म घाँसपरालको प्रश‌ंसा गर्दीन

९५ प्रतिशत घाँसपराल छापिन्छन्, म घाँसपरालको प्रशंसा गर्न सक्दिँन


Hari adhikari (4)
हरी अधिकारीको नेपाली साहित्यमा आफ्नै छाप छ । उनी एक कवि हुन् तर, कवि मात्रै होइनन् । समीक्षकका रुपमा उनी बढी चर्चित छन् । अधिकारीको समीक्षाका प्रशंसकहरु जति छन्, आलोचकहरु पनि कम छैनन् । मन नपरेको पुस्तकलाई चोट पुग्ने गरी प्रहार गर्ने क्षमता छ उनको । समीक्षाकै विषयवस्तुमा केन्दि्रत रहेर अनलाइनखबरका चिरञ्जीवी पौडेलले अधिकारीसँग गरेको कुराकानीः
हरी अधिकारी को हो ? एक स्तम्भकार, समीक्षक, कवि वा अर्थोकै ?
मलाई कविको रुपमा चिनिन मन पर्छ । यद्यपि मेरो राजनीतिक लेखका पाठकहरु अत्यधीक छन् । समीक्षाका फ्यानहरु पनि थुप्रै छन् ।
आजकाल समीक्षा खासै देखिँदैनन् नि ? तपाईं लेखेर थाक्नुभएको कि पत्रिकाहरुले छाप्न छाडेका हुन् ?
दुवै होइन । म केही समय अलि फरक र गम्भीर सिर्जनामा लागेको थिएँ । कृष्णप्रसाद भट्टराईको जीवनीमा आधारित किताब सिध्याएँ । अब फेरि मेरा समीक्षाहरु गर्जिदै आउनेछन् ।
पछिल्लोपटक तपाईंले समीक्षा गरेको किताब कुन हो ?
रमेशनाथ पाण्डेको कितावको समीक्षा लेखेको थिएँ । बेफुर्सदीका बीच पनि त्यो किताबमाथि मैले लेख्नै पर्छ भन्ने लाग्यो ।
किन ? किताब खुबै मनपर्यो ?
होइन । त्यो किताब नभएर एउटा पाखण्ड थियो । त्यसको नकाब उतार्नु मैले आफ्नो कर्तव्य सम्झिएँ ।
तपाईं समीक्षाको नाममा भत्र्सना मात्रै लेख्नुहुन्छ र तपाईको भत्र्सनाबाट आतंकित भएर पत्रिकाहरुले पनि स्थान दिन छाडेको सुनिन्छ नि ?
दुबै गलत आरोप हुन् । म अमेरिका जानुअघि एउटा दैनिकमा रेगुलर लेख्थेँ । चारवटा राजनीतिक र चारवटा साहित्यक लेख लेख्ने सम्झौता थियो । मलाई ‘ह्याण्डसम पे’ पनि गरेका थिए । तर म फर्केर आउँदासम्म उक्त दैनिकको लयभंग भइसकेको रहेछ । त्यसले लिएको सम्पादकीय नीति दयनीय थियो । उक्त दैनिकका सम्पादकले जुन राजनीतिक विचारधाराको वकालत गरिरहेका थिए, त्यसले गर्दा मलाई त्यसमा लेखिरहन सुहाएन । त्यसैले आफ्नै ब्रम्हले सोचेर त्यसमा निरन्तरता नदिएको हुँ । अहिले अर्को दैनिकमा आक्कल-झुक्कल लेख्दैछु ।
जहाँसम्म भत्र्सना लेख्छु भन्ने आरोप छ, म खराब चिजको भत्र्सना गर्छु । र, यहाँ ९५ प्रतिशत गलत चिजहरु आउँछन् । साहित्यको नाममा आउने किताबमध्ये ९५ प्रतिशत घाँस-पराल हुन्छन् । के म यस्तो घाँस-पराललाई पनि आहा कति राम्रो साहित्य भनेर लेखुँ ?
साहित्यका समीक्षकहरु त अरु पनि धेरै छन् । तर, किन तपाईंको मात्रै धेरै चर्चा हुन्छ ?
समीक्षा गर्नु सजिलो काम होइन । यो त एउटा साधना हो । समीक्षा लेख्न पहिले गतिलो पाठक हुनुपर्छ । म आफैं एक तहको लेखक भएको र गतिलो पाठक पनि भएकाले साहित्यको मर्म बुझ्छु । मैले लेखेको समीक्षामा मेरो ज्ञान र अनुभव पोखिएको हुन्छ । त्योभन्दा ठूलो कुरा देखेको कुरा लेख्न सक्ने आँट ममा छ । मलाई कसैलाई रिझाउनु वा खुशी पार्नु छैन । कोही रिसाउला कि भन्ने चिन्ता पनि गर्दिँन । त्यही भएर मेरो समीक्षा धेरैलाई घत पर्छ ।
यहाँ समीक्षा भन्नेबित्तिकै प्रवर्द्धनात्मक आलेख भनेर बुझिन्छ, जसमा खाली किताबको प्रशंसा मात्रै गरिएको हुन्छ । त्यसमाथि अलि नाम चलेकाहरुले जे लेखे पनि तीनको वाहवाही गर्नुपर्छ भन्ने मानसिकता छ । पछिल्लो समय समाजका विभिन्न क्षेत्रमा स्थापित भएकाहरुले आत्मकथा लेख्ने दौड नै चलेको छ । अनि, मिडियामा तीनहरुका पुस्तकको महिमा मण्डन गरेर लेखिन्छ । म त्यस्तो लेख्दिँन । चाहे विनोद चौधरी हुन् वा विजयकुमार, हरिवंश आचार्य नै किन नहुन्, उनीहरु सबैले लेखेको भनिएका किताबलाई मैले नङ्ग्याएको छु । आत्मकथाका नाममा फटाहा कुरा लेखेर आफूलाई मार्केटिङ गर्न खोज्नेहरुलाई म उदांगो बनाइदिन्छु । त्यसैले चर्चा हुनु स्वभाविक हो ।
आत्मकथामा सत्य लेखे कि झूट भनेर पहिल्याउने न्यायाधीश त होइन नि तपाईं ?
न्यायाधीश हुनै पर्दैन । सामान्य ज्ञानका आधारमा पनि भन्न सकिन्छ । अस्ति भर्खर मन्त्री भएका महेश बस्नेतले पनि आत्मकथा लेखे, म महेश भन्ने । अब सोच्नुस् उनले त्यसमा के लेखे होलान् ? जसको जीवनको उपलब्धि भनेको एकपटक गाविस अध्यक्ष भएको र पार्टीको युवा संघ चलाएको भन्दा तेस्रो केही छैन, उसको आत्मकथा मान्छेले किन पढ्ने ?
नेपाल सरकारको उच्च पदमा पुगेर रिटायर्ड भएकाहरु भटाभट आत्मकथा लेखिरहेका छन् । तर, खोई आजसम्म कसैले पनि मैले यो फाइल सदर गर्दा यति लाख रुपैयाँ खाएको हुँ भन्ने हिम्मत गरेका त ? सामान्य जागिरका आधारमा उनीहरु काठमाडौंमा आलिसान महल ठड्याउन कसरी सफल भए ? यो कुरा किन खोतल्दैनन् ? त्यसैले हामीकहाँ आत्मकथा भनेर आएका किताब झूठका पुलिन्दा मात्रै हुन् ।
Hari adhikari (1)
साहित्यिक क्षेत्रमा तपाईंका पनि त आफ्ना मान्छेहरु होलान् । उनीहरुको किताब समीक्षा गर्दा कसरी जोगाउनुहुन्छ ?
म कसैलाई पनि जोगाएर लेख्दिनँ । ज्यादै अप्ठ्यारो पर्ने अवस्था छ भने बरु लेख्दै लेख्दिँन । म भनिदिन्छु, मैले लेख्दा भन्दा नलेख्दा तपाईलाई ठूलो सहयोग हुन्छ । तर, सम्वन्ध निभाउने नाममा झुठो प्रशंसा लेख्न मञ्जुर छैन ।
तपाईंले राम्रो भनेर समीक्षा लेखेका किताब कति होलान् ? तपाईं आफैंलाई कुनै सम्झना छ ?
म राम्रोलाई राम्रो भनेर लेख्न पनि हिच्किचाउँदिन । विशेष गरी युवा पुस्तामा मैले राम्रो सम्भावना देखेको लेखक छ भने उप्रति मेरो ‘सफ्ट कर्नर’ रहन्छ । यस्ता लेखकलाई प्रोत्साहन गर्ने हिसाबले नै लेख्छु । त्यसैले मेरो लेखनबाट खुशी भएका थोरै लेखकहरु छन् । उदाहरणका लागि आन्विका गिरीलाई लिनुस् । उनले एउटा सानो कथाको किताब ल्याएकी थिइन् । त्यसलाई कसैले वास्ता गरेको थिएन । तर, मैले पोजिटिभ टोनमा उनलाई प्रोत्साहन गर्ने हिसाबले समीक्षा लेखेँ । त्यसबाट उनी चर्चामा आइन् ।
सञ्जित राई, रमेश क्षितिज, सरिता तिवारी लगायत कविहरुका विषयमा पनि मैले सकारात्मक टिप्पणी गरेको छु ।
समीक्षा लेखेकै कारणले सम्वन्ध बिग्रेका घटना कति छन् ?
थुप्रै छन् । सबैभन्दा चर्को परेको चाहिँ रामदयाल राकेश भन्ने व्यक्तिसँग हो । उनी सर्लाहीबाट आएका हुन् । विभिन्न उच्च पदमा पनि पुगे । तीनैले मधेस आन्दोलनका बेलामा ‘मर्डर अफ मधेस’ भन्ने किताब निकालेका थिए । त्यो किताब शीरदेखि पुच्छरसम्म एउटा बकवास थियो । किताबको मुख्य सोच नै गलत थियो । किताबको स्थुल ‘डिस्कोर्स’ पहाडीले मधेसको हत्या गरे भन्ने थियो । जुन सर्वथा गलत हो ।
नेपालमा मधेसको हत्या कहिले भएको छ ? हत्या भएको भए अहिले मधेस नै नहुनुपर्ने होइन ? साम्पद्रायिक सदभाव भड्काउने नियतले लेखिएको सो किताबको मैले धज्जी उडाउनु उपयुक्त सम्झेँ । र, एउटा दैनिकमा आफ्नै सिग्नेचर स्टाइलमा समीक्षा लेखेँ ।
रामदयाल मेरो राम्रो चिनजानीका व्यक्ति थिएनन् । उनको घर बानेश्वरमा हो र मेरो पनि बसाइ त्यतै हो । चिनजानकै व्यक्तिबाट नकारात्मक समीक्षा आएपछि उनी क्रोधित बने । पत्रिकाकै अफिसमा पुगेर हल्ला खल्ला पनि गरेछन् । पछि एउटा कार्यक्रममा हामी दुवै सँगै वक्ता बनाइएका थियौं । त्यहाँ बोल्ने क्रममा उनले पुरै समय मलाई गाली गर्नमा खर्चिए । मैले पनि बाँकी राखिनँ ।
त्यो समीक्षामा त तपाईंले व्यक्तिगत स्तरमै ओर्लेर आरोप लगाउनुभएको थियो होइन ?
व्यक्तिगत कुरा के लेखेको हो भने उहाँ सर्लाहीबाट आएको व्यक्ति । रंग कालो भएकै कारणले उहाँको यत्रो ठूलो उन्नति भएको छ । काठमाडौंमा बाहुन-क्षेत्रीको टोलमा बस्नुहुन्छ । बिहान घरबाट निस्किँदा र फर्किँदा डा. साहेब नमस्कार भनेर पहाडीले सम्मान दिन्छन् । तिनै पहाडीमाथि उहाँले किताबमा विषवमन गर्नुभएको छ । यस्तै कुराहरु लेखेको हुँ । समीक्षामा कहिलेकाहीँ लेखकको पृष्ठभूमि पनि आवश्यक हुन जान्छ ।
त्यो समीक्षापछि उक्त दैनिकले तपाईंको समीक्षा छाप्न बन्द गर्‍यो भन्ने चाहिँ सत्य हो ?
मेरो कोलम बन्द गरेको होइन । त्यसको निकै महिनासम्म लेखिरहेको थिएँ । एकचोटि परशु प्रधानले निकालेको अन्तरवार्ताको संकलन किताबको समीक्षा पठाएको थिएँ । त्यो नछापेर मेरो समीक्षा आउने स्थानमा ‘नाइटोमा के लगाउँदा कुन रोग बिसेक हुन्छ ?’ भन्ने शीर्षकको फाल्तु सामग्री छापिएछ । मैले पत्रिकामा काम गर्ने लम्साल थरका एक भाइलाई सोध्दा सम्पादककै आदेशमा समीक्षा हटाइएको बताए । त्यसपछि पठाउन छाडें । पछि सो दैनिकका सम्पादकसँग एक कार्यक्रममा भेट भयो । मैले उनलाई भनेँ, ‘तपाईंको विजनेस टि्रक रहेनछ, मेरो स्तम्भले तपाईंको पत्रिका दुई-चार सय कपी भए पनि बढी बिकेको थियो ।’ उनले ‘ह्या ह्या दाइ’ भनेर टारे ।
किशोर नेपालसँग पनि तपाईंको सम्वन्ध बिग्रेको समीक्षाकै कारणले हो त ?
किशोर नेपालसँग मेरो सम्वन्धको आफ्नै कथा छ । अहिले उनीसँग मेरो हेटफुल रिलेसन भए पनि हामीे पुराना मित्र हौं । तर, खासमा उनी कसैसँग दिगो सम्वन्ध राख्ने मान्छे नै होइनन् । उनले तीन जनासँग मात्रै दिगो सम्वन्ध राख्छन्, आफु, आफू र आफूसँग ।
हामी २०२४, ०२५, ०२६, ०२७ सालतिर सँगै संघर्ष गर्दै थियौं । संघर्षको तरिका र पृष्ठभूमि चाहिँ फरक थियो । म साधनसम्पन्न थिएँ । उनी ‘झुत्रे’ उपनाम लेख्थे र मान्छे पनि झुत्रे नै हो । किशोरले निकालेको पाताल नामको पुस्तकबारे मैले नागरिकमा समीक्षा लेखेको थिएँ । त्यतिबेला उनी शुक्रबारका सम्पादक थिए । मैले त्यो किताब थर्ड क्लास नै हो भनेर लेखेको थिएँ ।
त्यो समीक्षा छापिएपछि उनी तिल्मिलाए । नागरिकका पत्रकारहरुलाई ‘यसलाई किन स्थान दिएको भनेर’ गनगन गर्दा रहेछन् । तर, मेरो समीक्षा छापिन छाडेन । त्यसपछि उनले मेरो पारिश्रमिक कटौति गर्न लगाएछन् । पहिले दुई हजार दिने गरेकोमा १२ सयमा झारिएको सुचना मैले पाएपछि एकाउन्टेन्टलाई भनिदिएँ, यो पैसा किशोरलाई दक्षिणा दिनु । अहिले पनि लिन गएको छैन म ।
सारा मिडिया भोगेको हस्तीसँग टक्कर लिँदा तपाईंले राम्रै मूल्य चुकाउनु परेको होला नि ?
यदि उनको पत्रकारितामा प्रभुत्व छ भने म पनि कुनै नौलो व्यक्ति होइन । मेरो पनि आफ्नै ब्राण्डिङ छ, धाक छ । मैले पत्रकारिता सिकाएका व्यक्तिहरु अहिलेका हस्ती छन् । नारायण वाग्लेलाई चिन्नुहुन्छ नि ? उनलाई सुरुमा काम दिएको मैले हो । जनमञ्चमा उनलाई रिपोर्टर बनाएको थिएँ । त्यहाँबाट मैले नै योगेश उपाध्यायलाई भनेर कान्तिपुरमा जागिर लगाइदिएको हुँ । आज उनी कहाँ छन् ? यस्ता उदाहरण धेरै छन् मसित ।
लक्ष्मीप्रसाद देवकोटाका पुत्रसँग पनि तपाईंको अलिकति परेको थियो क्यारे, होइन ?
देवकोटाका छोरा पदमप्रसाद देवकोटा पनि मसँग रिसाए । समीक्षाकै कारण । उनी अहिले अंग्रेजीमा लेख्ने नेपालीहरुको संस्थाको चिफ छन् क्यारे । उनले के गरेछन् भने प्रख्यात अमेरिकी नाटक ‘रेजिङ इन द सन’ को रद्दी अनुवाद गरेर किताब निकाले । किताबको नाम राखेछन्, किसमिसको बिस्कुन । अनुवाद पढेर म स्तब्ध भएँ । अंग्रेजी टेक्स्टसँग कति पनि मिल्दैन । ह्यूज ल्याङ्सटनको कविताबाट किताब सुरु भएको छ । कविताकै अनुवाद यदि ‘बन्टाढार’ छ कि केही पनि बुझिन्न । पछि हरिहर शर्माले त्यो नाटक मञ्चन पनि गराए । कसरी गराए होलान्, म छक्क पर्छु ।
त्यो किताबलाई मैले आफ्नो शैलीमा ‘हार्ड हिटिङ’ गरेर समीक्षा लेखेँ । एउटा तगडा नाटकको बन्टाढार गरिदिए भनेर लेखेँ ।
त्यो समीक्षा छापिएपछि पदमप्रसादले सम्वन्धित पत्रिकामा पाठकपत्र पठाएछन् । पत्रमा उनले मरो किताबको आलोचना गर्ने त्यो हरी अधिकारी भन्ने को हो भनेर ठाडो प्रहार गरेका थिए रे । तर, पत्रिकाले त्यो प्रकाशित गरेन ।
अर्को पनि एउटा मजेदार घटना छ, सुनाउँछु । नकुल सिलवालले बगर भन्ने पत्रिका चलाउँथे र पाण्डुलिपी पुरस्कार दिन्थे । उनले डा. तारानाथ शर्मालाई सुम्निमाको अंग्रेजी अनुवाद गर्न लगाएर बगरमा डल्लै छापे । मैले पढ्दा यति खराब अनुवाद गरेछन्, मेरो दिमाग घुम्यो । म अंग्रेजीको विज्ञ होइन र पनि अनेकन त्रुटी पत्ता लगाएँ । त्यसपछि कान्तिपुरको कोशेलीमा मैले प्रत्येक गलत अनुवादलाई ‘प्यासेज टु प्यासेज’ उल्लेख गरेर पुरै एक पेज आर्टिकल छपाएँ ।
त्यो सामग्री छापिएपछि नकुल सिलवाल तारानाथ कहाँ पुगेछन् । हरी अधिकारीले यस्तो यस्तो लेखेछन् भनेर सुनाउँदा तारानाथले खासै वास्ता नगरिकन भनेछन्, ‘हरीले लेखेको ठिकै होला ।’
400मेरो किताबको समीक्षा गरिदिनुपर्‍यो भन्दै तपाईंकहाँ लेखकहरु कत्तिको आउँछन् ? कि समीक्षा नगरेर सहयोग गरिदिनुपर्‍यो भनेर आउँछन् कि ?
राम्रो समीक्षा गर्नुपर्‍यो भनेर त मकहाँ कोही पनि आउँदैनन् । तर, लेखिदिनुपर्‍यो चाहिँ भन्छन् । मैले लेखिदिए किताब चर्चामा आउँथ्यो भन्ने विश्वास उनीहरुको हुन्छ । मलाई किताब पनि काफी आउँछ । पहिले-पहिले किताब किनेरै समीक्षा गर्थेँ, अचेल घरमै आउँछ ।
मैले नकारात्मक समीक्षा गरेपछि किताबको बिक्री बढेका उदाहरण थुप्र्रै छन् । सबैभन्दा ज्वलन्त उदाहरण हो, कुमार नगरकोटीको मोक्षान्त काठमाडौं फिवर । त्यो किताब सुरुमा बिकेकै थिएन । तर, मैले समीक्षा लेखेपछि एकाएक त्यसको बजार गर्मायो भनेर मलाई रत्नपुस्तकका गोविन्दप्रसाद श्रेष्ठ आफैंले भनेका छन् । उनका अनुसार दुई महिनामै किताबको पहिलो संस्करण बिकेर दोस्रो संस्करण छापिएको थियो ।
के भनेर आलोचना गर्नुभएको थियो त्यो किताबलाई ?
यसले नेपाली भाषाको गाईजात्रा गर्‍यो भनेर लेखेको थिएँ । हुन पनि किताब अन्धाधुन्द छ । कथाको बीच-बीचमा अंगे्रजीको प्यासेज हालिदिएको छ । लेखाइको ढर्रा नै विचित्र छ ।
तपाइंको नजरमा नेपालका ‘ओभर रेटेड’ साहित्यकारहरु को को हुन् ?
अधिकांश ‘ओभर रेटेड’ देख्छु म त । सबैभन्दा ‘ओभर रेटेड’ चाहिँ बसन्त चौधरी हुन् । उनी नेपाली कविताको प्रतिनिधित्व गर्दै संसारभर घुम्छन् । जबकि उनको कवितामा कुनै स्तर हुँदैन । अर्का रवीन्द्र मिश्र छन् । उनको कविताले ३५ लाख कमायो अरे ।
कणर्ाली ब्लुजबाट एकाएक सेलिबि्रटी बनेका बुद्धिसागर फिरफिरेमा नराम्ररी फसे । अमर न्यौपानेको त्यही हालत भएको थियो करोडौं कस्तुरीमा ।
यस्ता साहित्यकार मिडियाले दुन्दभी पिटेको भरमा एकपटक त चर्चामा आउँछन् तर अर्कोपटक हराउँछन् । अहिले नयाँ पुस्ताका ब्रजेस, अश्विनी कोइराला सुविन भट्टराई लगायत त सुरुवातैदेखि गलत ‘रास्ता’मा छन् । मलाई फेसबुकमा फलानाले म्यासेेज लेख्यो भन्दै आत्मरतिमा रमाइरहेको देख्छु ।
आफ्ना प्रत्येक समीक्षासँगै मलामी घटाउँदैछु भन्ने महसुस गर्नुभएको छैन ?
विलकुल छैन । यदि मैले लेखेको समीक्षाबाट एउटा लेखक रिसाउँछ भने सयौं पाठक खुशी पनि हुन्छन् । यसबाट मेरो मलामी घटेका होइन, बढिरहेको महसुस हुन्छ ।
आफूले लेखेकोमध्ये सबैभन्दा बढी चित्तबुझेको समीक्षा कुन हो ?
नेपालमा मैले प्रयोगशालाको समीक्षा लेखेको थिएँ । त्यो सुधिर शर्माको हातबाट रअले लेखेको किताब हो भनेर मैले लेखिदिएको हुँ । त्यो समीक्षा धेरैले मन पराए । सूर्यबहादुर सेन ओली नामका पूर्वप्रशासकको आत्मकथा माथि लेखेको समीक्षा पनि आफैंलाई चित्त बुझेकोमध्ये एक हो ।
नेपाली साहित्य कता गइरहेको देख्नुभएको छ ?
उत्साहजनक अवस्था पक्कै छैन । धेरैजसो वास्तै नगरे हुने किताब निस्किन्छ । पढ्न योग्य किताब ५ प्रतिशत मात्रै हुन्छन् होला ।
म एकपटक हेटौडामा साहित्यिक कार्यक्रममा जाँदा एकजनाले भने, ‘तपाईं यति धेरै पत्रिकामा लेख्नुहुन्छ । कावासोतीमा एकजना प्रसिद्ध लेखन हुनुुहुन्छ । उहाँले अहिलेसम्म ५० भन्दा बढी किताब निकालिसक्नुभएको छ । उहाँको विषयमा किन लेख्नुहुन्न ?’ ती प्रसिद्ध लेखको नाम रहेछ सदानन्द जैसी अभागी । मैले भनें, ‘जब मजस्तो साहित्यको नियमित पाठकले त उहाँको नाम अहिलेसम्म सुनेको छैन भने उहाँले ५० वटा कस्ता पुस्तक लेख्नुभयो होला ?’ उनी अवाक बने । नेपाली साहित्यमा यस्तै सदानन्द अभागीहरुको प्रभूत्व छ ।
- See more at: http://www.onlinekhabar.com/2016/03/406226/#sthash.b1iZsmEl.dpuf
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment