पाँच दिन धान्ने तेल भण्डार ९० दिन पुग्ने बन्ला ?

Nepal-Oil सरकारले इन्धनको भण्डारण बढाउन नेपाल आयल निगमसँग स्पष्ट कार्ययोजना माग गरेको छ । आपूर्ति मन्त्रालयले आयल निगमलाई पत्र पठाउँदै कम्तिमा ९० दिनलाई पुग्ने गरी तेल भण्डारणको व्यवस्था मिलाउने गरी कार्ययोजना बनाउन निर्देशन दिएको हो ।
हाल चालु रहेका डिपोहरुको सुधार गर्ने र नयाँ डिपोहरु स्थापना गर्ने सम्बन्धमा अध्ययन गरेर तत्काल कार्ययोजना मन्त्रालयमा पेश गर्न निर्देशन दिइएको आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले अनलाइनखबरलाई बताए ।
कहाँ-कहाँ बन्छ तेल भण्डार ?
सरकारले मध्यपहाडी लोकमार्गलाई विशेष ध्यानमा राखेर त्यसको आसपासमा पर्ने गरी नयाँ तेल भण्डारण स्थापना गर्ने कार्ययोजना बनाउन पनि निर्देशन दिएको छ ।
‘भारत र चीन दुबै देशमा आउने तेल भण्डारण गर्न सकिने स्थानको पहिचान गरेर कार्ययोजना बनाउन भनिएको हो’ प्रवक्ता सुवेदीले भने-‘नाकाबन्दीका बेला भोगेको इन्धन संकटबाट पाठ सिकेर भण्डारण बढाउन जरुरी छ । अब त्यसैअनुरुप काम हुन्छ ।’
उनका अनुसार अब कतिपय डिपोहरुको सुधारमा आयल निगम आफैंले खर्च गर्नेछ । आयल निगमले नसक्ने भण्डार ट्याकंहरु स्थापना गर्न सरकारले नै सहयोग गर्ने भएको छ ।
त्यसका लागि केही हप्ताभित्रै स्पष्ट योजना मन्त्रिपरिषदमा लगिने आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्देशनअनुरुप आयल निगमले नुवाकोट, तनहुँ र काभ्रेमा नयाँ तेल डिपोहरु स्थापना गर्न गृहकार्य थालेको छ ।
नुवाकोटको बिदुर-बेत्रावती, तनहुँको खैरहनी-दमौली र काभ्रेको बनेपा-पाँचखाल क्षेत्रमा डिपो स्थापना गर्न काम अघि बढाउन लागिएको आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अनलाइनखबरसँग बताए । ‘परामर्शदाता नियुक्त गरेर कुन ठाउँमा कति क्षमतामा नयाँ डिपो राख्ने भन्ने यसै वर्ष निक्र्यौल गछौं’ खड्काले भने- ‘चीनबाट पनि एकतिहाई इन्धन किन्ने समझदारी भएकाले त्यसअनुरुपको तयारीमा निगम लागेको छ ।’
तेलको भण्डारण बढाउन र ग्यास भण्डार स्थापना गर्न निगमले यसअघि नै १५ वटाभन्दा बढी योजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।
योजनामा काठमाडौंमा ७ लाख लिटर तेलको भण्डारण बढाउने पनि उल्लेख छ । काठमाडौं, जनकपुर, मेची-कोशी, पश्चिमाञ्चल, र सुदुरपश्चिमाञ्चलमा एक-एकवटा ग्यास भण्डार डिपो राखिने निगमले जनाएको छ ।
यस्तै देशका विभिन्न क्षेत्रमा हवाइ इन्धनको डिपो पनि राख्ने कागजी योजना तयार छ । योजना कार्यान्वयनमा आशंका यथावत रहँदै गर्दा आयल निगमका कार्यकारी निर्देशक खड्का भने यस वर्षदेखि यी सबै योजना आघि बढाउने दाबी गर्छन् ।
अहिलेको अवस्था के छ ?
जस्तोसुकै कारण भारतबाट पाँच दिन तेलको आयात रोकियो भने देशैभर सहजै तेल पाउने सम्भावना हुँदैन । किनभने ४५ वर्षको ‘पेट्रोलियम विरासत’ को धनी नेपाल आयल निगम तेल भण्डारणका हिसाबले निकै गरिब छ ।
त्यसैले वषर्ामा पहिरो झरेर बाटो रोकियोस् वा सानोतिनो आन्दोलनले कारण सडक छेकियोस्, देशैभर तेल र ग्यासको हाहाकार सुरु भइहाछ । यसपल्ट ४ महिना लोमो नाकाबन्दीपछि बल्ल सरकार र आयल निगमलाई अत्यावश्यक इन्धनको मौज्दात ‘टन्न’ राख्नुपर्छ भन्ने चेत खुलेको जस्तो देखिएको छ । आयल निगमले आˆनो एक थोपा पनि भण्डारण क्षमता नबढाएको १० वर्ष बितेको छ ।
निगमले सन् २००५ यता कुनै डिपोको भण्डारण क्षमता बढाएको छैन । निगमले त्यतिबेला एशियाली विकास बैंकको सहयोगमा भण्डारण बढाएको थियो । तर, निगमले सहयोग पाउन छोडेपछि क्षमता बढाउने सबै काम रोकेको छ । १० वर्षअघि कुनै कारण आपूर्ति रोकिए पनि कम्तिमा २० दिनलाई तेल अभाव हुँदैन थियो । तर, सवारी साधनको चाप र तेलको माग उच्च हुँदै जाँदा पनि निगमले आˆनो तेल भण्डारण क्षमतालाई बढाएन ।
पछिल्लो १० वर्षको बीचमा पेट्रोलियम पदार्थको माग तेब्बरले बढेको छ । सबै डिपोहरुमा तेल पूर्ण भण्डारण गरेकै स्थितिमा अभाव भइहालेमा मागअनुसार बिक्री गर्दा एक सातालाई मात्र माग थेग्न सक्छ ।
देशभरमा सबैभन्दा बढी तेलको माग काठमाडौं उपत्यका र आसपासका क्षेत्रमै हुन्छ । काठमाडौंको थानकोट डिपोमा पेट्रोल भण्डारको क्षमता १८ लाख ७० हजार लिटरको छ ।
बजारमा सामान्य अवस्थामा दैनिक साढे ३ लाख लिटर पेट्रोलको माग छ । आपूर्ति रोकिएर पनि मागअनुसार नै पेट्रोल वितरण गर्ने हो हालको भण्डारणले ५ दिनमात्रै धान्छ ।
तेलमा ५ दिनको माग धान्ने भण्डारण क्षमता भएको निगमसँग अहिले ग्यासको भण्डारण क्षमता शून्य छ । यसैकारण एक-दुई दिन ग्यास भारतबाट आएन भने नेपालमा ग्यासको हाहाकार चर्किहाल्छ ।
निगमका निर्देशक के भन्छन् ?
‘सार्वजनिक भएका योजना अघि बढाउन यसै वर्ष टेण्डर आह्वान गर्छौं’ खड्काले भने- ‘अब गम्भीर भएर भण्डारण बढाउन लाग्छौं ।’
उनले अब ९० दिनलाई पुग्ने गरी कति किलोलिटर बराबरको भण्डार विस्तार गर्ने भन्ने निश्चित नभएको बताए ।
‘सबै विषय अध्ययनकै क्रममा टुंगिन्छ । वर्षेनी तेलको माग बढिरहेको छ । त्यसले अहिले नै कति तेल राख्ने गरी डिपोहरु बन्छन् भन्ने निश्चित भएको छैन’ खड्काले भने ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment