नबिना र दिपक अखिलमा भिड्दै

२७ माघदेखि काठमाडौँमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२ औँ राष्ट्रिय महाधिवेशन हुँदैछ । यसपटक अध्यक्षको उम्मेदवार काभ्रेबाट छन् । नेकपा (एमाले)को जुझारु विद्यार्थी संगठनका रुपमा स्थापित र ८ लाख सदस्य रहेको संगठनले १ हजार दुई सय प्रतिनिधि छानिसकेको छ भने अरु पाँचसय प्रतिनिधि छानिने क्रममा छ । अहिलेका उपाध्यक्ष दीपक गौतम पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट अध्यक्षका उम्मेदवार छन् भने महासचिव नवीना लामालाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहबाट आधिकारिक रुपमा अध्यक्षमा सारिएको छ । दुवै काभ्रेको एउटै भूगोल र इलाकाका हुन् । दुवै लामो समयदेखि अनेरास्ववियुमा सक्रिय छन् । कसरी उनीहरु कम्युनिष्ट बने अनि एमालेको जुझारु संगठनको अध्यक्षको दाबी गर्ने हैसियतमा पुगे ? 

कविताले मलाई कम्युनिष्ट बनायो
दीपक गौतम
दीपक गौतम, उपाध्यक्ष, अनेरास्ववियु
दीपक गौतम काभ्रेको गोठपानी अर्थात् कोसीपारी ०४३ मा जन्मिएका हुन् । विद्यालय तहको अध्ययन कोसीपारीबाटै पूरा गरेका गौतम कक्षा–७ मा अध्ययन गर्दा नै अनेरास्ववियुको राजनीतिमा होमिएका हुन् । कक्षा–९ मा अध्ययन गर्दा उनी जिल्ला कमिटी सदस्य निर्वाचित भएका थिए । उनी जिल्ला कमिटीको सहसचिव, उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारीमा काभ्रेको अनेरास्ववियुमा रहे । ‘जंघार तर्न खुट्टा कमाउनु हुँदैन’ भन्ने मान्यता राख्ने उनी सानैदेखि साहसिक काम गर्न बढी रुची राख्थे । अनेरास्ववियुको १७ औँ सम्मेलनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका उनी निरन्तर केन्द्रीय कमिटीमा छन् । उनी अनेरास्ववियुको १८ औँ र १९ सम्मलेनबाट केन्द्रीय कमिटीमा निर्वाचित भए । त्यही कार्यकालमा बागमती विशेष व्युरोको समेत जिम्मेवारी सम्हालेका उनी २० औँ सम्मेलनबाट कोषाध्यक्षमा निर्वाचित भए । २१ औँ सम्मेलनबाट उपाध्यक्ष निर्वाचित भएको गौतम अहिले अध्यक्षका प्रत्यासी छन् ।
राजनीतिक पृष्ठभूमि परिवारमा हुर्किएका गौतमलाई सुरुमा राजनीतिको रंग परिवारमा आवतजावत गर्ने राजनीतिक पृष्ठभूमिकै व्यक्तिबाट चढेको हो । बालमस्तिष्कमै उनमा कम्युनिष्टप्रतिको मोह गतिलोसँग बस्यो । अनि न उनले कम्युनिष्ट राजनीति छाड्न सके न उनलाई नै कम्युनिष्ट राजनीतिले छाड्ने आँट ग¥यो । बागबजारको एक होटलमा केहीबेर आफ्नो जीवन र राजनीतिका उतारचढावबारे बेलिविस्तार लगाउने क्रममा उनले निकै रोचक कहानी सुनाए । उनलाई राजनीतिप्रतिको आकर्षण बढ्नुको अर्को कारण उनी कविता प्रतियोगितामा प्रथम हुनु पनि रहेछ । ‘कवि थिइनँ, कविता लेख्न पनि आउँदैनथ्यो, तर मेरो कविता प्रथम भयो,’ उनले भने, ‘सायद त्यो कविता पुरस्कृत नभएको भए कम्युनिष्ट राजनीतिप्रति बढी आकर्षित नहुने पो थिएँ कि ?’
कक्षा–७ मा अध्ययन गर्दा राजनीतिमा तानिएका गौतम अनेरास्ववियुमा उपाध्यक्ष छन् । तर, त्यो उनको यात्रा काँडाघारीको भन्दा पनि कठिन छ । पटकपटक मृत्युको मुखमा पुगेर फर्केका गौतम एकपटक सगरमाथाको शिखरमा पुगेर झण्डा गाडेरै फर्किने चाहमा छन् । राजनीतिमा लाग्दा दर्जनौँ चुनौति सामना गरेका गौतमको जीवनमा सधैँ घोचिरहने घटना हो, काभ्रेको तालढुंगा घटना । १६ पुस ०६४ मा काभ्रेको तालढुंगामा अनेरास्ववियुको भव्य कार्यक्रम थियो । उनी त्यतिबेला अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य थिए । सुस्ता बचाउ अभियानबाट त्यही कार्यक्रममा सहभागी हुन हेटौँडाको बाटो हुदैँ त्यहाँ पुगे ।
काभ्रेको सदरमुकामबाट हिँडेर जाँदा करिब १९ घण्टा लाग्ने त्यो ठाउँको कार्यक्रममा उनी सहभागी भए । तर, त्यो कार्यक्रम उनका लागि जीवनमा घोचिरहने कार्यक्रम बन्यो । माओवादीको जगजगी रहेका बेला, वाइसिएलकै क्याम्पनजिक भएको कार्यक्रमको समापनतिर सयौँका संख्यामा लडाका आए । भाग्न सक्नेहरु भागे, माफी माग्नेहरुले मागे । तर, गौतम युद्धमोर्चामा खटिएको सिपाही जसरी ती आपराधिक जत्थासँग पिठ्युँ फर्काएर भागेनन् । उनीहरुले भाला, खुकुरीलगायतका घरेलु हतियार गौतमका शरीरमा निरन्तर प्रहार गरे । अन्तिममा मरे भनेर सिस्नोको झ्याङमा मिल्काइएका गौतमलाई अनेरास्ववियुको केन्द्रीय नेतृत्वले रेस्क्यु गरेर राजधानी ल्यायो । ‘मलाइ त्यो घटना अहिले पनि चलचित्रको दृष्यजस्तो लाग्छ,’ एकछिन भावुक भएर गौतमले भने, ‘विद्यालयमा कोठाभित्र बन्दी बनाएर मार्ने अन्तिम तयारी भएपछि त्यतिबेला टाउकोबाट बगिरहेको रगत हातले छोप्दै मार्ने भए कोठामा होइन, खुला चौरमा लगेर मार भनेको मात्र याद छ । गाउँभरिका महिला आमादिदी हातमा हँसिया–खुकुरी बोकेर रणमैदानमा आएपछि अपराधीहरु भगेछन् । पछि होस खुल्दा काठमाडौँको शिक्षण अस्पतालस्थित बेडमा थिएँ ।’ उनी करिब एक महिना उपचारपछि घर फर्किए ।
००००००००००००००००००००००००००००००००००००००००
निर्मल लामाको प्रेरणाले कम्युनिष्ट बनेँ
नवीना लामा, महासचिव, अनेरास्ववियु
नवीना लामा, महासचिव, अनेरास्ववियु
नवीना लामा काभ्रेको मदनकुँडारीमा ०४० मा जन्मिएकी हुन् । कक्षा–६ मा अध्ययन गर्दादेखि नै अनेरास्ववियुको राजनीतिमा होमिएकी लामा अनेरास्ववियुको महासचिव छिन् । अनेरास्ववियुको इतिहासमा दोस्रो पटक महिला अध्यक्ष बन्ने तयारीसहित २७ माघबाट हुने अनेरास्ववियुको २२ औँ सम्मेलनमा अध्यक्षको प्रतिस्पर्धामा उनी मैदानमा छिन् । १२ वर्षको उमेरमै विद्यालय तहको अध्ययनमै राजनीतिमा होमिएकी नवीना निरन्तर राजनीतिमा लागेका २० वर्ष पूरा भइसकेको छ । विद्यालयतहमै अध्ययन गर्दा नवीनाले विभिन्न जिम्मेवारीसहित अध्यक्षसम्म भएकी थिइन् । जिल्ला कमिटीको नेतृत्वमा प्रवेश गरेपछि पनि सदस्य, कोषाध्यक्ष हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्न पुगिन । राजनीतिमा शिखर चढ्ने क्रममा उनी राजधानी प्रवेश गरिन् । बानेश्वर क्याम्पसम उनको उच्चशिक्षाको अध्ययन सुरु भयो ।
अध्ययनकै क्रममा उनी त्यस क्याम्पसमा पनि विभिन्न जिम्मेवारीसहित काम गर्दै अघि बढिन् । उनी ०६० को स्ववियु निर्वाचनमा बानेश्वर क्याम्पसको सचिव निर्वाचित भइन् भने ०६२ को निर्वाचनमा सभापति । सभापति निर्वाचित भएपछि अनेरास्ववियुमा उनको झन पहुँच बढ्दै गयो । उनी अनेरास्ववियुको १४ औँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद सदस्य (रापस) निर्वाचित भएकी थिइन् भने १५ औँ र १६ औँबाट पनि रापस नै निर्वाचित भइन् । १७ औँ सम्मेलनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भइन् । १८ औँमा उनी सचिवालय सदस्य निर्वाचित भइन् भने महिला विभाग प्रमुखको समेत जिम्मेवारी सम्हालिन् ।
उनी फेरि १९ औँ राष्ट्रिय सम्मेलनबाट पनि सचिवालय सदस्यमै निर्वाचित भइन् । उनले १९ औँ राष्ट्रिय सम्मेलनबाट प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालिन् । जनकपुरमा भएको २० औँ राष्ट्रिय सम्मेलनबाट उनी सचिवालयबाट एकैचोटी उपाध्यक्षको जिम्मेवारीमा पुगिन् । काठमाडौँमा सम्पन्न २१ औँ सम्मेलनबाट उनी पार्टी र संगठनको आग्रहमा एक पद घटुवा भएर महासचिवको उम्मेदवार बनिन् । झिनो मतले उम्मेदवार रचना खड्कालाई पराजित गर्दै लामा महासचिव निर्वाचित भइन् ।
२२ औँ सम्मेलनबाट अध्यक्षको प्रतिस्पर्धा गर्ने तयारीमा रहेकी लामा कम्युनिष्ट राजनीतिमा हुर्किएकी महिला हुन् । उनको घर कम्युनिष्ट आन्दोलनका हस्ती निर्मल लामाको ‘सेल्टर’ थियो । नवीनाको घर लामाको ‘सेल्टर’ भएपछि स्वाभाविकैरुपमा उनको परिवार पनि कम्युनिष्ट राजनीतिप्रति आकर्षित भयो । नेताहरुको आवतजावत नविनाको घरमा बाक्लै हुन्थ्यो । उनीहरुबीच राजनीतिक छलफल हुन्थे । विस्तारै नवीना पनि त्यही राजनीतिक वातावरणतिर आकर्षित भइन् । उनको बुबा पनि भूमिगतकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय थिए । त्यसले पनि नवीनालाई राजनीतिप्रति आकर्षित हुन थप सहयोग ग¥यो । ‘मलाई पहिल्यैदेखि कम्युनिष्ट पार्टीको नीति, विचार र कार्यक्रम मन पथ्र्यो,’ उनले कम्युनिष्ट बन्नुको पृष्ठभूमिबारे बताइन्, ‘गरिब र पिछडिएका समुदायको मुक्तिका लागि पनि कम्युनिष्ट पार्टीकै कार्यकर्ता बन्नुपर्छ भन्ने सोच ममा थियो ।’ आफू अनेरास्ववियुमा निकै कष्टपूर्ण संघर्ष गरेकी महिला भएको भन्दै नवीनाले हरेक महिलालाई संघर्षका पहाड फुटाएर अघि बढ्न आग्रह गरिन् । ‘राजनीतिमा खुट्टा तान्ने धेरै हुन्छन्, समस्या पर्दा कहिलेकाहिँ एक्लै पनि हुनुपर्छ,’ उनले भनिन्, ‘त्यस्तो बेला हिम्मत हारेर मैदान छाडेर भागियो भने सफलता प्राप्त गर्न सकिन्न । सफलता प्राप्त गर्न संघर्ष गर्नुपर्छ ।’ उनले इमानदार र सज्जन मानिस कहिल्यै असफल नहुने तर्क गरिन ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment