'अब काठमाडौंमा कि काला बजारिया हुन्नन् कि विक्रमसिंह थापा हुन्न'

काठमाडौंको प्रहरी प्रमुख भएपछि प्रायः प्रहरी हाकिमहरु गुण्डा विरुद्धको कारवाहीबाट चर्चामामा आउँथे । तर, बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विक्रमसिंह थापाका लागि गुण्डातिर नजर लाउने मौका मिलेको छैन ।
कुनैबेला यस्तो पनि थियो, विक्रमसिंह थापा जहाँ पुग्थे, त्यहाँबाट गुण्डा र पेशेवर अपराधीको भागाभाग हुन्थ्यो । विक्रमको यो ‘स्टाइल’ अहिले पनि नेपालगञ्ज र भैरहवाका स्थानीयले चर्चा गर्छन् ।
यसपटक काठमाडौंको प्रहरी प्रमुख भएर आउँदा भने विक्रमसिंहको चुनौति गुण्डागर्दी र अपराधी भन्दा पनि कालाबजारियाहरु देखिएका छन् । संगठित कालो बजारीसँग जुध्नु प्रहरीको एउटा अफिसरका लागि चुनौतिपूर्ण छ ।
चुनौति र अप्ठ्यारोसँग खेल्न रुचाउने एसएसपी थापाले कालो बजारी विरुद्धको लडाइँ ठूलो माछाबाटै थाले । नेपालको प्रतिष्ठित औद्योगिक घराना केएल दुगडको गोदाम र घरमा एकैपटक छापा मारेर उनले खतरा मोलेका थिए ।
काठमाडौंको कालोबजारमाथि आक्रमण थाल्दै गर्दा एसएसपी थापाले बुझिसकेका छन्-यहाँका गुण्डाहरु स्याल हुन्, कालोबजार चलाउनेहरु बाघ हुन् । त्यसैले उनी स्यालको होइन, पहिले बाघको शिकार गर्न निस्किएका छन
थापाको यो अभियानलाई प्रधानमन्त्री, गृहमन्त्री,आइजीपीदेखि सर्वसाधारणले समेत साथ दिएपछि उनी कालोबजारी विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । ठूला कालोबजारीहरुको गिरोहको लिष्ट उतार्दैछन् थापा ।
‘देशमा यस्तो संकट परेका बेला अरबपतिहरुले गरीवलाई सहयोग गर्नुपर्ने बेलामा उल्टो गरीबलाई जिउँदै मार्ने कालोबजार उनीहरुले नै चलाइरहेका छन्’ आफ्नै कार्यकक्षमा उजुरीका चाङ केलाउँदै थापाले भने ।
बाँकेको प्रहरी प्रमुख भएर नेपालगञ्ज जाँदा उनलाई त्यहाँको कुख्यात अपराधी भगतसिंहको त्रास देखाइएछ । बालबालिका अपहरण गर्ने र फिरौति नदिए हत्या गर्ने धन्दा नै चलाएका थिए भगतसिंहले ।
प्रहरी प्रमुखको रुपमा बाँके झर्नासाथ उनले घोषणा गरे-अब नेपालगन्जमा कि भगतसिंह छैन,कि विक्रमसिंह छैन । नभन्दै विक्रमसिंहका अगाडि भगतसिंह टिक्न सकेनन् । उनले अन्ततः विक्रमसिंह सामु आत्मसमर्पण गरे, नेपालगञ्ज अपराधमुक्त नगर बन्यो ।
त्यस्तै रुपन्देहीको प्रहरी प्रमुख भएका बेला विक्रमसिंहले पेट्रोलमा मिसावट गर्ने र कालोबजारी गर्नेदेखि गिटी बालुवाका तस्करको दोहोलो काढे । राज्यलाई ३ अर्ब फाइदा दिलाएर उनी नेपाल प्रहरीकै अब्बल अधिकृतका रुपमा स्थापित भए ।
प्रहरी प्रमुखका रुपमा काठमाडौंमा आउँदा विक्रमसिंहका लागि धेरै ठूला चुनौतिहरु देखिएका छन् । राजधानीको शान्ति सुरक्षाको जिम्मा लिनुपर्ने थापा अहिले कालोबजारी र कृत्रिम अभाव नियन्त्रणको मोर्चामा डटेका छन् ।
थापा भन्छन्-मुलुकको जटिल अवस्थाको फाइदा उठाएर ग्यास, इन्धन र दैनिक खाद्य पदार्थको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेहरु यो समाजका सबैभन्दा ठूला अपराधी हुन् । उनीहरुले जनताको चूल्होमा हमला गरेर गरीवको हत्या गर्न खोजेकाले मैले चूप लाग्ने अवस्था रहेन ।
यसबीचमा उनी सर्वसाधारण जनतासँग अन्तरक्रिया गर्न ठाउँ ठाउँमा पुगिरहेका छन् । कृत्रिम अभाव र कालोबजारी गर्नेको सूचना संकलनका लागि महानगरका ४१ स्थानमा सादा पोशाकका प्रहरी परिचालन गरेर जानकारी लिइरहेका छन् ।SSP Vikram Thapa (6)
उनलाई थाहा छ, कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरु निकै ठूला र पहुँचवाला मान्छे छन् । पेट्रोलपम्पबाटै इन्धन कालोबजारी गर्नेहरुले चाहे भने उनको सरुवासमेत गराउन समेत सक्छन् ।
तर, जहाँ गयो त्यहीँका जनताको वाहवाही बटुलेका थापा काठमाडौंमा पनि जनताको साथ खोजिरहेका छन् । ‘जनताका लागि काम गर्दा मलाई ठूला र पहुँचवालाको रत्तिभर डर लाग्दैन, मलाई यो बर्दीको माया छैन, तर गुण्डा र कालोबजारीयासँग सम्झौता हुँदैन । यस अभियानमा जनताले मलाई साथ दिनुपर्छ’ थापाले भने ।
राजधानीमा अरबौं रुपैैयाँको कालोबजारी धन्दा चलाउने ठूलो गिरोह रहेको थापाले पत्ता लगाएका छन् । उनीहरु सानातिना होइनन् भन्ने पनि उनले बुझिसकेका सकेका छन् । लहरो तान्दा पहरो गर्जिन सक्छ, तर उनी अब ठूलो मिसनमा अघि बढेका छन् ।
थापाले भने-शान्ति सुरक्षाको दायित्व भूलेको छैन, दुई महिनायता राजधानीमा ठूला अपराध हुन दिएको पनि छैन । तर, अहिले मेरो दायित्व शान्ति सुरक्षासँगै कालो बजारी नियन्त्रण पनि भएको छ । यो लाख वा करोडको होइन, अरबौंको बजार हो, जसलाई केही दिनमै ध्वस्त बनाइदिन्छु ।
काठमाडौंको कालोबजारमाथि आक्रमण थाल्दै गर्दा एसएसपी थापाले बुझिसकेका छन्-यहाँका गुण्डाहरु स्याल हुन्, कालोबजार चलाउनेहरु बाघ हुन् । त्यसैले उनी स्यालको होइन, पहिले बाघको शिकार गर्न निस्किएका छन्।
बाघको शिकार गरेपछि स्याल आफैं दूला पस्छन् भन्ने मान्यताबाट अघि बढेका थापाको अर्को फरक पक्ष के हो भने, उनी सामान्य भन्दा सामान्य मान्छेलाई पनि आफूसम्म पहुँच दिन्छन् ।
‘ठूलाठालू र पहुँचवालाले त जसरी पनि काम मिलाइहाल्छन् नि, कोही नहुने निमुखाले मबाट न्याय पाउनुपर्छ, मेरोमा पीडितलाई ढोका खुला छ’ थापाले भने ‘तिनै गरीवको करबाट हामी पालिएका छौं र हाम्रा सन्तानले पढ्न पाएका छन् ।’
काठमाडौंलाई कालोबजारी र अपराधबाट मुक्त गर्ने थापाको योजना शुरुमै आक्रामक बनेको छ । उनी यसलाई शिथिल हुन नदिन अझ बढी सक्रिय बनेका छन् । उनले भित्रभित्रै भनिरहेका छन् – अब काठमाडौंमा कि कालाबजारिया छैनन् कि विक्रमसिंह थापा छैन ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment