टोले गुन्डा थिए गणेशमान, गंगालालको ईर्ष्याले राजनीतिमा

Mathbar singh basnet
नेपालका पुराना पत्रकारमध्ये गनिन्छन्, माथवरसिंह बस्नेत । पञ्चायतकालदेखि ‘मिसन पत्रकारिता’ मा संलग्न बस्नेत कांग्रेसका गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग निकट थिए ।
गणेशमानको जीवनीमा आधारित धारावाहिक पुस्तक प्रकाशित गर्दै आएका बस्नेतले अनलाइखबरका चिरञ्जीवी पाैडेलसँग गणेशमानका थप रोचक पाटाहरु उजागर गरेका छन् ।
यसरी भयो नामाकरण
गणेशमानजीको खास नाम हिराकाजी हो । उहाँका बाजे काजी रत्नमानले राखिदिनुभएको नाम हो, गणेशमान ।
रत्नमान भन्नुहुन्थ्यो, ‘हाम्रो सात पुस्ता नर्कमा परे भने पनि यो नातिले निकाल्छ ।’ भक्तपुरको सर्यविनायक गणेशमा नामाकरणका लागि जाँदा चारवटा लरी (त्यतिबेला बस थिएनन्, मानिसहरु ट्रकमा यात्रा गर्थे, जसलाई लरी भन्थे) मा खचाखच निम्तालु लगिएका थिए । उनीहरुलाई भव्य भोज खुवाइएको थियो ।
गणेशमानको परिवार खातापिता थियो । तर, सानो छँदा नै उहाँका पिता सुब्बा ज्ञानमान स्वर्गे हुनुभयो । उहाँलाई हजुरबाले निकै पुल्पुल्याएर हुर्काउनुभयो । सानैमा बुवालाई गुमाएको हुनाले परिवारका अन्य सदस्यले पनि उहाँलाई बढी लाडप्यार गरे । यसको परिणाम राम्रो भएन । गणेशमानजीले सानैदेखि घमण्डी, छुचो र हुल्याहा रुप धारण गर्नुभयो ।
राणाका बच्चालाई पिटाइ
हुनेखाने परिवारको पुल्पुलिएको छोरो गणेशमान बाल्यकालमा स्कुल जान मान्नुभएन । जबकि परिवारमा अरु सबै पढेलेखेका थिए । गणेशमानलाई तीर्थमान भन्ने काकाले घरमै आएर सामान्य शिक्षा दिनुभयो ।
१३ वर्षको उमेरमा बल्ल रत्नमानले नातिलाई विद्यालय भर्ना गर्न सफल हुनुभयो । प्रारम्भिक शिक्षा घरमा लिइसकेकाले दरबार स्कुलले उहाँलाई एकैपटक ५ कक्षामा भर्ना लियो । एक वर्ष स्कुल जानुभयो । तर, ६ कक्षामा पढ्दैगर्दा एउटा घटना भयो र उहाँ स्कुल जानै बन्द गर्नुभयो ।
त्यतिबेला दरबार स्कुलमा राणाहरुका सन्तान मात्रै पढ्ने गर्थे । एक राणाको छोराले गणेशमानलाई मुख छोडेर गाली गरेछ । मुखको जवाफ मुखले दिँदा स्वाद पुग्दैन भनेर गणेशमानजीले हातै छोड्नुभयो । त्यो सफेदपोस विद्यार्थी रुँदै हेडमास्टरकहाँ पोल लगाउन पुग्यो ।  हेडमास्टर रुद्रराज पाण्डेले क्रोधित भएर गणेशमानलाई लठ्ठी उज्याउनुभो । गणेशमानजी कुलेलम ठोकेर घरतिर जानुभयो । भोलिपल्टदेखि स्कुलै जानुभएन । रत्नमानजीले पनि जोड गर्नुभएन ।
टोले गुण्डा गणेशमान
Ganeshman-sing
स्कुल छाडेपछि गणेशमान पुरै आवारा हुनुभयो । बिहान तिर्थमान आएर पढाउँथे, त्यसपछि दिनभर आवारागिरीमा बित्थ्यो । टोलटोलमा केटाहरु भेला पारेर गुच्चा खेल्ने, खोपी खेल्ने, तास-जुवा खेल्ने उहाँको दैनिकी बन्यो । बिस्तारै रक्सी खाने आदत बस्यो । भट्टीभट्टी चहार्दै उधारोमा रक्सी खान थाल्नुभयो ।
त्यसपछि त टोले गुण्डाहरुको समूह बनाएर त्यसको नाइकेसमेत हुनुभयो । कति मान्छे पिट्नुभयो, कतिपटक पक्राउ पर्नुभयो र हजुरबुबाको नामले गर्दा छुट्नुभयो, कुनै लेखाजोखा छैन । मसँगको कुराकानीमा एकपटक गणेशमानले भन्नुभएको छ, ‘काठमाडौंमा मैले उधारो रक्सी नखाएको भट्टी र सिड्यूस नगरेकी भट्टीवाल्नी छैन ।’
भूकम्पमा निर्धक्क
नाति नमज्जाले बिग्रिन थालेपछि रत्नमानको चिन्ता बढ्यो । अनि उहाँले तत्कालीन कमाण्डर इन चिफ रुद्रशमशेरको सोर्स लगाएर गणेशमानलाई जागिर लगाइदिनुभयो । अहिले निर्वाचन आयोग बसेको भवन त्यतिबेला चारबुर्जे दरबार भनेर चिनिन्थ्यो । त्यसमा बहिदार बन्नुभयो गणेशमान ।
९० सालको भूकम्प जाँदा दरबारको चारमध्ये एक बुर्जामा घाम ताप्दै बसिरहनुभएको थियो गणेशमान । भुईंचालो आयो भनेर सबै भागाभाग गरे । गणेशमानजी भने ‘यी डरछेरुवाहरु’ भन्दै आरामले बस्नुभयो । भुँईंचालो बुर्जाको छानो ढल्यो र दलिन खसेर उहाँकै सामुन्ने तेर्सियो । बल्ल उहाँ आङ तान्दै कुर्सीबाट उठ्नुभयो र दलिन नाघेर भाग्नुभयो ।
घरकै ढुकुटी फोर्नुभयो
जागिरले पनि गणेशमानलाई खराब लतबाट रोक्न सकेन । रक्सी र जुवाको लतमा उहाँ नराम्ररी फँस्दै जानुभयो । आफ्नो ग्याङका सबैलाई भट्टीमा लैजाने र उधारो रक्सी खुवाउने गर्नुहुन्थ्यो ।
यता आफूसँग भएको पैसा सबै जुवामा सिध्याउनुभयो । रक्सी र जुवाको लतले उहाँलाई यति ऋण लाग्यो कि आफ्ना हजुरआमा र आमाहरुका सुनका गहना फुत्काउने र बेचेर जुवा खेल्ने गर्न थाल्नुभयो । त्यो पनि सबै हार्नुभो । काजीको खलक भएकाले उहाँलाई ऋण दिनेहरुको कमी थिएन । तर, बिस्तारै गहना पनि सकिएपछि उहाँ कसैलाई मुख देखाउनै नसक्ने अवस्थामा पुग्नुभो । अन्ततः एक दिन उहाँले ऋण तिर्नका लागि आफ्नै घरको ढुकुटी फोर्नुभयो ।
त्यतिबेला हुने-खानेहरुको छुट्टै ढुकुटी कोठा हुन्थ्यो । त्यसमा भएभरको नगद रकम राख्ने गरिन्थ्यो । गणेशमानले ढुकुटीको माथिबाट प्वाल पारेर २५ वटा थैला निकाल्नुभयो । नोटको जमाना थिएन । एउटा थैलामा एक हजारका सिक्का रहेछन् । यो ९४-९५ सालतिरको कुरा हो ।यसरी पैसा चोरेर साराको ऋण तिर्नुभयो र घर नफर्किकन उहाँ भागेर कलकत्ता जानुभयो ।
गणेशमानजीका आफन्त थिए कोलकातामा । उनीहरुले समाएर गणेशमानलाई हेटौंडामा ल्याए । रत्नमान काजी पनि त्यहाँ पुग्नुभयो ।
‘अब के गर्छस् ? काठमाडौंमा त तँ जुन घरमा जान्छस्, मान्छेहरुले ‘गणेशमान आयो सामान लुकाओ’ भन्ने अवस्था छ,’ रत्नमानले अमिलो मनले गणेशमानलाई सोध्नुभयो ।
‘म कोलकातामा बसेर पढ्छु,’ गणेशमानले घोसेमुन्टो लगाएर भन्नुभयो ।
‘तँ बुढो सुगाले के पढ्लास् खोई ?’ रत्नमानले पत्याउनुभएन ।
‘होइन, अब पढ्ने हो,’ गणेशमानजी ढीट भएर भन्नुभो ।
‘ठीक छ । पढ्छस भने पढ् । लाग्ने खर्च म पठाइदिन्छु ।’ रत्नमानले आश्वासन दिनुभयो ।
त्यसपछि गणेशमान कलकत्ता र रत्नमान काठमाडौं फर्किनुभयो ।
नभन्दै गणेशमानले कलकत्तामा खुबै मिहनेत गरेर पढ्नुभो । फस्र्ट डिभिजनमा म्याटि्रक पास गर्नुभो । त्यसपछि विद्यासागर कलेजमा आइएस्सीमा भर्ना हुनुभो ।
गंगालालको ईर्ष्याले राजनीतिमा
गणेशमान कोलकातामा पढ्दै गर्दा शुक्रराज शास्त्रीले नेपालमा राणाशासन विरोधी जनचेतना जगाउन अभियान थाल्नुभयो । त्यतिबेला हरेक टोलको डबलीमा पुराण लगाउने चलन थियो । उहाँ पुराणको माध्यमबाट राजनीतिक सन्देशहरु प्रवाह गर्ने गर्नुहुन्थ्यो । त्यसमा गंगालाललाई पनि भाषण गर्न निम्त्याउनुहुन्थ्यो । गंगालालमा फ्रेन्च र रसियन रिभोलुसनको ठूलो प्रभाव थियो । उहाँ आगो ओकल्ने भाषण गर्नुहुन्थ्यो ।
त्यतिबेला सञ्चारमाध्यम थिएनन् । गंगालालको भाषणको चर्चा एक-कान, दुई कान हुँदै पूरा काठमाडौंभरि फैलियो र अझै ‘म्यागनीफाई’ हुँदै बोर्डर क्रस गरेर कोलकातासम्म पुग्यो । गणेशमानले पनि सुन्नुभयो । तर, यसले उहाँभित्र गंगालालप्रति आदरभाव होइन, जलन पैदा गर्‍यो । यही नकारात्मक प्रेरणाले गणेशमानलाई राजनीतिमा आकषिर्त गर्‍यो ।
गंगालालको जटिल प्रश्न
गंगालालको ईष्र्याले राजनीतिमा लाग्ने सोचाइ बनाएर काठमाडौं आउनुभयो गणेशमान । सानैदेखि उहाँको स्वभाव कस्तो भने, कुनै कुरामा अठोट लिइसकेपछि त्यसलाई पूरा नगरिकन चैनको सास नफेर्ने ।
एकजना हरिकृष्ण श्रेष्ठ भन्ने गणेशमानका मित्र हुनुहुन्थ्यो । गणेशमानजीको राजनीतिक रुझान देखेपछि उहाँले सोच्नुभयो, ‘गंगालाल र गणेशमानको जोडी राजनीतिमा कति जम्थ्यो होला ?’
त्यही सोचेर एक दिन उहाँले दुवैलाई भेट गराउने योजना बनाउनुभयो । सुरुमा गंगालालसँग समय निश्चित गर्नुभयो, त्यसपछि गणेशमानलाई भेट्नुभयो । ‘ए गणेशमान,’ हरिकृष्णले गणेशमानको काँधमा हात राखेर भन्नुभयो, ‘मैले गंगालाललाई घरमा खाना खान बोलाएको छु, तँ पनि आइज न ।’
हरिकृष्णको प्रस्तावबाट गणेशमानजी झोक्किनुभो । ‘केरे ?’ काँधबाट हात हटाइदिदै उहाँले भन्नुभो, ‘गंगालाललाई बोलाएको ठाउँमा म किन जाने ? म त्यति सस्तो छु ?’
हरिकृष्णले अलि सच्याएर भन्नुभयो, ‘होइन, होइन । मैले दुवैलाई बोलाएको हो । परिचय आदान-प्रदान गर्दा के बिग्रन्छ ?’
गणेशमानजी आनाकानी गर्दैगर्दै अन्तिममा राजी हुनुभयो । र, गणेशमान र गंगालालको पहिलोपटक भेट भयो हरिकृष्णको घरमा । सँगै खाना खान बस्दा गणेशमानजीले गंगालाललाई खुब होच्याउनुभो । तर, गंगालालले खासै जवाफ फर्काउनुभएन ।
हनुमानढोकादेखि उत्तरपट्टी यट्खामा गणेशमानजीको घर थियो । त्योभन्दा अलिकति पर गंगालाल । बिहान तीन बजे दुबै जना एउटै गाडीमा फर्किनुभो ।
फर्किँदा च्यामेहरुले उठेर गल्ली-सडकहरु बढार्न थालिसकेका थिए । तरुनी च्यामिनीहरुलाई औंल्याउँदै गंगालालले अनौठो प्रश्न गर्नुभयोे, ‘गणेशमानजी, यी तरुनी च्यामिनीहरुलाई राणाहरुले च्यापचुप पारे भने कसैले केही गर्न सक्छ त ?’
गणेशमानजीले धेरै नसोची जवाफ दिनुभो, ‘राणाको के कुरा, मैले समातेँ भने पनि कसैको बाउले केही गर्न सक्दैन ।’
‘तर, तपाईंकै दिदी, भाउजूलाई राणाहरुले समाते भने ?’ गंगालालको यो प्रश्नले भने गणेशमानलाई सियोले झैं घोप्यो । सुरुमा त उहाँ क्रोधित बन्नुभयो । तर, कुनै जवाफ दिन सक्नुभएन । यत्तिकैमा घर आइपुग्यो ।
घरभित्र गएर गणेशमान सुत्न सक्नुभएन । गहिरो सोचमा पर्नुभयो । गंगालालले सोधेको प्रश्नले उहाँको मथिंगललाई नराम्ररी हल्लाएको थियो । सोच्नुभयो, ‘साँच्चै म काजीकै खलक भए पनि राणाहरुले त्यस्तो गरे भने के गर्न सकिन्छ र ?’
दुई घण्टा यत्तिकै बित्यो । भोलिपल्ट बिहान ५ बजे उहाँ घरबाट निस्केर गंगालालकहाँ जानुभो । ढोका ढकढक गर्नुभयो । ‘म सुत्नै सकिनँ,’ ढोका खोल्नासाथ गंगालाललाई भन्नुभयो, ‘तपाईंले भनेको ठीक हो । केही गर्न सकिन्न ।’
त्यसपछि गणेशमानले नै राणा शासनविरुद्ध लड्न एउटा पार्टी खोल्ने प्रस्ताव राख्नुभयो ।
‘पार्टी खोल्ने खेलाँची होइन । बरु भइरहेको पार्टी प्रजापरिषदमा नै जाउँ,’ गंगालालले भन्नुभयो ।
तर, प्रजापरिषद कसरी भेट्ने भन्ने समस्या थियो । प्रतिवन्धित अवस्थामा प्रजापरिषदका नेताहरु सडकमा भेटिने सम्भावना थिएन । त्यसैले भोलिबाटै प्रजापरिषदको खोजीमा लाग्ने सल्लाह उनीहरुबीच भयो ।
आखिरमा धर्मभक्त माथेमासँग उहाँहरुको भेट भयो । उहाँले गंगालाल र गणेशमानलाई एक साथ सदस्यता दिनुभयो प्रजापरिषदको ।
जेलबाट भाग्नुभयो
विसं. १९९७ सालमा ठूलो काण्ड भयो । प्रजातन्त्रको पक्षमा पर्चा निकाल्ने काममा संलग्न सबैलाई राणा सरकारले पक्राउ गर्‍यो । गणेशमानजी र गंगालालजी पनि पक्राउ पर्नुभो । गंगालालजीको एउटा अंग्रेजीमा लेखेको हस्तलिखित पर्चा नै फेला पर्‍यो । त्यसैले उहाँलाई मृत्युदण्डको सजायँ दिइयो । गणेशमानजीलाई भने जन्मकैद भो ।
तर, राणाहरुले गणेशमानलाई लामो समय जेलमा कोचेर राख्न सकेनन् । जेल परेकै दिनदेखि उहाँ कसरी यहाँबाट भाग्ने भन्ने दाउपेचमा लागिसक्नुभएको थियो । तर, भद्रगोल जेलको सुरक्षा लर्तरोथिएन । त्यसमाथि उहाँलाई राखिएको थियो, जेलभित्रको पनि जेल गोलघरमा । गोलघर बाहिर २२ फिट अग्लो पर्खाल थियो । त्यसबाट पार भएपछि फेरि अर्को पर्खाल ।
तर, गणेशमानजीमा अठोट गरेपछि पुर्‍याई छाड्ने स्वभाव थियो । त्यसका लागि जे पनि गर्न तयार हुनुहुन्थ्यो । उहाँले जेलभित्र बसेर प्रजातन्त्र आउँदैन भन्दै सुरुदेखि नै साथीहरुलाई उकास्नुभयो । तर कसैले पनि उहाँलाई साथ दिएनन् । त्यसपछि एक्लै आँट्नुभो ।
जेलको पर्खाल नाघ्नलाई ४४ फिट लामो डोरी चाहिन्थ्यो । २२ फिट वारी र २२ फिट पारी । तर, डोरी कहाँ पाउनु ? जेलभित्र कैदीहरुलाई वर्षमा दुईपटक कपडा दिइन्थ्यो । यसरी बाँडिने कपडा गणेशमानजीले पैसा तिरेर किन्न थाल्नुभयो । बटुलेका कपडालाई जोड्दै गाँठो पार्दै जानुभयो । गाँठोमा समाउन पनि मिल्ने टेक्न पनि मिल्ने । यो आइडिया गजबकै थियो ।
कपडाको डोरी त तयार भयो । अब थियो सुरक्षा चुनौति । जेलभित्र २४ सै घण्टा खबरदार खबरदार भनेर सुरक्षाकर्मी रातभरि घुमिरहन्छन् । तिनलाई छल्नु सामान्य कुरा थिएन । उहाँ हरेक रात डोरी बोकेर जाने, सुरक्षाकर्मीको आँखा छलेर डोरीको टुप्पोमा बनाएको अंकुशे पर्खालमा अड्काउने प्रयास गर्नुहुन्थ्यो । तर, कहिले सुरक्षाकर्मी नजिकै आउने त कहिले अंकुशे नअड्किने ।
२००१ साल असार ३ गतेको राति भने सुरक्षाकर्मी र अंकुशे दुवैले साथ दिए । उहाँले चन्द्रमान कम्पाउन्डर भन्ने मोटा कैदीलाई पनि आफूसँगै भगाउने प्रयास गर्नुभएको थियो, तर उनी चढ्नै सकेनन् । त्यसपछि उहाँ एक्लै पर्खाल नाघेर जानुभयो । २२ फिटको पर्खाल नाघेपछि अर्को होचो पर्खाल त उहाँलाई खेलाँची थियो ।
बुटवलमा भेटिए ज्यानकाजी
जेलबाट निस्केर बेपत्ता भाग्नुभयो गणेशमान । त्यतिबेला गाडी चल्थेनन् । काठमाडौंबाट हिँड्दै भीमढुंगा-त्रिशुली-मनकामना-गोरखा-तनहु-कास्की-स्याङ्जा-पाल्पा-तानसेन हुँदै उहाँ बुटबल पुग्नुभयो ।
बुटबलको खस्र्यौलीमा थकाइले लोथ भएर गोडा तन्काउँदै बसिरहनुभएको थियो, एकजना ज्यानकाजी जस्तै मान्छे देखिए । रमरम अँध्यारोमा सडकछेउ पिशाब फेरेर इँजार बाँधिरहेका ती व्यक्तिछेउ पुग्नुभयो ।
‘ए ज्यानकाजी, मलाई चिन्यौं ?’
‘अहँ चिनिनँ’
‘ह्या, कस्तो नचिनेको ?’
‘चिनिनँ, सत्ते चिनिनँ’
‘म हिराकाजी क्या त ?’
ज्यानकाजीले जिब्रो टोके ।
‘अहो, हिराकाजी पो । तपाईं त जेल परेको होइन ? यहाँ कसरी ?’ कसरी जेल मान्छे ?
‘जेलबाट भागेर आएको नि ।’
ज्यानकाजीले फेरि जिब्रो टोके ।
‘अब यतिबेला तिम्रो कर्तव्य के ?’ गणेशमानले सोध्नुभयो । ‘अरु के हुनु, अब तिम्रो गर्धन तल, मेरो गर्धन माथि,’ खोजेजस्तो जवाफ दिए ज्यानकाजीले ।
त्यो रात ज्यानकाजीले आफ्नो घरमा गणेशमानलाई लगेर खाना खुवाए, सुताए । तर, वास्तविक परिचय खोलेनन् । भोलिपल्ट गणेशमानजी हिँड्न तयार हुनुभयो । ज्यानकाजीले उहाँलाई एक जोर लुगा र जुत्ता दिए । ‘एक हजार छ भने देउ । नत्र पाँच सय भए पनि हुन्छ,’ गणेशमान जीले भन्नुभयो । ज्यानकाजीले त्यो पनि व्यवस्था गरे ।
त्यसपछि ज्यानकाजीले दिएको धोती र कुर्ता लगाउनुभो । त्यसमाथि नेहरु क्याप लगाउँदा उहाँ मारवाडी जस्तै देखिनुभो । त्यसपछि बुटबलबाट बस समातेर इन्डियातिर जानुभो ।
एयरफोर्समा तवला वादक
गणेशमानजी कोलकातामा पहिले पढ्न बसेकै ठाउँमा जानुभयो । तर, पुराना साथीहरु कोही भेटिएनन् । बुझ्दै जाँदा थाहा पाउनुभयो, सबै साथीहरु एयरफोर्समा जागिर खान लाहोर गएका रहेछन् ।
त्यतिबेला दोस्रो विश्वयुद्धमा जर्मनीले एयरर्फोस तयार गरेको थियो । त्यसलाई काउन्टर गर्न बि्रटेनले पनि एयरफोर्स खडा गर्‍यो । धेरै पढ्न नसकेका र अन्त जागिर नखाएका केटाहरु सबै एयरफोर्समा भर्ति हुन पुगेका थिए ।
त्यसपछि उहाँ पनि एयरफोर्समा जान तयार हुनुभयो । लाहोरबाट दुई स्टेसन पर वाल्टन भन्ने ठाउँमा एयरफोर्सको तालिम हुन्थ्यो ।गणेशमानजी गल्लावालहरुसँग सम्पर्क गरेर उनीहरुकै पैसामा त्यहाँ पुग्नुभयो । तर, त्यतिबेला भर्ति बन्द भइसकेको रहेछ ।
फर्किनलाई उहाँसँग पैसा भएन । एकजना एयरफोर्सकै साथीलाई फोन गर्नुभयो । उनी भेट्न नआउञ्जेल लाहोरकै एउटा होटलमा बस्नुभयो ।
‘अलि अघि आएको भए हामी सहयोग गर्न सक्थेँ,’ साथीले भने, ‘अब त केही लाग्दैन ।’
‘ठीक छ, त्यसो भए म कोलकाता फर्किन्छु । खर्चको व्यवस्था गर,’ गणेशमानले भन्नुभयो ।
‘ठीक छ, म एक हप्ताभित्र व्यवस्था गर्छु,’ भनेर साथी उठ्न आँटे ।
हिँड्ने बेलामा झ्वाट्ट केही सम्झिँए झैं गरे ।
‘ए सिंह, तिमी तबला बजाउथ्यौं नि, अहिले बिर्सियौ ?’ साथीले सोधे ।
‘तबला रे ? कोलकातामा बस्दा तबला बजाउन बिर्जु महाराज एक नम्बर भए, म दुई नम्बर, ऊ दुई नम्बर भए म एक नम्बर,’ गणेशमानले छाती पिट्दै भन्नुभयो ।
‘हाम्रो यहाँ एयरम्यानहरुको क्लब छ, त्यसमा सबै आर्केस्ट्राहरु बम्बईबाट झिकाएको छ । तर, तबला बजाउने मान्छे चाहिएको छ, तिमी सक्छौं भने म लगाइदिन्छु ।’
‘ए, त्यो त म आँखा चिम्लेर गरिहाल्छु नि ।’
त्यसको भोलिपल्टै बेलुका गणेशमानले तवलावादनको ‘ट्रायल’ दिनुभयो । बचपनदेखि नै उहाँ तबला बजाउन सिपालु हुनुहुन्थ्यो । बजाएर देखाएपछि सबैले वाह वाह भन्न थाले । उहाँ पास हुनुभयो । एयरम्यान बन्नुभयो । अब खान र बस्न चिन्ता भएन ।
तर, गणेशमान चाहनुहुन्थ्यो, पाइलट बन्न । त्यसका लागि बैंगलोरमा तालिम दिइन्थ्यो । उहाँ तालिम लिन जानुभयो । सबै कुरामा पास हुनुभो, तर हाइट पुगेन । फर्किनुभयो । पाइलट बन्न नसकेपछि एयरफोर्सको जागिर नै छाडेर हिँड्नुभयो
जेलब्रेकको कथावाचन
गणेशमान कालिङपोङमा अर्धभूमिगत अवस्थामा हुनुहुन्थ्यो । बाटोमा हिँड्दाहिँड्दै दुईजना ठिटाले उहाँलाई पछ्याए । गणेशमान जता लाग्नुहुन्छ, उनीहरु पछि-पछि लाग्थे ।
‘तपाईं गणेशमान सिंह होइन ?’ एक ठिटाले सोधे ।
‘को गणेशमान ?’ यताउता हेर्दै गणेशमानले भन्नुभयो, ‘म त होइन ।’
‘कस्तो ठ्याक्कै गणेशमान जस्तै हुनुहुँदो रहेछ, बोली पनि दुरुस्तै ।’ ठिटाले भने ।
‘हो र ? को हो त्यो म जस्तै देखिने ?’
‘तपाईंले गणेशमानको नाम सुन्नुभएको छैन ? उहाँ त काठमाडौंको प्रख्यात प्रजातन्त्रवादी योद्धा हो । जेल तोडेर भाग्नुभएको छ ।’
‘तिमीहरु चैं को हौ नि ?’
‘हामी पाटनको व्यापारीका छोरा हौं ।’
गणेशमानजी हाँस्न थाल्नुभो ।
‘धत्तेरीका, म त सीआइडीहरु हो कि भनेर पो भागेको । म नै हुँ गणेशमान ।’
ठिटाहरु गदगद भए । त्यसपछि उनीहरुले गणेशमानजीलाई च्याप्पै समाते ।
‘ल, त्यसोभए जेलबाट भागेको कथा सुनाइदिनुस् । हामीलाई साह्रै सुन्न मन लागेको छ ।’
गणेशमानजीले पनि मौकाको फाइदा उठाउने विचार गर्नुभो ।  ‘बिना दक्षिणा गुरुमन्त्र कसले सुनाउँछ ?’ भन्दै उहाँ बटारिनुभो । त्यसपछि ठिटाहरुले अर्को दिन खर्साङको एउटा रेस्टुरेन्टमा बसेर कथा सुन्ने प्रस्ताव राखे । गणेशमानजी सहमत हुनुभयो ।
भोलिपल्ट गाडी लिएर उनीहरु आए । गणेशमानजीलाई तृप्त हुनेगरी भोजन गराए । खाइसकेपछि अलि अप्ठेरो मान्दै एक ठिटाले भने, ‘हामीले धेरै पैसा खोज्न सकेनौं । तैपनि हात मात्रै खाली नराख्नलाई यो भेटी ल्याएका छौं ।’
पोको नसमाइकन गणेशमानले सोध्नुभयो, ‘कति छ ?’
ठीटाहरु मुखामुख गर्दै भने, ‘धेरै छैन । आठ हजार मात्रै ।’
गणेशमाजी झण्डै फेन्ट हुनुभो । उनीहरुले थोरै भनेको रकम गणेशमानजीको लागि अथाह थियो । त्यो बेलाको आठ हजार आइसी भनेको यसै पनि सानो रकम होइन । आफ्नो उत्तेजना लुकाएर गणेशमानजीले रकमको पोको हातमा लिनुभयो र गोजीमा घुसार्नुभयो । त्यसपछि पूरा जोशका साथ जेलब्रेकको कथा सुनाउनुभयो ।
त्यो घटनापछि उहाँलाई लाग्यो, ‘अहो, मेरो कथा सुन्नकै लागि यत्रो पैसा खर्च गर्न तयार हुँदा रहेछन् । अरु ठाउँमा पनि गएर भन्नुपर्ने भो ।’ उहाँले एकाध ठाउँमा ट्राइ पनि गर्नुभो । तर, खासै केही हात लागेन ।
गणेशमान-वीपी भेट
भारत स्वतत्र भएपछि वीपी कोइरालाले नेपालमा राणाशासन अन्त्य गर्नका लागि संगठित हुन आह्वान गर्दै एउटा अपिल प्रकाशित गर्नुभएको थियो । त्यसपछि धेरैले वीपीसँग गएर भेट्न गणेशमानजीलाई सुझाव दिएका थिए । तर, गणेशमानजीमा आफ्नै खालको अहम् थियो ।
देवशंकरलाल भन्ने साथीले गणेशमानजीलाई चिठी नै लेख्नुभयो, पटना गएर वीपीसँग भेट्न आग्रह गर्दै । त्यो चिठीले गणेशमानजी आक्रोशित बन्नुभयो । उहाँले जवाफमा लेख्नुभयो, ‘तिमी कस्तो मूर्ख रहेछौ । तिमीले त वीपीलाई पो चिठी लेखेर भन्नुपर्थ्यो, ‘गणेशमान भन्ने क्रान्तिकारी यो ठाउँमा बस्छ, तिमी गएर भेट ।’
त्यसपछि देवशंकरले गणेशमानजीलाई भेटेरै सम्झाए । उनले भने, ‘तिमी जस्तो क्रान्तिकारी त विनम्र हुनुपर्छ । वीपीलाई मात्र होइन, जोसँग पनि विनम्रसाथ आफूलाई चिनाए मात्र तिमीलाई सबैले आदर गर्छन् ।’ तर, गणेशमानजी वीपीकहाँ जान तयार हुनुभएन ।
त्यसपछि कांग्रेसका डीके शाही र रुदप्रसाद गिरीले गणेशमानलाई वीपीकहाँ नल्याउने र वीपीलाई पनि गणेशमानकहाँ नजाने गरी बीचमा कतै भेटघाटको प्रवन्ध मिलाए ।
त्यो भेटघाटमा वीपी सबैभन्दा ढीला आउनुभयो । उहाँ आउँदा गणेशमानसहित थुप्रै व्यक्ति कोठामा थिए । वीपी आउनेवित्तिकै सबैजना सम्मानपूर्वक उठे । गणेशमान उठ्नुभएन । कर्के आँखाले वीपीलाई हेर्नुभयो । वीपीले गणेशमानलाई चिन्नुभएन ।
त्यसपछि डीके शाहीले वीपीसँग सबैको परिचय गराए । गणेशमानजीको परिचय गराउँदै उनले भने, ‘राणाको जेल तोडेर आउनुभएको गणेशमान सिंह उहाँ नै हो ।’ उनले यति भन्नासाथ वीपी कुर्सीबाट जुरुक्क उठ्नुभयो र गणेशमान भएतिर आउनुभयो । उहाँले झुकेर नमस्कार गर्नुभो ।
‘तपाईंलाई भेट्ने ठूलो इच्छा थियो, कहाँ बस्नुभएको छ ?’ वीपीले विनम्र भावमा सोध्नुभयो ।  ‘होटल खाल्सामा बसेको छु,’ गणेशमानले गमक्क परेर भन्नुभयो । यतिबेलासम्म उहाँको आधा अहंकार तुष्ट भइसकेको थियो ।
त्यही दिन वीपी गणेशमान बसेको होटलमा पुग्नुभयो । गणेशमानको उच्च प्रशंसा गर्नुभयो ।
‘तपाईं ९७ सालको पहिलो जनविद्रोहको नायक हो । तपाईंले प्रजातन्त्रका लागि आफ्नो पारिवारिक सुखसयल त्याग गर्नुभएको छ । तपाईं हामी सबैका प्रेरणाका स्रोत हुनुहुन्छ,’ वीपीले यस्ता शब्दहरुले सिंगारेपछि गणेशमान पुलकित बन्नुभयो । उहाँको बाँकी अहंकार पनि यहीँ नष्ट भयो । त्यो दिनदेखि वीपी कोइरालालाई गणेशमानले जीवनभर साथ छोड्नुभएन । सम्वन्धमा उतारचढाव अनेकन आए । तर, दुबै नेता एक-अर्काका परिपूरक भएर रहनुभयो ।
वीपीले चलाएको गोली
वीपी गृहमन्त्री हुँदा भरत सम्शेरलाई पक्राउ गर्न लगाउनुभएको थियो । तर, खुकुरी दलको जुलुस गएर जेलबाटै उहाँलाई थुतेर ल्यायो । त्यसपछि विजययात्रा गर्दै भरतसम्शेरलाई टुँडीखेल लगियो । अर्को जुलुस वीपीलाई खोज्दै उहाँको घरमा आयो । अहिले अहिले भन्सार विभाग भएको घरमा उहाँ बस्नुहुन्थ्यो ।
दुई पत्रको सुरक्षालाई छिचोल्दै खुकुरी दलको जुलुस वीपी बसेकै कोठामा पस्यो । कोठामा गणेशमान पनि सँगै हुनुहुन्थ्यो । एकजनाले खुकुरी निकालेर वीपीमाथि आक्रमण प्रयास गर्‍यो । तत्कालै वीपीले आफ्नो ड्रयर खोलेर रिभल्भर निकाल्नुभयो र गोली हान्नुभयो । छातीमै गोली लाग्यो । आक्रमणकारीको ‘स्पट डेथ’ भयो । अरु भागाभाग भए ।
त्यो घटनाको विषयमा गणेशमानजीले भन्नुभएको छ, ‘सबै कुरामा वीपी अगाडि भए पनि साहसमा चैं मलाई जित्न सक्दैनन् भन्ने सोच्थे । तर, त्यो पनि होइन रहेछ ।’
वीपी पनि गणेशमानबाट औधि प्रभावित हुनुहुन्थ्यो । उहाँ गणेशमानलाई ‘लोकल जिनियस’ ठान्नुहुन्थ्यो । ‘गणेशमान जस्तो जनताको नाडी छाम्न सक्ने नेता कांग्रेसमा अर्को छैन,’ उहाँ बारम्बार भन्नुहुन्थ्यो ।
गणेशमानको हठी स्वभावलाई भने वीपीले भेडासँग चित्रण गर्नुहुन्थ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘उताबाट रेल आइरहेको छ र यताबाट गणेशमान गइरहेका छन् भने न रेलले गणेशमानलाई बाटो छोड्छ, न गणेशमानले रेललाई बाटो छोड्छन् ।’
गणेशमानको भिरिंगी
कोलकातामा बस्दा गणेशमानजीलाई भिरिंगीले सतायो । सबैले उहाँलाई छिछि दुरदुर गर्थे । यस्तो गन्हाउथ्यो कि कोही पनि उहाँको नजिक पर्न सक्दैनथे ।
पहिलोपटक पक्राउ गरेर लैजाँदा कति दिन राणाहरुले छेउ पर्न नसकेर उहाँले बयानै लिएनन् । कार्बोनिक साबुनले नुहाउनुहुन्थ्यो । तर पनि गन्हाउन छोड्दैनथ्यो । पछि यो रोग निको भयो ।
शौचालयबाट भागेको होइन
गणेशमान जेलबाट निस्कँदा शौचालयबाट भागेको किस्सा सर्वत्र सुनिन्छ । यो सत्य होइन । यो हल्ला फैलाउने कामचाहिँ केआइ सिंहले गर्नुभएको हो । उहाँ पनि सिंह र गणेशमान पनि सिंह । दुवै जना आफ्नो जमानाका जल्दाबल्दा नेता । गणेशमानलाई ‘डोमिनेट’ गर्न केआइ सिंह भन्ने गर्नुहुन्थ्यो, ‘त्यो शौचालयबाट भागेको सिंह हो, म शुद्ध सिंह हुँ ।’
दशरथ चन्दका भतिजाको खोजी
एक दिन दशरथजीले गणेशमानजीलाई भन्नुभयो, ‘तँ मलाई पटक्कै मन पर्दैनस, यो कुरा तँलाई पनि थाहा छ । तर, मलाई किन-किन लाग्छ, यो देशमा एक दिन प्रजातन्त्र प्रजातन्त्र आउँछ र तँ ठूलो पदमा पुग्छस् ।’
‘यदि त्यस्तो भयो भने,’ दशरथले अगाडि भन्नुभयो, ‘मेरो एउटा भतिजोलाई हेर्दे है । रुपेडियामा पढ्छ । त्यसको नाम हो ललित चन्द ।’
विसं. २००७ सालमा प्रजातन्त्र आयो र गणेशमान मन्त्री बन्नुभयो । उद्योग वाणिज्य मन्त्री भएको केही समयपछि उहाँ नेपालगञ्ज जानुभएको थियो । त्यहाँ पार्टीको एउटा बैठकमा झल्यास्स सम्झिनुभो । उहाँले भन्नुभयो, ‘मलाई दशरथ चन्दले यस्तो यस्तो भन्नुभएको थियो । तर, मेरो दुर्भाग्य र त्यो केटाको पनि दुर्भाग्य, मैले त्यसको नामै बिर्सेँ । तपाईंहरुमध्ये कसैले सम्झिनुभएको छ भने मलाई जानकारी दिनुहोस् ।’ तर, कसैले पनि नाम लिन सकेनन् ।
बेलुका खाना खाने बेलामा एक कार्यकर्ता आएर भने, ‘अघि हजुरले भनेको व्यक्तिको नाम ललित चन्द हो ।’
‘हो….’ गणेशमानले भन्नुभो, ‘ल, त्यसलाई खोजेर ल्याउनुपर्‍यो ।’
ललित चन्द म्याट्रिक पास गरेर धनगढी आएर बसेका रहेछन् । उनलाई काठमाडौं ल्याइयो । गणेशमानले सोध्नुभो, ‘तिमीलाई अब के गर्ने मन छ ?’ उनले जवाफ दिए, ‘अझै पढ्ने मन छ ।’
‘ठीक छ, जहाँसम्म पढ्छौ पढ । खर्चको चिन्ता नगर,’ गणेशमानले आश्वासन दिनुभयो । ललित चन्दले बीए, एमए पास गरे । पढाइ सकेर आएपछि राजनीति गर्ने इच्छा व्यक्त गरे । ०१५ सालको चुनावमा वीपीलाई भनेर उहाँले टिकट दिलाउनुभो । ललितले चुनाव जिते । त्यसपछि उपमन्त्री पनि बनाउनुभो । १७ सालपछि उनी राजातिर लागे । नेपालभुषण चन्द भन्ने आर्मीका अफिसर तिनै ललित चन्दका छोरा हुन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment