दरबार हत्याकान्डको १४ वर्ष : अझै बिर्सन नसकिने १० तथ्य

आज जेठ १९ गते। १४ वर्षअघि आजैका दिन नारायणहिटी दरबारमा गोली चलेको थियो र तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो। यो हत्याकान्डका बिर्सनै नसकिने र हालसम्म अनुत्तरित १० विषयको संगालो पुराना ब्लगहरुबाट यहाँ राख्दैछु।
१) निरीह गिरिजा र नखुलेको ग्रायन्ड डिजाइन
शवयात्राका क्रममा जनताको ढुंगामुढा सहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि देशवासीका नाममा एउटा वक्तव्य दिएका थिए। वक्तव्य सार्‍है निरीह किसिमको थियो। घटना कसरी भएको थियो भन्ने बारेमा कुनै पनि जानकारी त्यसमा छैन। संवैधानिक राजतन्त्र भए पछि राजाले गर्ने सबै काम प्रधानमन्त्रीको सल्लाह सुझावमा गर्नुपर्ने भए पनि राजदरबारभित्र भएको त्यस्तो ठूलो घटनाको छानबिन गरिने प्रतिवद्धतासम्म त्यसमा देखाइएको छैन। बरु भनिएको छ- यथार्थ परिस्थिति र घटनाको सत्य-तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वास छ। मानौँ, सत्यतथ्य नखोजीकन आफै प्रकट हुनेछ।
हेर्नुस् उक्त शोक सन्देशको पूर्ण विवरण।
पछि उनले पटक पटक ग्रान्ड डिजाइन खोल्दिन्छु भन्दै भाषण गरे। तर नखोलेरै बिते।
२) गोली चलेको सुन्दा एडिसीहरु के गरिरहेका थिए ? 
युवराज दीपेन्द्रले मात्र गोली हानी सबैको हत्या गरेका हुन् भने राजपरिवारका एडीसीहरू त्यसबखत कहाँ थिए र के गरिरहेका थिए, डा. शाहीका अनुसार उनले नै एडीसीहरूलाई एम्बुलेन्स र डाक्टर ल्याउन खबर गरेका थिए र त्यसपछि एडीसीहरू उनीहरूलाई ‘बन्द गरिएको’ कोठाको झयालको ऐना फोरेर बाहिर आउन सक्ने तालिम प्राप्त एडीसीहरू गोली चलेको सुन्नासाथ चाहिं किन बाहिर आएनन् – उनीहरू बन्द कोठामा थिए भने कोठा बन्द गर्दा नै किन प्रतिवाद गरेनन् ? हत्याकाण्ड भएको लगत्तै भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीले यो हत्याकाण्ड षड्यन्त्र होइन भनी किटानीसाथ बोले। साथै भारतीय गृहमन्त्रीले पनि जेठ २७ गते त्यही कुरा दोहोर्याए। प्रधानमन्त्री र गृहराज्यमन्त्री दुवैले यस अवस्थामा नेपालमा राजनीतिक स्थिरताको आवश्यकता छ र त्यसको लागि जुनसुकै हदको सहयोग गर्न पनि भारत तयार रहेको बताए। भारतीय शासकहरूको यो अभिव्यक्तिले के जनाउ“छ ?
(राजदरबार हत्याकाण्डको बारेमा छानविन समिति गठन भएको सर्न्दर्भमा एकता केन्द्रले एक वक्तव्य प्रकाशित गरी सार्वजनिक गर्न माग गरेका प्रश्नहरुबाट। यी प्रश्नहरु आजसम्म पनि अनुत्तरित रहेका छन्। थप प्रश्न थाहा पाउन क्लिक गर्नुस्)
३) डा. पाण्डेसित अरुण सायमिको प्रश्न 
मेरो मनमा उठिराखेको तेस्रो प्रश्न म शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेसँग राख्न चाहन्छु। शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेको यस प्रसंगमा विशेष महत्त्व छ। उहाँ शाही चिकित्सक मात्र नभएर राजपरिषद्को सदस्य पनि हुनुहुन्छ। सुन्दछु, घाइतेहरूले वीरेन्द्र सैनिक अस्पतालमा ल्याउनासाथ यो हत्या कसले गरेको भनेर चिकित्सकहरूलाई बताइसकेका थिए। जुन बिरामी जीवन र मरणको दोसाँधमा हुन्छ उसले झुटो कुरा कहिल्यै बोल्दैन। एउटा चिकित्सकका अनुसार सायद डाक्टर मृगेन्द्रराज पाण्डेले पनि हत्या कसले गरेको भनेर सुरुमै थाहा पाइसक्नुभएको थियो। यदि हत्या श्री ५ दीपेन्द्रले गरेको भए राजपरिषद्ले हत्यारालाई किन राजा घोषणा गर्नुपर्यो ? चिकित्सक टोलीमा पनि सम्मिलित र राजपरिषद्का पनि सदस्य डा. पाण्डेले हत्यारालाई राजा बनाउँदा किन विरोध गर्नुभएन ? (चिकित्सक अरुण सायमिले हत्यकान्डबारे गरेको प्रश्न। विस्तृत पढ्न यहाँ क्लिक गर्नुस्)
४) प्रतिवेदनमा शंका
घटनाको छानबिन गर्न तत्कालीन प्रधान न्यायाधीश र सभामुखको दुई सदस्यीय उच्चस्तरीय समिति बनाइयो। प्रतिवेदन भन्छ, युवराज दीपेन्द्र आफैँले कन्चटमा पेस्तोल हिर्काएर पुल छेउतिर अचेतावस्थामा लडिबक्सेको थियो।
तर प्रश्न उठेको छ, आफैँले हतियार प्रयोग गरी आफैँ अचेत भएको व्यक्तिको हातबाट पेस्तोल फुत्केर कसरी पोखरीमा पुग्यो ? त्यस्तै घटनास्थलबाट जुन ढंगले सबुत प्रमाण- बन्दुक, गोली, पोशाकहरू ल्याइयो, त्यसमा पनि अपराधशास्त्रीहरूको आपत्ति छ। नेपाल ल क्याम्पसमा अपराधशास्त्रको समेत अध्यापन गर्दै आउनुभएका अधिवक्ता सुशील पन्त भन्नुहुन्छ, ‘घटनास्थलका सबुत प्रमाण नियन्त्रणमा लिँदा, अपराधीले छाडेको निशानाहरू नष्ट नहुन् भनेर हातमा पञ्जा लगाएर प्लाष्टिकले टिप्ने गरिन्छ र पारदर्शी प्लाष्टिकभित्र त्यसलाई सुरक्षित गरी राखिन्छ। तर प्रतिवेदन सार्वजनिक गर्ने दिन सभामुख तारानाथ रानाभाटले हरेक हतियार आफैँले प्रदर्शन गरेर देखाइदिनुभयो।’ यसलाई पनि शंकाले किन हेरिएको छ भने, यदि सबुत प्रमाणहरूले यसपूर्व दोषीको आरोप लाग्दै आएका दीपेन्द्रलाई नै पुष्टि गरेको भए त्यसरी प्रमाण मेटिने र नासिने गरी त्यस्तो उच्च समितिले काम कारवाही गर्नु उचित हुन्थेन।

रानाभाटले दीपेन्द्रले चलाएको भनिएको हतियार देखाउँदै त्यसलाई आफ्नै हातमा लिएर पत्रकारहरुतर्फ सोझ्याउँदै भनेका थिए- हान्दिम् ?
माथिका अंश असार ३, २०५८ मा देशान्तरमा छापिएको समाचारबाट सारिएको हो। पूरा पढ्नयहाँ क्लिक गर्नुस्। यसमा राजदरबार हत्याकाण्डको प्रतिवेदनका सम्बन्धमा गहकिला प्रश्नहरु उठाइएका छन्।
५) चक्र बाँस्तोलाको षड्यन्त्र सिद्धान्त
बजारमा बेच्नलाई राखेको उपन्यासका पात्रले त्यस्तो भनेको भए लौ त भन्नुहुन्थ्यो। तर अहँ, यो कुरा पूर्वमन्त्रीले भनेका हुन्। चक्रप्रसाद बाँस्तोला- जो दरबार हत्याकान्ड हुँदा परराष्ट्र मन्त्री थिए। एक जमानामा उनी भारतका लागि नेपालका राजदूतसमेत थिए। बाँस्तोलाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औँ दिनको पुण्यतिथिमा नागरिक दैनिकले निकालेको विशेषाङ्कमा भनेका छन् – राजदरबार हत्याकाण्ड भएको बेला म गिरिजाबाबुको मन्त्रिमण्डलमा परराष्ट्र मन्त्री थिएँ। त्यो राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ भन्ने निष्कर्षमा म पुगेको छु। त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। राजाले ‘फेमिली म्याटर’मा नबोलाऔं। पछि परे बोलाऔंला’ भनेका रहेछन्। अर्को कुरा शवयात्रामा जाँदा शोभा भगवतीमा हामीमाथि ढुंगामुढा भयो। हामी भागेर हिँड्यौं। त्यहाँ ‘फायरिङ’ पनि भएको थियो, गिरिजाबाबुको गाडीमा। यसले के प्रश्न उठाउँछ भने राजदरबार हत्याकाण्डमा ठूलै मञ्चन भएको रहेछ। शाही सदस्यको हत्या गर्नेमात्रै होइन, गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ।
त्यसको पछाडि को होला?
राजनीतिले गडफिलिङ भन्छ, सामाजिक अनुसन्धानमा ‘र्‍यासनल’ चाहिन्छ। मलाई चाहिँ के लाग्छ भने यो भारतीय र अमेरिकीहरूको संयुक्त योजना हो। किनभने, नेपालमा भारतीय संलग्न नभई केही गर्नै सकिँदैन। र, अमेरिका यति ठूलो विश्वशक्ति छ, उसको जानकारीविना केही हुँदैन। त्यसकारण दुवै संलग्न छन्। थप पढ्नुस्
६) त्यो घटनामा कुनै षड्यन्त्र थिएनः डा. उपेन्द्र देवकोटा
१९ जेठ शुक्रबारको राति १० बजेतिर रातो बत्ती पिलिक पिलिक बाल्दै सनसनाएर आएको सेनाको एउटा जीप थापाथलीमा बागमतीको पुलनेर पुगेर नर्भिक (नर्सिङ होम) तिर मोडिन लाग्दा झण्डै दुईवटा मोटरकारसँग ठोक्किएको थियो। सैनिक पोशाकमा आएका एक शाही अङ्गरक्षक जीपबाट हुत्तिँदै निस्केर अस्पतालभित्र पसे र न्यूरोर्सजन डा. उपेन्द्र देवकोटालाई क्लिनिकबाट तानेर बाहिर निकाले। “युवराजलाई गोलीको चोट लागेको छ, हामी छाउनी जाँदैछौँ,” त्यत्तिकै अलमल्ल परेका डाक्टरलाई उनले भने। प्रतिघण्टा असी किलोमिटरसम्मको बेगमा हुइँकिएर थापाथलीबाट छाउनीसम्मको दूरी चार मिनेट पनि नलगाई तय गरेको त्यो जीपलाई बाटो खाली गरिदिन सडकमा हिँडिरहेका कार, मोटरसाईकल र बटुवाहरूलाई हम्मे-हम्मे परेको थियो। प्रस्तुत छ, वीर अस्पताल, न्यूरोर्सजरी विभागका प्रमुख डा. उपेन्द्र देवकोटाले त्यो रात सैनिक अस्पतालको ‘ट्रमा हल’ (गम्भीर चोटपटक लागेका बिरामीहरूलाई उपचार गर्ने कक्ष) मा देखेको अकल्पनीय दृश्य र त्यसपछिका तीन दिनमा गरेको मार्मिक अनुभवको विवरण, उनकै मुखबाटः उपेन्द्र पछि ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्री बन्नुभएको थियो। पढ्न क्लिक गर्नुस्
७) दीपेन्द्रलाई राजा बनाउन खोज्दा राजपरिषद्‍मा विवाद
राजपरिषद् बैठकमा श्री ५ युवराजाधिराजलाई श्री ५ महाराजाधिराज घोषणा गर्नुअघि केही विवाद उत्पन्न भएको थियो। श्री ५ युवराजाधिराज दीपेन्द्रले नै गोली चलाएको भन्ने आधार के हो र यदि गोली चलाएकै हो भने मौसुफलाई कसरी श्री ५ महाराजाधिराज मान्ने भन्ने प्रश्न राजपरिषद्का सदस्यहरूले उठाएका थिए। त्यो दिन गोरखापत्रले छापेको समाचार यस्तो थियो।पढ्न क्लिक गर्नुस्।
८) स्वचालित हतियार आकस्मिक रुपमा पडकेर मरेका रे
अन्ततः शुक्रबार हत्याकाण्ड भए पनि आइतबार रातितिर बल्ल राज्य सहायक ज्ञानेन्द्रले देशवासीका नाममा सन्देश दिए। यो सन्देश सँधै विवादास्पद सन्देशका रुपमा नेपालको इतिहासमा दर्ता हुनेछ। किनभने त्यसमा दरबारमा भएको घटनाका बारेमा ज्यादै हलका रुपमा स्पष्टिकरण दिइएको छ। नागरिकको सूचना पाउने अधिकारलाई खिल्ली उडाउँदै त्यसमा भनिएको छ- आकस्मिक रुपमा स्वचालित हतियार पड्कन गई त्यसो भएको हो। दोष जति त हतियारलाई पो ! हतियार पडकिएर पो भएको रे। अर्थात् हतियारै दोषी। ज्ञानेन्द्रले २०५८ को जेठ २१ गते दिएको सन्देशको पूर्ण विवरण यस्तो छ।
९) राज्यारोहणबाटै विरोध सुरु, चारको मृत्यु, दर्जनौँ घाइते
जेठ २२ गतेका दिन तत्कालीन राजा दीपेन्द्रको निधनपछि ज्ञानेन्द्रको राज्यारोहण भएको थियो। तर त्यति सहज भने भएको थिएन राज्यारोहण। ठाउँठाउँमा उत्तेजक प्रदर्शन, चर्का नाराबाजीका कारण सेनाले बाटो खुलाउँदै राज्यारोहण स्थल हनुमान ढोकाको नासलचोकमा पुर्‍याएको थियो। अनि त्यहाँबाट पनि त्यसरी नै फर्काइएको थियो। सवारी अगाडि बढ्नासाथ राजधानीका आक्रोशित युवाहरूले हनुमान ढोका परिसरमै नारा लगाएका थिए। हनुमान ढोका क्षेत्रमा चौतर्फी सैनिक सतर्कताअघि बढाइएको र प्रहरीले जनतालाई त्यहाँ प्रवेश गर्न रोक लगाएको थियो। त्यति हुँदाहुँदै पनि सवारी अगाडि बढ्ने बित्तिकै नारा लागेको थियो। सवारीको पछिपछि नारा लगाउँदै युवाहरूको जमातअघि बढेको थियो। उनीहरूले खासगरी ज्ञानेन्द्र र उनका छोरा पारस विरोधी नारा लगाएका थिए। त्यसको लगत्तै नयाँ सडक गेट, वीर अस्पताल, रत्नपार्क, बागजार, दरबारमार्ग, पुतलीसडक, नयाँ बानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, चाबहिललगायतका स्थानमा आक्रोशित युवाहरूले विरोध प्रदर्शन गरेका थिए। त्यसैको फलस्वरूप अपरान्ह ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएर स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। त्यति हुँदाहुँदै पनि नागरिकहरूले कर्फ्र्यूको अवज्ञा गरेका थिए। विभिन्न स्थानमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिएको थियो। उक्त घटना क्रममा केही व्यक्तिहरूको ज्यानसमेत गएको थियो।त्यतिबेलाका पत्रिकामा चार जनाको मृत्षु भएको र दर्जनौँ घाइते भएको बताइएको छ। बिचराहरुको ज्यान यत्तिकै खेर गएको छ। त्यतिबेला कान्तिपुरमा छापिएको समाचार पढ्नुस्
१०) मास्क लगाएकोले हत्या गर्न सक्दैन : विवेक शाह
घटना हुनुको पछाडि के के कारण हुनसक्छन् भन्ने विषयमा विस्तृत छानबिन हुनुपर्ने पूर्व सैनिक सचिव विवेक शाह बताउँछन् आफ्नो पुस्तकमा। यस्तै माग जनताले पनि अनि नेताहरुले पनि वर्षौँदेखि गर्दै आएका हुन्। देशीविदेशी शक्ति केन्द्रको, दीपेन्द्रलाई उकास्ने व्यक्ति, उनलाई लागू पदार्थको कुलतमा फँसाउने गिरोह आदिको अनुत्तरित प्रश्न खोज्नु पर्ने माग उनको पुस्तकमा छ। जनताको भने एउटा अर्को प्रश्न पनि छ- ज्ञानेन्द्रले आफ्नो शासनकालमा गोली चलेको त्रिभुवन सदन किन भत्काउन आदेश दिए ? किन घटनास्थल अहिले भग्नावशेषमा परिणत गराइयो ? पुस्तकमा यसको उत्तर छैन। बरु केही हल्लाको खण्डन गरिएका छन्। मास्क लगाएर अरु कसैले हत्या गरेको होला भन्ने आशंकालाई उनले खण्डन गर्दै दरबारमा कडा सुरक्षा हुने भएकोले (सैनिक सचिव भएकोले उनी सुरक्षाको जिम्मेवारी लिनुपर्ने मानिस हुन्) कोही बाहिरिया मानिस त्यहाँ त्यसरी मास्क लगाएर हतियार ल्याउनै नसक्ने तर्क गर्छन्। तर उनले दरबारभित्र युवराज र अरु राजपरिवारका सदस्यलाई लागू पदार्थ कसरी सप्लाइ हुँदो रहेछ भन्ने बारे केही बताउन सकेका छैनन्। लागू पदार्थ जस्तै हतियार आयो कि ? लागू पदार्थ भित्री मानिसले ल्याए सरह मास्क पनि दरबार भित्रैकाले लगाएर प्रयोग गर्न सक्छन् कि सक्दैनन्- यस्ता प्रश्नको जवाफ पुस्तकमा पाइँदैन। थप पढ्नुस्
हत्याकान्डपछि नारायणहिटी दरबारमा खिचिएका केही फोटोहरु हेर्नुस्-
mysansar.com
Bata
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment