हाकिमलाई रुन्चे इमेल लेखेर क्रिकेट हेर्न छुट्टी मागेँ

विनोद विकास सिंखडा
२७ नोभेम्बर २०१३ मा नेपालले हङकङलाई क्रिकेटमा हराएर विश्वकपमा छानिएपछी खुशीसँगै चिन्ता पर्न थल्यो मलाई । नेपाल पहिलोपटक विश्वकप खेल्दा आफुले प्रत्यक्ष हेर्न नपाउने चिन्तामा डुब्न थाले म ।
त्यो दिन काममा थिएँ, श्रीमतीको फोन आयो । ‘नेपाल विश्वकपमा पुगेकोमा बधाई छ’ भनिन् । नेपाल विश्वकपमा पुग्नु मेरो लागि ठूलो समाचार हो भन्ने उनलाई राम्रोसँग थाहा थियो । बधाई दिनासाथ उनेले विश्वकप हेर्न जानका लागि छुट्टी मिलाउनु भनिन् । वर्षभरिको छुट्टी सबै लिएर १० वर्षमा पहिलोपटक दशै मनाउन घर गएर अएको तीन हप्ता मात्र भएको थियो । कहाँबाट पाउनु छुट्टी मैले । बेलायती सरकारको जागिरे म, कि जागिर छोडेरै जानुपर्‍यो कि जिन्दगीभर थकथकी मानेर बस्नु पर्ने भयो ।
binod bikram simkhada (3)
दुई हप्तापछि, आँट गरेर विशष कारणवस एक हप्ताको बेतलबि बिदा पाउँ भनेर इमेल लेखेँ म्यानेजरलाई । म्यानेजरले विशेष कारण के हो, खुलाएर निवेदन हाल्नु भनेपछी मेरो आश मर्‍यो । बेलायतको आर्थिक वर्षको अन्त्य मार्च महिनामा विश्वकप आयोजना हुँदै थियो । मार्चमा काम सकाउने चटारो हुने भएकाले बेतलवी बिदा पाउने आशा न्युन थियो । तैपनि जानेको जति अंग्रेजी सारा मिलाएर लखेँ, ‘नेपाल पहिलोपटक विश्वकप क्रिकेट खेल्दै छ, त्यही हेर्न जान लागेको । यो हेर्न पाइनँ भने मेरो जीवन अपुरो हुने छ ।’
यस्तो रुन्चे इमेलले काम गर्ला भन्ने खासै आशा थिएन । तर, म्यानेजरले तुरुन्त फोन गरिन् । उनी पहिला हासेँ । त्यसपछी भने, ‘तिमी जाउ, म मिलाइदिउला । एक हप्ताको छुट्टी नपाएर जिवनभर तिमीलाई विस्मात हुन्छ भने म रोक्दिनँ । तीन महिनापछिको कुरो रहेछ ।  काम त्यहीअनुसार मिलाउँला ।’
उनले यति सजिलै कुरा बुझ्लिन् भनेर मैले अलिकति पनि सोचेको थिइनँ । मलाई बल्ल नेपाल विश्वकपमा पुगेको महससु हुन थाल्यो । बंगलादेशको  भिसा, हवाई टिकट सबै जनवरीको अन्तिम साता नै तयार गरिसकेको थिएँ । म्याचको टिकट भने मसँग थिएन । फेब्रअरीको पहिलो सातामा दोस्रो चरणको टिकटको अनलाइन बिक्री हुँदा किन्छु भन्नि आशमा थिएँ । नपाए बंगलादेश नै पुगेपछी ब्ल्याकमा भए पनि किन्छु भन्ने जोश थियो ।
अनलाइन टिकट बिक्री खुलेको दिन, बेलायती समयअनुसार बिहान ४ बजेबाट कम्प्युटरमा कोसिस गर्न थालेँ । अरु साथीहरु पनि आउने कि भन्ने कुरा भएकोले नेपालको तीनवटै खेलका चार-चार वटा टिकट लिएँ । अब मेरो बंगलादेश जाने तयारी सबै पुरा भयो ।
बीचमा मेरो साथी विश्वास हमाल पनि जाने पक्का भएपछि झन् मेरो उमंगको पारो माथि चढ्यो । बिश्वास र मेरो भेट २००५ मा एउटा नेपाली क्रिकेट वेबसाइट फोरममा भएको थियो । २००५ देखी २०१४ सम्म आइपुग्दा हाम्रो दोस्ती र नेपाली क्रिकेटले उत्तिकै फड्को मरिसकेको थियो । १० बर्षदेखी फिनल्यान्ड बस्दै आएको बिश्वास हलाई मेरो शहर लण्डन सरेको थियो ।
binod simkhada2यहीबीच मेरो बंगलादेशमा पढिरहेका दुई नेपाली विद्यार्थी अनिशा पोख्रेल र सुरज काफ्लेसँग चिन्जान भयो । बंगलादेशमा रमाइलो हुने पक्कापक्की भयो ।
१६ मार्चमा २० घण्टाको यात्रापछी लण्डनको हिथ्रोबाट इस्तानवुल, ढाका हुँदै चित्तागोङ पुगियो । खेल सुरु हुनु ६ घण्टा अगाडी हामी पुग्दा एअरपोर्टमा तिनै अनिशा बहिनी र उनको साथी दिज्ञा लिना आएका रहेछन् । होटेलमा गएर छिटो-छिटो गरेर नुहाएर म्याचको टिकट कलेक्ट गर्न गइयो । त्यहाँबाट सिधै खेल सुरु हुनु ३ घण्टा अगाडी स्टेडियम बाहिर पुगियो ।
फेसबुकमार्फत त्यहाँ हामीले म्याचअगाडी धेरैभन्दा धेरै नेपाली जम्मा भएर रमाइलो गर्ने योजना बनाएका थियौं । अनिशाको युनिभर्सिटीका १४ जना, सुरजको युनिभर्सिटीका झन्डै ४० जना र अरु नेपाली झण्डा बोकेका, नेपाली जर्सी लगाएका सबै सँगइ थियौं । एकैछिनमा नेपालीको ठुलो भिड जम्मा भयो, अनि हाम्रो नाराबाजी सुरु भयो ।
विदेशी भुमीमा नेपालको उपलब्धिको जय-जयकार गर्न पाउदा खुबै आनन्दित भएका थियौं । मसँगै नेपालले विश्वकप खेलेको सपना देख्ने मेरा अन्य साथिहरु नोइरि, बिवेक अर्याल, उज्ज्वल आचार्य, सोभित श्रेष्ठ, महमद ताजिम, निकेश कोइराला, बिनोद पाण्डेहरुलाई मिस गर्‍यौं । बिनोद खेल सम्वाददाताको रुपमा स्टेडियमको मिडिया बक्समै थियो ।
सबैभन्दा बढी मिस विश्वासको भएको थियो । उसले लण्डन-ढाकाको सिधा टिकट नपाएर, काठमाडौं हुँदै आउनु परेकाले पहिलो खेल छुट्यो । तर त्यहाँ भएका अरु नयाँ साथिहरु सँग जतिसक्दो मज्जा गरियो ।
नेपालको पहिलो खेल हङकङसँग थियो । खेल सुरु हुनु एक घण्टाअगाडी हामी स्टेडियमभित्र छिर्‍यौं । मसँग अनुशा र दिज्ञाका एसियन उमन्स युनिभर्सिटीमा पढ्ने साथिहरु थिए । १५ जनाको एकै ठाउँमा टिकट थियो । स्टेडियम भित्र छिर्दा नेपाली टोली वार्मअप गर्दै रहेछ ।
१८ वर्ष नपुग्दै विदेश हिँडेको मैले पहिला कहिले नेपाली क्रिकेट टोलीलाई मैदानमा देखेको थिइनँ । म आज नेपालले विश्वकप खेलेको प्रत्यक्ष मैदानबाट हेर्दैछु । मन थाम्न गाह्रो भयो । नेपालको राष्ट्रिय गान बज्न सुरु भएपछि त भावुकताको सीमा नै नाघ्यो ।
साभार अनलाइन खबर डटकमबाट

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment