दोश्रो राष्ट्रपति रनिङ शिल्ड २०७२ कस्ले के मा जिते


दोश्रो राष्ट्रपति रनिङ शिल्ड २०७२ भव्य रुपमा सम्पन्न भए सँगै अर्को वर्ष पनि पुनः आयोजना गर्नका लागि जिल्ला खेलकुद विकास समितिमा हौसला जागेको छ । जिल्ला खेलकुद विकास समितिमा नयाँ समिति आएपछि नयाँ जोस र जाँगरका साथ गरिएको दोश्रो राष्ट्रपति रनिङ शिल्ड २०७२ प्रतियोगिताले धेरैको हौसला र खेलाडीहरुको पहिचान र नयाँ खेलाडी उत्पादनको लागि पनि जिल्लामा निकै टेवा पुग्ने देखिएको छ ।
लामो समयको अन्तराल पछि गत वर्ष प्रथम राष्ट्रपति रनिङ शिल्ड २०७१ सम्पन्न भएको थियो । गत वर्षको कार्यक्रम भएतापनि २०७२ बैशाखमा प्रतियोगिता भएको थियो । चालु शैक्षिक सत्रमा गर्नु पर्ने कार्यक्रम अनुरुप २०७२ माघ ५ देखि ९ गते सम्म बेनीबजारमा भएको दोश्रो प्रतियोगितामा जिल्लाभरमा रहेका ६८ मध्ये ४४ विद्यालयले सहभागिता जनाएका थिए ।
४४ विद्यालय सहभागि भएको उक्त प्रतियोगितामा ९ वटा विद्यालयले अंक हासिल गर्न सकेनन् । प्रतियोगितामा एथलेटिक्स र फिल्ड तर्फ पहिलो हुनेले ७ दोश्रो हुनेले ५ तेश्रो हुनेले ४, चौथो हुनेले ३, पाँचौंले २ र छैठौं स्थान हासिल गर्नेले १ अंक प्राप्त गर्ने बिधि थियो भने रिले तर्फ भने फरक थियो । रिले दौडमा पहिलो हुनेले १४ दोश्रो हुनेले १० तेश्रो हुनेले ८, चौथो हुनेले ६, पाँचौंले ४ र छैठौं स्थान हासिल गर्नेले २ अंक प्राप्त गर्ने केन्द्रीय निर्देशिकामा थियो र म्याग्दीमा पनि सोही तबरले प्रतियोगिता सञ्चालन भएको थियो । त्यसैगरी भलिबल तर्फ भने पहिलो हुनेले ३५ र दोश्रो हुनेले २१ तथा सेमिफाइनलबाट बाहिरीने दुई टिमले १४÷१४ अंक हासिल गर्ने निर्देशिकामा उल्लेख थियो ।
सोही अनुरुप अंक प्रदान गर्ने क्रममा बेनी बजारको न्यू वेष्ट प्वाइन्ट आवासीय उच्च माविले १४५ अंक सहित पहिलो स्थान हासिल गरेको थियो भने महेन्द्र रत्न उच्च मावि बरंजाले ८८ अंक सहित दोश्रो स्थान हासिल गरेको थियो । त्यस्तै बेनी बजारको माउट एभरेष्ट आवासिय उच्च माविले ७९ अंक सहित तेश्रो स्थान हासिल गरेको थियो ।
त्यसैगरी ५५ अंक सहित मंगला उच्च मावि बाबियाचौर चौथो, ५१ अंक सहित बेनी बोर्डीङ बेनी पाँचौ स्थानमा रहेको थियो कुल अंकका हिसाबले ।
एथलेटिक्स तर्फ भने न्यू वेष्ट प्वाइन्ट आउमावि १३१ अंक सहित पहिलो ७९ अंक सहित माउण्ट एभरेष्ट आउमावि दोश्रो, ५१ अंक सहित बेनी बोर्डीङ तेश्रो, ५० अंक सहित जनप्रिय उमावि दरवाङ चौथो स्थानमा रहेका थिए । विभिन्न बिधामा गरेर कुल ८०८ अंक पाएका थिए विद्यालयहरुले भने १४ वटा विद्यालयहरुले १० भन्दा कम कुल अंक जोडेका थिए । ११ वटा विद्यालयहरुले १० देखि २० बिन्दु भित्र अंक जोडेका थिए । २० देखि ३० भित्र २ वटा विद्यालयले अंक जोडेका थिए साथै ३० देखि ४० बीचमा अंक जोड्ने २ वटा विद्यालय रहेका थिए ।
त्यसैगरी ५० देखि ७० बीच अंक जोड्ने बिद्यालयको संख्या पनि २ रहेको थियो । ७० देखि ९० बीचमा अंक जोड्ने दुई वटा विद्यालय थियो भने पहिलो हुने विद्यालयले १४५ अंक जोडेको थियो ।
दोश्रो राष्ट्रपति रनिङ शिल्डमाा १४ विधामा छात्र छात्रा तर्फ गरेर अंक पाउने खेल खेलाइएको थियो भने मार्सल आर्ट तर्फ तेक्वान्दो र कराँते छात्रछात्रा खेलाइएको थियो । तेक्वान्दो र कराँतेको अंक रनिङ शिल्ड प्रतियोगिताको अंकमा जोडिने थिएन भने भलिबल र मार्सल आर्ट खेल्ने खेलाडी फिल्ड तथा ट्रयाक कुनै पनि प्रतियोगितामा सहभागि हुन पाउने थिएनन् ।
प्रतियोगिताको एकल बिधामा धौलागिरी माध्यमिक बिद्यालय सिंगाकी छात्रा रिमा कार्कीले तीन वटा स्वर्ण पदक प्राप्त गरेकी थिइन् भने छात्र तर्फ न्यू वेष्ट प्वाइन्ट आवासीय उच्च माविका सुरेश दर्जीले तीन वटा स्वर्ण पदक प्राप्त गरेका थिए ।
दोश्रो राष्ट्रपति रनिङ शिल्ड २०७२ मा न्यू वेष्ट प्वाइन्ट आवासीय उच्च माविले ११ स्वर्ण पदक जितेको थियो । त्यसैगरी धौलागिरी मावि सिंगा र माउण्ट एभरेष्ट आवासीय उच्च माविले तीन तीन वटा स्वर्ण पदक हात पारेका थिए । त्यसैगरी महेन्द्ररत्न उच्च माबि बरंजा, बेनी बोर्डीङ बेनी, रहुगंगा मावि पिप्ले र जनप्रिय उच्च माबि दरवाङले दुई÷दुई वटा स्वर्ण पदकमा कब्जा जमाएका थिए । २८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा प्रकाश उच्च मावि बेनी, भीम मावि देविस्थान र राष्ट्रिय जनजागृती माबि कुहुँले एकएक स्वर्ण पदक जितेका थिए । रिले दौडमा चारचार जना खेलाडीले स्वर्ण पदक बोक्ने भएपनि त्यसलाई एक र भलिबलमा नौनौ जना खेलाडीले स्वर्ण पदकको रुपमा लिँदा अहिले यस्तो अवस्था आएको हो । चार गुण चार सय मिटर र चार गुण एक सय मिटर रिले गरेर तीनवटा रिलेमा बिजेता बन्दै चारचार जना खेलाडीले १२ स्वर्ण लिए पनि उनीहरुले प्राप्त गरेको तीन मान्दा ११ स्वर्ण वेष्ट प्वाइन्टले प्राप्त गरेको हो । त्यसैगरी भलिबलमा छात्रछात्रा दुवै बिधामा बरंजाले पहिलो स्थान पाएकाले दुई स्वर्ण गनियो तर विद्यालयमा भने छात्रछात्रा दुवैले नौ नौ वटा स्वर्ण लगेका छन् । दुई वटा रिलेमा छात्र छात्रा गरेर आठ आठ स्वर्ण गएतापनि दुई दुई गन्ने र भलिबलको पनि त्यस्तै गर्दा २८ स्वर्णका लागि प्रतियोगिता भएको थियो ।
भलिबल तर्फको स्वर्ण पदक छात्रछात्रा दुवै महेन्द्र रत्न उच्च मावि बरंजाले जितेको थियो । एथलेटिक्स र फिल्ड तर्फको भने अधिकांशमा न्यू वेष्ट प्वाइन्टको कब्जा रह्यो भन्दा फरक नपर्ला उसले ११ वटा स्वर्ण जित्दै स्वर्ण पदक बिजेताको अग्रस्थानमा रह्यो वेष्टप्वाइन्ट । माउण्ट एभरेष्ट आउमावि र धवलागिरी मावि सिंगा तीन तीन स्वर्ण सहित दोश्रो स्थानमा रहे ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment