सातौ राष्ट्रिय खेलकुद फेरी सर्ने

आगामी १८ फागुनदेखि पूर्वाञ्चलमा सुरु हुने भनिएको सातौं राष्ट्रिय खेलकुद फेरि सर्ने निश्चित भएको छ । दुई वर्ष ढिला गरी यस वर्ष राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न कारण देखाएर प्रतियोगिताको मिति दुईपटक सारिसकेको छ ।
 प्रत्येक दुई-दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद नियमित कार्यक्रमअनुसार ०७० सालमा भइसक्नुपर्ने हो । तर, देशको अस्थिर राजनीति तथा परिषदमा राजनीतिक खिचातानीका कारण निर्धारित समयबाट पर धकेलिँदै आएको थियो । गत असारमा केशव कुमार विष्ट सदस्यसचिवमा नियुक्त भएदेखि सातौं राष्ट्रिय खेलकुदको तयारी थालिएको थियो ।
 राष्ट्रिय खेलकुद सातौं संस्करण पूर्वाञ्चलका जिल्लामा ११ मंसिरदेखि आयोजना गर्ने भनिएको थियो । तर, मधेस आन्दोलन, भारतीय नाकाबन्दी र समयमै बजेट निकासा नभएको कारण देखाई परिषद्ले प्रतियोगिताको मिति सार्ने निर्णय गरेको थियो । १२औं सागपछि प्रतियोगिता गर्ने निर्णयअनुसार १८ फागुनदेखि सातौं राष्ट्रिय खेलकुद आयोजना हुनुपर्ने हो । तर, यसपटक पनि प्रतियोगिताको मिति सर्ने निश्चित भएको छ ।
 बजेट नै मुख्य कारण
 प्रतियोगिताको मिति पटकपटक सर्नुमा परिषद्ले बजेट निकासा नहुनुलाई मुख्य कारण मानेको छ । परिषदका सदस्य-सचिव केशवकुमार विष्टले बजेटकै कारण यसपटक पनि प्रतियोगिता सार्नुपरेको दुखेसो गरे । सदस्य-सचिव विष्टले भने, ‘भौतिक पूर्वाधारमा हामीलाई समस्या छैन । सरकारले बजेट निकासामा गरेको ढिलाइका कारण प्रतियोगिता सार्नुपरेको हो ।’
राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट सम्पन्न भइसकेको छ । तर, जिल्ला छनोटमा भएको खर्चको समेत निकासा नभएको सदस्य-सचिव बताउँछन् । ‘जिल्ला छनोटको अहिलेसम्म बजेट निकासा भएको छैन,’ उनले भने, ‘क्षेत्रीय छनोट गर्न बाँकी नै छ । त्यसका लागि हामीलाई प्रतिक्षेत्र दुईदेखि तीन करोड आवश्यक हुन्छ । बजेटकै अभावले क्षेत्रीय छनोट पनि गर्न सकेका छैनौं ।’ परिषद्ले सातौं संस्करणका लागि भनेर गएको भदौमै खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा बजेट माग गरेको थियो ।
माग भएको २३ करोड अहिलेसम्म निकासा नभएकाले खेलकुद प्रतियोगिता पटक-पटक सार्नुपरेको हो । साग गेम्सका लागि पनि अर्थ मन्त्रालयले निकै ढिलागरी मात्र बजेट विनियोजन गरेको थियो । सदस्य-सचिव विष्टका अनुसार अबको १०/१५ दिनमा पनि बजेट निकासा नभएमा राष्ट्रिय खेलकुदको मिति अझै लम्बिन सक्छ । सातौं राष्ट्रिय खेलकुद वैशाखमा गर्ने परिषद्को तयारी समयमै बजेट निकासा भएमा प्रतियोगिता वैशाखमा गर्ने तयारी परिषद्ले थालेको छ । सदस्य सचिव विष्टले छनोट प्रक्रिया सुरु भइसकेको तथा केही खेल सम्पन्न भइसकेको अवस्थामा सातौं राष्ट्रिय खेलकुदको आयोजना लम्ब्याउन नहुने तर्क गरे । खेलकुद मन्त्री श्रीलंका भ्रमणमा रहेकाले परिषद्को बोर्ड बैठक बस्न सकेको छैन ।
‘मन्त्री श्रीलंकाबाट फर्किएलगत्तै बस्ने बोर्ड बैठकले अर्को मिति टुंगो लगाउनेछ, एक साताभित्रै बोर्ड बैठक बस्छौं,’ सदस्य सचिव विष्टले भने । वैशाखमा गर्मीको समस्या, प्रदर्शनमा असर पर्छः प्रशिक्षक परिषद्ले वैशाखमा प्रतियोगिता तयारी गरेपछि अब अर्को बहस सुरु भएको छ- गर्मीका कारण खेलाडीको प्रदर्शनमा असर पर्न सक्छ । पूर्वाञ्चलका तराई जिल्ला मोरङको विराटनगर र सुनसरीको इटहरीमा प्रतियोगिताका धेरै खेल सञ्चालन हुनेछन् । वैशाखको गर्मीमा खेलाडीले असहज महसुस गर्न सक्छन् । तर, सदस्य-सचिव विष्टले भने त्यसलाई व्यवस्थापन गर्न सकिने प्रतिक्रिया दिए ।
7th-National-Game
‘वैशाखमा दिन लामो हुन्छ । बिहान र बेलुकी खेल गराएर पनि व्यवस्थापन गर्न सकिन्छ । गर्मीको समस्या ठूलो होइन,’ सदस्य-सचिव विष्टले भने । विष्टले बिहान ७ देखि ११ सम्म र बेलुकी २ देखि ७ बजेसम्म खेलाउने तयारी भइरहेको बताए । तर, प्रशिक्षकहरुले भने गर्मी याममा खेलाडीको प्रदर्शन २० को १९ हुने बताउँछन् । एथ्लेटिक्सका प्रमुख प्रशिक्षक सुशील नरसिंह राणाले तराईको गर्मीमा ‘आउट डोर गेम’का खेलाडीको प्रदर्शन प्रभावित हुने धारणा राखे । राणाले भने, ‘आउट डोर गेम’ का लागि वैशाखको समय प्रतिकूल मौसम हो । तर, विभिन्न कारण प्रतियोगिता सर्दा आयोजना ढिला भइसकेको छ । नहुनुभन्दा भएको राम्रो ।’ यता, कीर्तिमानी तेक्वान्दो खेलाडी तथा अहिलेका राष्ट्रिय प्रशिक्षक दीपक विष्टले पनि वैशाखको मौसम प्रतिकूल हुने बताए ।
 ‘तर ०७० मै हुनुपर्ने प्रतियोगिता अहिलेसम्म नहुँदा खेलकुदमा नयाँ खेलाडीको आगमनमा समस्या भएको छ,’ ‘विष्टले भने, ‘नयाँ-नयाँ खेलाडीलाई अवसर दिन यस्ता प्रतियोगिता नियमित हुनुपर्ने हो । त्यसैले ढिला भइसकेको छ । वैशाखमा भए पनि समस्या हुँदैन, नेपाली खेलाडीले जुन मौसम पनि पचाउन सक्छन् ।’
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment