स्वास्थ्य बिमा सम्बन्धी तालिम

बागलुङ/सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्र्तगत ग्रामीण जनताको स्वास्थ्य बीमा गराउन दर्ता सहयोगीका लागि बागलुङमा आयोजित तीन दिने तालिम समापन भएको छ । सरकारले पाइलट प्रोजेक्टको रुपमा सञ्चालन गर्न लागेको अभियान सफल बनाउन कम्तिमा एक गाविसबाट एकजनालाइ दर्ता सहयोगीको रुपमा नियुक्त गरेर तालिम आयोजना गरिएको थियो । 

तालिम सकेर गएकाहरुले आम जनतालाई स्वास्थ्य बीमाका लागि आर्कषित गराउने बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताउनुभयो । सेवाग्राहीले तिरेको न्युनतम प्रिमियमले गाउँदेखि केन्द्रीय तहको अस्पतालसम्म तोकिएका उपचार नि:शुल्क पाउने व्यवस्था छ । श्रेष्ठले अव तोकेको मात्र नभइ जुनसुकै अस्पतालमा उपचार गर्न पाउने प्रावधान राख्न मन्त्रालयमा माग समेत गरेको बताउनुभयो । 

वार्षीक ५० हजारदेखि एकलाख रुपैयाँसम्मको स्वास्थ्य सेवा बीमाकर्ताले लिन पाउने व्यवस्था छ । त्यसका लागि वार्षीक दुइहजार पाँचसय रुपैयाँ प्रिमियम तिर्नुपर्ने प्रावधान छ । तालिममा स्वास्थ्य मन्त्रालयका रविचन्द्र घिमिरे सहित प्रभात थापा, ब्रेजेश बज्राचार्य, जनस्वास्थ्य अधिकृत जीवन शाक्य लगायतले सहजीकरण गरेको बीमा कार्यक्रमका जिल्ला संयोजक जीवलाल खरेलले बताउनुभयो ।

समापनको अवसरमा प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल, प्रमुख कोष नियन्त्रक रामजीप्रसाद शर्मा, प्रमुख प्रशिक्षक रविचन्द्र घिमिरे, जिल्ला संयोजक खरेल र प्रशिक्षार्थीको तर्फबाट राङखानीकी दर्ता सहयोगी दिपा थापाले मंतव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठको अध्यक्षता र जमुना सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । अभियानलाई सेभ द चिल्ड्रेन, जिटिडेज, कोइका लगायत संस्थाले सहयोग गरेका छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment