फोटो

सविता गौतम दाहाल
न आगो लागेको देख्छ, न पानी परेको
सुकाएका लुगा उठाउँदैन
हल्लिइरहेको झ्यालको चुकुल लगाउँदैन
आमा र्फकन्छिन्
भिजेको लुगा परैबाट देख्छिन्
लडेको ग्लास वा सडेको स्याउ
त्यत्तिकै रहिरहन्छ
कमिलाको मेला भुइँभरि लागिरहन्छ ।
Sabita Gautam Dahal
न मन चल्छ, न तन
अचम्मको अहिल्या स्थिरता
आफ्नै पतिले दिएको श्रापझैँ
मूर्तिवत् यी उपस्थिति
घरघरमा व्यापक छन् ।
गृहकार्य लामो प्रतीक्षामा पर्खिरहन्छ
दूध डढेर छिमेकी आइपुग्छ
सानो बच्चो भोकले रोइरहन्छ
भान्सामा काम खित्का छोडेर हाँसिरहन्छ
फोहोर लग्ने गाडीको मान्छे ढोका ढकढकाइरहन्छ
कान, आँखा, नाक सबै फोटामा परिणत छन्
कुनै हलचल छैन, खटपट छैन ।
न चोर पसेको चाल पाउँछ, न ताला फोडेको
दिउँसै सिरीखुरी सकिँदा पनि
चटपटाउदैनन् यी विद्युत्प्रेमी
महान् मानवमूर्ति ।
आवाज उसलाई छेडेर निस्कन्छ
र भित्तामा ठोक्किन्छ
न बितेको आभास हुन्छ, न बगेको
बत्ती बलिरहन्छ, पङ्खा चलिरहन्छ
रित्तो कोठामा
हर साँझ, हर बिदा
बैठकमा जमेका
यी पोटेन्सियल फोटा ।
( कवयत्री दाहालको नयाँ कविता सङ्ग्रह ‘अन्तिम आकाश’ बाट साभार । अन्तिम आकाशको विमोचन आइतबार पौने तीनबजे पर्यटनबोर्ड भृकुटीमण्डपमा हुँदैछ)
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment