दुइ भाइ कम्युनिष्ट

सिपी मैनाली र आरके मैनाली झापा आन्दोलनका बहुचर्चित नाम हुन् । कुनै वेला हतियारमार्फत सत्ता कब्जा गर्नुपर्छ भनेर वर्गशत्रु खत्तम गर्ने झापा आन्दोलनमा लागेका यी दुई ‘नायक’ दाजुभाइ हुन् । कम्युनिस्ट आन्दोलनलाई अहिलेको उचाइमा पुर्‍याउनमा जति आरकेको योगदान छ, तत्कालीन कोअर्डिनेसन केन्द्र र मालेको संस्थापक सचिवको हैसियतमा सिपीको योगदान अझ धेरै छ । २०२८ साल झापा आन्दोलनबाट सुरु भएको आन्दोलन नै माले हुँदै अहिलेको एमाले भएको हो । तर, यतिवेला सिपी एमालेमा छैनन् । आरकेचाहिँ झन्डै एक दशकको सम्बन्धविच्छेदपछि एमालेमै फर्किएका छन् ।
जेठा–माइला दाजुभाइ
पूर्वको ताप्लेजुङ फूलबारी गाविसको चोकपुरमा राधाकृष्ण (आरके) र चन्द्रप्रकाश (सिपी) मैनाली जन्मिएका हुन् । पाँच सन्तानमध्ये आरके जेठा हुन् भने सिपी माइला । आरकेको जन्म २००३ असोजमा भएको हो भने भदौ २००८ मा सिपी जन्मिएका हुन् । दाजुभाइले ताप्लेजुङकै हिउँदे छाप्रो स्कुल (हाल गुप्तेश्वर मावि) मा शिक्षक नागेन्द्रप्रसाद उप्रेतीबाट कखरा सिके ।
मैनाली परिवार २०२१ सालमा झापाको दुवागढीमा बसाइँ झर्‍यो । सम्पन्न मैनाली परिवारसँग झापामा बसाइँ सर्दा नै ७० बिघाजति जमिन थियो । पहाड बेचेको पैसाले परिवारले तराईमा जमिन थप्दा दैनिकी जमिनदार वर्गको झैँ सहज थियो । सम्पन्न परिवारका दाजुभाइले झापाकै भद्रपुर स्कुलबाट प्रवेशिका परिक्षा उत्तीर्ण गरेका हुन् । सिपी सानैदेखि तीक्ष्ण थिए । २०२४ सालमा बोर्ड पाँचौँ भएर एसएलसी उत्तीर्ण गरेपछि उनको देशभर चर्चा चुलियो । पढाइमा औसत आरकेले भने तेस्रो श्रेणीमा प्रवेशिका उत्तीर्ण गरे ।
विद्यार्थी जीवनबाटै राजनीति आरम्भ
‘बोर्ड टप’मा परेका सिपी भविष्यमा राम्रो व्यक्ति बन्ने सपना बोकेर काठमाडौंको अमृत साइन्स क्याम्पसमा भर्ना भए । आरके जेठा सन्तान भएकाले घर सम्हाल्नुपर्ने बाध्यताले भद्रपुरस्थित स्थानीय मेची क्याम्पसमा भर्ना भएर कलेज जीवन सुरु गरे । विद्यार्थी जीवनमै अनेरास्ववियुमा संगठित भएका सिपी २०२५ सालमै अमृत साइन्स क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भए । आइएस्सी उत्तीर्णपछि सिपी कोलोम्बो छात्रवृत्तिअन्तर्गत इन्जिनियरिङ अध्ययनका लागि भारत जाने तयारीमा थिए ।
तर दुर्भाग्य † उनी भारतीय दूतावासको स्वास्थ्य परीक्षणमा अयोग्य ठहरिए । जतिवेला आरकेले पनि मेची क्याम्पसमा निर्वाचित स्ववियु सभापतिका रूपमा राजनीतिक जीवन सुरु गरिसकेका थिए । ‘एकले अर्कालाई पछ्याएजसरी हामी दाजुभाइको सँगसँगै राजनीतिक जीवन आरम्भ भयो,’ आरके विगत सम्झिन्छन् ।
पार्टी राजनीतिमा आरके “सिनियर”
सँगसँगै विद्यार्थी राजनीति आरम्भ गरे पनि जतिवेला सिपी स्ववियु सभापति थिए, त्यतिवेला अर्थात् २०२५ सालतिरै आरकेले भने मनमोहन अधिकारी नेतृत्वको पूर्व कोसी प्रान्तीय कमिटीअन्तर्गत कम्युनिस्ट पार्टीको सदस्यता लिइसकेका थिए । ठीक एक वर्षपछि उनी झापा जिल्ला कमिटी सदस्यसमेत बने । सिपी भने ‘कोलम्बो प्लान’ असफल भएपछि मात्रै गृहजिल्ला झापा फर्किएर मेची क्याम्पसमै बिए अध्ययन गर्न थाले । आरकेको दुईवर्षे कार्यकाल सकिएलगत्तै उनी क्याम्पसको दोस्रो सभापति बने । सिपीले २०२७ सालमा पूर्व कोसी प्रान्तीय कमिटीबाट पार्टी सदस्यता लिए ।
दुवै झापा विद्रोहका नायक
२०२७ सालतिर छिमेकी मुलुक भारतमा चारु मजुमदारको नेतृत्वमा क्रान्तिकारी नक्सलाइट आन्दोलन चर्किंदै थियो । वर्गशत्रु खत्तम गर्ने हिंसात्मक त्यो आन्दोलनको बाछिटा झापातिर वाम आन्दोलनमा सक्रिय युवापंक्तिमा नपर्ने कुनै सम्भावना नै थिएन । यही क्रममा बिस्तारै झापा विद्रोहको वाताबरण तयार हुँदै गयो । तिनताका सिपीसहितका केही युवा विद्यार्थी संगठन विस्तारको सिलसिलामा गौरीगन्जमा जम्मा हुँदै थिए । त्यहीवेला मण्डलेको समूहले लुटपाट र हिंसा मच्चाएको आरोप लगायो । विद्यार्थी भेलामा दमन हुँदा सिपी र मुकुन्द न्यौपानेसहितका केही घाइते भए । त्यो दमनपछि सिपीमाथि प्रशासनले वारेन्ट जारी गर्‍यो र कलेज छाडेर उनी पूर्ण भूमिगत राजनीतितर्फ सक्रिय बन्ने अठोटसहित झन् क्रान्तिकारी बनेर निस्किए । सिपी भूमिगत राजनीतिमा लाग्ने वेला पनि दाइसँग निर्णायक सल्लाह भएको सम्झिन्छन् । ‘मलाई काठमाडौंमा पढाउन पठाउने काममा पनि दाइको ठूलो सहयोग रह्यो, वारेन्ट जारी भएपछि पनि मुद्दा मिलाएर अध्ययन या अरू काममा लाग्ने कि भूमिगत राजनीति गर्ने भनेर उहाँले सोध्नुभयो, सिपी सम्भिँmदै भन्छन्, ‘मैले भूमिगत राजनीतिमा लाग्छु भन्दै स्वतन्त्रपूर्वक आफ्नो निर्णय सुनाए ।’
आरके भने त्यतिवेला मनमोहन समूहबाट विद्रोह गरी गठन भएको झापा जिल्ला कोअर्डिनेसन केन्द्रको प्रथम सचिव बनिसकेका थिए । २०२८ सालमा पुग्दा चार वर्षसम्मको अर्धभूमिगत राजनीतिक जीवन अस्तव्यस्तताले आरकेमा टिबी रोग देखा पर्‍यो । निरन्तर औषधि सेवन गर्नुपर्ने स्थिति देखिएपछि आफ्नै प्रस्तावमा उनले सचिव पदबाट राजीनामा दिए । राजनीतिक गतिविधिमा सिपी नै अगुवा थिए तर उनकै प्रस्तावमा केपी ओली दोस्रो सचिव बने । २०२९ कात्तिकपछि जमिनदारमाथि क्रान्तिकारीहरूको ‘एक्सन’ तीव्र बन्दै जाँदा रामनाथ दाहाल पक्राउ परे । फागुनसम्म एउटा पनि बैठक नबसेपछि आन्दोलन निष्क्रिय हुने खतरा देखेर सिपी सक्रिय बने । केपी ओली मोहनचन्द्र खोज्न भारततिर लागेको त्यही वेला फागुनमै दुई रातसम्म बसेको बैठकबाट सिपी सचिव रहेको नौ सदस्यीय झापा जिल्लाको अर्को कमिटी बन्यो ।
सिपीको उदय, आरके जेलमा
सचिवलगत्तै सिपीले झापा आन्दोलनलाई राजनीतिक–वैचारिक तथा सांगठनिक नेतृत्व सम्हाले । २१ फागुन, २०२९ मा इलामको सुखानी जंगलमा तत्कालीन पञ्चायती शासकले रामनाथ दाहालसहितका क्रान्तिकारीहरूको हत्या गरेपछि कमिटी छिन्नभिन्न भयो । दमन चर्किंदै जाँदा आन्दोलन तितर–बितर हुन लागिरहेको स्थितिमा सिपीले युवा संघ, स्क्वाड, रेड गार्ड, विद्यार्थी कमिटीलाई दमनको विरोधमा राजनीतिक प्रचारमा सक्रिय गराए ।
त्यहीबीचमा डेढ दर्जन युवालाई राजकाज मुद्दा पनि चलाइएको थियो । २०३० साउन २० गते आरके, नरेश खरेल, सीता खड्कासहितको एउटा ठूलो समूह गरामनीबाट पक्राउ पर्‍यो । चन्द्रगढी, वीरगन्ज हुँदै आरके काठमाडौंको भद्रगोललगायतका जेलमा राजबन्दीका रूपमा रहे । आन्दोलन झन् कमजोर बन्ने त्यो स्थितिमा संयोगले बचेका सिपीकै नेतृत्वमा झापा आन्दोलन अघि बढ्यो । त्यस्तो संकटका वेला सिपी सम्हालिएनन् मात्र, सबैलाई सम्हाल्दै क्रान्तिकारी आन्दोलनको नेतृत्व गरे । ‘कम्युनिस्ट आन्दोलन अहिलेको स्थितिमा आइपुग्नुमा झापा विद्रोहको ठूलो भूमिका त छँदै छ, यससँगै २०४६ सालमा पञ्चायती निरंकुशता अन्त्य गर्ने तहसम्म संगठन निर्माण गर्दै कम्युनिस्ट धार निर्माणमा सिपीले नै नेतृत्वदायी भूमिका खेलेका हुन्,’ आरके सम्झिन्छन् ।
२०३१ सालमा झापा–मोरङ–सुनसरीलाई समेटेर सिपीले झापा विद्रोहको सन्देश दिन संयुक्त अपिल जारी गरे । २०३२ सालमा ९ वटा जिल्ला समेटेर सिपीकै अगुवाइमा को–अर्डिनेसन केन्द्र निर्माण भयो, जसको सचिव पनि उनी नै बने । २०३५ साल चैतमा नेकपा माले निर्माण गर्ने वेलासम्म मदन भण्डारीसहित मुक्ति मोर्चा, रातो झन्डा, दंगाली समूहलगायतका ससाना समूहलाई मिलाउने कामको नेतृत्व पनि सिपीले नै गरे । ‘२०३७ सालसम्मको सिपीको भूमिका हटाइदिने हो भने कम्युनिस्ट आन्दोलन नै बुच्चा हुन्छ,’ आरके भन्छन् । २०४३ सालमा जेलबाट छुटेपछि आरके पार्टीमै सक्रिय बने । उनी २०४६ सालमा तत्कालीन राजा वीरेन्द्रसँग कांग्रेस र वाममोर्चाका तर्फबाट वार्ता गर्ने टोलीमा तत्कालीन वामोर्चाका तर्फबाट एक सदस्य थिए ।
जेल ब्रेकपछि चुलियो सिपीको चर्चा
२०३२ माघमा सिपी पनि पक्राउ परे, उनलाई पनि आरके रहेकै सेन्ट्रल जेल ल्याइयो । २०३३ साल १२ चैतमा सिपीसहित १५ जनाले जेल ब्रेक गरेर बाहिरिए, तीमध्ये घनेन्द्रसहित पाँचजना भने चार दिनपछि पथलैयाबाट पक्राउ परे । छुट्टै रहेका केपी र आरकेहरू भने भित्रै रहे । प्रमुख नेताकै अगुवाइमा जेल ब्रेक भएपछि उनको अदम्य साहससहितको क्रान्तिकारिताका कारण बाहिर एकाएक सिपीको चर्चा चुलियो, उनी नेताका रूपमा क्रमश: स्थापित हुँदै गए । त्यतिवेला कार्यकर्ताहरूले सिपीलाई महान् नेता, माओकै रूपमा पनि चर्चा गर्ने गरिएको बताइन्छ । खासगरी टंक कार्कीलगायतका विद्यार्थी आन्दोलनमा सक्रिय नेता–कार्यकर्ता सिपीको व्यक्तित्वबारे वेला–वेला छलफल गर्थे।
दाजुभाइको आपसी गुनासो
सिपी र आरके दुवै आन्दोलनमा लागेका कमरेड हुन् । त्यसभन्दा पनि दाजुभाइको सम्बन्धले आत्मीयता नहुने कुरै भएन । आपसी सफलता र उपलब्धिमा दुवै खुसी हुन्छन् । चाडपर्वमा मात्रै भेटघाट सीमित रहे पनि दाजुभाइको आपसी गुनासो पनि छ ।
सिपीले झापा आन्दोलनलाई राजनीतिक धार दिए । ‘सिपीले राजनीतिलाई परिमार्जन गर्न त जाने तर त्यसअनुकूल आफूलाई चिन्तनगत हिसाबले जसरी परिमार्जन गर्न सक्नुपथ्र्यो त्यसमा कमी देखियो,’ आरके भन्छन्, ‘मैले भनेपछि सबै कुरा ठीक हुन्छ, ससाना कुरामा अल्झिने, कुनै कुरामा पुनरावलोकन गर्नुपर्‍यो भने ठूलो समस्या ठान्ने कमजोरी सिपीमा देखियो,’ आरके भन्छन् । माले धारमा मिसिएका धेरै समकालीनहरू झापा विद्रोहभन्दा बाहिरबाट आएकाले त्यो ‘स्प्रिट’ बोकेकै छैनन् भन्ने सिपीकै सोचाइले २०३७ सालपछि कारबाहीसँगै उनको राजनीति ओरालो लागेको भन्नेहरूको संख्या वामवृत्तमा कमी छैन ।
उता, सिपी भने आरकेमा सबैलाई समेट्न सक्ने क्षमता नभएको, वैचारिक, राजनीतिक कौशल नरहेको ठान्छन् । खासगरी २०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही कदम चालेपछिको शाही सरकारमा सामेल भएर आरकेले ठूलो राजनीतिक गल्ती गरेको सिपीले बताउने गरेका छन् । ‘उहाँ एमालेमा आफूलाई गरेको व्यवहारबाट असन्तुष्ट भएको भए बरु स्वतन्त्र बसेको भए हुन्थ्यो, जे उद्देश्यले राजाको सरकारमा जानुभो, सफल हुनुभएन, त्यो कुरा पछि महसुस पनि गर्नुभो, मैले पनि पछि तपाईंले गल्ती नै गर्नुभो भनेको छु,’ सिपी सम्झिँदै भन्छन् । एमालेकै नेताहरूसँग पनि सिपीले आरकेको कमजोरी खुलेरै बताउने गरेका छन् । आरके भने सिपी नै कम्युनिस्ट आन्दोलनभित्र गुटको सर्जक ठान्छन् । सानो अहिलेको माले पार्टीभित्रै पनि सबै कार्यकर्तालाई आफ्ना नठान्ने, निश्चित घेरालाई नै पार्टी ठान्ने सिपीको चिन्तन रहेको आरकेले बताउने गरेका छन् ।
पार्टी फुट्दा एकै ठाउँमा
सिपीलाई पुनस्र्थापित गर्नेगरी २०४४ सालमा केपी ओलीले प्रतिवेदन बुझाउनमा आरकेको पनि भूमिका रहेको बताइन्छ । त्यसअघि उनी महासचिवबाट मात्रै हटाइएनन्, केन्द्रीय कमिटीबाट समेत निलम्बनमा परेका थिए । तर, केन्द्रीय कमिटीबाट हटाउनु गल्ती भएकाले पुनस्र्थापित गर्नुपर्ने आरकेसमेतको सल्लाहमा केपीले बुझाएको प्रतिवेदनलाई सिपीले अस्वीकार गरेको बताइन्छ । महाकाली सन्धिलाई मूल मुद्दा बनाएर २०५४ सालको छैटौँ महाधिवेशनबाट पार्टी फुटाउन सिपी अग्रमोर्चामा लागेका थिए । (यद्यपि, सिपी–आरकेले भने पार्टी फुटाउन माधव–ओलीको पनि भूमिका रहेको बताउँछन्) तत्कालीन एमाले फुटेर माले बन्दा आरके पनि सिपीसँगै लागे र चार वर्ष सँगै काम गरे । खासमा महाकाली सन्धि राष्ट्रका लागि धोका हो भन्ने मुद्दामा दुवै दाजुभाइ एकै ठाउँ उभिएका थिए ।
एकै दिन मन्त्री
२०५१ सालको मध्यावधि निर्वाचनमा एमाले ठूलो दल बनेपछि अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन भयो । त्यो मन्त्रिमण्डलमा दाजुभाइ नै एकै दिन पहिलोपटक मन्त्री बने । आरके कृषि तथा भूमिसुधार मन्त्री भए भने सिपी स्थानीय विकास तथा आपूर्तिमन्त्री बने । तर, प्रधानमन्त्रीसँग विवाद भएपछि सिपी बीचैमा बर्खास्तगीमा परे ।
बहुदलीय व्यवस्थामा एकपटक मन्त्री बनेका उनी पछिल्लोपटक केपी शर्मा ओली नेतृत्वको सरकारमा उपपप्रधानमन्त्री तथा समाजकल्याण मन्त्री छन् । उता, आरके भने लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री (२०५३), गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सञ्चारमन्त्री (२०५५) तथा २०६१ माघ १९ पछि राजाको प्रत्यक्ष शासनमा शिक्षामन्त्री बने ।
सिपीले मानेनन् आरकेको सल्लाह
‘२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ९ सिट ल्याएपछि मैले राम्रो हैसियत छ, एमालेसँग मिलेर जाँदा राम्रो हुन्छ भन्ने सल्लाह दिएँ, तर सिपीले मानेनन्,’ आरके भन्छन्, ‘तर अहिले एमालेकै नेतृत्वमा बनेको सरकारमा उपप्रधानमन्त्री र समाजकल्याणमन्त्री बनेका छन्,’ आरके भन्छन् । कम्युनिस्ट आन्दोलनमा सिपीको भूमिका महत्त्वपूर्ण रहेकाले एकीकृत रूपमै अघि बढ्ने सन्दर्भमा उनको भूमिका एमालेमै देखिने आरके ठान्छन् । तर, सिपी भने तत्कालै एकीकरण गरिहाल्ने पक्षमा छैनन् । ‘म एमालेमै भएकाले अहिले पार्टीमा आउ न त भन्न मेरै दुर्दशाको स्थिति छ, केही समयअघि त घुमाएर कुरा पनि गरँे तर मेरो कुरा उनले रेस्पोन्स गरेनन्,’ आरके भन्छन् । सिपी पनि दाजुले पार्टी मिलाउने क्रममा २०५८ सालमा सँगै जाऊँ भन्दा पनि नमानेको स्वीकार गर्छन् । ‘दाइले सँगै पार्टीमा एकीकरण गरेर जाऊँ भन्नुभएको हो तर मैले कुरै नमिलीकन यसरी जाँदा म त फेरि फर्किएर आउन सक्छु, तपाईंहरू जानुस् भनेको थिएँ,’ सिपीले स्मरणगर्दै भने ।
पारिवारिक आवत–जावत कम
आरके सितापाइलामा बस्छन्, सिपी पुल्चोकमा । दाजुभाइ भए पनि उनीहरू मुस्किलले भेटघाट गर्छन् । यसको अर्थ पारिवारिक किचलो र वैरभावका कारण भन्दा पनि आ–आफ्नै व्यस्तता नै मूल कारण रहेको दुवै ठान्छन् । दाजुलाई भेट्दा सिपी शिष्टाचार राख्छन् । एक महिनाअघि बिरामी दाजुलाई भेट्न सिपी अस्पतालमै पुगेका थिए । दशैँ–तिहारजस्ता चाडपर्वमा भने सिपी दाजुलाई मान्न निवासमै पुग्ने गर्छन् । पारिवारिक खालको परामर्श पनि कमै छ ।
नयाँ पत्रिका दैनिक/शुरोजंग पाण्डे
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment