चिनियाँ पत्रकारले ओलीलाई सोधेको सबैभन्दा जटिल प्रश्न

सरोज गौतम ।
प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला साताब्यापी चीन भ्रमणमा छन् । भारतसँग घुर्की देखाउन पहिलो विदेश भ्रमण चीन गर्छु भनेपनि अन्ततः उनी परंपरागत शैलीमै भारत भ्रमणमा गए र त्यसको १ महिनापछि मात्र चीन पुगे । दक्षिणी छिमेकीले १० बुँदे समझदारी भएपनि संयुक्त बक्तब्य गर्न नमानेपछि निराश बनेका ओलीलाई उत्तरी छिमेकीले भने १० बुँदे सहमतिमात्र होइन १५ बुँदे संयुक्त बक्तब्य जारी गर्न समेत तयार भएर उत्साहित तुल्याइ दिएको छ ।
चीनले नेपाललाई पारवहन र सडक सञ्जालमा मात्र ग्राहयता दिएको छैन बन्दरगाहको प्रयोगमा समेत ठूलो राहत दिने संकेत देखाएको छ । भारतीय नाकाबन्दीको पृष्ठभूमिमा चिनले दिने भनिएका विभिन्न सुविधा र सम्भावित इन्धन सम्झौता महत्वपूर्ण उपलब्धि हुन् । यद्यपी नेपाली प्रधानमन्त्रीलाई बेइजिङस्थित नेपाली दुताबासमा आयोजित अन्तरक्रियामा चिनियाँ सञ्चारकर्मीहरुले जुन प्रश्नहरु तेर्साए ती प्रश्न समग्र नेपालीका लागि ओलीको चीन भ्रमणका सबैभन्दा महत्वपूर्ण र दीर्घकालीन बहसका विषय हुन् ।
chinese journalists
बेइजिङमा प्रधानमन्त्री ओलीलाई चिनियाँ सञ्चारमाध्यमले नेपाल-चीन सम्बन्ध भन्दा बढी भारतलाई बिचमा राखेर प्रश्न सोधे । मंगलबार साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित अन्तरक्रियामा चिनियाँ सञ्चारमाध्यमका प्रतिनिधिले चीन नेपालको सम्बन्ध सामान्य रहेको पृष्ठभूमिमा भारत र नेपालको तनाव किन बढेको हो भन्ने शैलीमा गम्भिर प्रश्न तेर्साए ।
त्रीदेशीय समझदारीको महत्व चीन र भारतलाई भन्दा नेपाललाई बढी छ किन भने भारत र चीनबीचको ब्यापारिक मार्गकोरुपमा मात्र पनि नेपाललाई आफूलाई ट्रान्जिट बनाउन सक्दा प्रयाप्त फाइदा लिन सक्ने प्रष्ट छ । तर चिनियाँहरु पछिल्लो समयमा नेपालसँगको सम्बन्धले भारतसँगको ब्यापारिक साझेदारीमा असर नगरोस् भन्ने कुरामा बढी चिन्तित देखिन्छन् । जुन कुरा चिनियाँ सञ्चारकर्मीको प्रश्नमा समेत देखियो । बेइजिङस्थित दुताबासको अन्तरक्रियामा राज्य नियन्त्रित सञ्चार माध्यमको बोलवाला रहेको चीनमा प्रमुख सञ्चार माध्यम तथा चिनियाँ कम्युनिष्ट पार्टीका मुखपत्र जस्तै मानिने चाइना डेली, ग्लोबल टाइम्स तथा सिन्ह्वा समाचार समिति का पत्रकारले ओलीलाई चीनले नेपाललाई सहयोग गर्दा भारतबाट हस्तक्षेप हुन्छ कि हुँदैन भन्ने अर्थका प्रश्न सोधे ।
China President with PM Oli
ओलीले चाइना कार्डको आफ्नो रेडिमेड जवाफ बेइजिङमा पनि दोहोर्‍याए । आफ्नो देशले कुनै पनि छिमेकीविरुद्ध कार्ड प्रयोग गर्दैन भन्ने ओलीको सन्देश दिल्ली-काठमाडौं- बेइजिङ तिनै स्थानमा समानरुपमा कायम देखिनु सकारात्मक सन्देश हो । तर ओलीको जवाफ चिनियाँहरुले सुन्न चाहेको स्तरमा प्रयाप्त थिएन । चीनले यस अघि नै राखिसकेको चीन-भारत- नेपाल त्रिदेशीय साझेदारीको विषयमा नेपालबाट स्पष्ट धारणा सुन्न चाहेका चिनियाँहरुका लागि ओलीको ओंठे जवाफ प्रयाप्त हुने कुरै भएन । खासमा चिनियाँहरु भारतको सर्वत्र रहेको हस्तक्षेपकारी भूमिकाकाबिच चीनसँगको सम्बन्ध कसरी अघि बढाउन चाहन्छ भन्ने कुराको जवाफ कुनै नेपाली राजनेताको मुखबाट सुन्न चाहन्छन् ।
Oli chinese Journalists
तिब्बतजस्तो संवेदनशील भूभागसँग सीमा जोडिएको नेपालसँगको सम्बन्ध चीन चाहेर पनि उदासिन रहन सक्ने विषय होइन । त्यसै कारण चीन नेपालप्रति सदावाहर असल र अनाक्रामक मित्रकोरुपमा प्रस्तुत रहिआएको छ । तर यति महत्वपूर्ण रणनीतिक महत्वको छिमेकीले चीनसँग कसरी डिल गर्न चाहन्छ भन्ने कुराको जवाफ दिने हैसियत ओलीमात्र होइन अहिले सम्म चीन पुगेका कुनै पनि प्रधानमन्त्रीसँग थिएन र छैन भन्ने कुरा ब्यवहारिकरुपमा पुष्टि भैसकेको छ । पछिल्लो समयमा चीन पनि आक्रामकरुपमा प्रस्तुत भैरहेको सन्दर्भमा बेइजिङमा ओलीलाई सोधिएका प्रश्नको जवाफमा नै नेपालले चीनसँगको सम्बन्ध कसरी अघि बढाउन सक्छ र चीनसँगको सम्बन्धबाट कसरी फाइदा लिन सक्छ वा (सबैभन्दा खराव अवस्था कल्पना गर्दा) चीनलाई पनि भारतकै शैलीमा आन्तरिक मामिलामा हस्तक्षेपको स्तरमा निम्ताएर २ शक्तिशाली देशको रणनीतिक प्रयोगशाला बन्ने बाटो समात्छ भन्ने कुराको निर्क्यौल हुने छ ।

चिनियाँ पत्रकारले ओलीलाई सोधेको प्रश्नको एउटा जवाफ भने सापेक्षिकरुपमा चित्त बुझ्दो थियो । भारतसँग मात्र पारवहन सम्झौता गरेको नेपालले अब चीनसँग गरेको पारवहन सम्झौतालाई कसरी प्रयोग गर्छ र यसको प्रभावकारिता कस्तो हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले सम्झौताको शुरुवाती अवस्थातर्फ इङ्गित गर्दै कार्यान्वयनको तहमा पुग्दा सम्म थुप्रै प्रक्रिया बाँकी रहेको भन्दै धेरै गर्न बाँकी रहेको बताए । तर यसको तयारीका लागि नेपालले के गरिरहेको र नेपालको दीर्घकालीन योजना के छ भन्ने प्रश्नको जवाफ भने ओलीले आफूलाई थाहा नभएर होइन नेपाल यसका लागि गम्भिररुपमा तयार नरहेका कारण दिन सकेनन् । नेपालको परराष्ट्र नीतिको समस्या यही नेर खड्किन्छ । दीर्घकालीन भिजन विना नै गरिएका कागजी समझदारी (पञ्चेश्वर बहुद्धेश्यीय परियोजना लगायतका उदाहरण) बाट मख्ख पर्दा भारतबाट पटक पटक जिल्लिएको नेपालले अझै चेतेको छैन । भारतीय नाकाबन्दीले आकुल-ब्याकुल पारिरहेको समयमा चीनसँग इन्धन ब्यापार सम्झौताको सैद्धान्तिक सहमति भएको करिव ४ महिनापछि प्रधानमन्त्री चीन पुग्दा उक्त सम्झौता पुनः सैद्धान्तिकरुपमा मात्र उल्लेख हुनु पर्ने विडम्बनापूर्ण अवस्था यसकै उपज हो ।
china pm with oli
सूचना प्रविधीको विकाशले दुई देशीय र बहुराष्ट्रिय सम्बन्धमा नयाँ नयाँ अवसर र चुनौती सँगसँगै थपिँदैछ । संसार साँघुरिँदै गएको वर्तमान समयमा सबैभन्दा महत्वपूर्ण बनेको छ परराष्ट्र नीति । त्यसमाथि पृथ्वी नारायण साहकै भाषामा भन्दा “दुई ढुंगाको तरुल” हाम्रो देश केही नेताको भाषामा २ विशाल विकाशशील देशकोबीचमा “गतिशील पुल” बन्न सक्ने कुरा बोलीमा मात्र सीमित रहेको पृष्ठभूमिमा साँच्चिकै तरल अवस्थामा छ । सबैभन्दा बिडम्बनाको कुरा त जुन नेता प्रधानमन्त्री हुन्छ त्यसै अनुसार नै छिमेकी सँग र मित्रराष्ट्रहरुसँग सम्बन्धका आयामहरु बदलिन्छन् । अर्थात सरकारसँगै परराष्ट्र नीति पनि बदलिन्छ ।
असन्तुलित सम्बन्धको पृष्ठभूमि
एकीकृत माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रधानमन्त्री बनेपछि निरन्तरताको क्रम भंगता भन्दै पहिलो विदेश भ्रमणका लागि बेइजिङ गएका थिए । आफ्नो कदमबाट दिल्ली दाहिना नहुने बुझ्दै जव प्रचण्ड काठमाण्डौ ओर्ले उनले आफ्नो पहिलो राजनीतिक भ्रमण भारतबाट हुने घोषणा गरेर आफ्नै पुरानो ‘निरन्तरताको क्रमभंगता’ वाला भनाइलाई खण्डन मात्र गरेनन् केहीको दृष्टिमा आफ्नो छवि नै धुमल्याए । त्यतिमात्र होइन दिल्ली दाहिना नभएकै कारण बहुमतको सरकारबाट प्रचण्डले ९ महिनामै हात धुनु परेको थियो । यो मामला प्रचण्डको ब्यक्तिगत समस्या जस्तो देखिएपनि यो राष्ट्रिय मुद्धा हो । कुनै बेला भारतप्रति अनुदार भनेर चिनिएका तत्कालीन प्रधानमन्त्री शुशील कोइराला चीनबाट निम्तो पाइसकेको अवस्थामा पहिलो भ्रमण भारतकै हुनु पर्ने भारतीय बाल हठमा ठेस नपुर्याउन नरेन्द्र मोदीको सपथमा उपस्थित हुनका लागि आएको निम्तोका कारण धर्मसंकटबाट जोगिएका थिए । भारत प्रति निक्कै नरम भनिएका तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीकोरुपमा चीन भ्रमणको निम्तो पाएनन् भने यता भारत विरोधीको पहलमा प्रधानमन्त्री बनेका भनिएका एमाले अध्यक्ष झलनाथ खनालले दक्षिणबाट भ्रमणको निम्तो पाएनन् ।


नेपाललाई २ शक्तिशाली छिमेकीकोबीचमा रहेर सन्तुलित ब्यवहार प्रदर्शन गर्नु जति चुनौतीपूर्ण छ त्यसका साथमा त्यतिकै अवसरहरु पनि छन् । यहाँ चुनौती कम गर्दै अवसर ज्यादा उपयोग गरेर अघी बढ्नु समझपूर्ण हुनेछ । खासगरी भारत र चीनका सुरक्षा चिन्ताका विषयमा नेपालले आश्वस्त तुल्याउन सक्ने हो भने नेपालले दुवै देशको आर्थिक समृद्धीबाट फाइदै फाइदा लिन सक्छ । भारत र चीन विश्वमा आर्थिक र राजनीतिक शक्तिकोरुपमा उदाउँदा राष्ट्र हुन् । उनीहरुलाई पनि विश्व शक्ति बन्न छिमेकी र क्षेत्रीय सन्तुलन मिलाइरहनु आवश्यक हुन्छ । भारत र चीन नेपालमा स्थायित्व भए कुनै एक शक्तिसँग वा सरकारसँग ब्यवहार गर्न सहज मान्थे तर नेपालको राजनीतिक संक्रमणकाल लम्बिँदा उनीहरुलाई पनि नेपालमा बदलिरहने आन्तरिक शक्ति सन्तुलनका कारण समस्या भैरहेको छ । त्यो भन्दा पनि बढी नेपालको अस्पष्ट विदेश (खासगरी छिमेकी) नीतिले दुवै छिमेकीहरुलाई आपसी सम्बन्धमा समेत असहजता पैदा गरिरहेको छ भन्ने कुरा भारत र चीनले दोहोर्‍याइरहेका छन् । यो कुरा बेइजिङको दुताबासमा चिनियाँ पत्रकारहरुको प्रश्नमा झल्किएको छ । यी प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले मात्र खोजेर पुग्नेवाला छैन । यो नेपालको समग्र विदेश नीति र छिमेकी नीतिको प्रश्न हो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment