किन एक्लिन् सुजाता ?

निरा भगत थारु
नेपाली कांग्रेसको राजनीतिमा नेतात्रयको अवधारणा लामो समयदेखि चलिआएको छ । तर, त्यसमा समावेशी चरित्र देखिएको छैन । प्रारम्भमा बीपी कोइराला, सुवर्णशमशेर र गणेशमान सिंहले बोलेपछि कांग्रेसले बोलेको हुन्थ्यो । त्यसमा पनि बीपीले बोलेपछि अरु नेताले राय बझाएको इतिहासमा देखिएको छैन । कांगे्रस पार्टीभन्दा पहिले जन्मिएको महिला संघकीे अध्यक्ष मंगलादेवी सिंह कांग्रेसमा मानार्थ मात्र भइन् । मंगलादेवीलाई कांग्रेसले जिम्मेवारी दिए पनि उनको धारणा कांगे्रसले कार्यान्वयन गरेको इतिहास छैन । संगठन विस्तार, राजनीतिक चेतना, संगठनको सक्रियता अनि राजनीतिक क्षमता, बौद्धिकता र निर्णय क्षमतामा मंगलादेवी सिंह अरु पुरुष नेताभन्दा कम थिइनन् । उनको कमजोरी भनेको पुरुष नहुनृु हो । उनले महिलामा चेतना भरिन्, क्रान्ति गर्न सिकाइन्, विद्रोह गर्न सिकाइन्, संगठन विस्तार गरी घुम्टो र चुलोचौकोमा सीमित महिलालाई मसाल बोकेर जुलुसमा हिँड्ने बनाइन्, प्रेरणा दिइन्, तर बदलामा पुरुष सभासद् भए, पुरुष मन्त्री भए, प्रधानमन्त्री भए, सभामुख भए, तर मंगलादेवीको भागमा औपचारिक राज्यको पद कहिल्यै परेन । पार्टीमा पनि पुरुष नेताको निर्णय शिरोपर गर्नमै सीमित भयो ।
 प्रजातन्त्रको पुनस्र्थापनापछि कांग्रेसमा फेरि पनि नेतात्रयको शक्ति स्थापित भयो । त्यसमा गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई यसमा पनि कांग्रेसले महिला नेतृत्व स्वीकार गरेन । कांग्रेसको पुरुषवादी शैलीले महिला नेतृत्वलाई र समकालीन राजनीतिमा मंगलादेवीलाई कांग्रेसले अन्याय गरेको पुष्टि इतिहासले गरिसकेको छ । कम्युनिस्ट पार्टीहरूले पूर्णाकुमारी सुवेदी, ओनसरी घर्तीमगर र विद्यादेवी भण्डारीलाई उपसभामुख, सभामुख र राष्ट्रपति बनाए । सहाना प्रधानलाई पार्टी अध्यक्ष, वाममोर्चाको संयोजक र पम्फा भुसाललाई कार्यवाहक अध्यक्ष बनाउँदा के मंगलादेवी कम्युनिस्ट पार्टीहरूका यी पात्रभन्दा राजनीतिक चेतनामा कमजोर थिइनु त ? भन्ने प्रश्न उठ्छ । 
कांग्रेसले इतिहासबाट कहिल्यै पाठ सिकेन । फेरि पनि त्यही गल्ती दोहो¥याउँदै छ । पुरुषवादी पार्टी देखाउँदै छ, महिला मैत्री बन्न चाहेन । पुरुषवादी अहंकारको रोगले फेरि पनि कांग्रेसलाई गाँजिरहेको छ । गिरिजाप्रसाद कोइरालाको अवसानपछि नेतात्रयको अवधारणा समाप्त भयो । कोइराला परिवारको विरासतको रूपमा सुशील कोइरालाको एक कार्यकाल लगभग बित्यो । विधिवत् पद हस्तान्तरण गर्नुअघि नै सुशील कोइरालाको निधान भयो । सुशील कोइरालाको अवसानपछि उहाँको विरासतमा होड चल्यो । कोइराला परिवार कुनै एउटा परिवार मात्र होइन, यो राजनीतिक संस्कारजन्य संस्था हो भने कांग्रेसजनका लागि आस्थाको प्रतीक बनेको छ । गिरिजाप्रसाद र सुशील कोइरालापछि सुजाता कोइराला परिवारको वरिष्ठ पनि हुन् । राजनीतिमा अपुतालीको वरीयताक्रम हँुदैन, त्यो प्रस्ट छ । कोइराला परिवारमा सुजाता पार्टी संगठनमा हिँड्दा डा. शेखर कोइराला विरामी जाँच्दै थिए भने पछिल्लो समय धरान अस्पतालको जागिरे जीवन व्यतित गरिरहेका थिए । डा. शशांक कोइराला विरामी आँखालाई औषधि लेख्दै गर्दा सुजाता मेची महाकाली पार्टी काममा हिँडेकी थिइन् । 
कांग्रेसभित्र नेतृत्वको होडमा शेरबहादुर देउवा आफूलाई भावी सभापतिको रूपमा प्रस्तुत गर्न थालेका छन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासमेत आफूबाहेक अर्कालाई नेता मान्न तयार छैनन् । यस्तो अवस्थामा विकल्प सुजाता कोइराला नै हुन सक्थिन् । कम्युनिस्टहरूभन्दा कांग्रेस पनि कम छैन भन्ने सन्देश जाने थियो । तर त्यस अवसरबाट उनी वञ्चित हुन पुगेकी छन् । आफ्नै कारण सुजाता एक्लिन पुगेकी छन् । भारतमा इन्दिरा गान्धी पार्टी अध्यक्ष हुँदा कुनै पुरुष व्यक्ति नभएर बनाएको होइन । सोनिया गान्धीलाई पार्टी अध्यक्ष कोही हिन्दीभाषी नभेटेर राखेको होइन । कांग्रेसको राजनीतिमा महिला हेलिने, तर अवसर चाहिँ महिला भएका कारण वञ्चित गर्ने हो भने महिलाहरू किन कांग्रेसमा लाग्ने ? भन्ने कार्यकर्ताको प्रश्न छ । 
हुन त सत्ता र राजनीति दिएर होइन खोसेर लिनुपर्छ । महिलाको स्थिति हेर्दा समान ज्याला र समान अधिकारका लागि महिला आन्दोलनको प्रथम धार भनिएको सन् १८४८ को न्युयोर्कको पहिलो महिला सम्मेलनदेखि सन् १९६० सम्मको समय व्यतित भयो । संयुक्त राष्ट्रसंघको बडापत्र, महिला अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौता धेरै भए पनि कार्यान्वयन अत्यन्त थोरै भए । यसै पृष्ठभूमिलाई मनन गर्दै संयुक्त राष्ट्र संघले सन् १९७५ लाई अन्तर्राष्ट्रिय नारी वर्षको रूपमा घोषणा ग¥यो । यसबाट नेपाललगायत विश्वका धेरै महिलाको संरक्षणमा कोशेढुंगा स्थापित भयो । केही न केही सुधारका लक्षण विश्वभर देखिन थाल्यो । 
नेपालमा भने मुलुकी ऐन २०२० को अंशबन्डाको महलको १६ नं. लाई संशोधन गरी ३५ वर्षसम्म अविवाहित हुने छोरीले छोरासरह अंश पाउने गरी संशोधन भयो । सन् १९७५ (२०३३ साल) देखि मार्च ८ लाई नारी दिवसको रूपमा मनाउन थालियो र गणतन्त्रात्मक सरकारले सार्वजनिक छुट्टीसमेत दिन थाल्यो । नेपालको संविधान २०७२ ले महिलालाई सम्पत्तिलगायत सबै अधिकार पुरुष बराबर दिएको छ । वंश परंपरा पनि महिलाको कायम गर्न पाउने व्यवस्था छ । लिखित अधिकारको अब कमी छैन । तर संस्थागत गर्दै व्यावहारिक प्रचलन गराउन इन्कार गर्दै पुरुष पितृसत्ताको अहमता देखाइरहने र महिलालाई शक्तिहीन प्रमाणित गरिरहने हो भने कानुनी तथा संवैधानिक अधिकारको कुनै अर्थ रहने छैन । सुजाताका लागि पार्टी सभापतिको ढोका खोल्नुको तात्पर्य आधा आकाश र आधा धर्तीको ढोका खोल्नु हो । जुँगाको लडाइँ लड्ने नेताका छोरीबुहारीसमेतका लागि अवसर बढ्नु हो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment