आठ घण्टा उकालो लाग्दा...

रिपोर्टरको डायरी - 
घनश्याम खड्का, म्याग्दी
 
बिहान साढे ७ बजे प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले फोन गरेर आफूहरू हिँड्न तयार भएकाले बाहिर सडकमा निक्लन भने । झोलामा ल्यापटप, क्यामेरा र इन्टरनेटका लागि स्काइफोनको डिभाइस बोकेर हतारमा क्याम्पसचोक ओर्लिएँ । पहाडी जिल्लामा सदरमुकामभन्दा केही पर जानुपरे सधैं आफ्नै साधनले सहज हुँदैन । अन्नपूर्ण हिमशृंखलाको बराह हिमाली क्षेत्रमा सुक्खा पहिरो झरेको थियो । तर, पहिरो झरेको ठाउँ कहाँनेर हो भन्ने यकिन भइसकेको थिएन । पहिरोपछिको धुलोको मुस्लोमा निर्माणाधीन जलविद्युत्मा कार्यरत मजदुरसमेत दाना, नारच्याङवासी फसेको खबर आएको थियो । त्यसैले पहिरो झरेको नारच्याङ गाविसको लेकगाउँ उक्लने योजना थियो । नारच्याङमा ६२ मेगावाटको नीलगिरि जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम पनि थियो । झोला बोकेर सडकमा उभिएको छु तर सीडीओको गाडी आएन । ८ बज्यो, अनि फोन गरें । ‘हिँड्ने बेलामा यात्रा अलमल पो भो । प्लेन मिसिङको खबर आयो । यता पो लाग्नुपर्ला जस्तो भो,’ प्रजिअ पाठकले भने । झोलासहित म प्रजिअ निवासतर्फ लागें । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको कलसाइन नाइन एनएएचएच ट्विनअटर घोडेपानी क्षेत्रबाट सम्पर्कविहीन भएको थाहा भयो । गाडी घुइक्याउँदै प्रहरी नायब उपरीक्षक विश्वराज खड्का त्यहीं आइपुगे । सँगै नारच्याङ जाने योजना थियो । उनले भने, ‘मलाई त तुरुन्त मुभ हुनु भन्ने आदेश छ । जाने भए ल तुरुन्त हिँडौं, गाडी चढिहालौं ।’ म प्रहरीको गाडीमा चढें । गाडी अरू बेलाभन्दा तीव्र गतिमा हुइँकियो । १२ बजे दाना, २ बजे काभ्रे पुग्यौं । त्यहाँका स्थानीयवासी प्रहरीलाई लिएर सोलीघोप्टे भीरतर्फ खोजीका लागि हिँडेका थिए । तर, लोकेसन पत्ता लागेको थिएन । खोजी तथा उद्धारमा गएका स्थानीय नवीन खड्का, लालबहादुर पुन, श्याम पुन, सुनील तामाङ, माइलामध्ये नवीनले घरमा भाइलाई फोन गरेछन् । हामी उभिएको ठाउँ छेउको घरबाट एक किशोर ‘फेला पर्‍यो’ भन्दै बाहिर निक्ले । बेपत्ता जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेछ । सहकर्मीलाई पछाडि छाडी स्थानीयसँग दाँजिएर हिँड्न सकेकाले प्रहरी जवान फूलकुमार थापा पनि बेपत्ता जहाज फेला पार्ने पहिलो समूहका सदस्य बने । बेपत्ता जहाज फेला परेपछि स्थानीयसँग हामीले दुर्घटनास्थलको ठेगाना यकिन गर्‍यौं । अनि सुरु भो, अनलाइन, रेडियो र टेलिभिजनमा टेलिफोन रिर्पोटिङ । सम्भवत: राष्ट्रिय मिडियामा हामीले ‘न्युज ब्रेक’ गर्‍यौं । स्थानीयले ‘लेक लाग्छ । ६ घण्टामा पनि पुग्न मुस्किल हुन्छ । रात पर्छ, नजानुस्’ भन्ने सल्लाह दिए । तर त्यसलाई बेवास्ता गर्दै घटनास्थल पुग्ने हिम्मतसहित उकालो लागियो । प्रहरी नायब उपरीक्षक विश्वराज खड्का, राष्ट्रिय अनुसन्धानका वीरेन्द्र श्रेष्ठलाई बाटोमा छाडेर सगरमाथा टिभीका सन्तोष गौतम र म उक्लिरह्यौं । झोलामा खानेकुरा र पानी पनि बोक्न बिर्सिएछ । खेतबारी, भैंसीखर्क, भेडाखर्क र घना जंगल छिचोल्दै ९० डिग्रीको ढाडो अक्करे भीरको यात्रा । भोकले लखतरान, न पानी न खाजा । यत्तिको उचाइ र हिँड्ने स्वभाव र हिम्मत यसपटक पुरै हरेस खाँदै थियो । तर, घटनास्थल पुग्ने तीव्र इच्छाले शरीरलाई घिसारिरह्यो । उकालो बाटोमा एक्लै पर्न थालें । मसँग दुईवटा मोबाइल सेट थिए । फर्कने बेलामा उज्यालो चाहिन्छ भनेर एउटा स्विचअफ गरेको थिएँ, अर्कोमा घटनास्थलको जानकारी माग्न आउने तारन्तारका फोनका घण्टीले थकित यात्रामा दिक्दारी थपे । झोंक चल्यो, त्यो पनि स्विचअफ गर्दिएँ । १६ सय मिटर उचाइको काभ्रेबाट हिँडेका हामी ४ घण्टा २८ मिनेटमा करिब ४ हजार मिटर उचाइको सोलीघोप्टे भीरमा घटनास्थल नजिकै थियौं । खुकुरीको धारमा हिँडे जस्तो । अलिकति खुट्टा चिप्लिए मान्छेको हाडमासु पनि नभेटिने । बाटोमा बिस्कुट खाँदै गएका प्रहरी भेटिए । उनीहरूले दुई पिस बिस्कुट दिए । केही आड मिल्यो । मोबाइल अन गरें । साँझको ५ बजेको रहेछ । फुसफुस हिउँ पर्न थाल्यो । हिम्मत जुटाएर आधा घण्टा चढेपछि घटनास्थल पुगियो । जहाज अक्करे भीरमा ठोक्किएको थियो । सायद भीरमा ठोक्किएको जहाज भाँचिएर केही तल अड्किएको थियो । भाँचिएको भागबाट बाहिर फुत्किएकाले हुन सक्छ केही शव सग्ला थिए, ज्युँदाजस्तै देखिन्थे । जहाजभित्रै परेकाहरू भने जलेका थिए । सामान र अधिकांश आगोले जलेका अगुल्टाको ठुटाजस्ता देखिने शव यत्रतत्र छरिएका । देख्दै जीउ सिरिङ गर्‍यो । कागजपत्र र जहाजका पाताले पुरै पहाड सेताम्मे बनेको देखियो । घटनास्थलको सुरक्षामा थिए प्रहरी निरीक्षक योगेन्द्रसिंह गुरुङ । पत्रकारिताको महत्त्व पटक्कै नबुझेका, अति अनुदार र असहिष्णु । धुम्म बादल झमक्क साँझ पर्न लागेको छ । १० मिटर परको वस्तु ठम्याउन मुस्किल थियो । घटनास्थलमा खटिएको प्रहरीले नजिक गएर फोटो/भिडियो खिच्नै नदिने । ‘घटनास्थलको नजिक कसैलाई पनि प्रवेश नदिनू भन्ने मलाई आईजीपीसापको डाइरेक्ट आदेश छ,’ खिच्न लाग्यो उनी पछाडिबाट यसो भन्दै तान्छन् । जसरी प्रहरी ड्युटीमा थियो, हामी पनि भोकप्यास र परिश्रम नभनी त्यहाँ पुगेका थियौं । हामीले जहाजका यात्रुका आफन्त र समाचारबाट जानकारी लिने सबैका लागि काम गर्नुपर्ने थियो । जहाँ पुगे पनि घटनाका फोटो/भिडियो भए मात्रै खबर विश्वसनीय मानिन्छन् । हामीले जबरजस्ती केही फोटा लियौं । मौसम अत्यधिक चिसो थियो । केही फोटा खिच्दासम्म हात कक्रक्क परेको थियो । केही मिनेट तल झरेर रूखमुनि बसी ल्यापटप खोलें । हतारहतार खिचेका फोटाहरू क्यामेराबाट ल्यापटममा सारें । स्काई–प्रो डिभाइसले नेटवर्कको टावर सिग्नल पुरै देखायो तर इन्टरनेट चलेन । छिटो घटनास्थलको फोटो न्युज ब्रेक गर्ने सपना तुहियो । अर्को विकल्प भनेको तातोपानी झर्नुपर्ने थियो । घटनास्थलमै ६ बज्यो । तल काभ्रे ओर्लेर मात्र भएन, तातोपानी नै पुग्नुपर्ने थियो फोटो/भिडियो पठाउन । हामीले जसरी पनि ओर्लने निर्णय लियौं । ओर्लने क्रममा एसएसपी छविलाल बन्जाडेसहित सशस्त्र, नेपाल प्रहरीहरू उकालो लाग्दै थिए । झमक्क रात परेकाले अनुहार चिन्न मुस्किल थियो । एक घण्टा तल झरेपछि घना जंगल भित्र पस्यौं । टर्च नभएकाले मोबाइल बाल्दै हिँड्यौं । जंगलभित्र पातपतिंगरमा बाटो हराउँथ्यो । उकालो चढ्दा सुरक्षाकर्मी र स्थानीयवासीले खाएर फालेका चाउचाउ, विस्कुटका खोलहरू हामीलाई बाटो देखाउने असल गाइड भए । मोबाइलको उज्यालोमा अघिअघि हिँडेका साथी सन्तोष जंगलमा ठूलो काठको मुढो देखेर तर्सेछन् । अन्य सहकर्मीसँग हिँड्न नसकेपछि डीएसपी विश्वराज खड्का त्यही जंगलमा अंगरक्षक र अन्य दुई प्रहरीसहित रूखमुनि बास बसेका थिए । सुकेका पात जम्मा बनाएर विस्तारा बनाएका, सानासाना झिक्रा बटुलेर आगो फुक्दै थिए । सहयोगी सुकेका दाउरा पाइन्छ कि भन्दै टर्च बालेर जंगल चहार्दै थिए । केही तल भेडीखर्क ओर्लंदा भेटिए खुला फाँटमा आगो फुकेर बसेका अर्को प्रहरीको समूह । पोखराबाट थप सहयोगका लागि आएका रहेछन् । खाना–पानीबिना खुला आकाशमुनि त्यो चिसोमा रात बिताउन बाध्य भयौं । ५ घण्टामा उक्लेको बाटो करिब ३ घण्टामा ९ बजे ओर्लियौं । भोको पेट, हतारको उकालो–ओरालो यात्रा । शरीर थाकेर हिँड्दै निदाइएला र पल्टिएला जस्तो भएको थियो । सीडीओ सागरमणि र डीएसपी खड्काको समन्वयमा प्रहरीको गाडी लिन आइपुग्यो । राति साढे ९ बजे तातोपानी पुग्यौं । इन्टरनेट सुविधा भएको होटलमा पस्यौं । सबै सुत्ने तर्खरमा थिए । उठायौं । इन्टरनेट खोल्न लगायौं । र, राति १० बजेसम्म भिडियो नभए पनि, कम्तीमा घटनास्थलका फोटा पठाउने काम सकियो । कति बेला फोटो आउँछ कति बेला आउँछ भन्दै तारन्तार कार्यालयको फोन आइरहेको थियो । फोटाहरू प्राप्त भएको जानकारी आएपछि बल्ल निकै भोक लागेको थाहा भयो । अनि भन्यौं, ‘हामीलाई खाना खुवाउनुस् ।’
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment