बरेङ बजारमा रेडियो सञ्चालन हुँदै

बागलुङ, १४ साउन । बागलुङको दक्षिण क्षेत्रमा रहेको बरेङ बजारमा एफएम रेडियो सञ्चालनको तयारी तिव्र पारिएको छ । स्थानीय बिहानी बहुउद्देश्यीय सहकारी संस्था बरेङ बागलुङको पहलमा निकट समयमै सञ्चालन हुन लागेको रेडियो प्रसारणको तयारी अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ । 

रेडियो सञ्चालनको प्राविधिक तयारी पुरा भएपछि  आइतवारदेखि रेडियोका लागि आवश्यक जनशक्ति तयार गर्न १५ दिने रेडियो उद्घोषण, पत्रकारिता तथा प्राविधिक तालिम शुरु गरिएको छ । आगामी साउन २४ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ बागलुङका सचिव दिल शिरीषले गर्नुभयो । उद्घाटनपछि बोल्दै सचिव शिरीषले जिल्लाको सञ्चार माध्यमको पहुँचबाट बञ्चित दक्षिण क्षेत्रमा रेडियोको सञ्चालनसँगै जिल्लाको सूचना र समाचारबाट बिमुख बन्नुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो ।

उहाँले जिल्लामा आधा दर्जन भन्दा बढी एफएम रेडियो हुँदा पनि दक्षिण क्षेत्रमा रेडियोको पहुँच पुग्न नसक्नु बिडम्वना भएको उल्लेख गर्दै रेडियोलाई दक्षिण क्षेत्रको साझा आवाज बोल्ने सशक्त माध्यमको रुपमा स्थापित गर्न आग्रह गर्नुभयो । महासंघका केन्द्रीय पार्षद तथा रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीले रेडियो स्थापना मात्र महत्वपूर्ण नभएको भन्दै स्थानीय समस्या, आवश्यकता र सम्भावनाको उजागर गरी सामाजिक उत्तरदायित्व वहन गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाली का्रग्रेस ग्राम समितिका सभापति गोविन्द बर्मा, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष हरिप्रसाद पौडेल, एकिकृत माओबादीका गाउँ कमिटि अध्यक्ष झोमवहादुर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार हिरा थापा, ग्राम समिति अध्यक्ष घनबहादुर थापा, इलाका प्रहरी कार्यालय बरेङका प्रमुख रामशंकर शाह, धुल्लुबास्कोट स्वास्थ्य चौकीका इन्चार्ज पदम पुन, धुल्लुलिउवा माविका प्रधानाध्यापक फटिकवहादुर थापा, रेडियोका सञ्चालक समिति सदस्य गुल्मी शान्तिपुरका नरबहादुर विसी, दृष्टिबिहिन प्रशिक्षार्थी मनवहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा संस्थाले यसै सातादेखि परीक्षण प्रसारण शुरु गर्ने संस्थाका अध्यक्ष रनबहादुर बिकले बताउनुभयो । कार्यक्रम विहानी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रनबहादुर बिकको अध्यक्षता, रेडियो सञ्चालन समितिका सदस्य पदमबहादुर छन्त्यालको स्वागत मन्तव्य र संस्थाका सचिव कृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment