मेडल पाए पछि आमालाई सम्झीएँ : तारा देवी पुन (फोटो फीचर सहित)


म्याग्दी जिल्लाको हिस्तान गाविसमा बाबा बिरु पुन र आमा दिलमायाँ पुनको कोखबाट पाँच सन्तान मध्ये चौथो सन्तानको रुपमा जन्मेकी तारा अहिले सर्वत्र चर्चामा छिन् । दुइ दाजु र एक दिदी अनि एक भाईकी दिदी हुन् तारा । २०४० पुस २९ गते हिस्तान गाविस ३ मथेनीमा जन्मेकी तारादेवी पुनले १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाए पछि उनको चर्चा चुलियो । महिला भलिबलको राष्ट्रिय टोलीमा समेत छनौट भएकी उनी भलिबल छाडेर भारत्तोलन तिर लागेकि थिइन् । पहिलो पटक उनलाई २०५८ चैतमा भएको २८ गते खुल्ला भारत्तोलन प्रतियोगितामा नेपालको शक्तिशाली महिला घोषणा गरिएको थियो । उनै नेपालकी शक्तिशाली महिला म्याग्दी तथा समग्र नेपालकी छोरी तारादेवि सँग अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादीत अंश । 

प्रश्न : स्वागत तपाईलाई छ ।
उत्तर : धन्यावाद मेरा कुरा राख्ने अवसर सृजना गर्नु भएकोमा ।
प्रश्न : भारत्तोलनमा सागमा मेडल जित्नु भयो यस भन्दा पहिला कुन कुन ठाँउमा सहभागी हुनु भयो र पदक प्राप्त गर्नु भएको थियो ?
उत्तर: प्रतियोगिताहरु त धेरैमा सहभागी भएको छु त्यस मध्ये मुख्य मुख्य भन्नु पर्दा दक्षिण एसीयली च्याम्पीयनसिप भारत्तोलन २०६८ मा नेपालगञ्जमा भएको थियो त्यस प्रतियोगितामा तीन वटा स्वर्ण पदक हात लाग्यो । त्यस पछि २०६९ मा थाइल्याण्डमा भएको किङ्सकपमा सहभागि भएको थिए । कोरियामा एसीयन गेम खेलेको थिए सन २०१४ मा । २०७२ भदौमा थाइल्याण्डमा पनि सहभागि भएको थिए । त्यस पछि सागमा सहभागि भएको थिए र त्यस प्रतियोगितामा मैले कास्य पदक पाएको थिए । १६५ केजी तौल उठाएको थिए । बंगलादेशको खेलाडी र मैले बराबर तौल उठाएको थियौं तर मेरो शारीरीक तौल कम भएकाले मैल पदक पाएको थिए ।

प्रश्न : सागमा नेपालबाट महिला को कति समूह सहभागी थियो ?
उत्तर : नेपालबाट सात वटा तौल समूहमा सहभागि भएको थियो त्यस मध्ये मैले हेबी वेटमा भाग लिएको थिए । मैले बढी तौल समूहमा खेलेको थिए मैले तर यदी मैले ७५ केजी समूहमा प्रतिस्पर्दा गरेको भए मेडल पक्का थियो । अहिलेको सागमा मैले कास्य जित्नु भनेको स्वर्ण भन्दा पनि महत्वपूर्ण थियो ।
प्रश्न ः तपाई सुरु देखिनै भारत्तोलन खेलाडी हो ?
उत्तर ः पाँचौं राष्ट्रिय खेलकुदमा भलिबलबाट छनौंट भएर गएको थिए । राजा बिरेन्द्रको मृत्युले त्यो खेलकुद रद्द भयो । त्यस पछि काठमाडौमा बसेर ट्रेनिङ गर्न थाले । नेपालको प्रतिनिधित्व गर्दै ओलम्पीकमा सहभागी प्रमिला थापा तेक्वान्दो खेलाडीले मलाई भलिबल भन्दा भारत्तोलन खेल्न पठाउनु भयो । तर मलाई थाहा थिएन भारत्तोलन भनेको के हो । उहाँले मलाई सुनिललाल जोशी गुरुलाई भेट्न पठाउनु भएको थियो । म काठमाडौमा एक्लो महिला हो ट्रेनिङ गर्ने । पार्थ सार्थ सेन गुप्त गुरु संग भेट्न पठाउनु भयो सुनिल गुरुले । त्यस पछि गुप्त गुरुले राजेन्द्र प्रधानलाई भेट्न पठाउनु भयो । त्यसपछि मैले तालिम सुरु गरे । अनि मेरो खेल जिवन सुरु भयो जुन दिन रड समातेको थिए त्यसको दुई महिना पछि मैले प्रतियोगितामा सहभागिता जनाएको थिए ।

प्रश्न ः ट्रेनिङ कस्तो भएको थियो त त्यो बेलामा ?
उत्तर ः २०५८ पौष २६ गते मैले पहिलो पटक रड समातेको थियो । काठमाडौ जिल्लाबाट तालिम गर्न थालेको थिए मैले । मैले राष्ट्रिय खेलकुदमा ५ पटक काठमाडौ जिल्लाबाट प्रतिनिधित्व गरेको थिए ।
प्रश्न ः पुलिस क्लबमा कहिले देखि आबद्ध ?
उत्तर ः २०६० सालमा म प्रहरी क्लबमा आबद्ध भएको हो ।

प्रश्न ः भलिबल खेलमा कसरी अगाडी आउनु भयो ?
उत्तर ः आठौ दक्षिण एसीयाली खेलकुद प्रतियोगिता साफको लागि गाविस बाट छनौट हुँदै जिल्ला तहमा आइपुगेको थिए । त्यसबेला जितेन्द्र चन्द, हंसराज वाग्ले, भरत शाहलगायतको टोलि खेलाडी छनौटका लागि आउनु भएको थियो । मलाई गाउँबाट आउनका लागि चिठी गएपछि म बेनी आएको थिए । बेनी बसेर २ महिना तालिम गरेँ । त्यस बेलाका जिल्ला खेलकुद विकास समितिको अध्यक्ष राम गौचन हुनुहुन्थ्यो । जगत गौचनले हंसराजलाई बोलाउनु भएको थियो । सेलेक्सन गेम खेल्न दमौली गयौं म्याग्दीबाट । दमौलीबाट पनि सेलेक्ट भएर पोखराको क्लोज क्याम्पमा १ महिना बसे पछि राष्ट्रिय खेलकुदका लागि सुर्खेत पुगियो । मेरो टोली पश्चिमाञ्चल त्यो खेलकुद प्रतियोगितामा भलिबलमा पहिलो भएको थियो । त्यसबेलाको साग खेलकुदका लागि राष्ट्रिय महिला भलिबल टोलीमा पनि म छनौट हुन सफल भएको थिएँ तर, मैले सूचना ढिलो पाएकाले त्यो गेम छुट्यो । साग खेलकुद सम्पन्न भै सकेको थियो मैले सागको लागि छनौट भएको पत्र पाएको थिए मैले गाउँमा । त्यस बेला कुनै सञ्चारको सुविधा थिएन त्यसैले चिठि पत्रकै चलन चिठी पुग्न ढिला भएको कारणले मैले साफ खेलकुद गुमाउन परेको थियो ।

प्रश्न ः भलिबल खेलाडी कसरी भारत्तोलन तिर लाग्नु भयो त के थियो टर्नीङ प्वाइन्ट ? 
उत्तर ः पाँचौ राष्ट्रिय खेलकुद रोकिनु मेरो खेलकुद क्षेत्र परिवर्तनको टर्नीङ प्वाइन्ट भयो । राजा बिरेन्द्रको बंश नास हुने गरी भएको घटनाले पाँचौ राष्ट्रिय खेलकुद रोकिएकाले त्यस पछि म भारत्तोलन तिर लागे ।
प्रश्न ः सागमा मेडल भिर्ने बेलामा पहिलो पटक कसलाइ सम्झीनुभयो ? 
उत्तर ः सागमा मेडल भिर्ने बेलामा मैले पहिलो पटक आमालाई सम्झेको थिए । मेडल पाउँदासाथ मैले आमालाई सम्झीएको थिएँ । अन्तर आत्माबाट आमालाई धन्यवाद दिएँ अनि देश सम्झीए र म नेपाली भएर जन्मीन पाएको प्रति गर्बलागेको थियो । अरुको आमा थप हौसला र मेडल जित्नका लागि आराधाना गर्नुहुन्छ मेरो आमा जो मलाई सँधै स्वस्थ होस भन्ने चाहनुहुन्छ । फलामको डल्ला उचाल्छेस् भोली तेरो सरिर यता दुख्यो उता दुख्यो भन्दै बित्छ भन्नु हुन्छ आमा । मेरी आमाको चाहना भनेको खेलमा प्रगति गरोस भन्ने त छँदै छ यसको स्वास्थ्य बिग्रीयो भने भोलि निकै समस्या हुन्छ भन्ने चिन्ता छउहाँलाई ।

प्रश्न : अन्त्यमा कसैलाई केही भन्नु छ कि ?
उत्तर : अबको दिनमा यस क्षेत्रमा आउनका लागि प्रोत्साहन गर्ने गुरुहरुको प्रेरणाले मलाई निरन्तर लाग्नका लागि थप हौसला मिलेको छ । खेलमा जाने क्रममा राम्रो गर्नका लागि प्रोत्साहन गर्ने बाबा आमा, गुरुहरुलाई पनि धन्यवाद दिन चाहन्छु । मिडियाक्षेत्रलाई पनि धन्यवाद दिन चाहन्छु । नेपाल प्रहरी क्लब, खेलकुद परिषद्का कोचहरु, जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष तथा सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिन चाहन्छु । म्याग्देली खेलाडीहरुलाई बेनी बजारमा तीन दिन सम्म सम्मान गर्ने संघ संस्थाहरु अनि यसको चाँजोपाँजो मिलाउने खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार बिश्वकर्मा धन्यवादको पात्र हुनुहुन्छ ।
puntara42@gmail.com

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment