काली गण्डकी बृहत सरसफाई अभियान भोलिदेखि

२०७२ बैशाख ८ गते

म्याग्दी, ८ चैत्र । सानो र सुन्दर बेनीबजार कालीगण्डकी र म्याग्दी नदीहरुको संगममा अवस्थित छ । यही बजारलाई विचमा पारेर वग्ने धार्मिक र साँस्कृतिक रुपमा ऐतिहासिक महत्व बोकेका यी दुई नदीले म्याग्दीलाई विश्वमा परिचित गराएका छन् । बेनीबजार र यी नदीका तटीय क्षेत्रमा जनघनत्व बढेसँगै नदीहरुमा समेत दिनानुदिन फोहोर बढ्न थालेका छन् ।
IMG_3152
    धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको कालीगण्डकी र म्याग्दी नदीमा बढ्दो प्रदुषण बढ्दै जान थालेपछि सरोकारवालाको ध्यान समेत आकर्षण भएको छ । वास पत्रकार मञ्च म्याग्दीको अगुवाईमा नदीमा भएका फोहोर व्यवस्थापन र प्रदुषण नियन्त्रणका लागि बृहत कालीगण्डकी म्याग्दी नदीमा भोलिदेखि सरसफाई अभियान सञ्चालन हुने भएको हो ।
IMG_3142
    आगामी भोलिदेखि बृहत सरसफाई अभियान सञ्चालन हुने वास पत्रकार मञ्च म्याग्दीका अध्यक्ष ठाकुरप्रसाद आचार्यले बताए । अभियानलाई सम्पन्न गर्नका लागि गत आईतबार बेनीमा सर्वपक्षिय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कालीगण्डकी म्याग्दी नदी सरसफाई अन्तर्गत वैशाख ७ र ८ गते बजारमा विभिन्न स्थानहरुमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको छ । त्यसगैरि सार्वजनिक स्थानमा बेनीनगरपालिकासंगको सहकार्यमा सूचनामूलक बोर्ड स्थापना गर्ने, छापा, रेडियो, अनलाईन र टिभी जस्ता सञ्चारमाध्यममा सरसफाई सम्बन्धि कार्यक्रम र सूचना प्रशारण, विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम गरिएको र भोलिदेखि हरेक बिहीबार नियमित रुपमा सरसफाई अभियान सञ्चालन गरिने अभियानका संयोजक गोपाल छन्त्यालले जानकारी दिए । 
पछिल्लो समयमा बढ्दै गएको बजारीकरण र जनघनत्वको तिब्र विकाससंगै नदी किनारमा फोहोर र ढल फाल्ने बढ्दो क्रमले नदी प्रदुषित तथा दुर्गन्धित बनेर जलचर र वातावरणलाई असर पर्नुका साथै सरसफाईमा चुनौती देखिएको छ ।
3
हिन्दु धर्मअनुसार धार्मिक महत्व बोकेको र विश्वमा शालीग्राम पाईने एक मात्र नदीको रुपमा परिचित कालीगण्डकी नदीमा पछिल्लो समयमा फोहोर बढ्न थालेको भन्दै वास पत्रकार मञ्चले चासो देखाएर सरसफाई अभियान सञ्चालन गर्न लागेको हा े। कालीगण्डकीको महिमा र महत्वलाई बचाईराख्न प्रदुषण नियन्त्रणका लागि बेनीका सर्वसाधारण, कर्मचारी, उद्योगी, ब्यापारी, सुरक्षाकर्मी र पत्रकारहरुको सहभागितामा म्याग्दी र कालीगण्डकी नदीको फोहोर ब्यवस्थापनका लागि अभियान सुरु गर्न लागिएको मञ्चका अध्यक्ष आचार्यले बताए । 
भगवान विष्णुको अवतारको रुपमा परिचित कालीगण्डकीमा स्नान गर्न जाँदा पनि मुख थुनेर जानु पर्ने अवस्था सिर्जना भएको छ । तिब्बत हुदै मुस्ताङ छिर्ने कालीगण्डकी, पवित्र तीर्थस्थल मुक्तिनाथ भएर बग्ने काग नदी पनि मिसिएरसंगै बग्छ । भगवान विष्णुको अवतार मानिने दुर्लभ शालिग्राम पाईने विश्वमै एक मात्र नदी हो, कालीगण्डकी । जस कारण पनि कालीगण्डकीलाई कृष्णागण्डकी भन्ने गरिएको छ । नेपालको अर्को पवित्रधाम देवघाट पुगेर निशुली नदीसंग मिसिएर नारायणी अर्थात सप्तगण्डकी भएर बग्ने यहि कालीगण्डकी अहिले दिनप्रतिदिन प्रदुषणको चपेटामा फस्दै गएको छ ।
    त्यसैगरि म्याग्दीको मुदी गाविसको धवलागिरि हिमालबाट बग्ने म्याग्दी नदी मुदी, दरबाङ, बावियाचौर, सिँगातातोपानी हँुदै बेनीमा कालीगण्डकीमा मिसिँदासम्म मानव सिर्जित अनगिन्ती फोहोरले प्रदुषित हुने गरेको छ । पवित्र गण्डकीको उपमा पाएका यी दुई नदी अहिले दुर्गन्धमा परिणत हुन थालेको बताउँछन बेनीका रमेश श्रेष्ठ । उनले भने–“कार्यक्रम आयोजना गर्दैमा, फोटो खिच्दैमा, समाचार लेखेर मात्र हुँदैन, नदीमा फोहोर फाल्नेहरुलाई कारबाही नगरेसम्म नदी सफा हुन सक्दैन् ।”
 वास पत्रकार मञ्चको अगुवाईमा हुन लागेको बृहत कालीगण्डकी–म्याग्दी खोला सरसफाई अभियान कार्य प्रशसायोग्य भएको प्रमुख जिल्ला अधिकारी केशव आचार्यले बताए । उनले भने–“कालीगण्डकी–म्याग्दी नदीको सरसफाई अभियानमा सबै सरिक हुनु पर्छ, यी नदीहरु सरसफाई गर्नु हामी सबैको कर्तव्य हो ।” ‘अन्य स्थानको तुलनामा बेनीबजार सफा र सुन्दर भएपनि सरसफाईको दिगोपनामा ध्यान दिनु पर्छ’, उनले भने–“बजारमा उत्सर्जन भएका फोहोरको दिगो व्यवस्थापनका लागि नगरपालिकाले चाडो भन्दा चाडो डम्पीङसाईडको खोजि गर्नु पर्छ ।”
    बेनी नगरपालिकाका कार्यकारि अधिकृत छविलाल सुवेदीले डम्पीङसाईडको खोजि भैरहेको बताउँदै बजारवासीलाई नदीको वरिपरि फोहोर नफाल्न आग्रह गरे । नदीलाई सफा र स्वच्छ राख्नका लागि सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने भन्दै अधिकृत सुवेदीले नगरपालिको गठन गरेको टोल सुधार समितिहरुबाट समेत सरसफाई कार्य अगाडि बढाएको बताए । 
    नदीको किनारमा मानव वस्तीको विकाससंगै नदीका गिट्टी र वालुवा रित्तिएका छन् सँगै नदीका किनारमा फोहोरका थुप्रोहरु देखिन थालेका छन् । मुहानबाट निश्चल भएर निस्कने कालीगण्डकी र म्याग्दी नदी जति तल तल बग्छन्् उत्तिनै दुर्गन्धित बन्दै जाने गरेका छन् । त्यसैले यसको न्यूनिकरणको लागि कालीगण्डकी–म्याग्दीनदी नदी बृहत सरसफाई अभियानको सूरुवात गर्न लागिएको संयोजक छन्त्यालको भनाई छ । 
    बेनीबजारबाट मात्रै दैनिक रुपमा ३ देखि ५ ट्याक्टरसम्म फोहोर उत्पादन हुने गरेको छ । सो फोहोरलाई कालीगण्डकी नदीको किनारमा लगेर जलाउने गरिएको छ । अनेरास्ववीयू(क्रान्तिकारी) म्याग्दीका अध्यक्ष सुदीन पौडेलले फोहोर व्यवस्थापनको लागि उचित स्थान खोजिनु पर्ने बताए । उनले भने–“ट्याक्टरमा लगेपनि कालीगण्डकीमा फाल्ने, यहीबाट फालेपनि कालीगण्डकीमा फाल्ने भन्ने खालको विचार जनतामा उत्पन्न भएको छ, त्यसैले छिटो भन्दा छिटो फोहोर व्यवस्थापनको लागि उचित स्थानको खोजि हुनुपर्छ ।”
    पानी, प्लाष्टिक र बोतललाई न्यूनीकरण गर्न सकेमा नदीको फोहोर व्यवस्थापन गर्न सकिने बताउँछन् गैर सरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल  ।
    खुल्ला मञ्चदेखि माथि कालीपूलसम्म खुल्ला रुपमा बजारबासीले फोहोर फाल्ने गरेका छन् । केही समय अगाडि वास पत्रकार मञ्चको अगुवाईमा कालीगण्डकी नदी किनारमा अनुगमन गरिएको थियो ।  जसमा कालीपूल र गणेशटोलको एरियाबाट प्रशस्त मात्रामा फोहोर फाल्ने गरेको भेटीएको थियो । खुल्ला शौचालय  बनाएर कालीगण्डकीको किनारमा समेत फाल्ने गरेको पाइएको छ । खुल्ला दिसामुक्त जिल्लाको बनेको म्याग्दीका नदी किनारमा दिशा समेत देखिने गरेको छ । 
     वास पत्रकार मञ्च म्याग्दीले पत्रकार, बजारवासी, सरोकारवाला निकाय सबैलाई यो सरसफाई अभियानमा सरिक हुनका लागि आग्रह समेत गरेको छ । फोहोरको दिगो व्यवस्थापनका लागि वास पत्रकार मञ्च म्याग्दीले तीन वटा विकल्प अगाडि सारेको छ । पहिलो विकल्पको रुपमा ल्याण्डफिललाई प्रस्तुत गरेको छ । ल्याण्डफिल क्षेत्रमा फोहोर राख्नुअघि यसको वर्गीकरण राम्रो हुनुपर्छ । सो ग्यासलाई इञ्जिनको प्रयोगमार्फत विद्युत् निकाल्न पनि सकिन्छ । ल्याडफिलको विषयमा बेनीनगरपालिकाले स्थानको खोजी गरेपनि अहिलेसम्म कुनै स्थान पत्ता लाग्न सकेको छैन । दोस्रो विकल्पको रुपमा जलाउने प्रक्रियाबाट फोहोरको व्यवस्थापनलाई अगाडि सारेको छ । अध्ययनअनुसार यो तरीकाबाट २० देखि ३० प्रतिशतसम्म फोहोरको मात्रा घट्ने देखिएको छ । म्याग्दीमा जलेश्वर, सिंगातातोपानी लगायतका क्षेत्रमा जलाउने गरिएपनि सर्वत्र विरोध हुदै आएको छ ।  त्यसैगरि अर्को विकल्पको रुपमा फोहोरजन्य बस्तुको पुन प्रयोग रहेको छ । यस विधिअनुसार फोहोर वस्तुलाई जम्मा गरिन्छ र प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने काम हुन्छ । फोहोरलाई जैविक र अजैविक गरी छुट्ट्याउन सकिन्छ । एकै प्रकारका फोहोरलाई जम्मा गरी त्यसबाट नयाँ वस्तु निर्माण गर्न सकिन्छ । जस्तो अल्मुनियम, कपर, स्टीललाई छुट्टाछुट्टै राख्नुपर्छ । त्यस्तै पोलिथिन, बोतलहरू, ग्लास, पेपरलाई छुट्ट्याउन सकिन्छ । यसरी छुट्ट्याएपछि नयाँ सामान बनाउन सजिलो हुन्छ । 
    त्यसैले आगामी ९ गतेदेखि सुरु हुने यस महाअभियानमा सहभागी हुन र अभियानलाई सफल पार्न मञ्चले सबैलाई अनुरोध गरेको छ । जबसम्म आम जनतालाई अपनत्वको भावना विकास हुँदैन्, नदीमा फोहोर गर्नु हुँदैन भन्ने चेतनाको विकास हुँदैन तबसम्म नदी सरसफाईमा चूनौति देखिन्छ । तथापी हामी कसैले एक्लै यो अभियान सञ्चालन गर्न सक्दैनौ । त्यसैले पत्रकाहरुको अगुवाईमा सुरु हुने यस महाअभियानमा सरिक भएर धार्मिक र साँस्कृतिक रुपमा ऐतिहासिक महत्व बोेकेका नदीहरुको सरफाईमा लाग्नु नै अहिलेको उत्तम विकल्प हो । 
   
--साभार: म्याग्दी अनलाईन 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment