कला सस्कृती हाम्रा चिनारी हुन संरक्षण गरौ जि.सी.

11953526_10201048139801524_8764221949242963466_o

पर्वतमा जन्मिएर पनि म्याग्दीलाई कर्म क्षेत्र बनाएका म्याग्दीमा शिक्षण पेशा सँगै लोक दोहोरी गीतमा लामो अनुभव हाँसिल गरेका । सञ्चार क्षेत्रमा पनि पाइला हालेर अहिले शिक्षण पेशामै रहेका म्याग्दी जिल्ला र म्याग्देली संगीतलाईमायाँ गर्ने नाम हो कृष्ण जिसी । म्याग्दीका प्रकाश पौडेल, किरण सापकोटा र कृष्ण जिसीले म्याग्दीको प्रतिनिधित्व गर्दै धेरै राष्ट्रिय प्रतियोगीतामा सहभागिता जनाउदै थुप्रै अवार्डहरु हात पारे । उनै म्याग्दीको संगीत क्षेत्रमा अहोरात्र खटेका जिसीसँग अमृत बास्कुनेले गरेको कुराकानीः

नेपाली सांगीतिक क्षेत्रमा पाइला किन चाल्नुभयो ?
मानिसलाई हजारौ लाखौ कुराहरु मन पर्न सक्छन तर ३ वटा यस्ता चीज छन् जो प्रत्येकलाइ मन पर्छन, संगीत, फुल र बच्चा । हरेक पल गुनगुनाउने मेरो पहिले देखि कै बानी हो । कहिले काही आमाले खाना खाने बेलामा मुखमा गास राखेर पनि गाउँदा बेसरी गालि गर्नुहुन्थ्यो । मेरो हातमा मुरली हमेसा हुन्थ्यो पछि गएर रुची बानीमा बदलियो बानी अहिले सम्म पनि छँदै छ ।
कसको प्रोत्साहनबाट यो क्षेत्रमा आउनुभयो ?
गाउँमा बिहे, भजन हुँदा आमाको पछ्यौरा बोकेर एक्लै राति राति बाजा बजेको ठाउँमा पुग्ने मेरो बानी थियो । घरमा हजुरबुवा धार्मिक हुनुहुन्थ्यो उहाँले एकतारे बजाउँदै भजन गाउनुहुन्थ्यो । स्कुल पढ्दा कहिल्यै पनि भाग लिन पाइएन किनकि मलाइ थाहा भए सम्म स्कुलमा गाउने कार्यक्रम भएनन् तर मलाई एसएलसी पास गरेपछि लेखफांट १ का रुद्र गुरुङ दाइले गीत गाउदै गरेको सुनेर सालिजामा श्रीपुको मेला छ, त्यसमा दोहोरी गीत प्रतियोगीता छ, तिमि भाग लिन आउ भन्नु भयो, त्यहा गाएँ तर पुरस्कार पाइएन । पछि गाउँमा हुने अन्य मेलामा गाउदै गएँ थाल, गिलास, कचौरा, कतै कतै नगद समेत पुरस्कार पाउन थालें, त्यसैले मैले रुद्र गुरुङ दाइ लाइ नै बाटो देखाइदिने मान्छे मान्छु । ओख्रेनीको ज्योति युवा क्लब र त्यसका साथी लिल पुन, जस चोचांगी, भिम पुर्जा लगायत साथीहरुले सहयोग र साथ थियो ।
तपाईको परिवार कुन क्षेत्रमा र हजुर यो क्षेत्रमा किन ?
मेरो परिबारमा वुवा, आमा अझै पनि खेतीपाती गर्नुहुन्छ, उहाँहरु मैले गीत गाउने काम गर्दा साह्रै डराउनुहुन्थ्यो उहाँहरुलाई म बिग्रने कुरामा डर थियो । गीत गाएर को बिग्रन्छ र नाम दाम दुवै हुन्छ भनेर मैले भन्थे । एसएलसी पास गरेको धेरै वर्ष सम्म गरिबीका कारण मैले क्याम्पस पढ्न सकिन । लाहुरे हुन धेरै पटक भारत पुगियो, नेपालमा पनि धेरै ठाउँ कुदियो तर उपलब्धि भएन । पछि २०५१ सालमा म्याग्दीको पहिलो बोर्डिंग स्कुल लोकदीपमा संगीत शिक्षकको रुपमा मास्टरी गर्न थालें तैपनि क्याम्पस पढ्ने रुची थिएन । पछि तत्कालिन म्याग्दी क्याम्पसका प्रमुख कृष्ण पौडेलले मलाइ पढाई निरन्तर गर्न प्रेरणा दिनुभयो । देवी सुबेदीसंगको प्रेमप्रसँंग कस्तो संयोग उनि पनि गीतसंगीत र पढाइप्रति निकै रुची राख्ने रहिछन अनि २ वर्षको प्रेम पछि हामी बिबाह ग¥यो त्यसपछि एकै टिमबाट दोहोरी गाउन हिडियो । अहिले मेरा छोरी छोरा दुवै गाउन नाच्न निकै रुची राख्छन छोरी २०७१ सालमा नेपाल टेलिभिजनको प्रतिभाको आगनमा फाइनल सम्म पुगिन ।
 अहिले सम्म कति गीतमा स्वर दिनुभएको छ ?
मैले २०५० सालमा रेडियो नेपालको राष्ट्रिय लोकगीत सम्मेलनमा पहिलोपटक भाग लिएको थिए तर रेकर्ड भने २०५५ सालमा मात्रै गरेको हुँ । अहिले सम्म लोक दोहोरीगीत, लोक भजन, तीज गीत गरी जम्मा १६ वटा गीत रेकर्ड गरेको छु । म ७ वर्ष सम्म देश बाहिर रहेका कारण निरन्तरता दिन सकिन । २०७१ सालमा नेपाल फर्के पछि २ वटा गीत रेकर्ड गरेकोमा एउटा बजारमा आयो अर्को आउने तर्खरमा छ ।
तपाई गीतमा स्वर मात्र दिनु हुन्छ कि शब्द र संगीत पनि गर्नुहुन्छ ?
मैले गाउछु, लय बनाउँछु र सब्द पनि लेख्छु तर अहिले राम्रा शब्द लेख्ने गीतकार पनि छन् त्यसैले आउने गीत मैले अरुलाई लेख्न लगाएको छु । यस बाहेक मैले बाजा पनि बजाउछु, मेरा प्रिय मित्र लिल पुन र जीत पुनको सहायतामा लोकगीतको एरेन्ज पनि गर्न थालेको छु ।
अहीले सम्म कुनै गीतले केही अवार्ड पाएका छन् ?
अवार्ड भने मेरा गीतले पाएका छैनन् । मैले विदेश जानु अगाडी गाएको सारा सपना भयो अधुरो भन्ने गीत धेरैले मन पारेको गीत हो । त्यो गीतको रोयल्टी एक पैसा पनि पाएको छैन तर दोहोरी र लोकगीत प्रतियोगितामा भने राष्ट्रिय स्तरमा प्रथम, द्धितृय, तृतीय सान्त्वना सम्म भएको छु ।

तपाईले स्वर दिएर रेकर्ड भएको पहिलो गीत कुन थियो ?
म र मेरा मित्र लिल पुन ले २०५५ सालमा म्युजिक नेपालमा रेकर्ड गराएको गीत हुन्छ भेट भन्ने हो जसको संगीत संयोजन स्व. गणेश परियारले गर्नु भएको थियो भने शब्द र लय हामी दुईको थियो । त्यो गीत हाम्रो भेग तीर चल्यो गाउने मान्छे भनेर चिनायो रोयल्टी म्युजिक नेपालले अहिले सम्म दिएको छैन । २÷४ पटक म म्युजिक नेपाल गएँ तर वास्ता नै गरेन । नाम अलि अलि भयो दाम त्यस्तै हो म्युजिक नेपालले नै जानोस ।
म्याग्दी जिल्लामा लोक दोहोरीको दोश्रो पुस्तालाई यहाँले धान्नु भयो त्यो समय कस्तो थियो ?
गीत गाउँछ, रेडियोमा बोल्छ भनेर धेरैले चिन्छन तर मेरो परिचय पर्बतमा छैन । म्याग्दीमा २०५१ साल देखि दोहोरी गाउन थालेको तैपनि कतिपय ठाउँ र परिस्थितिमा पर्बतको हो भनेर भनिने हँुदा न यता न उताको महसुष गर्थेँ । तैपनि म्याग्दीमा धेरै बसेको हुँदा म्याग्दीका प्रतियोगीता र जिल्ला बाहिर जादा म्याग्दी कै प्रतिनिधित्व गरेर गएँ । सिंगा तातोपानीको फागु पुर्णिमा मेला, बरंजाको धुले मेला, बाग्लुंग, पर्बत, म्याग्दी, बुटवल, कास्की महोत्सबमा म्याग्दी कै प्रतिनिधित्व गर्दै गाइयो । बुटवल औधोगिक मेला, पोखराको दिपेन्द्र सभागृह अनि स्व. मिन बहादुर बिस्वकर्माको पहलमा अनाथ वालवालिकाको सहयोगार्थ दिपेन्द्र सभागृहमा, लेखनाथ, पाल्पा, काठमान्डू रास्ट्रिय नाचघरमा म्याग्दी कै प्रतिनिधित्व गरियो । कतै पुरस्कृत त कतै सहभागिता मात्रै रह्यो ।

म्याग्दीको प्रतिनिधित्व गरेर जादा बिरबहादुर कार्की, नरबहादुर बिसी, धनकुमारी थापा, कृष्णदत्त पौडेल ध्रुब बानियाँका नामले म्याग्दीलाइ चिन्थे, पछी किरण सापकोटा, प्रकास पौडेल, कृष्ण जिसी, देवी जिसी, याम कुमारी घर्ति धेरै पटक एकै टिम बाट गाउथ्योै अनि म्याग्दीका हाम्रा अग्रजको साख केही मात्रामा भएपनि जोगायौ किन कि हाम्रो प्रतिनिधित्व सफल र सम्मानजनक नै रह्यो ।
अहिलेको गीतसंगित कस्ता छन् ?
यो चै अल्ली गाह्रो सवाल हो अमृत जी, किन कि मलाइ के लाग्छ भने गीतसंगीतमा आएको व्याबसायिकताले यथार्थवादी गीत, मौलिकता, मर्म मरेको छ । रुने, बिछोड पीडा, कमजोर मानसिकता बोकेका गीत सुनिन्छन हुनत मैले पनि एक दुइ वटा त्यस्तै गएको पनि छु तर अहिले त बिहान गीत सुनेर दिउसो काम गर्ने जोस चल्दैन बेलुका गीत सुन्दा रात् नै खल्लो जस्तो लाग्छ । अनि अर्को कुरा गीतको ब्याकरण नै छैन बोल अनुसार मात्रा कतै कम त कतै बढी छन् । टपक्क टिपेर गाउन सकिदै सकिन्न । मैले चर्चित संगीतकारलाइ सोधे (नाम नखोलौ) किन यस्ता गीत पनि एरेन्ज गर्दिनुहुन्छ भन्दा हाम्रो के जान्छ र हामीलाई एउटा गीत एरेन्ज गरे बापत ५÷६ हजार आइहाल्छ चले चालोस न चले नचलोस । म्युजिक कम्पनिको पनि जवाफ उस्तै पाइन्छ । गीत त यस्ता भए की लोकगीत हुन् कि आधुनिक हुन् । गफमा बाजा बजाएको हो कि के हो के हो ? कसले नियन्त्रण गर्ने ?
अन्त्यमा केही भन्नु छ कि ?
मलाई कुराकानीको लागि अवसर दिनु भयो यहा र नवविकल्प पत्रिकालाई धन्यबाद । म सबैलाई के जानकारी गराउन चाहन्छु भने म लोक दोहोरीको क्षेत्रमै छु हराएको छैन । अहिले अध्यापन गराउँछु फुर्सदको समयमा लोकगीत एरेन्ज गर्छु गीत लेख्छु गीतसंगीत मेरो जीनको पाटो हो यसलाई छोड्ने सकिन्न । व्यवसायिक रुपमा गीत चल्ला नचल्ला त्यो अर्कै पाटो हो म ठेट र यथार्थवादी गीत गाउने कोसिस गर्नेछु । पर्बतमा जन्मेर पनि मैले म्याग्दीमा धेरै समय बिताएको छु म्याग्दीको माटो संग मन साटेको छु, यहाको सालैजो, यानीमाया, सुनियामा, मारुनी, सोरठी, ख्याली सुनेको देखेको छु । त्यसैले कला संस्कृत तपाई हाम्रा चिनारी हुन् यसलाई मर्न दिनुहुदैन, संरक्षण गर्ने नाउमा कतै मौलिकता गुम्न दिनु हुँदैन भन्ने मेरो मान्यता हो ।

अहिले भने दोहोरी गाउने माहोल कम भएजस्तो लागेको छ । गत म्याग्दी महोत्सबमा मलाइ निर्णायक बनाइयो । मलाइ निर्णायक बन्ने बेला भैसकेको छैन कि भने लागेको थियो । एक पटक अझै आफ्नै आगनमा भएको महोत्सबमा दोहोरी गाउन मन थियो तर महिला कलाकार (गायीका) पाइएन । कतिपयले काठमान्डु पोखराबाट गायिका बोलाएर टिम बनाउनुस पनि नभनेका होइनन तर मलाइ त्यो मन परेन अनि निर्णायक नै बसें । त्यति बेला म्याग्दीका टिम जति थिए ति सबै म्याग्दीका कलाका थिएनन । नाम म्याग्दी तर कलाकार बाहिरका अनि मलाइ लाग्यो साचिकै दोहोरीको जिल्ला भनेर चिनिने म्याग्दीमा कलाकारको अभाब नै हो त त्यसैले अझै पनि लाग्छ दोहोरी गाउने कलाकार हामी भन्दा पछी नभएकै हुन् त ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment