कोरला नाका भारत र चीन जोड्ने उपयुक्त विकल्प

rabindra-adhikari-
मुस्ताङको छोसेर गाविसमा पर्ने कोरला नाका दुई छिमेकी राष्ट्र भारत र चीनलाई जोड्न उपयुक्त विकल्प भएको संसदीय टोलीले निष्कर्ष निकालेको छ ।
लामो समयदेखि बन्द अवस्थामा रहेको नाकाको स्थलगत अध्ययनका लागि गएको व्यवस्थापिका–संसद्अन्तर्गत विकास समितिले यस्तो निष्कर्ष निकालेको हो ।
बुधबार सदरमुकाम जोमसोममा आयोजित अन्तरसंवाद कार्यक्रममा समितिका सभापति रवीन्द्र अधिकारीले दुई देशलाई जोडेर त्यसबाट फाइदा लिन नाका उपयोगी हुने देखिएको बताए ।
सुरक्षाको कारण देखाउँदै चिनियाँ पक्ष सहमत नभएपछि करिब १२ वर्षदेखि नाका बन्द अवस्थामा छ । नाकालाई प्रयोग गर्दै तिब्बतबाट धार्मिक गुरुहरु भारत लगायतका देशमा प्रवेश गर्ने र उपल्लो मुस्ताङमा खम्पा विद्रोह भएका कारण चिनियाँ पक्षले नाकालाई संवेदनशील मान्दै आएको छ ।
‘यहाँसम्म आधारभूत रुपमा सबै कुरा पुगेको पाइयो, अब त्यसलाई स्तरोन्नति नै मुख्य कुरा हो’-  सभापति अधिकारीले भने- ‘केही स्थानमा सडकको स्तरोन्नति गर्नुपर्ने देखिएको छ, त्यसका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन पनि दिनेछौँ ।’
टोलीले सीमा क्षेत्रमै पुगेर सडक र नाका आसपासको भूगोलको अवस्था अध्ययन गरेको थियो । सीमा क्षेत्रसम्म कालीगण्डकी करिडोरअन्तर्गत सडकको पहुँच पुगे पनि जोमसोमदेखि माथिल्लो खण्डमा थुप्रै ठाउँमा सडकको व्यापक स्तरोन्नति गर्नुपर्ने देखिएको छ ।
सडक डिभिजन कार्यालयका इन्जिनियर पनि टोलीमा सहभागी रहेका कारण आवश्यक अध्ययन र बजेट व्यवस्थापनका लागि सरकारलाई थप निर्देशन दिने समितिले जनाएको छ । नाका सञ्चालन हुने बित्तिकै सिधै सम्बन्ध सुनौली नाकासम्म हुने भएकाले पश्चिमाञ्चल विकास क्षेत्रका लागि बढी फाइदाजनक भएको सभापति अधिकारीले जानकारी दिए ।
नाका सञ्चालनकै लागि लामो समयदेखि सदरमुकाम जोमसोममा रहेको सीमा प्रशासन कार्यालय र नेचुङ भन्सार कार्यालय पनि उपल्लो मुस्ताङमा पुनस्र्थापना गरिएको छ । सीमामा भन्सार कार्यालयलाई केही मात्रै व्यवस्थित गरिए पुग्ने देखिएको छ ।
सिमाना नजिकै चिनियाँ पक्षले भने सुरक्षा क्याम्प खडा गरेर सुरक्षा निगरानी बढाएको छ भने नेपाली पक्षबाट त्यसो हुन सकेको छैन । भारतीय नाकाबन्दीका कारण देशभर इन्धन, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको चरम अभाव भइरहेको सन्दर्भमा तत्काल नाका सञ्चालन गर्न स्थानीयवासीले पनि माग गरेका छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment