जसले ओलीलाई जोगाएका थिए

४३ वर्षपछि सहिद घोषित रामनाथ दाहालको कथा
पञ्चायतले ‘झापा विद्रोह’ का अगुवा रामनाथ दाहाल लगायतको टाउकाको मूल्य तोकिसकेको थियो– एक लाख रुपैयाँ। ०२८–०२९ सालताका एक लाख भनेको ठूलै रकम हुन्थ्यो।
मंसिर अन्तिमतिरको एउटा चिसो बिहान। प्रहरीको गाडी गरामुनि, झापास्थित रामनाथको घरसामु रोकियो। प्रहरी आएको थाहा पाउनेबित्तिकै रामनाथले आफूसँगै रहेका व्यक्तिलाई सतार बस्तीतिर भाग्न इसारा गरे। ती व्यक्ति इसारा बुझेर सतार बस्तीभित्र मिलिक्कै हराइहाले।
प्रहरीले रामनाथलाई पक्राउ गर्यो। र, तीन महिनापछि सुखानी जंगलमा लगेर हत्या गर्यो।
झापा आन्दोलनका अगुवा रामनाथ दाहालले २०२८ मंसिर २८ गते आफू पक्राउ पर्दा प्रहरीबाट जोगाएका ती व्यक्ति थिए, केपी शर्मा ओली।
करिब ४३ वर्षपछि तिनै ओली प्रधानमन्त्री भए र रामनाथ लगायत सुखानीमा हत्या गरिएका पाँच जनालाई यही फागुन १९ गते सहिद घोषणा गरे।
...
रामनाथकी पत्नी विश्वेश्वरालाई बिहीबार मन्डिखाटारस्थित घरमा भेट्दा उनी हतारमा थिइन्। अस्पतालमा उपचार निम्ति समय लिएकी रहिछन्। प्रसंग उठिसकेपछि उनले नहतारी बेलिबिस्तार सुनाइन्। 
घरको आँगनमा उभिएका प्रहरीलाई रामनाथले सोधे, ‘म लुगा फेर्न पाउँछु होइन?’
प्रहरीको अनुमतिमा रामनाथले आफूले लाइरहेको दौरा–सुरुवालमाथि सर्ट–पाइन्ट थपे। कोटको साटो एउटा ठूलो ज्याकेट लगाए। विश्वेश्वराले उनको कोटको खल्तीमा हात हालिन्। त्यहाँ ‘रेडबुक’ थियो, माओत्सेतुङका कोटेसन भएको। उनले प्रहरीको आँखा छलेर उक्त रेडबुक लुकाइदिइन्, जसलाई श्रीमानको ‘अन्तिम चिनो’ सम्झेर आजपर्यन्त सुरक्षित राखेकी छन्।

‘मैले दूध तताएकी छु, खाएर जाँदा हुँदैन?’ विश्वेश्वराले प्रहरीलाई सोधिन्।
‘अहिले भ्याइँदैन, अबेर भइसक्यो,’ प्रहरीले भने।
रामनाथले भने हतारहतार एक गिलास दूध पिए। कान्छो छोरालाई म्वाइ खाए। र, प्रहरीसँग बाटो लागे।
‘उहाँलाई त्यसबेला चन्द्रगढी लाने भनेका थिए,’ विश्वश्वराले सम्झिइन्, ‘पुस ११ गते बिहान म उहाँलाई भेट्न चन्द्रगढी गएँ। उहाँले ‘भोलि बेलुकी म घर आउँछु, अहिले हल्ला नगर्नू’ भनेर सुटुक्क भन्नुभयो।’
तर, उनी कहिल्यै घर फर्किएनन्। 
त्यही राति शनिश्चरेका जमिन्दार धर्मप्रसाद ढकाल र उनका छोरा मारिए। यो घटनाले झापा आन्दोलनमा संलग्नविरुद्ध पञ्चायत सरकारलाई झनै कठोर बनायो। रामनाथ छुट्ने सम्भावना मात्रै समाप्त भएन, हिरासतमा रामनाथका कठिन दिन पनि सुरु भए। प्रहरीले बयान गराउने नाममा उनलाई शारीरिक यातना दिन थाल्यो। परिवारसँग भेटघाट बन्द भयो।
हिरासतमा एकपटक भेट्न पाइन् विश्वेश्वराले। माइलो छोरा भुवनलाई लिएर चन्द्रगढी पुगेकी थिइन् उनी। त्यतिबेला रामनाथलाई मुंग्रामा काँटी हालेर कुटेका थिए, मरणासन्न हुञ्जेल। ‘दरीमा बोकेर बाहिर ल्याइदिएका थिए,’ विश्वेश्वराले भनिन्, ‘उहाँको शरीर यति विरुप भएको थियो, भुवनले त डराएर हेर्नै सकेन।’
फागुनसम्म रामनाथले यही नियती भोगिरहे। चार महिना लामो हिरासतपछि फागुनमा उनलाई जेल हालियो। यतिबेलासम्म झापा विद्रोहका अरू कार्यकर्ता पक्राउ परिसकेका थिए। ‘वर्गशत्रु सफाया आन्दोलन’ थला परिसकेको थियो। 
एकदिन ‘सादा कागजमा सही गर्न मनाइदिनू’ भनेर प्रहरीले उनले जेल लिएर गए। रामनाथले भने सही गर्नै मानेनन्।
‘हामी जे गरेर भए पनि (रामनाथलाई) बचाउँछौं भनेका थिए पुलिसहरूले,’ उनी भन्दै थिइन्, ‘तर उहाँले मान्छे जन्मेकै दिन मरेको हुन्छ भने म मर्नदेखि डराएर खालि कागजमा सहि गर्दिनँ भन्नुभो।’
त्यो भेटमा रामनाथले प्रहरीकै सामुन्ने विश्वेश्वरासँग दुईवटा कुरा भनेका थिए। एउटा, पार्टी बाँच्यो र भोलि सत्तामा पुग्यो भने इतिहासको मूल्यांकन गर्छ। दोस्रो, भोलि जनवाद आएपछि, पार्टी सत्तामा पुगेपछि, नेताहरू प्रलोभनमा परेनन् भने मुलुक बन्छ, जनताले सुख पाउँछन्। तर, नेताहरू लोभलालचमा फसे जनतालाई झन् दुःख हुन्छ। 
त्यो रामनाथ र विश्वेश्वराको अन्तिम भेट थियो।

केही दिनपछि बिहानै छिमेकी खगेश्वर उप्रेतीले रामनाथ लगायत केही बन्दीलाई वीरगन्ज जेल सरिएको खबर सुनाए। उनी श्रीमानको लुगाफाटो लिन चन्द्रगढी जेल जाने तयारी गर्दै थिइन्, त्यही बेला रामनाथका भान्जा प्रह्लाद ओली हस्याङफस्याङ गर्दै आइपुगे। भने, ‘माइजू! मामालाई इलाम लैजाने भनेर शनिश्चरेमा राखेको र’छ। मामाले छोरो पनि ल्याइदिनू, माइजूलाई पनि ल्याइदिनू, भेटेर जाने भन्नु भो अरे अनि मलाई लिन पठाको।’
विश्वेश्वरा झनै हतारिइन्। सानो छोरालाई घरमै छाडेर माइलो छोरो बोकेर प्रह्लादसँगै शनिश्चरे लागिन्। 
शनिश्चरेमा अर्को दुखद खबर उनको प्रतीक्षामा थियो, जुन सुनेर विश्वेश्वरा झन्डैझन्डै मुर्छै परिन्।
‘रामनाथ दाजुलाई त सुखानीमै मारिसके छन्।’
विवाह गरेको चार वर्ष नाघेर दुई साता पूरा हुन नपाउँदै उनी विधवा भइन्। 
‘हामी त सुखानी नै जाने भनेर हिडेका थियौं, तर पुलिसले जान दिएन,’ उनले भनिन्, ‘केही बेरपछि सुखानीमा मारिएका पाँच जना क्रान्तिकारीको शव ट्रकमा राखेर स्याउलाले छोपेर ल्याए। शनिश्चरेमा ट्रक रोकिएन। चन्द्रगढीतिर लाग्यो।’
त्यतिबेला रामनाथ दाहालसँगै कृष्ण कुँइकेल, नेत्र घिमिरे, नारायण श्रेष्ठ र विरेन राजवंशीको हत्या गरिएको थियो।
***
२०२२ सालमा हो विश्वेश्वराले पहिलोपटक रामनाथलाई देखेको। 
एकरात दाजु–भाउजूसँगै नाटक हेर्न गएकी थिइन् उनी। नाटकमा एउटा गोरो, हँसिलो अनुहार भएको, अग्लो र आकर्षक शरीर भएको युवकले खुब लय भरेर मनै छुने बाँसुरी बजाएको थियो। फर्किँदा भाउजूले दाजुसँग जिज्ञासा राखिन्, ‘को होलान् है ती बाँसुरी बजाउने मान्छे?’
दाजु उद्धिम उप्रेतीले भने, ‘ऊ त मेरो साथी हो। पहाडदेखिकै, रामनाथ दाहाल।’
उनै दाजुले रामनाथसँग विश्वेश्वराको विवाह गराइदिए, ०२५ सालमा। ०२२ सालमा बुवा बितेपछि उनको अभिभावक भनेको दाजु नै थिए। दाजुले भनेको कुरा काट्न सक्दिनथिइन् उनी।
उनले भनिन्, ‘त्यतिबेला छोरीमान्छेको इच्छा सोध्ने चलनै थिएन। बाबुपछि दाजुको संरक्षणमा बस्नुपर्छ र उनीहरूले अह्राएको मान्नुपर्छ भन्ने सिकाइएको थियो।’
त्यतिबेला रामनाथ विवाहित थिए। श्रीमती छोराछोरी भएको मान्छेसँग विवाह गर्न उनलाई मन थिएन। तर, दाजुको कुरा काट्न पनि सक्दिनथिइन्। 
रामनाथले भने विश्वेश्वरालाई पहाड हुँदै देखेको भन्थे। पहाडमा पनि दुवैको गाउँ एउटै हो, तेह्रथुमको आठराई। 
विश्वेश्वराका बा मुखिया गोपीकृष्ण उप्रेती असाध्यै धार्मिक थिए। खराउ लगाउँथे। बिहान १२ बजेसम्म पूजापाठ गर्थे। कठोर अनुशासन र धार्मिक वातावरण भएको पञ्चायत समर्थक परिवारमा हुर्किएकी हुन् उनी। 
उनीहरूको खेत पाँचमुरी कुत बुझाउने गरी एउटा तामाङ परिवारलाई दिइएको थियो। धान झारिसकेपछि कुत मुखियाको घरमा पुर्याएर भकारीमै भरिदिनुपर्ने नियम उबेलाको। ज्याला मजदुरी केही पाउने कुरा थिएन। पाउने भनेको एकछाक खान मात्रै हो। 
त्यही कुतको धान बोकेर जाँदा देखेका थिए रे विश्वेश्वरालाई रामनाथले। 
रामनाथ त्यतिबेलै विद्रोही स्वभावका थिए। थिचोमिचो पटक्कै नसहने। विरोध गरिहाल्ने। उनले सुनाइन्, ‘उहाँका बुवा सुवेदार रामकान्त दाहाल। मेरो श्रीमान् ५ वर्षको हुँदा औलोज्वरोले बुवा बित्नुभएको रहेछ। बाबु नभएपछि उहाँलाई गाउँमा अलि हेप्ने, छेडछाड गर्ने गर्थे। जसले उहाँ सानैदेखि अलि विद्रोही किसिमको हुनुन्थ्यो रे।’ 
रामनाथको राजनीति त्यहीँ सुरु भएको रहेछ। जातभात पटक्कै नमान्ने र अन्याय नसहने स्वाभावले थाहै नपाई उनका गतिविधि राजनीतिक भइसकेका थिए। ‘तल्ला जात’ र ’रैती’का पक्षमा काम गर्ने र आफ्नो विरोध गर्ने रामनाथदेखि गाउँका ठालूहरू हैरान थिए। उनीहरूले रामनाथलाई पटकपटक कुटपिट गर्न थाले।  प्रहरी बोलाएर दुईचार रात थुनाए पनि।
पटकपटक कुटाइ खान थालेपछि रामनाथले एउटा जुक्ति लगाए। गाउँमा भएका तामाङ, लिम्बू, राई, मगर, कामी, दमाई सबै जातका मानिससँग मित लगाएर ‘मितेरी संगठन’ बनाए। मितलाई साह्रोगाह्रोमा सघाउनु मितको कर्तव्य नै हो। त्यसैले उनका मितहरू उनलाई दिलोज्यानले सहयोग गर्थे। 
गह्रामुनि झरेपछि रामनाथका क्रान्तिकारी गतिविधिले अझ गति लिए। राधाकृष्ण मैनाली, चन्द्रप्रकाश मैनाली, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, विरेन राजवंशी, डेकेन्द्र राजवंशी, नेत्र घिमिरे, खड्गप्रसाद ओली, सूर्य कन्दङवा, तेज कन्दङवा लगायत दर्जनौं युवा हातेमालो गरेरै त्यो अभियानमा लागे। 
यी राजनीतिक गतिविधि विश्वेश्वराले विवाहपछि नै थाहा पाएकी हुन्। धार्मिक परिवारमा हुर्किएकी विश्वेश्वरालाई रामनाथको घरमा आएपछि घुलमिल हुन निकै समय लागेको थियो। एकपल्ट त उनी घर छाडेर माइती फर्किनै आँटेकी थिइन्। 

बिहे गरेको एक महिनापछि एकजना बूढी आमै घर आइन् र भनिन्, ‘म त छोरो लिन आकी।’
घरमा एक जना बाजे भनिने भान्से थिए, ती आमैका छोरा। उनको नाम भोला भए पनि सबैले बाजे भन्थे। दाहाल परिवारमा लामो समयदेखि भान्से थिए उनी। ती बूढी आमैसँग गफ गर्दै जाँदा विश्वेश्वराले थाहा पाइन्, भोला त दमाईका छोरा पो रहेछन्।
विश्वेश्वराले हाँस्दै सुनाइन्, ‘आफू त पूजा गर्ने बाबुकी छोरी। कट्टर धार्मिक परिवारमा हुर्केकी। एक महिना त दमाईले पकाएको भात खाइ त हालिएछ।’
त्यतिबेला उनी खुब रिसाइन् रामनाथसँग। माइती जान्छु भनिन्। रामनाथले सम्झाउने कोशिस गरे तर सकेनन्। अनि राधाकृष्ण मैनाली, सूर्य कन्दङवा लगायत हितैषी बोलाए। अनि मात्रै त्यो ’परालको आगो’ निभ्यो।
घरमा अनेक मानिस आउँथे। बैठक चल्थ्यो। विश्वेश्वरा पाहुनालाई चिया खुवाउँथिन् तर के कुरा हुन्छ भन्ने पत्तो पाउँदिन थिइन्। उनलाई थाहा भएको एउटै कुरा थियो, यी सबै गतिविधि गोप्य राख्नुपर्छ। विस्तारै विश्वेश्वराको राजनीतिमा चासो बढ्दै थियो। अलि पछि लीला कट्टेल आएपछि उनलाई राजनीतिक कुरा बुझ्न सहयोग गर्न थालिन्। लीला बिए पास गरेकी, जान्ने बुझ्ने भएरै राजनीतिमा लागेकी। उनीहरूलाई ‘माक्र्सवाद’ पढाउन एक जना भारतीय आउँथे र आधारभूत कुरा सिकाउँथे। 

त्यही समयतिर, झापाबाट नजिकै पर्ने भारतको नक्सलबाढीमा चारू मजुमदार र कानु सन्यालहरूको नेतृत्वमा विद्रोह सुरु भएको थियो। यो विद्रोहले सिंगो दक्षिण एसियामै तरङ्ग सिर्जना गर्यो। 
त्यतिबेला नेपालका कम्युनिस्ट पार्टीहरूको गतिविधि सुन्यप्रायः थियो। केशरजङ्ग रायामाझीले एउटा धार दरबारमा लगेर बुझाए। अर्को धार पञ्चायत सुरू भएपछि लामो समय उठ्न सकेन। पुष्पलाल र मोहनविक्रम सिंह एक ठाउँमा आउन नसक्ने भएका थिए। त्यसैले न कम्युनिस्ट पार्टीले केन्द्रमा आशालाग्दो गतिविधि गरेका थिए न त झापाजस्तो ठाउँमा संगठन गर्न सकेका थिए। 
झापाली क्रान्तिकारी युवाहरूमा ‘नक्सलबाढी विद्रोह’को जबर्जस्त प्रभाव पर्यो। उनीहरू नेपालमा पनि ‘वर्गशत्रु सफाया आन्दोलन’ चलाउनुपर्ने निष्कर्षमा पुगे। सामन्तहरू समाप्त नगरी सामन्ती व्यवस्था अन्त्य गर्न सकिँदैन भन्ने उनीहरूको बुझाइ थियो। सबै थिचोमिचो र अन्यायको कारण समाजका सामन्त नै हुन् भन्ने उनीहरूले ठाने। ती युवाले सूची तयार गरेरै जमिन्दारहरूको हत्या गर्न सुरु गरे। काठमाडौंको कम्युनिस्ट गतिवधिभन्दा स्वतन्त्र रूपमा झापामा आन्दोलन अघि बढ्यो। 

विश्वेश्वराले राजनीतिक कुरा विस्तारै बुझ्न थालेकी थिइन्। पार्टीको बारेमा भने उनलाई थाहा थिएन। ‘वर्गशत्रु सफाया आन्दोलन’ चलाउने ठाउँमै रामनाथहरू पुगिसके भन्ने पनि थाहा थिएन। जब एकपछि अर्को गर्दै हत्याका शृंखला अघि बढ्न थाल्यो, तब मात्रै विश्वेश्वरा लगायतलाई थाहा भयो। 
यो आन्दोलनले त्यतिबेला सिंगो नेपालमै राजनीतिक तरङ्ग सिर्जना गर्यो। देशैभरि झापाको खबर फैलियो। पञ्चायत सरकार नै एक किसिमले आतङ्कित भयो।  यसपछि रामनाथको घरमा निगरानी बढ्न थालेको थियो। सरकारले उनको टाउकाको मूल्य तोकेको थियो, एक लाख।
आमाले रामनाथलाई भारततिर गएर बस्न दबाब दिइरहेकी थिइन्। तर, रामनाथ तयार थिएनन्। ‘अर्को मुलुकमा बसेर यहाँको राजनीति कसरी गर्ने भन्नुहुन्थ्यो,’ विश्वेश्वराले सुनाइन्, ‘मैले पनि भनेँ, तर उहाँ मान्नुभएन।’
उनी बल्ल पहाड गएर केही समय बस्न राजी भए। घरमा म भारततिर जान्छु भने पनि उनी पहाड गएर भूमिगत भए।
केही समयपछि उनलाई विश्वेश्वराले पठाएको भनेर कसैले झुटो चिठी पठाइदियो। छोरो बिरामी छ, घर आउनू भन्ने लेखिएको थियो। जेठो छोरोको निमोनियाको कारण एक वर्षअघि मात्रै मृत्यु भएको थियो। त्यसले गर्दा पनि रामनाथको मन मानेन। 
०२९ सालको तिहारको एकरात उनी टुप्लुक्क आँगनमा पुगे। यतिबेला आँगनमा देउसेहरू थिए। रामनाथले कम्मरबाट बाँसुरी निकाले। देउसी गीतमा उनको बाँसुरीको सुरिलो स्वर थपियो। एकछिन देउसेहरूसँग रमाए। 
देउसे गएपछि सासूबुहारी मिलेर उनलाई झपारे, यस्तो बेला किन आएको भनेर। उनले चिठीको कुरा गरे। तर, त्यो चिठी उनले पठाएकी थिइनन्। रामनाथ अलि बिरामी पनि थिए यतिबेला । 
‘घाँटी पनि दुखिराको छ, म दुईचारदिन लुकेरै बस्छु। जाति भएपछि दुई–चारदिनमै गइहाल्छु नि त,’ यसै भनेर उनले आमा र श्रीमतीलाई मनाए। मंसिर अन्तिमसम्म घर छाडेर अन्त गएनन्।
त्यही क्रममा मंसिर २८ गते बिहान प्रहरीको पक्राउमा परे।
***
सुखानी काण्डपछि झापा आन्दोलन तितरबितर भयो। तर, झापा आन्दोलनकै जगमा कम्युनिष्ट पार्टी बनाउने प्रयास सुरू भयो। झापा आन्दोलनका जेलबाहिर रहेका अभियन्ता इलामका रत्नकुमार बान्तवा, झलनाथ खनाल, मोरङमा रहेका माधवकुमार नेपाल लगायतको समन्वयमा पार्टी निर्माणको काम अघि बढाउने गरी को–अर्डिनेसन केन्द्र बन्यो। जुन पछि नेकपा माले हुँदै अहिलेको नेकपा एमाले बन्यो। 
०५१ सालमा एमाले नेतृत्वमा अल्पमतको सरकार बन्यो। मनमोहन अधिकारी सरकारका गृहमन्त्री भए केपी ओली। यतिबेला उनलाई विश्वेश्वराहरूले झापा आन्दोलन र सुखानी काण्ड सम्झाए। तर, त्यो सरकारले सुखानीमा मारिएका ‘क्रान्तिकारी’ हरूलाई सहिद घोषणा गर्न सकेन।
२०५६ सालमा विश्वेश्वरा राष्ट्रिय सभा सदस्य बनेपछि औपचारिक रूपमै यो कुरा उठाउन थालिन्। 
०६२–६३ सालको जनान्दोलनपछि फेरि एमाले नेतृत्वमा सरकार बन्यो। यसपटक प्रधानमन्त्री बनेका थिए, माधवकुमार नेपाल जसले मोरङमा बसेर झापा आन्दोलन नियालेका थिए भने त्यसलगत्तै बनेको को–अर्डिनेसन केन्द्रदेखि नै भूमिगत गतिविधिमा लागेका थिए। 
‘हामीले माधव कमरेडलाई पनि भेट्यौं,’ विश्वेश्वराले सुनाइन्, ‘पछि उहाँहरूले यो विषयमा बुझेर प्रतिवेदन दिनू भनेर मोदनाथ प्रश्रितको संयोजकत्वमा समिति बनाउनुभएको छ भन्ने थाहा भयो।’
विश्वेश्वरा आफ्ना साथीहरूसँग प्रश्रितलाई भेट्न पुगिन्। ‘मैले मेरो काम सकिसकेको छु’ प्रश्रितले जवाफ दिएका थिए। तर, त्यतिबेला पनि सुखानीमा मारिएका पाँच जना सहिद घोषणा भएनन्। सहिदका लामालामा सूचीमा उनीहरूको नाम अटाएन। 
झलनाथ खनाल प्रधानमन्त्री भएपछि पनि उनीहरूले कुरा उठाएका थिए। त्यतिबेला पनि काम बनेन। 
अन्ततः ४३ वर्षपछि ‘सुखानी सहिद दिवस’को दुई दिनअघि केपी ओली सरकारले उनीहरूलाई सहिद घोषणा गर्यो। 
***
‘अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको छ। एककिसिमले यो उपलब्धिको बिजारोपण झापा आन्दोलनकै क्रममा भएको हो भनेर धेरै नेताहरू भन्नुहुन्छ। मलाई पनि त्यस्तै लाग्छ,’ विश्वेश्वरा दाहाल भन्छिन्, ‘मेरो पनि प्रश्न छ, किन ४३ वर्ष कुर्नुपर्यो त उहाँहरूलाई सहिद घोषणा गर्न?’
विश्वेश्वराले यो प्रश्नको जवाफ पाएकी छैनन्। तर, ढिलै भए पनि राज्यले सहिद घोषणा गरेकोमा उनी खुसी छिन्। भन्छिन्, ‘मलाई खुशी लागेको छ। ढिलै भए पनि राज्यले सहिद घोषणा गर्यो।’
उनी अहिले पनि रामनाथले जेलमा भएको अन्तिम भेटमा भनेका सम्झिन्छिन्– पार्टी रहयो भने इतिहासको मूल्यांकन हुन्छ। नेताहरू लोभलालचमा फसे झन् दुःख हुन्छ।
***
विश्वेश्वराले आफ्ना श्रीमान् रामनाथसँग जिन्दगीमा एकपटक मात्रै फोटो खिचाउन पाइन्। 
०२६ साल वैशाखतिर उनीहरू दाजिर्लिङ गएका थिए। रामनाथको दाँतमा समस्या भएकाले उपचारका लागि त्यता गएका थिए। 
सुरूका दुई दिन उनीहरू दाजिर्लिङ घुमे। ‘हामी एकहप्ता बस्यौं’ उनले सुनाइन्, ‘मलाई होटलमा कोठाबाट बाहिर ननिस्किनू है भनेर बाहिर जानु हुन्थ्यो। कहाँ जानुहुन्थ्यो थाहै नहुने। पछि थाहा पाउँदा पो मदन थापासँग मिटिङ हुँदो रछ र त्यसरी जानुहुँदो रछ।’ 
उनीहरूसँगै गएका देवी उप्रेतीले यी कुरा अलिअलि सुनाएका हुन् उनलाई। मदन थापा निकै पहिलेदेखि वामपन्थी गतिविधिमा लागेका थिए। दाजिर्लिङका थापा आठराइमा लामो समय शिक्षकको जागिर खाएर बसेका थिए। रामनाथहरूसँगको सम्पर्क त्यहीँदेखिको थियो। मदनले विश्वेश्वरालाई पनि पढाएका थिए।
यतिबेलै देवी उप्रेतीले एउटा फोटो खिचौं भने। विश्वेश्वरालाई पनि रहर लाग्यो र कर गरिन्। तर रामनाथले मान्दै मानेन्। 
‘त्यतिबेलाको पार्टी कमिटीले फोटो खिच्न मनाही गर्या रैछ’ उनले भनिन्, ‘मलाई पछि मात्रै थाहा भयो।’
कर गरेरै भए पनि त्यतिबेला दुईवटा फोटो खिचे। एउटा देवी उप्रेती, रामनाथ र विश्वेश्वरा भएको, अर्को श्रीमान–श्रीमतीको युगल। फोटो त खिचियो तर घरमा ल्याउने कुरा भएन। नधुलाइकन उनीहरू नेपाल फर्किए।
‘पछि गएर हामीले खोजेर यो एउटा फोटो ल्यायौं,’ उनले कुनामा फ्रेमिङ गरेर राखिएको ब्ल्याक एन्ड ह्वाइट युगल फोटो देखाइन्। 
‘मैले उहाँसँग खिच्न पाएको पहिलो र अन्तिम फोटो त्यही हो,’ उनले भनिन्।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment