रेडियोमा सविना कार्की १५ वर्षका १५ अनुभुति

अत्यधिक फ्यान फलोइङ भएकी आरजे हुन् सविना कार्की । कान्तिपुर रेडियोमा विभिन्न कार्यक्रम चलाउँदै आएकी उनलाई मिठो र सन्देशमुलक प्रस्तुतिका लागि धेरैले रुचाए ।
सविनाले हालै कान्तिपुरसँगको १५ वर्ष पुरानो सम्वन्ध तोडेकी छिन् । अब इन्टरनेटमार्फत स्रोताहरुमाझ आउने उनको तयारी छ । अनलाइनखबरसँगको कुराकानीमा सविनाले आफ्नो १५ वर्ष लामो रेडियो करिअरका १५ अनुभूति यसरी बाँडिन् ।
१. आरजे बन्ने मेरो सानैदेखिको सपना थियो । मलाई जसरी पनि कान्तिपुर एफएममै जागिर खाने भुत सवार भएको थियो । कक्षा ११ पढ्दा मेरा धेरै साथीहरुलाई यो कुरा थाहा थियो । एक दिन प्रेक्षा भन्ने मेरो बेष्ट फ्रेन्डले कान्तिपुर पत्रिकाको कटिङ लिएर आई । आरजेको लागि भ्याकेन्सी खुलेको रहेछ । म उत्साहित भएर तुरुन्तै कान्तिपुरको विल्डिङमा पुगेँ । फाराम भरेँ । तीन राउन्ड अन्तरवार्ता भयो । अन्तिम अन्तरवार्तामा म पनि छानिएँ । त्यसपछि कैलाश सिरोहियाले मलाई भन्नुभयो, ‘यु ह्याभ द फायर इन्साइड सविना । वेल्केम टु कान्तिपुर फेमिली ।’ म खुशीले झण्डै उफ्रेँ ।
२. रेडियो करिअर स्टार्ट गरेको २ वर्षपछिको घटना हो । एउटा कलेजको उद्घाटन कार्यक्रममा उद्घोषक बन्न पुगेकी थिएँ । त्यो मेरो जीवनकै पहिलो एमसी अनुभव थियो । त्यतिबेलासम्म मेरो त्यति ठूलो फ्यान फलोइङ पनि थिएन ।
कार्यक्रम शुरु गरेँ । तर, प्रमुख अतिथि आउन ढिला भयो । ट्राफिक जामका कारण प्रमुख अतिथि आउन ढिला हुनेभयो भनेर मलाई सूचना आयो । मैले त्यही कुरा माइकमा बोलेँ । मैले त्यति भनेलगत्तै उपस्थित दर्शकहरु, जसमा अधिकांस विद्यार्थी थिए, ले त खुशी भएर हुटिङ पो गरे । त्यसपछि उनीहरुले चारैतिरबाट मलाई घेरेर अटोग्राफ माग्न थाले । प्रमुख अतिथि आइसक्दा पनि म अटोग्राफ दिइरहेकी थिएँ ।
३. मोबाइल र सोसल मिडियाको जमाना सुरु भइसकेको थिएन । मलाई अफिसका नम्बरमा धेरै फोन आउँथे । त्यस्ता फोनमा प्रायः मेरो प्रस्तुतिको तारिफ गर्नुहुन्थ्यो । एक जनाले चाहिँ मलाई फोन गरेर सोझै बिहेको प्रस्ताव गर्नुभयो । एकपटक होइन पटक-पटक । धेरैचोटी मलाई भेट्न कार्यालय अगाडि आएर बस्नुहुन्थ्यो । म भेट्थेँ, तर उहाँको प्रस्तावलाई हाँसेर टार्थेँ ।
हुँदाहुँदा एक दिन त उहाँले आफ्नी आमालाई लिएर मेरो अफिसमा आउनुभयो । उहाँकी आमाले ‘लौन नानी मेरो छोरोले साह्रै गर्‍यो, मेरी बुहारी बन्नुपर्‍यो’ भनेर हत्ते गर्न थाल्नुभयो । त्यसपछि अफिसमा साथीहरु जम्मा भए र सबैले सम्झाउन थाले । मैले पनि ‘अहिले मेरो बिहे गर्ने उमेर भएको छैन आमा, पढ्दैछु’ भनेर सम्झाएर पठाएँ । त्यसपछि बल्ल उहाँले पिछा छोड्नुभयो ।
sabina karki४. म हरेक बिहिबार ‘यो माया भन्ने चिज यस्तै हो’ भन्ने कार्यक्रम चलाउँथेँ । एक दिन कार्यक्रम शुरु गर्नै लाग्दा एउटा स्रचना हातमा परेँ । मैले त्यो पढेँ । एक जनाको अति महत्वपूर्ण औषधि ट्याक्सीमा छुटेको रहेछ । काठमाडौंमा नपाइने औषधि उहाँले भारतबाट ल्याउनुभएको रहेछ । त्यो औषधि भेट्नेले फलानो व्यक्तिलाई फलानो नम्बरमा सम्पर्क गर्नुहोला भनेर मैले सूचना पढेकी थिएँ ।
त्यसको भोलिपल्ट जब म अफिस आएँ, कसैले मेरो ढोकामा एउटा ठूलो बुके, चकलेटहरु र कार्ड छोडेको रहेछ । सो कार्डमा ‘मेरो जीवन बचाउनुभएकोमा धन्यवाद’ लेखिएको थियो । खासमा ट्याक्सी ड्राइभरले मेरो कार्यक्रम सुनेर औषधि उनको हातमा पारिदिएका रहेछन् । ती व्यक्तिसँग भेट भएन, तर उनका शब्दहरुले धेरै दिनसम्म मलाई प्रभाव पारिरह्यो ।
५. संकटकालताका राति गाडीमा घर जाँदा कडा चेकिङ हुन्थ्यो । एक रात थापाथलीमा पुग्दा सेनाले रोक्यो । कान्तिपुर रेडियो भन्नासाथै एक जना सैनिकले ‘सविना कार्की यहाँ हुनुहुन्छ ?’ भनेर सोधे । मैले आफ्नो परिचय दिएँ । त्यसपछि त उनी जंगिए । ‘मैले बलिउड हंगामामा पठाएको चिठी तपाईंले किन नपढेको ?’ मैले उहाँको नाम सोधेँ । तर, मलाई उहाँको चिठी याद भएन । त्यसपछि भनेँ, ‘फेरि पठाउनुस् अर्को एपिसोडमा प्रशारण गर्छु ।’ उनी त अहिले नै लेख्छु भनेर कापी कलम लिएर तयार भए । एकैछिनमा सन्देश लेखेर दिए पनि । त्यसलाई मैले आफ्नो कार्यक्रममा पढिदिएँ ।
६. मेरो दिनेश भन्ने सहकर्मीले सुनाएको कुरा यो । उहाँको एक जना साथीले सेयर गर्नुभएको रे । उहाँ जीवनबाट विरक्तिएर आत्महत्या गर्ने निर्णयमा पुग्नुभएको रहेछ । तर, मेरो कार्यक्रम सुनेर आफ्नो मुड बदल्नुभयो रे । म कार्यक्रममा जीवनका रमाइला पक्षहरुबारे चर्चा गरिरहन्छु । यदि मेरै कार्यक्रम सुनेर कसैले आत्महत्या गर्ने निर्णय बदलेको हो भने त्यो मेरो लागि एकदमै ठूलो कुरा हो ।
७. मैले १५ वर्षको करिअरमा चार हजार जति इन्टरभ्यू गरेको छु होला । मलाई अन्तरवार्ता दिन आउनेमध्ये दुई जना गेष्टले मलाई प्रेम प्रस्ताव राख्नुभएको छ । तीमध्ये एक जना परिचित नै हुनुहुन्थ्यो भने एक जनासँग पहिलोचोटी भेट भएको थियो । उहाँहरु दुवैले अन्तरवार्ता सकिएपछि मलाई प्रपोज गर्नुभएको हो । दुवै जनाले सिरियसली राखेको प्रस्तावलाई मैले हाँसेरै टारेँ ।
८. यो माया भन्ने चिज यस्तै हो भन्ने कार्यक्रम सुनेर मेरो डाइ हार्ड फ्यान बन्नुभएको रहेछ एक व्यक्ति । उहाँको नाम जितु हो । उहाँ हरेक विहिबार मेरो कार्यक्रम सुन्ने र मैले बोलेका कुराहरु टिपोट गर्ने गर्नुहुँदो रहेछ । अनि त्यो टिपोटको सग्रह प्रत्येक वर्षको वैशाख १ गते मलाई हुलाकबाट पठाइदिनु हुन्थ्यो । यो सिलसिला ७ वर्षसम्म चल्यो । एकपटक काठमाडौं आएका बेला मलाई भेट्नु पनि भयो । उहाँले पठाएका ती चिठीलाई मैले अहिले पनि सुरक्षित राखेको छु । सात वर्षपछि उहाँ कता गायब हुनुभयो थाहा भएन ।
sabina_karki2
९. मेरो एक जना स्रोता हुनुहुन्छ, जो मलाई आफ्नो बेस्ट फ्रेन्ड जस्तो मान्नुहुन्छ । आफ्ना पर्सनल कुराहरु सेयर गर्नुहुन्छ र सल्लाह माग्नुहुन्छ । एकटक उहाँले भन्नुभयो, ‘मेरो प्रेमिकासँग ब्रेकअप भयो । उसले परिवारको दबावमा अर्को बिहे गरी । तर, बिहेपछि पनि हाम्रो रिलेसन टुटेको छैन । त्यो केटी पाइनँ भने मर्छु जस्तै लाग्छ । के गर्ने होला ?’  मैले उहाँलाई राम्ररी सम्झाएँ । तपाईंले उनलाई जसरी पनि बिर्सिनुपर्छ भनेर कन्भिन्स गरेँ । उहाँलाई पनि बिहे गर्न सल्लाह दिएँ । केही समयपछि उहाँले पनि बिहे गर्नुभयो । अहिले उहाँको दुई वर्षको छोरा छ । आफ्नो पारिवारीक जीवनबाट सन्तुष्ट हुनुहुन्छ । मलाई भेट्दा भन्नुहुन्छ, ‘तपाईंकै सल्लाह मानेर म गलत बाटोमा हिड्नबाट रोकिएँ ।’
१०.रविन्द्र मिश्र मेरो राम्रो स्रोता हुनुहुन्छ । केही दिन अघिको मात्र कुुरा हो । उहाँ कपाल काट्न जाँदा एक जना मेरो फ्यानसँग भेट भएछ । त्यहीँबाट फोन गरेर मलाई उहाँसँग कुरा गराउनुभो ।
उहाँको नाम नवराज रहेछ । अहिले रेडियो नेपालमा खरदार हुनुहुँदो रहेछ । उहाँले मबाट ‘इन्सपायर’ भएर यो ठाउँसम्म आइपुगेको बताउनुभो । ‘म सानैदेखि तपाईंको कार्यक्रम सुन्थेँ । पहिले त्यति पढ्न मन लाग्दैनथ्यो । तपाईंको भनाइहरुबाट प्रेरित भएर नै पढाईमा राम्रो गरेँ । जागिर खाएँ । आज जुन पोष्टमा छु, त्यसमा तपाईंको पनि ठूलो हात छ’ उहाँका यस्ता शब्दले मलाई भावुक बनायो ।
११. मैले कान्तिपुर छोडेँ भनेर फेसबुकमा पोष्ट गरेपछि धेरै कमेन्टहरु आएका छन् । ती कमेन्टहरुले मलाई उत्प्रेरणा मिलेको छ । ‘तपाईंले हामीलाई मनोरञ्जन मात्र दिनुभएको छैन, जीवनमा राम्रो काम गर्न प्रेरणा पनि दिनुभएको छ भनेर धेरैले लेख्नुभएको छ । कसैले तपाईंको कारणले राम्रो पढेको छु भनेर लेख्नुभएको छ, कसैले आफ्नो जीवनसाथीसँग सम्वन्ध सुधारेको छु भन्नुभएको छ र कसैले आमाबुवालाई खुशी बनाएको छु भनेर लेख्नुभएको छ । यस्ता कमेन्टहरु पढ्दा पनि खुशीले मन भरिएको छ ।
१२. मैले १५ वर्षको रेडियो करिअरमा एक दिन पनि स्रोतालाई ठगिनँ ।  साथीहरु भ्याकेसन मनाउन जान्थे, पार्टीमा जान्थे । तर म कार्यक्रमको टाइममा कहिँ कतै गइनँ । एउटा एपिसोड पनि मैले मेहनत नगरिकन चलाएको छैन । एक दिन पनि अफिस ढिला पुगेको रेकर्ड छैन । मेहनेतको फल मिठो हुन्छ भन्छन् । मैले सँधै मिठो अनुभव गरिरहेँ ।
१३. एउटै अर्गनाइजेसनमा १५ वर्ष बिताउनु लामो समय हो । जीवनमा टर्निङ प्वाइन्टहरु आउनुपर्छ । हामी खाली कम्र्फट जोनमा बसेर जीवन गुजार्न चाहन्छौं । मैले पनि अहिलेसम्म त्यस्तै गरेँ । अब अलिकति चेन्ज ल्याउन चाहेकी छु । तर, म श्रोताहरुबाट अलग हुन लागेकी होइन । यदि त्यस्तो हुन्थ्यो भने मलाई असैह्य पीडा हुन्थ्यो होला । तर, आज म उत्साहित छु । म परिवर्तित समयलाई आत्मसात गर्दै नयाँ माध्यमबाट श्रोताहरुसँग गाँसिन गइरहेकी छु । अब मलाई पडकास्ट मार्फत इन्टरनेटमा सुन्न सक्नुहुनेछ । यसलाई मैले आफ्नो नामसँग जोडेर सब्सकास्ट नाम दिएकी छु ।
१४. मैले ४ वर्षअघि बिहे गरेँ । उहाँ व्यवसायी हुनुहुन्छ । मेरो कार्यक्रम खासै सुन्नुहुन्न । तर, मलाई सँधै सपोर्ट गर्नुहुन्छ । अझै मिहिनेत गर्न प्रेरणा दिनुहुन्छ ।
बिहेपछि पनि मेरो फ्यान फलोइङ घटेको छैन । बरु बढेको छ । सामाजिक सञ्जालमा सिन्दुर-पोते लगाएको फोटो हाल्छु र पनि कतिले मलाई प्रपोज गर्नुहुन्छ । यद्यपि मलाई सामाजिक सञ्जालमा आउने सन्देशहरु पहिलेको भन्दा केही फरक छन् । आजकाल बढि सल्लाहकै लागि सन्देश आउछन् । म सकभर सबैलाई जवाफ दिने प्रयत्न गर्छु ।
१५. रेडियो कार्यक्रम चलाउने बाहेक म क्याम्पस पढाउने पनि गर्छु । मास कम्युनिकेसन पढाउँछु । पढाईमा म निकै कडा गर्छु विद्यार्थीहरुलाई । धेरै विद्यार्थीहरु मसँग पर्सनल्ली नजिक पनि छन् । मलाई व्यक्तिगत कुराहरु सेयर गर्छन् र सल्लाह माग्छन् । सबैजना मसँग सामाजिक सञ्जालमा जोडिएका छन् ।
प्रस्तुतिः चिरञ्जीवी पौडेल
लेखकले अनलाइखबरका लागि तयार पारेको सामग्री हामीले साभार गरेका हौं ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment