नामाङ्कन र सिमाङ्कन सहित संविधान जारी गर्न सुझाव

बागलुङ, साउन ६ । संविधानको प्रारम्भिक मस्यौदामा बागलुङका तीनै वटा क्षेत्रमा सुझाव संकलन सकिएको छ । नयाँ संविधान नामाङ्कन र सीमाङ्कन गरी प्रदेशको खाका सहितको जारी गर्न बागलुङवासीले  सभासद्हरुलाई सुझाव दिएका छन । नागरिक संवाद तथा संविधान सुझाव संकलन उपसमिति बागलुङले धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा आयोजना गरेको सुझाव संकलन कार्यक्रमका सहभागीले संविधानसभाले नै प्रदेशको नामाङ्कन र सिमाकन गर्नु उपयुक्त हुने बताएका थिए । 

नामाङ्कनको जिम्मेवारी प्रदेशसभालाई दिए पनि सिमाङ्कन यही संविधानसभाले गर्नु पर्ने सहभागीहरुको जोड रहेको थियो । उनीहरुले सभासदसँग भने ‘हात्ती आयो हात्ती फुस्स नपार्नुहोस यतिका वर्ष त धैर्य गर्‍यौं, अब छिटो प्रदेशको सीमाङ्कनका विषयमा सबै जनतालाई चित्त बुझ्ने गरी कुरा टुङ्ग्याउनुहोस, हामी कुर्न तयार छौ ।’ अधुरो संविधानको के काम ? सहभागीहरुले प्रस्तावित प्रदेशको संख्या घटाउन माग गर्दै प्रदेशका नामाङ्कन गर्दा जातीयताको आधार नबनाउन र सीमाङ्कन गर्दा प्राकृतिक स्रोत साधनलाई ध्यान दिन सुझाव दिएका थिए । अबको संविधानमा केही हिन्दुराज्य बनाउनुपर्ने केहीले धर्म निरपेक्षता नभई धार्मिक स्वतन्त्रताको व्यवस्था गर्नुपर्ने सुझाव पनि राखेका थिए । 

यसैगरी वडा अध्यक्ष वडावासीले छनोट गर्ने अधिकार, अख्तियारलाई सवल, सक्षम, अधिकार सम्पन्न बनाउनुपर्ने, दलित, महिला, जनजाति, क्षत्री, ब्राह्मण सवैको हक अधिकार सुनिश्चित गर्नुपर्नेमा सहभागीले सुझाव पेश गरेका थिए । 

वडा समिति सदस्यदेखि राष्ट्रपति, प्रधानमन्त्री कुनै पनि कार्यकारी पद प्रत्येक्ष  निर्वाचित हुने व्यवस्था गर्न, वडा सदस्य, देखि सभासद र राष्ट्र प्रमुखको  शैक्षिक योग्यता तथा उमेरहदको व्यवस्था गर्न सुझाव दिएका थिए । महिला हिंसा, बलात्कारी तथा भ्रष्टाचारी प्रमाणित भएकालाई कम्तिमा पनि आजिवन जेल चलानको व्यवस्था गर्न सभासदलाई सुझाव दिएका थिए । 

सहभागीहरुले दलित आयोगलाई अधिकारसम्मन आयोग तथा दलित समुदायको सशक्तिकरण तथा उत्थानको लागि छुट्टै मन्त्रालय निर्माणको लागी लिखित तथा मौखिक रुपमा सुझाव पेश गरेको थियो । कार्यक्रममा बागलुङका सभासद चित्रबहादुर केसी, रत्ना सेरचन, नरबहादुर थापा, प्रकाश पौडेल, चम्पादेवी खडका र केशरी घर्तीले जनताको सुझावलाई संविधानमा समावेश गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

यसैबीच, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले बागलुङमा संविधानको मस्यौदा जलाएको छ । संविधान सुझाव संकलन उपसमिति बागलुङले धौलागिरी बहुमुखी क्याम्पस प्रा·णमा आयोजना गरेको सुझाव संकलन कार्यक्रम चलिरहेका बेला नाराबाजी गर्दै ५ जना सभासदकै अघि संविधानको मस्यौदा जलाएको हो । 

माओवादी बागलुङका जिल्ला सेक्रेटरी बिकिरण क्षेत्री र जिल्ला सदस्य बाबुलाल शाक्यले संविधानको मस्यौदाबारेको सुझाव संकलन प्रति माओवादीको विरोध रहेको भन्दै दर्जन बढी कार्यकर्ताको सहभागितामा संविधानको मस्यौदा जलाईएको बताउनुभयो ।  संविधानको मस्यौदा जलाउँदै नाराबाजी गरेपछि उनीहरुलाई प्रहरीलले कार्यक्रम स्थलबाट बाहिर पठाएको थियो । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी, नेकपा एकिकृतका कार्यकर्ताल पनि कार्यक्रम स्थलमा संविधानको मस्यौदा प्रति च्यातेर बिरोध जनाएका थिए । नेकपा–माओवादी जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा मगरको नेतृत्व माओवादीले कार्यक्रम स्थलमा संविधान च्यातेर जलाएपछि प्रहरीले उनीहरुलाई कार्यक्रम स्थलबाट हटाएको थियो ।  

यता, धर्म निरपेक्षताको विषयलाई लिएर देशभर आन्दोलन चर्काएको राप्रपा नेपालका कार्यकर्ता र हिन्दु धर्मालम्बीहरुको जिल्ला संघर्ष समितिले नेपाल धार्मिक स्वतन्ता सहितको हिन्दु राष्ट्र हुनुपर्ने माग सहित नाराबाजी गर्दै कार्यक्रम स्थलमा पुगेका थिए । शखं घण्टी बजाउदै व्यानर सहित कार्यक्रम स्थल पुगेको संघर्ष समिति, विश्वशान्ति सर्वसिद्वीधाम पञ्चकोट, मुक्तिनाथ बाबा भान्सा सेवा समाज लगायतको टोलीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गरेका थिए ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment