इन्धनको मूल्य बढाउने सरकारी तयार

राजेश बर्मा
फोटो :अन्नपूर्ण फोइल फोटो
काठमाडौं: सरकारले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार इन्धनको मूल्य समायोजन गर्न निर्देशन दिँदै गर्दा नेपाल आयल निगमले भने इन्धनको मूल्य बढाउने तयारी गरेको छ। 
अढाइ साताअघि प्रधानमन्त्री कार्यालयले माघ पहिलो सातादेखि इन्धनको मूल्य समायोजन नभएकाले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न निगमलाई निर्देशन दिएको थियो । तर, फागुनको अन्तिम सातासम्ममा पनि निगमले इन्धनको मूल्य समायोजन गर्ने तयारी गरेको छैन।
निगम अहिले अन्तर्राष्ट्रिय बजारमा इन्धनको बढेको मूल्यको आधारमा मूल्य वृद्धि गर्ने आन्तरिक तयारीमा जुटेको छ। निगमले इन्डियन आयल कर्पोरेसन(आईओसी) बाट प्राप्त मूल्यसूचीका आधारमा गत माघ ४ गते (जनवरी १८) इन्धनको मूल्य समायोजन गरे पनि त्यसपश्चात अन्तर्राष्ट्रिय बजारमा दर्जनौं पटक मूल्य थपघट भएपनि समायोजन गरिएको छैन।
निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नाकाबन्दीका कारण थोरै परिमाणमा इन्धन आयात भइरहेकाले त्यस्तो अवस्थामा मूल्य समायोजन गर्न नमिल्ने बताएका थिए । गत पुसको अन्तिम सातादेखि माघको दोस्रो सातासम्म अन्तर्राष्ट्रिय बजारमा क्रमिक रुपमा प्रतिब्यारेल कच्चा इन्धनको मूल्य २९ डलरबाट २७ डलरसम्ममा झरेको थियो। 
निगमले अन्तर्राष्ट्रिय मूल्य २९ मा झरेको अवस्थामा अन्तिम पटक मूल्य समायोजन गरेको थियो। त्यसपछि फागुनको पहिलो सातामा मा आएर इन्धनको मूल्य ३५ यूएस डलरमा पुगेको थियो । लगत्तै क्रमशः ३२, ३३ हुँदै फागुन २१ गते प्रतिब्यारेल कच्चा इन्धनको मूल्य ३७.४६ यूएस डलरमा पुगेको थियो । एक ब्यारलमा एक सय ५८ लिटर इन्धन हुन्छ।
प्रधानमन्त्री कार्यालयबाट मूल्य समायोजनका लागि निर्देशन आएको बेला निगमले आईओसीबाट प्राप्त हुने मूल्य सूचीका आधारमा समायोजन गर्ने आश्वासन दिएको थियो । तर आईओसीले मार्च १ तारिख (फागुन १८ गते) मा मार्चको मूल्य सूची पठाउनुको साटो २०१५ अप्रिलको मूल्य सूची पठाएको भन्दै निगमले फेरि पनि मूल्य समायोजन गर्न बहाना बनाएको छ। 
‘आईओसीले गल्तिबस गत वर्षको अप्रिलको मूल्य सूची पठायो’, निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, ‘यसले गर्दा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न सकेनौं। अब १५ तारिखमा मूल्य सूची आएपछि मूल्य समायोजन हुन्छ।’
निगमले चाहेर पनि मूल्य समायोजन गरेर आगामी दिनमा इन्धनको मूल्य घटाउन सक्ने अवस्था छैन । ‘अन्तर्राष्ट्रिय बजारमा अहिले इन्धनको मूल्य बढ्दै गएको छ’, घिमिरेले भने, ‘अन्तर्राष्ट्रिय मूल्यको आधारमा आईओसीले पठाउने मूल्य सूचीको आधारमा इन्धनको मूल्य वृद्धि हुन सक्छ।’ 
आईओसीले १५ दिनको इन्धनको औसत मूल्यको आधारमा प्रत्येक महिनाको १ र १६ तारिखमा आफ्नो मूल्य सूची निगमलाई उपलब्ध गराउँदै आएको छ। सोही मूल्यसूचीका आधारमा निगमले स्वचालित मूल्य प्रणालीअन्तर्गत गत असोज १३ गतेदेखि इन्धनको मूल्य समायोजन गर्दैआएको छ। आईओसीले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल ल्याएर प्रशोधन (रिफाइन) गरी नेपाललाई बिक्री गर्दैआएको छ।
पछिल्लो पटक निगमले माघ ४ गते एक सय चार रुपैयाँबाट पेट्रोलको प्रतिलिटर ९९ रुपैयाँ, ८२ रुपैयाँबाट डिजेल र मट्टीतेलको मूल्य ७५ रुपैयाँमा झारेको थियो । हवाई इन्धनको भने उपत्यकाभित्र र उपत्यका बाहिर एक रुपता ल्याउने भनेर एक सय १८ रुपैयाँबाट वृद्धि गरेर प्रति लिटर एक सय ६४ रुपैयाँ ८५ पैसा पुर्याइएको थियो। 
फागुन ११ गते निगमले पुनः हवाई इन्धनको मूल्य समायोजन गरेर प्रतिलिटर एक सय नौ रुपैयाँमा मूल्य झारेको थियो । तर सोही दिनमा पेट्रोल, डिजेल र मट्टीतेलको भने मूल्य समायोजन गरिएन् । निगमले प्रतिलिटर पेट्रोल बिक्री गरेर १८ र डिजलमा १६ रुपैयाँ प्रतिलिटर नाफा गर्दैआएको छ।
निगमले आईओसीबाट प्राप्त मूल्य सूचीमा ‘लोन पेमेन्ट’ र ‘इन्टेस्ट अफ लोन’ शीर्षक अन्तर्गत थप रकम जोडेर उपभोक्ताबाट असुल गर्दा अहिले पनि इन्धनको उपभोक्ता मूल्य बढी छ। निगमले गत वैशाखमा पनि विनाशकारी भूकम्प आएको बहानामा पनि इन्धनको मूल्य समायोजन गरेको थिएन। 
स्वचालित मूल्य प्रणालीअनुसार प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गर्नुपर्नेमा निगमले आफुलाई बढी फायदा हुने अवस्थामा मात्रै मूल्य समायोजन गर्दैआएको छ।
बिदाको दिन पनि इन्धन पाइने
सोमबारदेखि आगामी बुधबारसम्म परेको सार्वजनिक बिदाका दिन पनि नेपाल आयल निगमले इन्धन उपलब्ध गराउने भएको छ। 
सोमबार शिवरात्री, मंगलबार नारी दिवस र बुधबार ध्याल्पो ल्होसार पर्वका लागि सरकारले बिदा दिएको छ। ती तीन दिनको बिदामा पनि उपभोक्ताको आवश्यकता अनुसार सबै पम्पबाट इन्धन उपलब्ध गराइने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment