अब सरकारी गाडीलाई पनि लिफ्ट दिन बाध्य पार्छौं

LIFT-ANNFSU१६ मंसिर, काठमाडौं । अनेरास्ववियुका उपाध्यक्ष ऐन महरले बुधवार बनस्थलीबाट बागबजार आइपुगुन्जेल बाटोमा चार जनालाई आफ्नो मोटरसाइकलमा लिफ्ट दिए ।
मोटरसाइकलको अगाडि ‘म तपाईलाई लिफ्ट दिन्छु’ भन्ने स्टिकर टाँसेका छन् महरले । उनी आफैं अखिलको कार्यवाहक अध्यक्ष भएकाबेला दुई दिनअघि लिफ्ट लिने र दिने अभियानको शुरुवात गरेका हुन् ।
अखिलको लिफ्ट दिने अभियानका क्रममा काठमाडौं उपत्यकामा मात्र दैनिक ३ हजारसम्म सर्वसाधारणले मोटरसाइकल र गाडीमा लिफ्ट पाएको दावी उपाध्यक्ष महरको छ ।
Ain-Mahar
ऐन महर
‘हाम्रा करीव ५ सय कार्यकर्ता उपत्यकामा लिफ्ट दिने अभियानमा छन् । बाटो परेको ठाउँमा प्राथमिकता हेरेर हामीले लिफ्ट दिएका छौं,’ महरले भने, ‘देशैभरि ५ हजार कार्यकर्ताले दैनिक लिफ्ट प्रदान गरिरहेका छन् ।’
अनेरास्ववियुका नेता कार्यकर्ताले मात्र लिफ्ट दिएर काठमाडौंका यात्रुको कष्ट समाधान नहुने भएकाले अब सरकारलाई ध्यानाकर्षण गराउने तयारी अखिलले गरेको छ ।
महरले भने, ‘हामी सरकारका मन्त्रीहरुलाई र उच्च अधिकारीहरुलाई भेटेर सरकारी गाडीमा पनि लिफ्ट दिन आग्रह गर्दैछौं । सरकारका प्रवक्ता शेरधन राईले उदघाटन गरेको यो अभियान अब अखिलको मात्र रहेन ।
नेपालीहरु मुलुकलाई संकट परेका बेला एकले अर्कोको संकटमा साथ दिन तयार छन् भन्ने भावनात्मक एकताको सन्देश दिन पनि लिफ्ट दिने अभियानलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।
सबैले लिफ्ट दिने अभियान चलाउने हो भने जनताको संकट कम हुने र असुरक्षित छतको यात्रा पनि कम हुने अखिलको ठहर छ ।
पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकाबेला अखिलले इन्धन अभावबाट दुःख पाएका जनता सरकारसँग आक्रोशित नहुन् भनेर पनि लिफ्ट अभियानलाई अघि बढाएको हो ।
अखिलका कार्यकर्तालाई आफ्नो मोटरसाइकलमा म लिफ्ट दिन्छु भन्ने स्टिकर अनिवार्य टाँस्न निर्देशन दिइएको छ । लिफ्ट दिने मात्र होइन लिने अभियान पनि सँगै चलाइएको उनले बताए ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment