दिपकलाइ श्रीमतीले पो कलाकार बनाएको !

दीपकराज गिरि, कलाकार
नारी र पुरुषलाई एकअर्काबाट अलग गरेर संसारको कल्पनै गर्न सकिँदैन, सृष्टिको सिर्जना नै यसरी भएको छ । घर-परिवार व्यवस्थित बनाउन, नारी र पुरुष एक-अर्काको सहारा बनेर जीवन जिउन नै श्रीमान-श्रीमतीको अवधारणा आएको होला ।
श्रीमान-श्रीमतीको महत्त्व आ-आफ्नो ठाउँमा हुन्छ । पुरुषको प्रगति वा दुर्गतिको कारक नारी नै हुन्छिन् भनिन्छ । पुरुष असफल हुन आधा भूमिका खराब श्रीमतीको रहन्छ भने सफल हुन पूर्ण भूमिका असल श्रीमतीको रहन्छ भन्ने लाग्छ । श्रीमती असल परिन् भने पुरुषको सफलताको सिँढी त्यहीँबाट सुरु हुन्छ । मेरी श्रीमती अति नै असल छिन् । यिनी नपरेको भए, म कलाकार बन्न सक्दिनथेँ होला ।
बिहेअघि मलाई दाइ भन्थिन्
हामी दुवै थानकोट दहचोक हुर्केका हौँ । एउटै गाउँका, एउटै पँधेरोको पानी खाएका, केटाकेटीदेखि नै परिचित हौँ । बिहे हुने बेलासम्म मैले कनिकुथी १० पढेको थिएँ । तर, उनले पढिनन् । उनी सामान्य साक्षर हुन् ।
उनको माइती र मेरो घर यति नजिक थियो कि मैले ठूलो स्वरमा गाली गरेँ भने उनका बाबुले सुन्थेँ । दहचोक अहिले त सहर भयो, त्यति बेला तल सडकसम्म आउन आधा घन्टा हिँड्नुपर्थ्यो ।
गाउँमा उनले मलाई दाइ-दाइ भन्थिन्, मैले बहिनी भन्थेँ । बिहे होला भनेर त सोचेकै थिएनौँ । उनी मेनुका गिरि, म पनि गिरि, तर बिहे गर्न मिल्थ्यो । उनका ठूलो बुवा प्रधानपञ्च हुनुहुन्थ्यो । उनको बुवा सरकारी जागिरे हुनुहुन्थ्यो, डोजर यस्तै के चलाउनुहुन्थ्यो, अहिले रिटायर्ड हुनुहुन्छ ।
मेरो बुवा कृषि विकास बैंकको जागिरे, काठमाडौंका विभिन्न ठाउँमा सरुवा भइरहनुहुन्थ्यो । सानोमा बुवा जहाँ-जहाँ जानुहुन्थ्यो, त्यहीँ-त्यहीँ गएर पढेँ ।
बुवाले तीन विवाह गर्नुभएको हो । मेरी आमा सबैभन्दा जेठी, मेरी आमापट्टि म र एउटी बहिनी छौँ । म चार वर्षको हुँदा मेरी आमाको देहान्त भयो । बुवाले दोस्रो बिहे गर्नुभयो, दोस्री आमाले नै मलाई हुर्काउनुभएको । म हुर्किसकेपछि उहाँले खै किन विष पिएर आत्महत्या गर्नुभयो । त्यतिबेला म घरमा थिइनँ, उहाँले अन्तिम वाक्य ‘दीपक’ भन्नुभएको थियो रे, पछि मलाई अरुले सुनाए । दोस्रो आमाबाट सन्तान भएनन् । त्यसपछि बुवाले तेस्रो बिहे गर्नुभयो । अहिलेकी आमा हामीसँगै हुनुहुन्छ । उहाँबाट दुई भाइ जन्मेका थिए, बिते । एउटा भाइ सानैमा बित्यो । अर्को भाइ पाँच-सात वर्षअघि दुर्घटनामा बित्यो ।
अहिले म जुन दीपकराज गिरी छु, यो निर्माणमा नै उनको ठूलो हात छ । यो रंग दुनियाँमा हर दिन एक-एकवटा स्कान्डल आउँछन्, हर दिनजसो समस्या आउँछन्, एकको नाम अर्कोसँग जोडिन्छ । यी सब चिजलाई उनले सहज रुपमा लिन्छिन् ।
किताबको खालि पानामा हिन्दी फिल्म
दहचोकमा मभन्दा सिनियर दाइहरूले नाटक देखाउँथेँ, हरेक वर्ष दशैँमा । म सानै थिएँ, तर फिल्म हेर्न थालिसकेको थिएँ । मनमनै लाग्थ्यो, एक दिन यिनीहरूले भन्दा राम्रो नाटक देखाउँछु ।
सानैदेखि हिन्दी सिनेमा खुब हेर्थें । महिनामा १० दिन स्कुल जान्थेँ भने १५ दिन फिल्म हल । किताबका पानाको खालि भागमा आफूले हेरेका फिल्मका नाम लेख्थें । फिल्म हेरेपछि साथीहरूलाई कथा भन्थेँ ।
अमिताभ बच्चनको फिल्म हेरेपछि ममा अमिताभ नै उत्रन्थे । कम्मरमा हात लगाएर उनले फिल्ममा बोलेका डायलग भन्थेँ । हिरो बन्ने ठूलो इच्छा थियो । फिल्म नै बनाएर हिरो बन्न त सकिँदैनथ्यो । त्यसैले नाटकमा खेलेर रहर पूरा गर्थें । फिल्म हेर्दाहेर्दै मैले नाटक तयार गर्न सिकें । मेरो दिमागमा नाटकको सेट हुन्थ्यो, १३ वर्षको उमेरमै नाटक लेख्न थालेँ । दशैँ-दशैँमा गाउँमा नाटक देखाउन थालेँ, चार-पाँच वर्ष देखाएँ ।
आफूले लेखेको नाटकमा आफूभन्दा सिनियर दाइहरूलाई खेलाउँथेँ । अलि पाको भूमिका दिन्थेँ । केटालाई केटी बनाउँथेँ । दशैँ आउनुअघि नै गाउँलेले ‘यो पालि नाटक छैन’ भनेर सोध्थे । मैले देखाएको नाटक हेर्न उनी पनि आउँथिन् । त्यतिबेला मैले ‘डोको न पोको’ देखाएको थिएँ । त्यसपछि ‘ज्वाइँ चाहियो’ भन्ने नाटक लेखेँ, यो म १४ वर्षको हुँदाको कुरा हो । यो नाटक पछि मैले हिजोआजका कुरामा सन्तोष पन्त दाइलाई दिएँ । उहाँले त्यसलाई तीन-चार भाग सिरियल नै बनाउनुभयो ।
‘ज्वाइँ आको छ, भातसात छैन’
असाध्यै बिग्रेको केटो थिएँ म, समाजको नजरमा । आवारा पाराको थिएँ- घरमा काम नगर्ने, फिल्म हेर्न जाने, ध्यान दिएर नपढ्ने, नाटक गर्दै हिँड्ने, एसएलसी पनि दुई-दुईपटक फेल भएको ।
१७ वर्षको थिएँ । एकातिर म घरको जेठो छोरो, हल्लेर हिँड्ने । अर्कोतिर घरमा काम गर्ने मान्छे पनि चाहिएको । त्यसैले मेरो बिहे गरिदिए आवारा हुँदैन, परिवारमा बाँधिन्छ भन्ने बुवालाई लाग्यो होला । दुई-तीन ठाउँमा केटी हेर्न गइयो, तर केटी दिएनन् । त्यो नौटंकीलाई दिन्नौँ पनि भनेँ ।
अन्तमा मेनुकालाई माग्न गइयो । एउटै गाउँको, म आवारा केटो भन्ने थाहा थियो । तर मेनुकाका बाआमाले जोखिम मोलेर छोरी दिनुभयो ।
ससुरालीमा रमाइलो हुन्छ । सानोमा जेठानहरूलाई तँ-तँ र म-म चल्थ्यो । पहिले त हो-हल्ला गर्दै ससुराली जान्थेँ । ‘ज्वाइँ आको छ, भातसात छैन’ भनेर सोध्थेँ ।
Deepak RAj Giri (6)विवाहपछि सरासर पास भएँ
उनी आएपछि म स्कुल-कलेजमा सरासर पास भएँ । ०४४ मा एसएसली पास भएँ, प्रभात मावि थानकोटबाट । आईए फेल नभई पास गरेँ, मंगलोदय बहुमुखी क्याम्पस थानकोटबाट । बीए पनि सरासर पास गरेँ, आरआर क्याम्पसबाट, ०५० सालमा । स्कुलमा मलाई उछिनेर जाने कतिपय साथीलाई मैले एकैचोटि एमएमा भेटेको हुँ । कतिपयले त ‘सर्टिफिकेट पनि चोरेर ल्याइस् कि क्या हो’ भन्थे । आरआरमै सोसियोलजीमा मास्टर्स ज्वाइन त गरेँ, पूरा गरिनँ । कलाकारितामा राम्रो हुन थाल्यो, व्यस्त हुन थालेँ ।
‘कलाकार नै बन्ने भए छुट्टएिर बस्’
बिहेपछि उनैले घर सम्हालिन् । त्यतिबेला मसँग पैसा हुँदैनथ्यो । ०४८ सालतिर हो, बुवाले कर गरेर प्रहरी असइ भएको थिएँ । आफ्नो मेहनतले नाम निकालेको होइन, बुवाले नै भनसुन गरेर नाम निकालिदिनुभएको । तर, पाँच-सात दिन तालिम गरेर भागेँ । त्यसपछि बुवाले सर्त राख्नुभयो, ‘कलाकार बन्छस् भने आफ्नो सुर गर्, म खर्च दिन्नँ । नत्र कलारिता छोड, मैले सबै हेरिदिन्छु । राम्रोसँग पढ्, केही जागिर गर् ।’
मैले पहिलो सर्त रोजेँ । त्यसपछि हामी छुट्टिएर बस्न थाल्यौँ, घरलाई आधा-आधा गरेर । बुवासँग भिन्दै बस्न थालेपछि नै मैले बीए पढेको हुँ ।
दहचोकमा हाम्रो खान पुग्ने जमिन थियो । त्यति बेला जग्गाको मूल्य त्यति थिएन, हामी मध्यम वर्गीयमै पथ्र्यौं । परिवारसँग छुट्टिँदा आफ्नो अंश लिएको थिएँ । खेतीको काम ससुरालीले मान्छे ल्याएर गरिदिन्थे। मैले त्यति काम गरिनँ ।
राजनीतिक पाटो
०४६ सालतिरको कुरा हो, गाउँमा कम्युनिस्टहरूको एउटा समूह थियो । मलाई त्यसमा बोलाइयो, गएँ । तर, मलाई थाहा थिएन, त्यो कम्युनिस्टको संस्था हो भन्ने । उनीहरू नेपाल मजुदर किसान पार्टीका रहेछन् । त्यो समूहले ‘अन्त्य’ भन्ने नाटक देखाउने भयो । पञ्चायती व्यवस्थाको ‘अन्त्य’ भन्ने अर्थमा । मलाई एउटा भूमिका निभाउन भनियो, मैले गरेँ । पछि त्यो नाटक सभागृहमा देखाइयो । पुलिस आएर कतिलाई समाएर लग्यो, तर म भागेँ ।
त्यसपछि म स्वतन्त्र रुपमा जनआन्दोलनमा लागेँ, बहुदल ल्याउन । गाउँमै राति-राति हिँड्न थालेँ । मेरो ठूलो ससुरा प्रधानपञ्च हुनुहुन्थ्यो, म उहाँको विरुद्ध पो भएँ । बूढाले ‘छोरी चाँडै विधुवा हुन्छे कि !’ सम्म भनेँ । राज्यपक्षले उहाँलाई यो गाउँमा को-को छन्, बहुदलवादीहरू ? नाम पठाउ भने छ । बूढाले मेरो नाम सबैभन्दा माथि राखेछन् । ०४६ सालपछि नेपाल विद्यार्थी संघमा आबद्ध भएँ । तर, ०५३ सालतिर राजनीतिलाई सम्पूर्ण रुपमा त्यागेँ, कलाकारितामै लाग्ने प्रण गरेँ ।
कलाकारिताको बाटो
०४९ सालतिर रेडियो नेपालमा काम गर्न थालेँ । ‘आमा’ रेडियो नाटक थियो, त्यसमा दीपक कोइराला डाइरेक्टर हुुनुहुन्थ्यो । यसरी नै केही रेडियो नाटकमा काम गरेँ । आजसम्म पनि गर्दै छु ।
मलाई अनुहार देखाएर हिरो बन्ने रहर थियो । त्यसैले ०५१/५२ तिर ट्वाक्क-टुक्क हास्य टेलिसिरियलमा काम गर्न थालेँ । यसपछि मेरो मन-मस्तिष्क हास्य कलाकारितामै गयो । ०५५/५६ तिर नेपाल टेलिभिजनको संगालो कार्यक्रममा काम गरेँ । ०६० सालमा तीतोसत्य आयो, म कलाकारितामा स्थापित भएँ ।
त्यतिबेला रेडियो नेपालले श्रेणीअनुसार पारिश्रमिक दिन्थ्यो । मेरो श्रेणी ‘ग’ थियो, एउटा नाटकमा काम गरेबापत सय रुपैयाँ आउँथ्यो । महिनामा चार सय हुन्थ्यो । त्यसले छोराछोरी पढाउँथ्यौँ, घर खर्च चलाउँथ्यौँ । श्रीमतीले माइतीबाट पैसा ल्याएको मलाई मन पर्दैनथ्यो, तर कहिलेकाहीँ लुकाएर ल्याएर खर्च चलाएको पछि थाहा पाउँथेँ ।
छोराछोरी
हाम्रा तीन छोराछोरी छन् । ०४६ सालमा जेठी छोरी जन्मिइन् । त्यसपछि ०४८ र ०५३ मा छोरा जन्मे । अहिले छोरीछोरी पढ्दै छन् । छोरी जन्मँदा म घरमै थिएँ, त्यतिबेला बेराजगार नै थिएँ । छोरी घरमै जन्मेकी हुन् । मैले घरको काम गरेर सघाएँ । त्यतिबेला हामी परिवारसँगै थियौँ, घर-परिवारले नै उनको ख्याल गर्यो । मेरा हजुरबा, हजुरआमाले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । जेठी छोरीलाई उहाँहरूले नै छातीमा च्याँपेर हुर्काउनुभयो ।
त्यसपछिको छोरो पनि घरमै जन्मियो । ऊ जन्मँदा भिन्दै बस्न थालिसकेका थियौँ, फेरि पनि हजुरबा-हजुरआमाले ख्याल गर्नुभयो । कान्छो प्रसूतिगृहमा जन्मियो । हस्पिटलमा मैले नै उनको ख्याल गरेँ । ऊ जन्मँदा मेरो कलाकारिता करिअरले आकार लिन थालिसकेको थियो ।
Deepak RAj Giri (2)दीपकराज गिरिको निर्माणमा अमूल्य साथ
मध्यम वर्गीय परिवारबाट आएको हुँ । बुवाले दुई-चार अक्षर पढेर, जागिर खाएर घर थेगोस् भन्ने चाहनुहुन्थ्यो । तर, मैले बुवाको चाहनालाई कदर गर्न सकिनँ । कलाकारितामा लाग्नका लागि म सानो उमेरमै परिवारसँग छुट्टनिुपर्यो । बिहे भएपछि भने श्रीमतीले घर सम्हालेर मलाई कलाकारितामा आउन दिइन् । म बिनारोकावट कलाकारिता आउन पाएँ ।
यस अर्थले भन्दा अहिले म जुन दीपकराज गिरी छु, यो निर्माणमा नै उनको ठूलो हात छ । कलाकारिता अझ भनौँ यो रंग दुनियाँमा हर दिन एक-एकवटा स्कान्डल आउँछन्, हर दिनजसो समस्या आउँछन्, एकको नाम अर्कोसँग जोडिन्छन् । यी सब चिजलाई उनले सहज रुपमा लिन्छिन्, सहन्छिन् ।
मेरो सिर्जनात्मक काम हो, हास्य कलाकार भइसकेपछि देशको अवस्था बुझेर, केलाएर सिर्जनात्मक ढंगले हँसाउनुपर्छ, मर्म पनि पुर्याउनुपर्छ । यो मात्रै होइन, कुनै पनि सिर्जनात्मक काम पारिवारिक तनावका बीच गर्न सकिँदैन । तर, उनले पूर्ण साथ दिएर नै मैले काम गर्न सकेको छु । त्यसैले मेरो जीवनमा श्रीमतीको महत्त्व निकै छ । यसकारण मैले श्रीमतीलाई अभिभावकको रुपमा लिन्छु ।
असल बुहारी र आमा
पहिले दहचोक घरबाटै आउजाउ गर्थें । कलाकारितामा अलि बढी व्यस्त हुन थालेपछि ०५८ सालतिर अनामनगरमा डेरा लिएर बसेँ । अहिले सात-आठ वर्षदेखि सिनामंगलको घरमा छौँ । तीतोसत्य सफल भएसँगै कमाइ पनि बढ्न थाल्यो । आफ्नै कमाइले घर बनाएँ । अहिले बुवाआमा हामीसँगै हुनुहुन्छ । भाइ बितेपछि ०६६ सालदेखि हामी सँगै बस्न थाल्यौँ ।
उनी असल बुहारी पनि हुन्, कसैसँग झगडा गर्दिनन् । पहिलेदेखि नै घर-परिवार, आफन्त कसैले चित्त दुखायो भने मलाई भन्थिन् । मैले उनलाई ढाडस दिन्थेँ, सामान्य वचन सहनुपर्छ भनेर । अहिले मेरा बुवाआमासँग उनको राम्रो सम्बन्ध छ । बुवा ७२ र आमा ५३ की हुनुभयो । बुवाआमा दुवै स्वस्थ हुनुहुन्छ । उनले स्वास्थ्य सम्बन्धमा सम्झाइबुझाइ गर्छिन् ।
अहिले छोराछोरीहरू उनका साथीजस्ता छन्, जिस्केर बस्छिन् । मलाई आफ्नो मजा कहाँ हुन्छ भन्ने थाहा हुन्न, छोराछोरी पनि त्यस्तै छन्, सबै उनले ख्याल गर्छिन्, केही कुरामा झिजो मान्दिनन् । फुर्सदका बेला घर-परिवारसँगै तास खेल्छिन् । मोबाइलमा पनि तास राखिदिएको छु । फेसबुक चलाउँछिन्, खाना बनाउँछिन् । घरमा सघाउने मान्छे राखेका छौँ ।
कार्यक्रमका सिलसिलामा हङकङ जाँदा उनलाई लिएर गएँ, हङकङलाई हेरेपछि संसारमा यस्तो विकास भएको छ भन्ने थाहा पाऊन् भनेर । नेपालमा दाङ, पोखरा, नारायणघाट लगायत ठाउँमा मसँगै कार्यक्रममा गएकी छिन् ।
पूजा गर्नुपर्ने खालकी छिन्
हाम्रो झगडा नै हुँदैन भन्दा हुन्छ । केही गरी मैले मन दुखाएँ भने उनी खुलेर बोल्दिनन् । एक-दुई दिन चुप लागेर बस्छिन्, तर झगडा गर्दिनन् । के कुराले उनको मन दुख्यो भन्ने मलाई थाहा भइहाल्छ । उनले गलत बुझेर रिसाएकी भए, सम्झाउँछु । आफ्नो गल्ती भए फकाउँछु । उनीमाथि अहिलेसम्म हात उठाएको छैन, झगडै नहुने भएपछि, हात उठाउने कुरै आउँदैन । बरु उनी जिस्केर मलाई पिटेजस्तो गर्छिन् । उनमा कुनै ठूलो महत्त्वाकांक्षा छैन, स-सानो कुरामा खुसी हुन्छिन् । गम्भीर स्वभावकी छिन् ।
मिडियामा मेराबारे गसिप आएका बेला उनको मप्रति सामान्य गुनासो रहन्छ । तर, झगडा भने हुँदैन । माटोलाई ढुंगाको र ढुंगालाई माटोको भर छ र संसार चलेको छ । घरबार चल्नलाई श्रीमानलाई श्रीमतीको र श्रीमतीलाई श्रीमानको भर चाहिन्छ । एकले अर्कोलाई विश्वास गर्ने हो । विश्वासिलो व्यवहार गर्ने हो, विश्वास व्यवहारमा देखिनुपर्छ । कुनै पनि कुरामा अविश्वास भयो भने न झगडा हुन्छ । तर, हामीले एकअर्कालाई पूर्ण विश्वास गर्छौं र हाम्रो झगडा हुँदैन ।
उनी भएर म ढुक्क छु, घर-परिवार राम्रो सँग चलेको छ । अरुले श्रीमतीलाई माया गर्छन् । तर उनी पूजा गर्ने खालकी छिन्, सन्तोषी छिन् ।
उनी गाउँमा स्वास्थ्य स्वयंसेविका छिन्, १५-१६ वर्षदेखि । अहिले पनि बेला-बेला सभाभेला, मिटिङ पर्दा दहचोक गइरहन्छिन् । त्यसैले गाउँमा उनलाई धेरैले चिन्छन्, उनले पनि धेरैलाई चिन्छिन्, गाउँलेसँग सम्बन्ध राम्रो छ । यहाँ पनि छिमेकीहरूसँग राम्रो सम्बन्ध छ ।
गाउँमा कोही बिरामी भयो भने उनलाई पीडा हुन्छ । कसको बिहेमा जानुपर्छ, पूजामा जानुपर्छ, उनलाई थाहा हुन्छ । सरल र सामाजिक छिन्, गाउँमा चुनावमा उठ्ने हो भने म हार्छु होला, उनले जित्छिन् ।
बल्लबल्ल खुट्टा ढोग्न छोडाएँ
उनी आएदेखि खुसी नै खुसी आयो मेरो जीवनमा । मेरा हर प्रगतिमा दुवै खुसी भयौँ । कहिलेकाहीँ आर्थिक अभाव हुन्थ्यो । त्यस्तो बेला सानैमा गुमाएकी आमालाई सम्झेर रुन्थेँ, उनी पनि सँगै रुन्थिन् । हजुरबुवा ०५४ तिर खस्नुभयो, उहाँले हामी दुवैलाई असाध्यै माया गर्नुहुन्थ्यो, त्यति बेला हामी सँगै रोयौँ । कहिलेकाहीँ हजुरबुवालाई सम्झेर मेरा आँखा रसाउँछन्, उनी पनि भावुक बन्छिन्, मसँगै रुन थाल्छिन् ।
जीवनको हरक्षणमा उनको साथ छ । म विद्यार्थी हुँदा उनी आइन् । एउटा बेरोजगार विद्यार्थीको अभिभावक भइन् । म छुट्टएिर बसेँ, घर हेरिन् । बालबच्चाको हेरचाह गरिन् । मैले कमाएको सम्पत्तिको व्यवस्थापन गरिन्, गर्छिन् । मलाई कुनै कुरामा चिन्ता लिन पारिनन् ।
Deepak RAj Giri (1)उनी निकै सांस्कारिक छन्, धार्मिक प्रवृत्तिकी । बोलीपिच्छे कृष्ण-कृष्ण, शिव-शिव भन्छिन् । पूजा गर्छिन्, आस्तिक छिन् ।
सुरुसुरुमा बिहान उठ्नेबित्तिकै मेरो खुट्टा ढोग्थिन्, त्यस्तै संस्कार सिकेर आएकी । मैले भन्थेँ, ‘हेर कोही पनि मान्छे खुट्टा ढोग्न लायकको हुँदैन । उसका धेरै कमजोरी हुन्छन् । मेरा पनि थुप्रै कमजोरी छन् ।’ बिहेको १०-१२ वर्षसम्म त ढोगिन्, त्यसपछि बल्ल-बल्ल खुट्टा ढोग्ने बानी छुटाएँ ।
उनको नाममा जग्गा फाप्दैन
उनले मलाई आर्थिक लेनदेनमा सल्लाह दिइरहन्छिन् । लेनदेनमा मैले साथीभाइलाई अलि बढी विश्वास गर्छु, उनले धेरै लचिलो नहुन भन्छिन् ।
घर-जग्गा मेरो नाममा छ, उनको नाममा पनि जग्गा छ, तर उनलाई जग्गा त्यति फाप्दैन । उनको नाममा एक-दुई ठाउँमा जग्गा किनेको थिएँ, जग्गाको भाउ ने बढेन । तर, मेरो नाममा किनेका बेला जग्गाको भाउ बढिरहेको पाइयो ।
र, दीपाश्री निरौला
दीपाश्री निरौला मेरी असल साथी, मित्र हुन् । उनीसँग काम गर्दा मलाई राम्रो भएको छ । श्रीमतीको साथ र सहयोगले घर बनेको छ भने व्यावसायिक करिअरमा दीपाले सघाएकी छिन् ।
Deepak RAj Giri_400दीपा ०५२/५३ तिर भेट भएकी हुन्, रेडियो नाटक गर्ने सिलसिलामा । उनीसँग मिलेर पाँच वर्षजति ‘रामविलास र धनियाँ’ रेडियो कार्यक्रम गरेँ, रेडियो नेपालमा ।
त्यतिबेला अहिलेजस्तो एफएम थिएनन् । हाम्रो कार्यक्रमलाई श्रोताले निकै मन पराउनुभयो, कार्यक्रम लोकपि्रय भयो । त्यसपछि हामीले तीतो-सत्यमा काम गर्यौँ । तीतो सत्यलाई दर्शकले अति नै मन पराउनुभयो । यसले हामीलाई स्थापित कलाकार बनायो । हरेक वर्ष मिलेर गाईजात्रा कार्यक्रम गर्यौँ । पछिल्लोपटक फिल्ममा काम गर्यौँ ।
यसरी नै हामी असल मित्र हुन पुग्यौँ । मिडियामा हाम्रो नाम जोडेर अनेक गसिप आउन थाले । तर, यसले मेरो वैवाहिक जीवनलाई असर गरेन । यस्ता समाचार आउँदा मेरी श्रीमतीले चासोचाहिँ राख्थिन् । ‘यस्तो समाचार आएको छ त, के हो ?’ भन्थिन् ।
मैले ‘कलाकारितामा भएपछि मिडियामा यस्ता कुरा आइरहन्छन् । यसलाई सामान्य रुपमा लिनुपर्छ’ भनेर सम्झाउँथेँ । अहिले त यसरी सम्झाउनुपर्दैन । उनले टेलिभिजन, पत्रपत्रिका हेरेरै बुझ्ने भइन् । भारतीय टेलिभिजन च्यानलमा पनि यस्ता गसिप आउँछन् । अहिले उनलाई गसिप सुन्ने र सामान्य रुपमा लिने बानी भइसकेको छ ।
दीपा र म असल मित्र हौँ भन्ने उनलाई थाहा छ । दीपा मेरो घरमा जान्छिन्, पार्टीहरूमा दीपा र उनको भेट हुन्छ । दुवैले सन्चो-बिसन्चो सोध्छन् ।
प्रस्तुतिः ध्रुवसत्य परियार
अनलाइनखबरबाट साभार गरिएको
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment