सरकारले ल्यायो ८ खर्ब १९ अर्बको बजेट

काठमाडौं/सरकारले आगामी आथिर्क वर्षका लागि ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालु खर्चतर्फ ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार विनियोजन गरिएको छ । 

यसैगरी पूँजीगत खर्चतर्फ २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार रुपैयाँ विनियोजन गरिएको छ । विनियोजन गरिएको यो रकम कुल बजेटको क्रमश: ५९.१ प्रतिशत, २५.५ प्रतिशत र १५.४ प्रतिशत हो ।

सरकारले गत आर्थिक वर्षमा ६ खर्ब १८ अर्ब १० करोड रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालु खर्चतर्फ कुल बजेटको ६४.५ प्रतिशत अर्थात ३ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । यसैगरी पूँजीगत खर्चतर्फ १ खर्ब अर्ब ६६ अर्ब ७५ करोड रुपैयाँ अर्थात १८.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १६.६ प्रतिशत १ खर्ब २ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्षको अनुमानित बजेटको स्रोत राजश्वबाट ४ खर्ब ७५ अर्ब १ करोड २१ लाख रुपैयाँ रुपैयाँ व्यहोर्ने भएको छ । त्यस्तै, साँवा फिर्ता प्राप्तीबाट १ खर्ब १० अर्ब ९२ करोड ९४ लाख ७ हजार रुपैयाँ, वैदेशिक अनुदानबाट २ खर्ब ३१ अर्ब ५२ करोड ७३ लाख ७७ हजार रुपैयाँ जुटाउने भएको छ ।

नपुग भएको रकम बैदेशिक ऋण र आन्तरिक ऋणबाट जुटाउने बताइएको छ । सरकारले गत आर्थिक वर्षको अनुमानित बजेटको स्रोत राजस्वबाट ४ खर्ब २२ अर्ब ९० करोड रुपैयाँ व्यहोर्ने जनाएको थियो । त्यस्तै साँवा फिर्ता प्राप्तिबाट १ अर्ब र वैदेशिक अनुदानबाट ७३ अर्ब ३८ करोड ५९ लाख २४ हजार रुपैयाँ जुटाउने बताएको थियो ।

नपुग भएको रकममध्ये वैदेशिक ऋणबाट ४९ अर्ब ५२ करोड ८७ लाख ७० हजार रुपैयाँ जुटाइने अर्थमन्त्री डा. महतले बताएका थिए । नपुग रकममध्य ५२ अर्ब ७५ करोड आन्तरिक ऋणबाट र १८ अर्ब ५३ करोड ५३ लाख ६ हजार रुपैयाँ चालु वर्षको नगद मौज्दातबाट व्यहोरिने बताइएको थियो ।

सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । अर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण गर्दै जेष्ठ नागरिकको भत्ता ५ सय रुपैयाँबाट १ हजार रुपैयाँ पुर्‍याइएको जानकारी दिनुभयो । ५ सय रुपैयाँ भत्ता र ५ सय रुपैयाँ औषधी उपचार गरी जम्मा १ हजार रुपैयाँ दिइने उहाँले बताउनुभयो । सो रकम बैंकिङ प्रणालीमार्फत दिइने छ ।

यसअघि सरकारले ५ सय रुपैयाँ बृद्धभत्ता दिँदै आएको थियो । २०५१ सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले बृद्धबृद्धालाई सय रुपैयाँ बृद्धभत्ता दिएर यो कार्यक्रम सुरु  गर्नुभएको थियो । सरकारले नयाँ आर्थिक वर्ष ०७२/७३ देखि जेष्ठ नागरिकका आश्रमहरुमा मनोरन्जनका साधनको व्यवस्था गर्ने अर्थमन्त्री महतले जानकारी दिनुभयो ।

सरकारले सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत र व्यवस्थित गर्न एकीकृत सामाजिक सुरक्षा विधेयक चालू अधिवेशननै संसदमा प्रस्तुत गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या २१ लाख छ । 

अर्थविद केशव आचार्यले यसको स्वागत गर्दै यसो गर्न सकिए धेरै राम्रो हुने प्रतिक्रिया दिनुभयो । यसैबीच सरकारी स्वास्थ्य संस्थामा कानूनीरुपमा गर्भपतन गराउँदा पैसा नलाग्ने व्यवस्था नयाँ बजेटमा गरिएको छ ।

यसैबीच, सत्तारुढ एक प्रमुख घटक नेकपा (एमाले) ले मंगलबार व्यवस्थापिका–संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७२/०७३ को वार्षिक बजेटप्रति कडा आपत्ति जनाएको छ । बजेट एकपक्षीय, असन्तुलित र अव्यवहारिक रहेको सो पार्टीले आरोप लगाएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा साँझ बजेट प्रस्तुत भएपछि बाहिरिने क्रममा एमालेका नेताहरुले बजेटलाई समर्थन गर्ने नगर्नेबारे पार्टीले आधिकारिक धारणा बनाउने प्रतिक्रिया दिनुभयो । त्यसका लागि बुधबार बिहान ९ बजे पार्टीको संसदीय दलको बैठक सिंहदरवारमा आह्वान गरिएको र सो बैठकले बजेटबारे आधिकारिक धारणा बनाउने संसदीय दलका प्रमुख सचेतक अग्नि खरेलले बताउनुभयो ।

‘यो बजेट एकदम अव्यावहारिक, असन्तुलित, एकपक्षीय र समर्थन गर्न लायकको छैन, यसबारे पार्टीको संसदीय दलको बैठकले आधिकारिक धारणा तय गर्नेछ ।’ उहाँले भन्नुभयो । सत्तारुढ प्रमुख घटकलाई पाखा लगाएर काँग्रेसले एकलौटी सरकारको जस्तो बजेट ल्याएको उहाँले आरोप लगाउनुभयो । बजेट प्रस्तुत भएलगत्तै प्रमुख सचेतकसँगै बाहिरिनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली निकै असन्तुष्ट देखिनुभएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment