म्याग्दी क्याम्पसको क्याम्पस चिफ नियुक्तिको नालीबेली

क्याम्पस टिकाराम सापकोटालाइ स्वागत गर्दै अध्यक्ष हरिकुमार श्रेष्ठ 
अमृत बास्कुने
म्याग्दी जिल्लाको पहिलो सामुदायिक क्याम्पस म्याग्दी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तीलाई लिएर अहिले निकै चर्चा परीचर्चा भएको छ । विगत देखिनै राजनैतिक दलका निकटहरुको सञ्चालक समितिले काम गर्दै आएको र अहिले आएर बिविध राजनैतिक खिचातानीका कारण क्याम्पसमा नयाँ समस्या पैदा भएको भन्दा पनि फरक पर्दैन कि जस्तो देखिएको छ । तीन महिना लामो असोज देखि मंसीर सम्मको कसरत पछि नियुक्त भएका टिकाराम सापकोटाले पदभार ग्रहण गर्नु भन्दा पहिल्यै देखि सुरु भएको क्याम्पस प्रमुखको दौड र जोड घटाउ निकै रोचक भएर टुंगीएको छ । चिफको नियुक्ती संगै बाहिर बाट देख्दा टुंगीए जस्तो देखिए पनि भित्र भने आन्तरीक द्वन्द्व भने निकै उत्कर्षमा पुगेको देखिन्छ ।
के भयो त प्रकृया ?
म्याग्दी बहुमुखी क्याम्पसले क्याम्पस प्रमुख कृष्णबहादुर थापाको चार वर्षे कार्यकाल गत भदौ अन्तिम साता सकिएपछि नयाँ क्याम्पस प्रमुख चयन गर्नु पर्ने भएकाले खुल्ला प्रतिस्पर्धाका लागि ढिला गरी २०७२ असोज २४ गते विज्ञापन खुलाएको थियो । क्याम्पस प्रमुख थापाको कार्याकाल भदौ अन्तिम साता सकिए पनि असोजमा मात्र विज्ञापन खुलाइएको थियो ।
क्याम्पस भित्रै बाट प्रमुखको चयन गर्नु पर्ने भएकाले आन्तरीक रुपमै विज्ञापनको औपचारिकता गराइयो सुचना पाटीमै टाँसेर ।
चार जना भए उम्मेदवार
कार्तिक १५ गते सम्म प्रकृया पुरा गरेर उम्मेदवारी दर्ता गर्ने मिति तोकिएको थियो । क्याम्पसले तोकेको समय भित्र चार जनाले दावेदारी पेश गरेका थिए जो क्याम्पस प्रमुख हुनका लागि योग्य थिए । पूर्व क्याम्पस प्रमुख रामजी प्रसाद सुवेदी, सहायक क्याम्पस प्रमुख द्वय गोरखबहादुर जिसी तथा रेखाकौशल रेग्मी र उपप्राध्यापक टिकाराम सापकोटाले दावेदारी पेश गरे क्याम्पस प्रमुखका लागि ।
२० गते नै शिल भएको थियो प्रमाणपत्रहरु
क्याम्पस प्रमुखका लागि कार्तिक १५ गते सम्म परेका ४ वटै उम्मेदवारको सम्पूर्ण प्रमाणपत्र र कागजातहरु क्याम्पस सञ्चालक समितिको बैठकले २० कार्तिकमा सिल गरेर राखेको थियो । सञ्चालक समितिले क्याम्पस प्रमुखको चयन गर्ने सम्पूर्ण जिम्मेवारी पदपुर्ति समितिलाई दिने निर्णय गरेको थियो ।
राजनैतिक चलखेलको पहिलो कदम
पदपुर्ति समितिलाई जिम्मा दिए सँगै क्याम्पस सञ्चालक समितिका अध्यक्षले दलिय बैठक राखेर सर्वसम्मतीका आधारमा क्याम्पस प्रमुख चयनको निर्णय गर्ने प्रयास गरेका थिए । उक्त बैठकमा तीन ठूला दलहरुले आफ्ना दावेदारी पेश गरेका थिए । 
दलिय दावी
नेपाली काँग्रेसको नेतृत्वले आफ्नो निकट उम्मेदवार रेखा कौशल रेग्मी रहेको भएपनि पदपुर्ति समितिलाई जिम्मेवारी दिने र उनीहरुकै निर्णयलाई स्वीकार गर्नु पर्ने भनेको थियो ।
एमालेले सहमतिकै आधारमा विगतमा आफूहरुले छाडेको र अहिले सम्म क्याम्पस चिफ आफ्ना निकटकाले नपाएकाले यस पटक आफ्नो हुन पर्ने दाबी गरेको थियो । 
एमाओवादीले एमाले काँग्रेसले एक भएर प्रस्तुत भएको खण्डमा आफ्ना उम्मेदवारले अरु दुई पार्टीको साझा उम्मेदवारलाई समर्थन दिने भनेको थियो क्याम्पस सचालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले डाकेको दलिय बैठकमा ।
फर्कियो सञ्चालक र पदपुर्ति तिरै
दलिय बैठकले पनि निर्णायक कुरो निकाल्न नसकेपछि पुन सञ्चालक समिति र पदपुर्ति समितिले नै टुंगो लगाउन पर्ने भयो ।
यस्तो थियो १०० नम्बर पाउने काइदा
क्याम्पस सञ्चालक समितिले बनाएको थियो प्रमुख चयनका लागि केही कार्यविधिहरु । १०० नम्बरको हुने परिक्षामा ५० नम्बर आगामी चार वर्षमा आफूले क्याम्पसका लागि गर्ने कार्यक्रमहरुको प्रपोजल र त्यो प्रपोजलमा पनि लिखतलाई ३० र अन्तरवार्ताको दिनमा प्रपोजलको प्रस्तुतीलाई २० नम्बर दिने गरि प्रपोजलको ५० नम्बरलाई दुई भागमा बिभाजन गरिएको थियो । भने अर्को ५० नम्बर उम्मेदवारको प्रसासनिक अनुभवलाई १०, कार्य सम्पादन मुल्याङ्कनमा १०, उपल्लो योग्यता अन्तरगत एमफिल गरेकोलाई ३ र एमफिल सहित पिएचडी गरेकोलाई ८, शैक्षिक योग्यता १२, शैक्षिक अनुभव १० गरेर १०० नम्बर बनाएका थिए ।
उम्मेदवारी फिर्ता लिनेको दावी
मंसीर ७ गते प्रपोजल (कार्ययोजना)को प्रस्तुती थियो । कार्ययोजना प्रस्तुती भन्दा पहिला रामजीप्रसाद सुवेदीले आफ्नो दावेदारी फिर्ता लिए । सुवेदीले कुनै पनि कार्य गर्नका लागि पहिल्यै कार्ययोजना हुन पर्ने र परेको उम्मेदवारी हेरेर बल्ल छनौटका लागि नियम बनाउँदै दलिय भागवण्डालाई प्राथमिकतामा राखेको भन्दै उम्मेदवारी फिर्ता लिएको बताउँछन् । सुवेदी भन्छन् म्याग्दी क्यामपस चिफका लागि चार वर्ष पहिल्यै अर्को चिफ कसरी बनाउने भन्ने टुंगो हुन पर्ने हो र त्यो नहेरी अहिले बढि दलिय भागवण्डा देखिएकाले मैले फिर्ता लिएँ । उनले आफूले पहिला नेतृत्व गर्दा सुधार गरेको र आगामी दिनमा क्याम्पसको उन्नतीका लागि आफूले दावी पेश गरेको तर आफ्नो दावीलाई गलत तरिकाले हेरेकाले फीर्ता लिएको बताए ।
यस्तो रहेछ फीर्ताको कारण
रामजीप्रसाद सुवेदीको अभिव्यक्ति पछि उम्मेदवार हेरेर बनाएको कार्यविधिमा भएको खोटका बारेमा क्यामपस श्रोतले कार्यसम्पादन मुल्यांकन नभरेकाले पनि उनले पाउने कासमुको ६ नम्बर कम हुने भएकाले उनले फिर्ता लिएको बताउँछ ।
औपचारिकता अन्तरवार्ताको
बाँकी रहेका टिकाराम सापकोटा, रेखाकौशल रेग्मी र गोरखबहादुर जिसीले आफ्नो प्रस्तुती पेश गरे मंसीर ७ गते पदपुर्ती समितिका सदस्य र क्याम्पस प्रमुखको उपस्थीतीमा । पदपुर्ति समितिमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठ तथा कोषाध्यक्ष सोमनाथ ढुंगाना र बालकृष्ण सुवेदी थिए । प्रस्तुति तीन जना उम्मेदवारले गरे तर उनीहरुले गरेको प्रस्तुती कसैले सुनेका थिएनन पदपुर्ति समितिका तीनै जनालाई आफ्नो उम्मेदवारलाई कति सम्म नम्बर दिने र के भन्ने भन्ने चिन्ता थियो कि भन्ने भन क्याम्पस प्रमुख नियुक्ति पूर्व देखिनै देखिएको जोडघटाउ र उनीहरुको व्यवहारले देखाउँछ ।
बिबादको बिजारोपण
प्रस्तुतीकरण पछि तीनै जना पदपुर्ति समितिका सदस्यहरुले तीनै जना उम्मेदवारलाई गोप्य रुपमा नम्बर दिए । तीन जनाले दिएको नम्बरलाई एकमुष्ट रुपमा क्याम्पस प्रमुख कृष्णबहादुर थापाले उतारे । जोड्ने क्रममा जब एक जनाको नम्बर बढी आएको भन्ने उनीहरुले देखे तब बिबादको बिउ रोपीएको बुझीन आएको छ ।
नेपाली काँग्रेसको तर्फबाट रेखा रेग्मी, एमालेको तर्फबाट गोरखबहादुर जिसी र एकीकृत नेकपा माओवादीको तर्फका उम्मेदवारका रुपमा टिकाराम सापकोटा थिए । आन्तरीक रुपमा नेपाली काँग्रेस र माओवादीको एकता भएपछि एमालेलाई एक्ल्याउन खोजिएको एमाले निकट क्याम्पस सञ्चालक समितिका सदस्यको आँकलन छ ।
चिफको नियुक्ती गर्ने निर्णय
क्याम्पस सञ्चालक समितिले चयन गरेको पदपुर्ति समितिले निर्णय दिन नसकेपछि पुनः सञ्चालक समितिमा आइपुग्यो कहानी । सञ्चालक समितिमा सबैको आफ्नै दावी भएपनि एमाओवादी र नेपालीकाँग्रेस निकट सञ्चालक समितिको एलाइन्स पछि बहुमतका आधारमा एकीकृत नेकपा माओवादी निकट प्रध्यापक संघ क्रान्तिकारी प्रध्यापक संघ म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष समेत रहेका टिकाराम सापकोटालाई क्याम्पस प्रमुखमा चयन गरिएको निर्णय ग¥यो सञ्चालक समितिले । टिकाराम सापकोटा एमाले निकट प्रगतिशिल प्रध्यापक संघको संस्थापक सचिव हुन् म्याग्दी क्याम्पसको । एमाले निकट सञ्चालक समितिले कि सहमतीय आधारमा हुन पर्ने कि बिधि अनुसार हुन पर्ने दावि गरेका छन् । उनीहरुले बिधि सम्बत भएको खण्डमा अहिले नियुक्ती गरिएका सापकोटा चिफ हुन नसक्ने दावी गर्दछन् ।
नोटअफ डिसेन्ट
सञ्चालक समितिले टिकाराम सापकोटालाई एमफिल गरेको भन्दै धेरै नम्बर दिने काम गरेपछि एमाले निकट क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बालकृष्ण सुवेदी तथा सञ्चालक सदस्यहरु राजकुमार थापा, प्रेमबहादुर कार्की र हेमराज पौडेलले फरक मत जाहेर गरेका थिए । उनीहरुले कृष्णबहादुर थापाले क्याम्पस प्रमुखको कार्य सञ्चालन गरेको समयमा एक वर्ष एमफिल पढ्नका लागि भनेर बिदामा बसेको, एक वर्ष तीन पिरीयड पढाउन पर्नेमा दुई पिरीयड मात्र पढाएर तीन पिरीएडको तलब खाएर अनियमितता गरेकोले क्याम्पस सञ्चालक समितिको बैठक बाटै जरिवाना स्वरुप चार पिरीएड पढाउने तर तीन पिरीएडको पारिश्रमीक पाउने गरी कारवाही गरेको र उनको कारवाहीको अवधी गत कार्तिक मसान्त सम्म पनि जारी रहेकोले नीति गत रुपमा उनलाई प्रमुख बनाउन नहुने फरक मत दर्ता गरेको बुझीएको छ ।
के छ त चिफ नियुक्ति गर्नु पर्ने कारणको स्पष्टीकरण
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले भने आफूहरुले प्रकृया पुरा गरेर बहुमतीय आधारमा क्यामपस प्रमुखको नियुक्ती गरेको र चित्त नबुझेकाले फरकमत जाहेर गरेको बताए । श्रेष्ठले सबैलाई सबै कुरा चित्त नबुझ्न सक्छ र मेरो अध्यक्षतामा बसेको बैठकले बहुमतिय आधारमा प्रकृया पुरा गरेर चिफ नियुक्ती गरेको भन्छन् ।
एमाओवादी निकट सञ्चालक समितिका कोषाध्यक्ष सोमनाथ ढुंगानाले टिकाराम सापकोटाले कार्तिक १५ गते सबै प्रमाणपत्रहरु बुझाउन पर्नेमा नबुझाएको र अन्तिम मिति भन्दा पछि उनले प्रमाणपत्रहरु बुझाएकाले एमाले निकटले बिरोध गरेको बताएका छन् । ढुंगाना भन्छन् टिकाराम सापकोटालाई कारवाही गरिएको होइन उनले अघिल्लो वर्ष तीन पिरीएयड पढाउन पर्नेमा दुई मात्र पढाएकाले गत कार्तिक मसान्त सम्म चार वटा कक्षा पढाउने तर तीन वटाको मात्र तलब लिने गरेको बताउँछन् ।
कार्तिक १५ गते भित्र सबै प्रमाणहरु पुरा गरेर निबेदन पेश गर्नु पर्नेमा अन्तिम मिति भन्दा पछि जारी भएको एमफिलको प्रमाणपत्रलाई आधार बनाएर बढी नम्बर दिएर अनियमितता गरेर अयोग्य उम्मेदवारलाई प्रशासनिक जिम्मेवारी राजनैतिक आधारमा दिँदा क्याम्पसको भविश्य अन्यौल हुने फरक मत जाहेर गर्नेको दावी रहेको छ ।
नियतको बिरोध
फरक मत दायर गर्नेले व्यक्ति भन्दा पनि बहुमतको आधारमा गलत नियत राखेकाले नियतको बिरोध गरेको उपाध्यक्ष बालकृष्ण सुवेदीले बताएका छन् ।
बिद्यार्थीको जिल्ला नेता के भन्छन् त ?
नेपाल विद्यार्थी संघ म्याग्दीका सभापति भरत रकालले क्याम्पसमा परेको उम्मेदवारी मध्ये रामजीप्रसाद सुवेदीले आफ्नो दावेदारी फिर्ता लिएपछि टिकाराम सापकोटा उत्कृष्ठ रहेको बताए । उनले एमफिलको प्रमाणपत्रलाई आधार मानेर गरेको भए ठिक भएको र कार्तिक १५ सम्म अन्तिम मिति भित्र उक्त प्रमाणपत्र बुझाएको भए उहाँलाई क्याम्पस प्रमुख बनाएको राम्रो भएको बताए । उनले यदि मिति भन्दा पछि ल्याएर प्रमाणपत्र बुझाएको हो भने चाँही गलत काम सञ्चालक समितिले गरेको धारणा राखे ।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष सुदिन पौडेलले विगत देखिनै राजनैतिक रुपमा प्रष्ट नदेखिएकाले क्याम्पस राजनैतिक थलो नभएकोले अहिलेको सन्दर्भमा टिकाराम सापकोटा नै ठिक भएको बताए । उनले भने प्रमाणपत्रहरु सबै क्यामपसले तोकेको अन्तिम मिति भित्र बुझाउन पर्नेमा सो अनुसार भएको भए ठिक हो र यदी कार्तिक १५ पछि कसैको पनि प्रमाणपत्र बुझेर क्याम्पसले उनीहरुलाई सम्मान गरेको भए उक्त कदम गलत भएको पौडेलले बताए ।
अनेरास्ववियुका अध्यक्ष प्रकाश पौडेलले क्याम्पस प्रमुखका लागि जे सुकै भएपनि चिफको कुर्सिबाट राजनीतिक गन्ध आउन हुँदैन भनेका छन् ।
क्याम्पस प्रमुखको दावी
क्याम्पस प्रमुख टिकाराम सापकोटाले म आफू इच्छुक हो र म योग्य पनि हो त्यसैले म क्षमता र योग्यताका आधारमा क्याम्पस सञ्चालक समितिले बहुमतको आधारमा प्रमुखमा चयन गरेको हो । म राजनीतिज्ञ होइन तर मलाई क्याम्पस प्रमुख बनाउन सहयोग गर्ने संगठन प्रति बफादार हुनु पर्दछ । संस्था बाहिर म आफ्नो दलप्रति बफादार हुनेछु । अहिले सम्म म्याग्दी क्याम्पसका निवर्तमान प्रमुख कृष्णबहादुर थापाले बरबुझारत गर्नु भएको छैन । क्याम्पसको आन्तरीक कुराहरु र विगतका रेकर्डहरु र्हेनका लागि मैले साँचो पाएको छैन ।
निकटतम प्रतिद्वन्दीको गुनासो
क्याम्पस प्रमुख टिकाराम सापकोटाले क्याम्पसले खुलाएको सुचनाको अन्तिम मिति सम्म आफूले सबै प्रमाणपत्रहरु बुझाउन नसकेको स्वीकार गर्दै अन्तरवार्ता भन्दा पहिले बुझाएकोले कानुन सम्वत भएको दावी गरे ।
क्याम्पस प्रमुखका लागि प्रत्यासी गोरखबहादुर जिसीले घोषणा नहुँदै क्याम्पस प्रमुख छानिने प्रकृया र बिधिको आधारहरु पारदर्शी हिसाबले थाहा पाउनु पर्छ भन्ने आफ्नो जिकिर रहेको उनले बताए । जो छानिए पनि छानिने आधारहरुलाई थाहा पाउनु पर्छ भन्दै आफूले सूचनाको हक अन्तरगत आफूले क्याम्पस प्रशासन सँग जान्न चाहँदा चाँहदै पनि क्याम्पस प्रशासनले बारम्बार आलटाल गरिरहेको प्रति गुनासो व्यक्त गरेका छन् । संस्थालाई प्रणालिमा लगेर सार्वजनिक सूचना डेक्स नै गठन गर्ने प्रकृयामा अघि बढाउने निर्णय भएपनि मेरै बारेमा भएको निर्णय उपर मैले जान्न नपाउँदा म आफू अन्यौलमा परेको छु जिसीले भने । क्याम्पस प्रमुखको घोषणा हुनु पुर्व पदपुर्ति समितिले बनाएका बिधि र प्रकृयामा त्रुटी रहेको औंल्याएर एउटा निवेदन दर्ता गर्न खोजेपनि अध्यक्षले स्वीकार गर्न नसक्दा आफ्नो असहमत हुन पाउने हक कुण्ठीत भएको उनको दावी छ । छलफलका लागि निवेदन दर्ता गरेर निर्णय गरेको भए आफूलाई मान्य हुने थियो । तर त्यसो गरिएन । राजनीतिक दलले गर्ने भागवण्डा र बहुमत तथा अल्पमतका प्रकृयाहरु आफ्नो लागि गौण भएको बताउँदै जिसीले संस्था पारदर्शी ढंगले बिधि र प्रकृयाबाट चलेको खण्डमा आफूलाई कुनै दुख र गुनासो नहुने बताए ।
चिफको दावेदार रेग्मी के भन्छीन् त ?
क्याम्पस प्रमुख कि अर्कि दावेदार रेखाकौशल रेग्मीले मेरो योग्यता पुगेको र म्याग्दी क्याम्पसमा ६५ प्रतिशत छात्राले अध्ययन गर्ने भएकाले पनि महिलाले नेतृत्व गर्नु पर्ने ठानेर उम्मेदवारी दिएको बताईने ।
अबको प्रश्न
कार्तिक १५ गते अन्तिम मिति सम्म बुझाएका प्रमाणपत्रको आधारमा यदी कार्तिक २० गते भन्दा पहिल्यै क्याम्पस प्रमुखको टुंगो लगाएको भए कसले कति चलखेल गर्न सक्ने थिए त ? यदी फरक मत राख्नेको धारण सही हो भने छिटै गरी टुंगो लगाएको भए त चिफ अर्कै व्यक्ती हुन सक्ने रहेछन् नि त ? 
के होला त ?
जनस्तरबाट सञ्चालित सामुदायिक क्याम्पसमा जबरजस्त द्वन्द्व मुखरीत भएको छ । जीवन्त संस्थामा सामान्यतया द्वन्द्व हुनु अस्वभाविक होइन । तर, द्वन्द्वले विधि, प्रकृया र सार्वभौम मूल्य मान्यतालाई अपनाएर यसको व्यवस्थापन गरेन भने यो हिंसापूर्ण र अन्तरघाती परिणाम तर्फ उन्मुख हुने छ ।
अहिले म्याग्दी बहुमुखी क्याम्पस क्यूएए(Quality Assurance accreditation) प्राप्त गर्ने प्रकृयामा विगत चार वर्ष देखि प्रयास गरीरहेको छ । पहिलो र दोश्रो चरण पार गरिसकेको यस क्याम्पसले गत साल मात्रै ४० लाख अनुदान विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त गरेको थियो । यो वर्ष एसआरआर(Self Study Report) भर्ने चरण अन्तरगत सात वटा उपसमिति गठन गरिएको छ । जसमा क्यामपसले गर्ने कुनै पनि निर्णय अन्तराष्टिय स्तरको संघ संस्थाले अपनाउने बिधि र प्रकृया अनुसार अघि बढेको छ कि छैन ? भन्ने आधारमा विश्वविद्यालय अनुदान आयोगले क्याम्पसको मुल्यांकन गर्छ । यदी म्याग्दी क्याम्पसले यो चरण पार ग¥यो भने विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए(गुणस्तरीय सुनिश्चितता प्रत्यायन) प्राप्त क्याम्पस हुने छ । यहाँ अध्ययन गरेका विद्यार्थीले प्राप्त गरेको प्रमाणपत्रलाई अन्तराष्टिय स्तरमा मान्यता दिइने विश्वासका साथ अघि बढीरहेको क्याम्पसमा भै रहेका यस्ता विवादास्पद गतिबिधिहरुको सूचना विश्वविद्यालय अनुदान आयोगमा(युजिसी) पुग्यो भने र युजिसिले प्रत्यक्ष अनुगमन गरेमा क्याम्पसको सपना पछाडी धकेलिने छ ।
विगतमा पनि यस्तै भएको थियो
संस्थापक क्याम्पस प्रमुख हरिदत्त सुवेदीको निधन पश्चात क्याम्पस प्रमुख छनौट गर्दा पनि यस्तै बहुमतका आधारमा टुंग्याइएको इतिहास म्याग्दी क्याम्पसको छ । तत्कालीन अवस्थामा स्नाकोत्तर तह अध्ययन पुरा नगरिसकेका कृष्ण पौडेल र पृथ्वीनारायण क्याम्पसमा १० वर्ष अध्यापन गरेका सोमबहादुर बोगटी बीचको प्रतिस्पर्धामा बहुमतले कृष्ण पौडेललाई क्याम्पस प्रमुख बनाएको थियो । संयोगवस कृष्ण पौडेलकै ठाँउमा आएका टिकाराम सापकोटालाई पनि उही बहुमतिय प्रकृयाबाट क्याम्पस प्रमुखमा नियुक्ती गर्ने राजनीतिक शक्ति पनि नेपाली काँग्रेस नै मुल छ । त्यो बेला काँग्रेसको एक्लै बहुमत थियो भने अहिले एकिकृत नेकपा माओवादीलाई साथमा लिएर बहुमतबाट टुंग्याइएको प्रसंग कम्ती रमाइलो छैन । तत्कालीन काँग्रेसको नीतिमा कुनै परिवर्तन नभएपनि काँग्रेसको साइज भने घटेको देखिन्छ । यो भन्दा ओरालो लाग्ने काइदा के हुन सक्ला ? 




Share on Google Plus
    Blogger Comment
    Facebook Comment

1 comments :