ओलीमाथि यसरी भयो बाह्रखम्बामा प्रश्नको वर्षा !

Kp-oliचिरञ्जीवी पौडेल, नयाँ दिल्ली
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तेस्रो दिन बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा पत्रकार सम्मेलन राखिएको थियो । नेपालका प्रधानमन्त्रीलाई खासै महत्त्व नदिने भारतीय पत्रकार यसपालि भने तँछाड-मछाड नै गरेर दूतावासमा आए ।
भारतीय पत्रकारको सामना गर्नु विश्वका कुनै पनि नेताका लागि जटिल काम हो । उनीहरूले ओलीलाई मधेस समस्यादेखि भान्सामा ग्यासको पाइप पुर्‍याउने घोषणाका विषयसम्म प्रश्न सोधे ।
दूतावासभित्रको एउटा साँघुरो कोठामा आयोजना गरिएको पत्रकार सम्मेलन अव्यवस्थित थियो । पत्रकारलाई कुर्सीसमेत पर्याप्त थिएन । केही उभिए भने केही भुइँमा पनि बसे । प्रधानमन्त्रीलाई बोल्नका लागि एउटा माइकधरी थिएन । भारतीय पत्रकारका अगाडि नेपाली दूतावासको झल्लरी पारा देखियो ।
प्रधानमन्त्रीका दायाँ बायाँ मन्त्रीहरू थिए । ओलीले उपप्रधानमन्त्री कमल थापालाई पहिले बोल्न लगाए । थापाले बोल्न के सुरु गरेका थिए, एक भारतीय पत्रकार कराए, ‘सर, हामीले सुन्न सकेनौँ । कृपया माइक प्रयोग गर्नुुस् ।’
‘माइक छ र ?’ थापाले उल्टै सोधे । ‘छैन छैन’ भन्ने जवाफ आएपछि उनले भने, ‘ठीकै छ, म ठूलो स्वरमा बोल्छु ।’ थापाको स्वर ठूलै भएकाले त्यति समस्या भएन । उनले पाँच मिनेट बोल्ने क्रममा नेपाल र भारतको सम्बन्धलाई यो भ्रमणले नयाँ उचाइमा पुर्‍याएको भन्दै सन्तोष प्रकट गरे । त्यसपछि प्रधानमन्त्रीको पालो आयो ।
ओलीले चिन्ता व्यक्त गरे, ‘तपाईंको भन्दा मेरो स्वर सानो छ के गर्नु ?’
धमलाले सोध्न पाएनन्
प्रधानमन्त्रीले मन्तव्य सक्नासाथ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले तीन-चार जनालाई प्रश्न सोध्न आग्रह गरे । पत्रकार ऋषि धमलाले तुरुन्तै हात उठाए । तर, दीपकुमारले उनलाईर् रोकेर भारतीय पत्रकारलाई प्र्राथमिकता दिए ।
इण्डिया टुडेकी स्मिता शर्माले सोधिन्, ‘काठमाडौं र दिल्लीबीच सबै कुरा सामान्य भइसकेको छ भनिन्छ । तर, काठमाडौंले तराईलाई विभेद जारी राख्दासम्म भारत खुसी हुन सक्ला र ? यो समस्या चर्कियो भने जाफ्नाको जस्तो अवस्था त आउँदैन ?’
आलोक कुमारले सोधे, ‘तराई क्षेत्रमा भारतीय शिक्षकले काम गरिरहेका छन् । उनीहरूका समस्याका विषयमा के भन्नुहुन्छ ?’ उनले असान्दर्भिक प्रश्न सोधेको भनेर भारतीय पत्रकार खासखुस गर्न थाले । त्यसपछि फेरि धमलाले हात उठाए, तर प्रश्न सोध्न पाएनन् ।
हिन्दूका पत्रकारले सोधे, ‘एक मधेसी नेताले फेरि नाकाबन्दी सुरु गर्छु भनेका छन् नि ?’
अर्का भारतीय पत्रकारले सोधे, ‘यो समस्या समाधान हुन तपाईं प्रधानमन्त्री बनेको एक सय २५ दिनसम्म किन लाग्यो ?’
फाइनल क्वेसन नेपालबाट, दीपकुमारले धमलालाई मौका दिन खोजे । तर, उनीभन्दा पहिले बोलिन् मिररकी सीमाकिरण, ‘तपाइर्ंले घरघरमा ग्यासको पाइप पुर्‍याउँछु भन्नुभएको छ । यसका लागि तपाईंसँग के योजना छ ?’
सीमाकिरणले सोधिनसक्दै ऋषिलाई जिल्याएर अर्की भारतीय पत्रकारले सोधिन्, ‘एउटा रिपोर्टअनुसार नेपाललाई एक वर्षमा ८.११ बिलियन युएस डलर अनुदान आउँछ । के त्यो पैसाबाट कुनै आय सिर्जना गर्ने ब्ल्याक एन्ड ह्वाइट पेपर तयार गरिएको छ ?’
अर्को प्रश्न पनि भारतीयबाटै आयो, ‘तपाईंहरूले मजबुरीमा चीनसित सम्झौता गर्नुभएको छ, अब भारतसित सम्बन्ध सुधार भएको अवस्थामा चीनसितको सम्झौता तोडिन्छ कि जारी रहन्छ ?
बल्ल ऋषिको पालो
अन्तिममा ऋषिको पालो आयो । उनले आफ्नै शैलीमा सोधे, ‘सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, तपाईंको भ्रमण सक्सेसफुल र हिस्टरिकल भयो भनेर सबैले भनिरहेका छन् । तर, आजका दिनमा तपाईं र भारतीय प्रधानमन्त्री मोदीबीच वान टु वान कुराकानी भएको छ नि, ४० मिनेट । त्यसमा कालापानी, सुस्ता, १९५० को सन्धि र नेपालको जुन किसिमको समस्या छ, त्यसबारे मोदीलाई के भन्नुभो ? के सबै समस्याको पोको दिनुभएको हो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ?’
खोइ कहाँ छ विभेद ?
ओलीले एकाएक हिन्दीमा जवाफ दिन थाले, ‘मैने एक हिन्दी गाना सुना था, कोई तो बतादे हमेँ… ।’
उनले विभेदको जवाफ दिन थाले । सोधे, ‘विभेद किधर हे ?’
फेरि अंग्रेजीमै फर्के, ‘संविधानको कुनै पनि धाराले जनताबीच धर्म, भाषा, भूगोल, जातका आधारमा विभेद गरेको छैन । बरु सबै प्रकारका विभेद हटाउने ग्यारेन्टी गरेको छ । यसमा कुनै प्रकारको कन्फ्युज हुनुहुन्न । कसैले यो धारामा विभेद छ भन्छ भने हामी सधैँ खुला छौँ, त्यसलाई सम्बोधन गर्न । भावनाको कुरा अर्कै हो । भावना र यथार्थ, तथ्य अलग कुरा हुन् ।’
त्यसपछि उनले भारतीय शिक्षकको विषयमा जवाफ दिए, ‘नेपालमा आज मात्र होइन, धेरै वर्षदेखि भारतका शिक्षकहरूले पढाउँछन् । म युवा हुँदा पनि भारतीय शिक्षकहरू थिए । तर, यो तराई र मधेससँग जोडिएको प्रश्न होइन ।’
तेस्रो प्रश्नको जवाफ उनले यसरी दिए, ‘अर्को नाकाबन्दीको कुरा कसैले गर्छ भने हामी फर्केर उसलाई सोध्नेछौं, फेरि केमा बेखुसी हुनुहुन्छ । यस्तो कुनै कदम आवश्यक छैन । हामी खुला छौं । उनीहरूलाई सुन्न तयार छौं । कुनै जायज माग भए सम्बोधन गर्न तयार छौं ।’
समस्या समाधान गर्न किन एक सय २५ दिन लाग्यो भन्ने प्रश्नमा ओलीले यसरी जवाफ दिए, ‘असझदारी एक सय २५ दिन होइन, एक दिन पनि हुनुहुँदैनथ्यो । समाधान गर्न एक दिन नै पर्याप्त हुनुपर्यो । एक सय २५ दिन लाग्नुहुन्नथ्यो । तर, लाग्यो के गर्ने ? अब बितिसकेका दिन कसरी फिर्ता ल्याउने ?’ भारतीय पत्रकार गलल हाँसे ।
ओलीले त्यसपछि घर-घरमा पाइपवाला प्रश्नको जवाफ दिए । ‘हामी संकटबाट गुजि्रएका थियौं । हाम्रो किचेनमा पकाउने ग्यास थिएन । मैले यो युगमा यस्तो समस्या हुनुहुन्न । काँधमा ग्यास सिलिन्डर बोकेर हिँड्ने जमाना होइन यो । यसलाई म समाधान गर्छु । म प्रत्येक किचेनमा पाइप पुर्‍याउँछु । त्यसका लागि समय लाग्छ । मैले जनताको दुःख महसुस गरेर उनीहरूको आत्मविश्वास जागृत गर्न खोजेँ । भोलिको आशा देखाउन खोजेँ । भविष्यप्रति आशावादी बनाउने प्रयास गरेँ ।’
कार्ड खेल्न जान्दिनँ
‘मलाई सोध्छन्, के चाइना कार्ड खेल्न खोज्नुभएको हो ?’ ओलीले अर्को प्रश्नको जवाफ यसरी दिए, ‘मैले त जीवनमा कहिल्यै कार्ड खेलेको छैन । मलाई त कार्ड के हो भन्ने पनि थाहा छैन ।’
उनले अगाडि भने, ‘नेपालका दुई छिमेकी छन् । दक्षिणमा भारत र उत्तरमा चीन । दुवै छिमेकी हाम्रा मित्र हुन् । हामी दुवैसँग बराबरीको आधारमा सम्बन्ध राख्छौं । कुनै पनि देशविरुद्ध आफ्नो भूमि प्रयोग हुन दिँदैनौँ ।’
भारत नेपालको विशेषखालको छुट्टै सम्बन्ध छ भन्ने सुन्दै आएका पत्रकारका लागि यो जवाफ अलि नौलो थियो ।
अन्तिममा ऋषिको वान टु वान मिटिङको प्रश्नको पालो आयो । यसको जवाफ ओलीले ठट्यौलो पारामा दिए, ‘त्यो वान टु वान मिटिङ थियो । मन्त्री र उच्चपदस्थ कर्मचारी पनि बसेका थिएनन् । तपाईंले बुझ्नुपर्छ कि त्यो वान टु वान मिटिङ थियो । त्यो किन राखिएको थियो भने वान टु वान मिटिङका लागि ।’
धमलाले जवाफ चित्त बुझाएका थिएनन् ।
सपिङ लिस्ट छैन
प्रधानमन्त्री ओलीले शान्त र स्थिरतापूर्वक पत्रकारहरूलाई जवाफ फर्काए । ओलीका कतिपय जवाफमा भारतीय पत्रकार पेट मिचेर हाँसे पनि ।
‘गुड आफ्टरनुन एभ्री बडी’ भन्दै ओलीले आफ्नो सम्बोधन सुरु गरे । छोटो निमन्त्रणामा उपस्थित भएको भन्दै उनले पत्रकारलाई धन्यवाद दिए ।
‘यो मेरो पहिलो विदेश भ्रमण हो, प्रधानमन्त्रीका रुपमा । हिजो महत्त्वपूर्ण भेटघाट भए । भारत सरकार, राजनीतिक दल, बुद्धीजीवि र मिडियाहरू नेपालप्रति अत्यन्त सकारात्मक पाएँ । मलाई दिएको सम्मान र आतिथ्यले पनि यही प्रतिविम्बित गर्‍यो,’ ओलीले सुनाए ।
उनले अगाडि भने, ‘म यहाँ भारतीय प्रधानमन्त्रीको निमन्त्रणमा राष्ट्रपतिको पाहुना भएर आएको हँु । यहाँ आउनुअघि नै भनेको थिएँ, भ्रमणले सबै किसिमका असमझदारी हटाउन र हाम्रो परम्परागत भौगोलिक, आर्थिक, राजनीतिक, बहुआयामिक सम्बन्धलाई पुनस्र्थापित गर्ने लक्ष्य लिएको छ । र, आज म सन्तुष्ट छु ।’
ओलीले आफ्नो भ्रमणको उद्देश्य पूर्ण रुपमा सफल भएको बताए । उनले भने, ‘म केही माग्नका लागि यहाँ आएको होइन । अथवा, कुनै सपिङ लिस्ट लिएर आएको होइन । म आएको हुँ, आफ्नो मित्रता प्रकट गर्न, मित्रवत अनुभूतिहरू व्यक्त गर्न । भारत हाम्रो धेरै नजिकको साथी हो । भारतको पनि यस्तै अनुभूति छ भन्ने पक्का गर्न आएको हुँ । र म ढुक्क भएको छु । त्यसैले मैले भनेको हुँ, भ्रमण धेरै सफल भएको छ ।’
संविधानको व्याख्याः कहाँ छ विभेद ?
प्रधानमन्त्री ओलीले नेपालको संविधानका विषयमा लामो चर्चा गरे । उनले भारतीय पत्रकारलाई नेपालको संविधान के-कति कारणले प्रजातान्त्रिक, समावेशी र प्रगतिशील छ भनेर बुझाउने भरमग्दुर प्रयास गरे ।
‘नेपाल ठूलो देश होइन, तर संविधान बनाउन हामीले धेरै ठूलो परिश्रम र समय खर्च गर्‍यौं,’ उनले भने, ‘केही मानिसहरू भन्छन्- एक्कासि, रातारात आश्चर्यजनक तरिकाले संविधान जारी गरियो । जब कि आठ वर्षदेखि संविधानको बहस भइरहेको थियो ।’ ओलीले संविधानका प्र्रत्येक धारामा छलफल भएर पारित गरिएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले नेपालको संविधानमा कुनै पनि खालको विभेद नरहेको कुरामा पटक-पटक जोड दिए । उनले भने, ‘आधारभूत अधिकारका लागि मात्रै संविधानमा ३१ वटा धारा छन् । महिला अधिकार, बाबालिकाको अधिकार, मधेसीको अधिकार, जनजातिको अधिकार, कसको अधिकार छैन ? खाने अधिकार, बस्ने अधिकार के छैन ?’
ओलीले सानोतिनो काम गर्दा पनि विवाद आउने दुनियाँमा संविधान निर्माण गर्दा विवाद आउनु अस्वाभाविक नभएको बताए । उनले भारतमा र अन्य राष्ट्रमा पनि संविधान निर्माण विवादमुक्त नरहेको उल्लेख गरे । ‘नेपालमा पनि मानिसहरूबीच केही मतभेद र असमझदारीहरू उत्पन्न भए । ती असमझदारी अहिले निवारण भएका छन् । हामीले बनाएको छोटो समयमा संविधान संशोधन गरेका छौं । यसको मतलब हामी लचक छौं भन्ने पुष्टि हुन्छ । सही मागलाई सम्बोधन गर्छौं । संविधान एउटा जीवन्त दस्तावेज हो,’ ओलीले भने ।
ओलीले छिमेकी देशहरूको जायज चिन्तालाई पनि सम्बोधन गर्न तयार रहेको उल्लेख गरे । उनले भने, ‘हामी छिमेकी, विशेषगरी भारतको जायज चिन्तालाई बुझ्छौं ।’
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment