जिविस बागलुङमा आएका सेवाग्राहीको गुनासो सुनियो

बागलुङ/असार २३
जिल्ला विकास समितिको काममा हुने ढीला सुस्ती र सेवाग्राहीले भोगेको समस्या बारेमा जवाफदेहिताको लागि असल छिमेकी नेपालले बागलुङ जिविसमा गुनासो सुन्ने काम सम्पन्न गरेकोछ ।
बुधवार असल छिमेकीले सेवा ग्राहीसँग भेटेर गुनासो सुनेको कार्यक्रम अधिकृत गीता श्रीषले बताइन् । जिविसमा काम विशेषले आएका झण्डै ५० जना सेवा ग्राहीले काममा भएको ढीलासुस्ती, प्राविधिक मूल्यांकनमा कठिनाइ भोगेको लगायतका समस्या लिखित रुपमा पेश गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहकार्यमा संस्थाले सेवाग्राहीको प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा अनुगमन गर्ने तथा गुनासो सुन्ने अभियान संचालन गर्दै आएको छ । उक्त अवसरमा अधिकांसले जिविसका योजनामा बनाइने लागत स्टिमेट अंग्रेजी भाषामा लेखिएको, प्राविधिक समयमा कार्यालयमा नभेटिने, कामको मूल्यांकनमा आलटाल गर्ने तथा जिविसको सूचना शाखामा विशेष सुचना नभेटिने लगायतका गुनासा टिपाएका छन् ।
यसरी संकलित गुनासोलाइ प्रजिअ वा जिल्ला प्रशासन कार्यालयमा समेत लगेर जानकारी गराउने र सम्बन्धीत कार्यालयमा हुने ढीला सुस्तीलाइ कम गर्न आएका गुनासाको सम्बोधन गराउने प्रकृया गरिने श्रीषले जानकारी दिइन् ।
भ्रष्ट्राचार नियन्त्रण, सुशासनलाइ अध्यावधिक गर्ने तथा कार्यालय र कर्मचारीलाइ सेवा ग्राही प्रति उत्तरदायी बनाउने काममा यो अभियान सफल भएको असल छिमेकी नेपालका अध्यक्ष राम शर्माले बताए । अभियानलाइ निरन्तरता दिने तथा प्रशासन क्षेत्रको सुधार गर्ने पनि बताइएको छ ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment