न ओलीको उल्लास, न मधेसीको मधुमास

राजेश सिंह (रिसर्च स्कलर, जेएनयु, नयाँदिल्ली)
प्रधानमन्त्री केपी शर्मा ओली भारत यात्रा पुरा गरी नेपाल फर्किसकेका छन्।अहिले उनको यात्राको सफलता/असफलताको संश्लेषण र विश्लेषण भैरहेको छ।
Rajesh Singभारत भ्रमणको पृष्ठभूमि
कुनै पनि भ्रमणको सफलता र असफलताको विश्लेषण भ्रमणबाट प्राप्त हुने उपलब्धिका आधारमा गरिन्छ । र, भ्रमणको उपलब्धि उसको पृष्टभूमिले निर्धारण गर्छ।
संविधान बनेपश्चात नेपाल-भारत सम्बन्ध अत्यन्तै कठिन मोडबाट गुज्रिरहेको थियो। भारतले संविधानलाई स्वागत गरेको थिएन। र, संविधानमा आफुहरुको माग सम्बोधन नभएको भनेर मधेसीहरुले वीरगञ्ज-रक्सौल सीमा ठप्प पारेका थिए । सरकार र गैर-मधेसीहरुले यसलाई भारतीय नाकाबन्दी भनी प्रचार-प्रसार गरेका थिए।
यी विषयलाई लिएर नेपाल र भारतका प्रतिनिधिहरुले सायद इतिहासमा पहिलोचोटि होला, आफ्नो देशभन्दा बाहिर जेनेभास्थित मानव अधिकार सम्मेलनमा एक अर्काप्रति अभद्र तरिकाले आरोप-प्रत्यारोपसमेत गरे ।
भारतले ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने प्रयास गरेको भनी सञ्चार माध्यममा प्रचार-प्रसार गरिएको थियो। यी सबै कारणहरुले गर्दा नेपाल-भारत सम्बन्धमा कटुता उत्पन्न भएको थियो।
भ्रमणको पृष्टभूमि
संविधान बन्नुपूर्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपटक नेपालको भ्रमण गरेका थिए। उनले आफ्नो प्रत्येक भ्रमणमा संविधान समावेशी हुनुपर्छ र त्यसमा सबैको अधिकारको सुनिश्चित हुनुपर्छ भनि सल्लाह-सुझाव दिएका थिए। तर, संविधान बनाउने क्रममा आफूले दिएको सल्लाह-सुझावलाई समावेश नगरेको, मधेसीले गरेको सीमा अवरोधलाई भारतीय नाकाबन्दी भनी देश-विदेशमा प्रचार गरेकाले मोदी ओलीसँग रुष्ट थिए।
प्रथमतः मोदी ओलीलाई भ्रमणमा बोलाउने पक्षमा थिएनन्। तर, विदेश मन्त्री सुष्मा स्वराज भने केही नरम थिइन्। सुष्मा यस द्वन्दको सुरक्षित अवतरण गराउन चाहन्थिन्।
यसैबीच उपप्रधानमन्त्री कमल थापाले सुष्मासँग गरेको ४ बुँदे बाचाअनुसार एकपक्षीय रुपमा भए पनि संविधानको संशोधन हुनु र राजनीतिक संयन्त्र बन्यो।
दोश्रो कुरा, ओलीको चीन भ्रमणको चैतमा हुने लगभग पक्का थियो। सुष्मा स्वराजले एकपटक राज्यसभामा नेपालको विषयमा जवाफ दि सकेकी थिइन् र उनी चाहँदैनथिइन् कि बजेट सत्रमा विपक्षीले यस विषयलाई फेरि प्रवेश गराओस्।
विपक्षीहरुले नेपालको संकटलाई देखाएर मोदीको पहिले छिमेकीको नीति असफल भएको र नेपालको प्रधानमन्त्रीलाई पहिले चीन जानबाट रोक्न नसकेको भनेर सदन र सडकमा कुरा उठाउने थाहा पाएपछि मोदी र सुष्मा दुवै झस्के ।
भारतीय विदेश सचिवले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रयोग भएको ‘मधेस’ शब्द मन्त्रालयको बेबसाइटमा ‘सुन्न नसकिएको’ भनी हटाइएको छ
तेश्रो कुरा, उनीहरुले राम्ररी बुझेका थिए कि नेपालको मामलामा चीनले जे प्रतिवद्धता गर्छ, उसले पूरा गरिदिन्छ। त्यसका लागि पनि ओलीले चीनसँग कुनै ठुलो र दुरगामी सम्झौता नगरून भनी रोक्नुपर्ने थियो।
दुविधाग्रस्त मानसिकता
ओलीलाई भ्रमणमा बोलाउने कि नबोलाउने भनी भारतभित्रका विभिन्न शक्तिकेन्द्रको रस्साकशी बीच सुष्मा स्वराजले बाजी मारिन् । र, उनले मोदीलाई फकाउन सफल भइन्।
यसरी असमञ्जस्यकै बीच ओलीको भ्रमण तय भयो।यस्तो दुविधाकै बीच पूरा भएको भ्रमणको परिणामको हिसाव-किताव पनि सन्देह र संशयमै सीमित रहेको देखिँदैछ।
भ्रमणभरि नै दुविधाका दृश्यहरु देख्न पाइन्थ्यो।भ्रमणको शुरुमै उच्च मन्त्रीको हैसियतले सुष्मा स्वराज आफै विमानस्थलमा स्वागत गर्न पुगिन् ।विमानस्थमबाट बाहिरिँदै गर्दा कडा सुरक्षाकै बीच मधेसी विद्यार्थीहरुले कालो झण्डा देखाए, जसलार्इ रोक्ने प्रयास गरेको देखिएन।
उच्च अतिथिका रुपमा ओलीलाई राष्ट्रपति भवनमा राखे पनि वन-टु-वन बैठकपछि मोदीले उनीसँग फोटो खिचाउनसमेत अनिच्छुक जस्तो देखिए।भ्रमणको अन्तमा संयुक्त विज्ञप्ति समेत निकाल्न मानेनन्।
त्यसो त ओली पनि भारत भ्रमणका लागि दुविधाग्रस्त नै थिए।उनका लागि भारत भ्रमण ‘नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाऊको अनुहार’ जस्तो भएको थियो।
पहिलो भ्रमण भारतमै नगरे भारतले उनको सरकार गिराइदिन्छ भने त्रास थियो । किनभने त्यस्तो खेलमा पहिले उनी आफै पनि संलग्न भैसकेका थिए । भारत भ्रमणमा जाउँ भने उनले आफूले बनाएको ‘राष्ट्रवादी’ छविमा धक्का लाग्ने थियो।सीमा अवरोध र मधेश आन्दोलनबाट त्राहीमाम भएको जनताले भारत भ्रमणमा गएको खण्डमा विश्वास गर्न छोड्छन् कि भन्ने त्रास उनमा थियो।
भारतले संविधान संशोधन पश्चात पनि संविधानको स्वागत नगरेकाले भारतप्रति संशय कामयमै थियो।त्यसकारणले उनले राजनीतिक संयन्त्र बनाउँदा मधेसीहरुलाई विश्वासमा लिने भरमग्धुर प्रयास गरेनन्।भ्रमणबाट केही ठूलो उपलब्धि हुनेवाला छैन र मधेसीले भनेअनुसार संयन्त्र बनाएको खण्डमा पछि आफ्नो हातबाट सबै थोक खुस्किन्छ भनी उनले राम्ररी बुझेका थिए।तर, भारतप्रति विश्वस्त नरहे पनि भ्रमण गर्नु उनको बाध्यता थियो।
यसरी ओली र मोदीमा एक-अर्का प्रतिको शंका र संशय कायमै थियो । यसअर्थमा भ्रमण दुविधाग्रस्त मानसिकतकै उपज थियो।
भ्रमणको उपलब्धि के ?
भ्रमणको पृष्टभूमिका आधारमा उपलब्धिलाई दुई भागमा विभाजन गरेर हेर्नुपर्ने हुन्छ।
पहिलो, ओलीले एउटा व्यक्तिको हैसियतले के प्राप्त गरे र दोश्रो सिंगो नेपाल देशले के पायो?
व्यक्तिगतरुपमा हेर्ने हो भने ओलीका लागि यो भ्रमण धेरै उपलब्धिमूलक रह्यो। उनले भ्रमणको शुरुदेखि नै भव्य स्वागत र सम्मान पाए। उनलाई विमानस्थलमा सुष्मा स्वराज आफैले फूलमाला लगाएर स्वागत गर्नु ओलीका लागि ठूलो सम्मान थियो।
९ बुँदे सम्झौताको खबर आए पनि भारतको विदेश मन्त्रालयको वेबसाइटमा सातवटा बुँदामात्र राखिएको छ। बाँकी दुई  बुँदा के थियो र किन गोप्य राखियो ?
भारतले अतिथिहरुलाई राष्ट्रपति भवनमा बिरलै राख्ने गरे पनि उनले त्यहाँ आतिथ्य पाए । रेड कार्पेटमा हिँडदै भारतीय सेनाको सम्मानाभिवादन (गार्ड अफ अनर) प्राप्त गरे, आफ्नो जन्मदिन र विवाह वर्षगाठ (मधुमास)पनि राजकीय सम्मानसाथ  मनाउने अवसर प्राप्त गरे।
दुर्इ बुँदामा गम्भीर शंका
यो भ्रमण एक-अर्काप्रति शंका र संदेहबीच भएकाले सिंगो देशलाई केही खास उपलब्धि भएको देखिँदैन।जेजति सम्झौताहरु भएका छन्, तीमध्ये केही विभिन्न समयमा पहिले नै भैसकेका समझौता हुन् भने बाँकी नेपाल-भारत सम्बन्धमा कुनै खास महत्व राख्ने खालका छैनन्।
विभिन्न पत्र-पत्रिकामा ९ बुँदे सम्झौताको खबर आए पनि भारतको विदेश मन्त्रालयको वेबसाइटमा सातवटा बुँदामात्र राखिएको छ। बाँकी दुई  बुँदा के थियो र किन गोप्य राखियो? राष्ट्रवादी नेपाली जनताले अब ओलीसँग ती दुई गोप्य सम्झौताबारे सोध्नुपर्छ।
भ्रमण सकेर फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुलाई सम्बोधन गर्दा उनले ‘सुस्ता र कालापानी’को बारेमा कुरा भएको छ भनेका थिए। कहीँ ती दुईवटा गोप्य समझौता त्यही त होइनन् ?
नेपाल-भारत बीचको सीमा विवाद त्यही दुईवटा स्थानमा अड्केको थियो। अथवा, भारतमा पत्रकारहरुलाई सम्झौतासम्बन्धी जानकारी गराउने क्रममा भारतीय विदेश सचिव जयशंकरले ‘फास्ट-ट्याक’ र ‘विमानस्थल’ सम्बन्धी परियोजनाका बारेमा पनि कुरा भएको भनेका थिए। कतै, त्यो गोप्य राखिएका दुई सम्झौता तिनै न होइनन् ? ओलीले राष्ट्रवादी नेपाली जनतालाई यसबारे प्रष्ट पार्नुपर्छ।
भ्रमणबाट सिंगो देशभन्दा बढी उपलब्धि व्यक्तिगत रूपमा ओलीले पाएको देखिन्छ। तर, नाकाबन्दीका नाममा सरकारी संयन्त्रको आडमा मौलाएको तस्करीबाट त्राहिमाम सर्वसाधारणको चुल्होमा अझै ग्यास जोडिएको छैन । सवारी साधनले अझै फूल ट्याङ्की इन्धन पाउन सकेका छैनन्।जनताले पाएको दु:खका बारेमा यस भ्रमणले केही बोलेको देखिँदैन।
प्रधानमन्त्रीले भनेजस्तै भारतले उनीमार्फत सम्पूर्ण नेपालीलाई भारतले सम्मान गरेको छ भनी तर्क गर्ने हो भने योभन्दा बढी उपलब्धि के नै हुन्छ र  ?
मधेसको मधुमास
मधेसका लागि पक्कै पनि यो मधुमासको समय होइन।मधेस आफ्नो ५५ भन्दा बढी सपुतको शोकमा डुबेको छ।६ महिनाभन्दा बढी विद्यालय बन्द हुँदा हजारौं बालबालिकाको भविष्य अन्धकार भएको छ।कृषक र व्यापारीहरु पीडित बनेका छन्।
त्यसो त ओलीको भ्रमणबाट मधेसीहरुले केही आश गरेको पनि देखिँदैन । तर, सचेत जरुर देखिन्छन्। अहिले मधेस नेपाल र भारत दुवैतिरबाट तिरष्कृत भएको देखिन्छ।
ओलीको भ्रमणको पूरा अवधिलाई केलाउने हो भने त्यसमा दुवै पक्ष (ओली र मोदी) बाट मधेसको ‘म’ पनि उच्चारण गरेको देखिदैनन्।तर, ‍कूटनीतिमा जे हुन्छ त्यो भनिँदैन र जे हुँदैन, त्यही भनिन्छ भन्ने तथ्यअनुसार मधेसको उच्चारण नगरिएको हुन सक्छ।
मोदी र ओलीबीचको भेटमा मधेसको मुद्दामा छलफल भए पनि उनीहरुबीच मतेक्य नभएपछि यस विषयले महत्व नपाएको हुन सक्छ।दुवै प्रधानमन्त्रीको सम्बोधनदेखि विदेश सचिवको पत्रकार सम्मेलनसम्म मधेस भन्ने शब्द समेत सुनिएन।
अझ, विदेश सचिवले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले प्रश्न सोध्ने क्रममा प्रयोग गरेको ‘मधेस’ भन्ने शब्द पनि भारतीय विदेश मन्त्रालयको बेबसाइटमा राखिएको सम्बोधनको लिपिबाट अश्रव्य (सुन्न नसकिएको) भनी हटाइएको छ।यसरी, नेपाल र भारत दुवैले जानी-जानी मधेस शब्दको उच्चारण समेत गर्न नखोजेको देखिन्छ।
अर्कोतिर, ओलीलाई कालो झण्डा देखाउन गएका मधेसी विद्यार्थीहरुलाई भारतले अमानवीय र अलोकतान्त्रिक तरिकाले जेलसम्म पुर्‍यायो।साधारण विरोध प्रदर्शनको क्रममा नियन्त्रणमा लिइएका विद्यार्थीलाई केही समयपछि छोडिदिने प्रचलन रहे पनि उनीहरुसँग अपराधीजस्तो व्यवहार गरिएको थियो र माथिको आदेश भन्दै भारतको आपराधिक कानुन अन्तर्गतका धारा १०७ र १५१ लगाएर मुद्दा चलाउने प्रयाससमेत गरिएको थियो।
यसरी मधेशी विद्यार्थीमाथि दमन गरेर भारतले मधेसलाई के सन्देश दिन खोजेको छ भनी मधेसीहरुले बुझ्नु जरुरी छ।
तर, मधेसीलाई अपुरणीय क्षति भिराएको मधेस आन्दोलन बिनाकुनै उपलब्धि तुहिँदासमेत कुनै ठोस  र अग्रगामी रणनीति बनाउन नसक्ने, मधेसी जनतासमक्ष कमीकमजोरी स्वीकार गर्न पनि नचाहाने कृतघ्न मधेसी नेताहरुले ओलीको भ्रमणलाई असफल र औचित्यहीन बताई आफ्नो कुकर्म ढाकछोप गर्न खोजेको देखिन्छ।
ओलीको असफलतामा मधेसीको सफलता देख्नु दिवास्पनमात्र हुन्छ मधेसीका लागि।आफ्नो सफलता आफ्नै असफलताभित्र खोज्नुपर्छ। भारतीय विदेश मन्त्री सुष्मा स्वराजले संकेत गरे जस्तै मधेसीहरुले अधिकार आफ्नै मौजुदा शक्तिको आधारमा मात्र प्राप्त गर्न सक्छ।
यसर्थ, ओलीको भारत भ्रमणले न ओलीलाई उल्लास प्रदान गरेको छ, न मधेसीलाई मधुमास मनाउ भनी संदेश दिएको छ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment