखलामा ७ हजार मिटर अग्ला अन्य १० वटा हिमशिखरहरु छन् ।
पदमार्गमा पर्याप्त पुर्वाधार नहँुदा धौलागिरी पदयात्रा मार्ग ओझेलमा छ । 
संसारकै अग्लो गल्छीको रुपमा प्रसिद्धी पाएको कालिगण्डकी गल्छी अर्थात् अन्ध–गल्छी यही धौलागिरी हिमाल र ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आम्नेसाम्ने भएर बनेको हो । 
धौलागिरी हिमश्रृंखला पुग्न बेनीबाट गाडीमा दरवाङ्ग र त्यहाँबाट पैदलयात्रा गरी मुदीको नाउरा–बगरा–दोभान–इटालियन बेसक्याम्प पुग्नपर्छ । त्यसपछि स्वीस क्याम्प हुँदै झण्डै ६ किलोमिटर लामो धौलागिरी ग्लेसियर पुगेपछि सुरु हुन्छ, जापानिज क्याम्प । ग्लेसियर क्याम्पबाट ४ हजार ७ सय ४० मिटर अग्लो धौलागिरी पहिलो आधार शिविर पुग्न सकिन्छ । घडीको सूई घुमेझै धौलागिरी पाचौं, मानापाथी, फेन्चपास, मुकुट हिमाल, सिता चुचोरो, धौलागिरी प्रथम र टुक्चेपिक गोलाकारझै उभिएका छन् । 
पहिलो आधारशिविरबाट करिब ५ सय मिटर उचाई चढेपछि सिता चुचुरो र धौलागिरी प्रथमको फेदीमा अवस्थित उच्च आधार शिविर पुगिन्छ । यही उच्च आधार शिविरबाट छुट्टीन्छ, राउण्ड धौलागिरी र धौलागिरी प्रथम आरोहण मार्ग । 

......................
स्वास्थ्यको ख्याल गर्नुपर्ने भएपछि केही साथीलाई ईटालीयन बेसक्याम्पमा छोडेर धौलागिरी क्षेत्रमा हिमचितुवा मानिएका हरि तिलिजा मगरलाई अगाडी लगाएर हामी स्वीस क्याम्प, जापानिज क्याम्प छिचोल्दै धौलागिरी ग्लेसियरमाथि बरफका ढिक्का टेक्दै बेसक्याम्प उक्लियौं । 
ठूला ठूला वरफका ढिक्का फुटेर चिरा चिरा परेका । यस्तो चिरा परेका खाल्टोलाई ‘खरपस’ वा क्रेबस भन्ने गरिन्छ । मध्य जेठको गर्मीले गर्दा यी बरफका ढिक्का अर्थात् ग्लेसियर पग्लदै भासिएको पत्तै नहुने । बरफको बाटो हिँड्दा चिसोबाट जोगिन हिउँ, हावा र पानी नछिर्ने जुत्ता, कपडा लागाउनु पर्ने तर हामी साधारण पहिरनमै ४ हजार ७ सय ४० मिटर अग्लो आधार शिविर पुगेका थियौं ।
ग्लेसियरका ठूला ठूला वरफका ढिक्का र हिमखाल्डा छिचोल्दै १५ सदस्यीय हाम्रो टोली पहिलो आधार शिविर पुग्न नपाउँदै फुसफुस हिउँ पर्न थाल्यो । हतार–हतार भुई राम्रोसँग सम्याउन नपाई टेन्ट टाँग्यौं । जोड्ले हिउँ पथ्र्यो उत्निखेरै बेजोडको चिसो हावा चल्न थाल्यो । 
हिउँ पर्न रोकिएपछि केही पर खोपिल्टोबाट बोटल–बोटल जोडेर पानी ल्यायौं । स्टोभ बाल्यौं । मुटु छड्ने जाडोमा तात्तातो कफी पियौं । बल्न शरिर तात्यो । अनी चाउचाउमा चिकन सुप र टिमुरको धुलो मिलाई तात्तातो सुप बनाई पियौं । टेन्ट छिर्दा रातको ९ बज्दै थियो । 
बेस क्याम्पमा एक रात बिताएपछि भोलीपल्ट फर्कने गरी गएको हुँदा हामीसँग प्रयाप्त खाना तथा अन्य तयारी थिएन । राति १ बजेबाट पुन: हिउँ फुसफुस पर्न थाल्यो । मध्य जेठ भएकोले हिउँ पर्ने कल्पनासम्म नगर्नु हाम्रो भूल थियो भन्ने तब भयो जब बिहान उठ्दा बसेको टेन्टको केही भाग हिउँले छोपिएको थियो । बाहिर निक्लने आँट थिएन । दिउँसो २ बज्न लाग्यो, छुट्टै भान्सा टेन्ट नभएकोले न खाना, न पानी हामी टेन्ट भित्रै साथमा रहेका चकलेट र बिस्कुट चपाउँदै बस्यौं । अलि ठूला टेन्टमा छिरेर स्टोभ बालेर हिउँ तताउँदै कफी बनायौं । 
दिउँसो ३ बज्न लाग्दासमेत हिउँ रोकिने छाँटकाँट आएन । प्रमुख जिल्ला अधिकारीलाई हाम्रो स्थिति बारे खबर गर्‍यौं । हामीसँग स्याटलाइट फोन थियो । तर, घरमा आत्तिने भएकाले खबर गरेनौं । 
आईसफल र ग्लेसियरका सबै जोखिमपूर्ण गहिरा खाल्डा हिउँले पुरेको थियो । अब ती शिकारीले वन्यजन्तु मार्न थापेका पासो जस्तै भएका थिए । चार बजे उनै तिजिला टेन्ट बाहिर निक्ले । केही बेर वरपरको अवस्था आँकलन गरेपछि माथिल्लो क्याम्पको छेउसम्म पुग्न सकिने बताए । फुसफुस हिउँ पर्दै थियो, हामी भने प्लास्टिक ओढेर बेसक्याम्प क्षेत्रको फोहोरमैला र हिउँमा आफ्नै तस्वीर खिच्दै उपल्लो क्याम्प पुग्ने प्रयास गर्‍यौं । 
चार बजेपछि हिउँ पर्न छोड्यो । विस्तारै आकास खुल्न थाल्यो । वरपर हिमाल टल्केपछि भर्खरै सूर्योदय भएझै उज्यालो भयो । यस्तो चम्किलो हिउँमा नाङ्गो आँखाले हेर्दा दृष्टि गुम्ने अर्थात् ‘स्नो ब्लाईन्डनेस’ हुनसक्छ । त्यसैले चस्मा लगाइयो । साँझ ७ बजे मात्र टेन्ट फर्कियौं । 
दोस्रो रात निरन्तरको हिमपात र लगातारको हिउँ पहिरोको त्रासले जत्ति बिर्सन्छु भन्यो उति छोरीहरु, श्रीमती, आमा, आफन्त र साथीभाईको याद आईरह्यो । यता र उता कोल्टे फेर्दै रात कट्यो ।  
हामीले प्रजिअलाई दिएको सन्देश घरपरिवारमा पुग्दा उल्टो भएर पुगेछ । हामी हिउँपहिरोमा परेको भन्ने खबर भएछ । घरमा रुवाबासी । राजधानीमा रहेका मित्र सुरत र बेनीका रेडक्रसकर्मी लेखबहादुर हमालसमेतका मित्रहरु उद्धारका लागि हेलिकोप्टर खोज्ने प्रयासमा समेत लागेछन् । 
बेसक्याम्पमा उद्धारकर्तालाई छोडेर इटालियन क्याम्प फर्किएको हेलिकोप्टरका क्याप्टेनले त्यहाँका साथीहरुलाई हामी झर्दै गरेको खबर सुनाएछन् । उनीहरु हेलिकोप्टरबाट पोखरा हुँदै बेनी पुगेर हाम्रो परिवारमा खबर पुर्‍याएपछि बल्ल परिवारमा शान्ति छाएछ ।


http://bit.ly/1TZAypZ
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment