त्यो दिन…मेरो अस्मिता लुटेर ऊ भाग्यो

-   |  सुनिता दनुवार, अध्यक्ष, शक्ति समूह

sunita danuwar
म दैलेखको मध्यपहाडस्थित काठगाठ गाउँमा जन्मेकी हुँ । हामी १० दाजुभाइ तथा दिदीबहिनी हौं । ६ जना सानैमा बिते पनि चारजना बाँच्यौं । म कान्छी छोरी हुँ । हामी तीन दिदीबहिनी र एक दाइ । परिवारका सबै पुरानो सोचका थिए । विशेषगरी आमा त एकदमै अन्धविश्वासी थिइन् । गाउँमा बोक्सीले आफ्ना ६ सन्तान खाइदिएका हुन् भन्ने आमामा छाप परेको थियो । गाउँमै बसियो भने बोक्सीले भएको एउटा छोरा पनि खाइदिन्छे अनि बितेपछि दागबत्ती दिने केही हुन्न भनेर दिन रात चिन्ता गर्थिन् । दाइलाई स्कुल हालिदिएका थिए । तर, हामी दिदीबहिनी भने घरै बस्थ्यौं । मलाई पनि पढ्न खुबै रहर लाग्थ्यो, दाइमात्र स्कुल गएको देखेर डाहा हुन्थ्यो । म पनि स्कुल जान्छु भनेर झगडा गर्थें । कान्छीले झगडा धेरै गरी भनेर बुवाले मलाई दाइसँगै स्कुल पठाइदिए । दाइकै कक्षामा बसें । शिक्षकले सुरुकै दिन मलाई उठाएर खै के पो सोधे बिर्सें । कहिल्यै स्कुल नगएकी म दुई कक्षाको प्रश्नका जवाफ दिन कहाँ सक्थें ? शिक्षकले ज्यादै चित्त दुख्नेगरी दाइलाई झपारेर भने, ‘भोलिदेखि बहिनी सँगै ल्याइस् भने तँलाई पनि कक्षमा छिर्न दिन्न ।’ शिक्षक भनाइ सुनेर म स्कुल गइनँ ।
हल्का स्मरण छ– त्यतिबेला बुवा राजनीतिमा संलग्न थिए । एक दिन बुवा राजनीतिक कामले सहरतिर गएका थिए । त्यही मौका छोपेर आमाले जेठी दिदीको घर बर्दिया जाने निर्णय गरिन् । माइली दिदीलाई घर कुर्न लगाई पोल्टामा मकै हालेर हामी बुवाले थाहा नपाउनेगरी बर्दियातिर लाग्यौं । हिँड्दाहिँड्दै भोक र थकाइले लखतरान भयौं । खाजा खान एउटा पसलमा छिर्यांै । बुवालाई त्यहीं देखेपछि आत्तिएर बुवालाई बोलाएँ । बुवाले घर फर्काएर लैजालान् भन्ने डरले होला, आमा हामीलाई च्यापेर जंगलतिर भागिन् । बुवाले आमालाई बिन्ती गरेर नभाग्न भने । बुवाले जे भने पनि मान्ने भनेपछि हामी घर फर्केनौं । धेरै दिनपछि हामी बर्दिया पुग्यौं । बुवा हजुरआमाको मृत्युको खबर पाएपछि घर फर्के । आमा जान मानिनन् । सुर्खेतमा गंगा नामक होटल खोल्यौं । राम्रै चल्थ्यो । आमा दिनभरि काम गर्थिन् । बुवाले पैसाजति सबै मासिदिन्थे । कहाँ, किन, कसरी हामीलाई थाहा थिएन । एक दिन आमाले हामीलाई पैसा दिएर बुवाको सुुराकी गर्न लगाइन् । फुरुक्क भएर हामी लुकीलुकी बुवाको पछि लाग्यौं । बुवालाई पछ्याउँदै जाँदा एउटा घरको झ्यालबाट भित्र पसेको देख्यौं । भित्र बुवा र एउटी युवतीलाई नाङ्गै देख्यौं । घर आएर आमालाई भनिदियौं । बेलुका आमाबुवाको ठूलै झगडा पर्यो । होटल बेचेर हामी जम्बुकस्मिर जाने भयौं । कस्मिरको हिमाली भेगतिर बस्ने भयौं । जग्गा भाडामा लिएर आलु खेती गरी जीविकोपार्जन गथ्र्यौं । मलाई घरको काम गर्न केही आउँदैनथ्यो । बुवा डकर्मीको काम गर्थे । बाहिर बुवाले काठ चिर्ने घरका गारा लगाउने काम गर्थे ।
म सानैदेखि पढ्न रहर गर्थें । जम्मुकस्मिरमा पनि बुवासँग स्कुल भर्ना गरिदिन भनें । तर, हामी बसाइँ सरिरहने भएकाले स्कुल भर्ना गरिदिने पैसा हुँदैन, तँ स्कुल नजा बरु म आफैं तँलाई नेपाली पढ्न लेख्न सिकाइदिन्छु भनेर बुवाले आश्वासन दिए । बुवासँगै खरर्र नेपाली पढ्न लेख्न सिकें ।
११ दिन अँध्यारो कोठामा
म सानैदेखि विद्रोही स्वभावकी थिएँ । अरूले जे नगर भन्थे मलाई त्यही गर्न मन लाग्थ्यो । ऊबेला पहिलोपटक महिनावारी हुँदा दाजुभाइ, बुवा र घरको धुरी हेर्नुहुँदैन भन्थे । खै कति दिनसम्म सूर्य नहेरी लुकेर बस्नुपर्छ भनिन्थ्यो । आमाले सधंै सम्झाउँथिन्, ‘तेरो महिनावारी हुने उमेर हुँदै छ, हुनेबित्तिकै खुसुक्क मलाईमात्र भन्नू । अरू कसैलाई नभन्नू ।’ म पहिलोपटक महिनावारी भएँ । आमालाई भनिनँ । नभन्दा के हुँदोरहेछ भन्ने कौतूहल लागिरहन्थ्यो । त्यतिबेला अहिलेजस्तो सजिलो थिएन । प्याड या कुनै कपडा पाइन्नथ्यो । म त्यत्तिकै बसें । दुई दिनपछि चुलामा बसिरहेका बेलामा आमाले मेरो सेतो कपडामा रगत लागेको देखिन् । आमाले किन भनिनस् भन्दै जगल्ट्याउँदै लगेर अँध्यारो कोठमा थुनिदिइन् । म प्रतिवाद गरिरहें । मैले दुई दिनसम्म नभनी बस्दा त केही भएन अब के होला र ? भन्दा पनि मेरो कुरा नसुनी आमाले मलाई ११ दिनसम्म अँध्यारो कोठामा थुनिन् ।
सहोदर काकाबाट बेचिएँ
मेरा साइँला काका हामीलाई भेट्न आए । केही समय हामीसँगै बसे । खै के–के लोभलालच देखाएर मेरो दाइलाई त्यहाँबाट भगाइदिएछन् । उनले मलाई थाहै नदिई हाम्रै साहुका छोरासँग पैसा खाएर मसँग बिहे गरिदिन्छु भनी वाचा गरेछन् । म भर्खर १३ वर्षकी थिएँ, त्यो मानिस ३५ नाघिसकेजस्तो लाग्थ्यो । ऊ बुवाआमा नभएको मौका छोपी हाम्रोे घरमा आएर मसँग जबर्जस्ती गर्ने खोज्थ्यो । तँलाई मैले आइसी पाँच हजारमा किनेको हँु, तँ मेरै होस् तँलाई त म पानीमुनि गए पनि छाड्दिन भन्थ्यो । म मान्दिनथें । एक दिन घरमा कोही नभएको मौका छोपी अस्मिता लुट्न खोज्यो । उसले जबर्जस्ती गरेपछि मैले प्रतिकार गर्न सकिनँ । मेरो अस्मिता लुटेर ऊ भाग्यो । आमा घर आउँदा रगताम्य भएर अर्धचेत अवस्थामा रहेछु । आमालाई अस्मिता लुटिएको सुनाएँ । बुवाले पनि सबै कुरा थाहा पाए । जे भए पनि त्यो पापीलाई मेरो छोरी दिन्न भनेर बुवाले भने । त्यही ठाउँ बसे त्यो बाहुनले फेरि पनि दुव्र्यवहार गर्लान् भनेर कस्मिर छाड्ने भयौं । दाइ नैनीतालमा छन् भन्ने खबर पायांै । आमाले त्यतै जान जिद्दी गरिन् । वर्षभरि खान पुग्ने आलु र बल्लबल्ल बनाएको घर छाडेर कसैले थाहा नपाउनेगरी नैनीतालतिर लाग्यौं । तीन÷चार दिन पैदल हिँडेपछि गाडी पाइने ठाउँ पुग्न सकिन्थ्यो । आधा बाटो पार नगर्दै बाटोखर्च सकियो । स्थानीय खोलामा गिट्टी कुट्दै र बालुवा चालेर बाटो खर्च जुटायौं ।
त्यहाँ हामीसँगै काम गर्ने दुईजना थिए । सायद सामान लोड गर्थे । मसँग जिस्कन खोज्थे, नजिक हुन खोज्थे । नचिनेका मान्छेसँग बोल्दिनथें । मलाई भने यत्तिको उमेरमा त तिमीले आमाबुवालाई पाल्नु पर्ने हो तर आमाबुवाको कमाइ sunita 2खाएर बोझ भएर बसेकी छौ, लाज लाग्दैन भन्थे । उनीहरू भन्थे, ‘हिँड हामी तिमीलाई राम्रो काम लगाइदिन्छौं ।’ आफैं त ट्याक्टर चलाएर बसेका छौ, मलाइ के काम दिन्छौ भनेर सोधें । नैनीताल पुग्ने खर्च जुटेपछि हामी त्यहाँबाट हिँड्यौं । हामी पनि तपाईंहरूसँगै जान्छौं भन्दै तिनीहरू हाम्रो पछि लागे । नेपाली दाजुभाइ नै हुन् भनेर बुवाले तिनीहरूलाई केही भनेनन् । साँझ परेपछि हामी होटलमा बास बस्यौं । खाना खाइसकेपछि उनीहरू हामीसँग गफिन आए । मिठाइ ल्याएका रहेछन् । खान कर गरे । नयाँ मान्छेले दिएको खानेकुरा खाने मेरो बानी थिएन । आमाबुवाले खाएको देखेर मैले पनि खाएँ । त्यसपछि मलाई केही थाहा भएन । होश खुल्दा आफूलाई एकदमै फरक ठाउँमा पाएँ । माटोमा जन्मेर माटोमै हुर्केकी मैले त्यहाँ कहिल्यै नदेखेका अग्ला–अग्ला भवन र तीव्र गतिमा गुडेका गाडी देखें ।
होश पूरै खुल्दा आफूलाई बन्दकोठामा पाएँ । एउटी मोटी न मोटी महिलाले मलाई माया गरेजस्तो गरिन् । नयाँ–नयाँ लुगा देखाएर भनिन्, ‘यो लगाऊ । हामी घुम्न जानुपर्छ ।’ म अकमक्क परें । म कहाँ छु भनेर सोध्दा उनले सुनाइन्, ‘पख एकछिनमा तिमीलाई लिन आउँछन् ।’ एकछिन होइन, एक दिन होइन, धेरै बिते कोही लिन आएनन् । आमाबुवा सम्झें । मलाई छाडदिन लाखौं आग्रह गरें । तर, तिनीहरूले धम्क्याउन थाले, ‘तँ त यहाँ धन्दा गर्न आएकी होस् । अब धन्दा गर । बढी बोलिस् भने मार खान्छस् ।’ धन्दा भनेको घरका कामकाजमात्रै बुझेकी थिएँ । सोझो भाषामा भनें, ‘मलाई घरको धन्दा गर्न आउँदैन । गरेको पनि छैन । गर्दिनँ । मलाई जान दिनुस् ।’ बारम्बार धन्दा गर भनेको सुनेपछि मैले आफू कहाँ छु भनेर सोधें । सुनें म बम्बईमा छु । घरमा कहिलेकाहीं आमाबुवाले बम्बईमा केटी बेचिन्छन् भनेको सुन्थें । मैले बुझिहालें । छाँगाबाट खसेझैं भएँ । चारैतिर अँध्यारो देख्न थालें । धन्दा गर भनेर थर्काइरहन्थे । म मान्दिथें । उनीहरूले भनेको नमान्दा मलाई रगताम्य हुनेगरी पिट्थे । जिउभरि सुम्लैसुम्ला उठ्नेगरी हान्थे । तर पनि मैले आफ्नो अडान छाडिनँ । महिनौंसम्म मैले यातना सहें । कहिलेकाहीं त लामा खुकुरी तेस्र्याएर मलाई काटिदिन्छु भन्थे । धन्दा गर्नुभन्दा त मर्नु बेस भनेर मार भनेर घाँटी थापिदिन्थें । कसैगरी नसकेपछि उनीहरूले मलाई अर्कै वेश्यालयमा बेचे । त्यहाँ मलाई बेहोश गराएर सामूहिक बलात्कार गराइयो । म रगताम्य भएँ । मैले हारें । आफूलाई जिउँदो लासजस्तै देख्न थालें । आफ्नै शरीरदेखि घिन लाग्न थाल्यो । नारकीय जीवन जिउनुभन्दा त मर्न पाए हुन्थ्योजस्तो लाग्थ्यो । त्यहाँ झुन्डिने ठाउँ पनि थिएन । भाग्ने ठाउँ त परै जाओस् । फलामै फलामका ठूला चेन गेट लगाइएको थियो । धन्दा गर्नुभन्दा विकल्प थिएन । मेरो भाग्यमा यस्तै लेखिएको रहेछ भनेर वास्तविकता स्वीकारें । दिनहुँ धन्दा गर्नुपथ्र्याे । मन लागे पनि, नलागे पनि, सके पनि नसके पनि धन्दा गर्न बाध्य हुन्थें । पाँच महिनाजति मैले धन्दा गरें ।
२० वर्ष नपुग्दा उद्धार
बम्बई प्रहरी हाम्रो कोठीमा छापा मार्न आएछन् । घरवालीले सबैलाई भाग्ने वातावरण तयार पारिन् । तिनीहरूलाई थाहा थियो, मेरो काम बाध्यकारी हो । फुत्किने मौका खोजिरहेकी थिएँ । फिल्म हेर्न जाऊँ भन्दै मलाई भगाउन खोजे । हुन्छ भन्दै आलटाल गर्दै रहेें । लुगा फेर्दै थिएँ, कसैले चिच्याएर ढोका खोल भनेको आवाज सुनें । खोलेर हेर्दा महिला प्रहरी देखें । अब भने नर्कबाट मुक्ति पाउने भएँ भन्ठानेर खुसीको सीमा नै रहेन । त्यस दिन आफूले नयाँ जीवन पाएको महसुस गरें । धेरै साथीलाई घरवालीले लुकाइसकेकी थिइन् । लुक्न नसकेकालाई प्रहरी स्टेसन लगियो । १८ वर्षमुनिकलाई धन्दा गर्न नदिने रहेछ । घरवालीले मलाई चिमोट्दै २० वर्ष पुगेको भन्न दबाब दिइन् । उनको दबाबमा नपरी मैले वास्तविकता बताएँ । किनकि म वेश्यालयबाट बाहिरिनु थियो । २० वर्ष पुगेका भने पुनः कोठी फर्के ।
उद्धारपछिको जीवन
२० वर्ष नपुगेकालाई त्यहींको पुनःस्थापना केन्द्रमा राखियो । पुनःस्थापना केन्द्र नाममात्रको थियो । त्यहाँ यौन शोषणमात्रै हुन्थेन, बाँकी सबै खालका यातना भोग्नुपथ्र्यो । बोलीपिच्छे वेश्या भनेर हामीलाई दुव्र्यवार गर्थे । पुनःस्थापनाकेन्द्रको बसाइ जेलभन्दा गाह्रो थियो । एउटा सानो कोठामा ३५ जना कोचिएर बस्नुपथ्र्यो । नुन र बेसारमात्र हालेको तरकारी र ढुंगाभन्दा साह्रो रोटी खान दिन्थे । घामको प्रकाश छिर्नेे छिँडीसमेत थिएन । अचम्म लाग्थ्यो– आखिर हामीले के अपराध गरेका थियांै र । पुनःस्थापनाकेन्द्रमा कोठीको बसाइभन्दा दयनीय थियो । यताउता हेर्यो भने पनि केटा चाहिएको हो भनी जिस्क्याउँथे । मानसिक तनाव दिन्थे । नेपाल पठाइदिन अनुरोध गर्दा उनीहरू भन्थे, ‘नेपाल सरकारले नेपालमा एचआईभी एड्स फैलन्छ भनेर फर्काउनै चाहँदैन डर देखाउँथे ।’ त्यस्तो सुन्दा हामी भक्कानिन्थ्यौं । हामी सम्झन्थ्यौं– हाम्रो सरकार पनि कस्ता बेचविखनमा परेका आफ्ना चेलिबेटी स्वदेश फर्काउन नमान्ने । हाम्रो जिन्दगी यत्तिकै बित्ने भयो भनेर चिन्ता लाग्थ्यो । सँगैका बसेका एक दिदीको एचआईभी एड्स लागेर मृत्यु भएको थियो । हामी पुनःस्थापनाकेन्द्रबाट बाहिरिन चाहन्थ्यौं । तर, हामीलाई बाहिरिन दिँदैनथे । हामीले भाग्ने उपाय निकाल्यौं ।
हामी सबैलाई पुग्नेगरी ठूलो भाँडामा खाना दिन्थे । त्यही भाँडाले ढोका फोडेर भाग्ने योजना बनायौं । उनीहरूले दिएको खाना शौचालयमा फालेर त्यही भाँडाले ढोका फुटाउन सफल भयौं । बाहिर निस्केर घरको टेलिफोन लाइन काट्यौं । उनीहरूले फर्काउन खोजेपछि हामीले जे भेट्टायो त्यसैले आक्रमण गर्न थाल्यौं । दोहोरो भिडन्त चलिरहँदा एक ट्रक प्रहरी आए । प्रहरीले समेत उल्टै हामीलाई पिटे । संवेदनशील अंगमा समेत पिट्न बाँकी राखेनन् । कतिपय बेहोश भए भने केही रगताम्य भए । त्यसपछि हामीलाई फेरि फलामै फलामले घेरिएको कोठामा थुने ।
एक दिन नेपाली दाइ हामीलाई भेट्न आएको खबर पायौं । भेट्न आएको थाहा पाएपछि हामी उनलाई घृणाको दृष्टिले हेर्यौं । किनकि हामीलाई बेच्ने नेपाली पुरुष नै त हुन् भन्ने लाग्थ्यो । उनको नाम गौरी रहेछ । हामी उनीमाथि खनियौं । गाली गर्यांै । उनी हामीलाई नेपाल फर्काउन आएका रहेछन् । तर, विश्वासै लागेन । संस्था सञ्चालकले तिमीहरू नेपाल फर्कंदै छौ भनेपछि विश्वस्त भयौं । खुसीले पुलकित भयौं ।
नेपाल फर्किएपछि
हामी नेपाल फर्कंदै गरेको नेपालभरि हल्ला चलेछ । नेपालका सञ्चारमाध्यमले बम्बईका वेश्यालयबाट नेपाली चेली नेपाल फर्कंदै भनेर समाचार प्रकाशन तथा प्रसारण गरेछन् । त्यो थाहा पाउँदा चित्त साह्रै दुख्यो । विमान विमानस्थल अवतरण गर्दा हामीले देख्यौं– हामीलाई हेर्न हजारौँ मानिस जम्मा भएका रहेछन् । हामी अत्तालियौं । सञ्चारमाध्यमले वेश्या भन्दै हाम्रो फोटा छ्यापछ्याप्ती पार्ने भए भनेर डरायौं । जहाजबाट ओर्लंदा कसैले हत्केलाले मुख छोपे, कसैले पछ्यौराले । अनि कसैले लगाइरहेको कुर्ता नै उल्टाएर मुख छोपे । एकछिन मुर्छा परेर रोयौं । हामीलार्ई लिन विभिन्न संघ–संस्थासम्बद्ध प्रतिनिधि आएका थिए । हामी १२ जनालाई ओरेकले संरक्षण दिने भयो । ओरेक अध्यक्ष रेणु राजभण्डारीले हामीलाई भ्यानमा हालेर ओरेक पुर्याइन् । ओरेकको गेटमा हामीलाई कुरेर एक फोटो पत्रकार बसेका रहेछन् । रेणुले तिनलाई मान्छे देख्या छैनस् भन्दै ढुंगाले हानेर भगाइन् ।
ओरेकमा बिताएका पल
पहिलो चरणमा हाम्रो सम्पूर्ण ‘हेल्थ चेपअप’ भयो । कतिपय साथीमा एचआईभी देखियो । साथीहरूलाई एचआइभी भएको सुनेर हामी सद्देहरू पनि आत्तियौं । भोलि हामीमा पनि एचआईभी देखिएला कि भनेर चिन्ताले सतायो । खान, बोल्नदेखि लिएर सबै काम छाडिदियौं । हामी कसैको नजिक जाँदैनथ्यौं । हाम्रा नजिक कोही नआए हुन्थ्योझैं लाग्थ्यो । डाक्टरहरू ६ वटा पन्जा लगाएर पनि हामीलाई छुन घिन मान्थे । मनको शान्तिका लागि मन्दिर जाँदा त्यहाँ हामीलाई छिःछि र दूरदूर गर्थे । कतिपय मन्दिरमा त छिर्न पनि दिँदैनथे । बस्ने र रुनेबाहेक अरू केही काम थिएन । डाक्टर रेणुले सबै थाहा पाएछन् । हामीलाई परामर्श दिइन् । भोलि कसले देखेको छ, हामी आज सम्झेर बाँच्नुपर्छ भनेपछि हामीलाई छोयो । विभिन्न तालिममा भाग लिन थाल्यौं । काम सिक्यौं । ज्ञान पायौं । जीवन जिउन सिक्यौं । समस्यालाई अवसरमा बदल्न प्रेरित भयौं ।
शक्ति समूहको स्थापना
हाम्रो कथा, हाम्रो व्यथा र हाम्रो आवाज एउटै थियो । हामी सधैं एकजुट हुन चाहन्थ्यौं । हामी १५ जना मिलेर लक्ष्य निर्धारण गर्यौं । १५ जनाको आँसु शक्तिमा बदल्न हामीले शक्ति समूह नामक संस्था स्थापना गर्यौं । संस्थामार्फत हामीले हामीजस्तै बेचिन बाध्य नारीको उद्धार र सहयोग गर्न थाल्यौं । आजसम्म त्यो काम गर्दै आएका छौं । हिजोआज सबैले सोध्छन्– तपाईंंको प्रेरणा स्रोत के हो भनेर । म त भन्छु– म आफैं हुँ । मेरो जीवनमा जुन घटना घट्यो, त्यसलाई टेकेर मैले उठ्ने हिम्मत गरेकै कारण आज म सफल भएकी छु । मैले आफूलाई बचाएर मजस्ता कैयौं पीडितको जीवन बचाउन लागिपरेकी छु । आफैं बलियो नभई केही गर्नै सकिँदैन ।
प्रस्तुति : फातिमा बानु
रातोपाटी डटकमबाट साभार
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment