कालीगण्डकी करिडोर निर्माणको जिम्मा नेपाली सेनालाई


बागलुङ असार १५
लामो समयदेखि निर्माणाधिन छिमेकी मुलुक चिन र भारतलाई जोड्ने कालीगण्डकी करिडोर निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । करिडोर निर्माणका लागि वर्षौदेखि ठेक्का प्रणालीमार्फत रकम खर्च गरेपनि प्रतिफल प्राप्त हुन नसकेपछि निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले बताउनुभयो ।
करिडोर निर्माणको जिम्मा निर्माणस्थलमै पुगेर मुख्य सचिव पौडेलले नेपाली सेनालाई दिनुभएको थियो । सडकको ट्रयाक खन्ने विषयमा करिडोर कार्यालयले टेन्डर आव्हान गरेपनि आफूले त्यसलाई रोकेर नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिएको पौडेलको भनाई छ । ‘यो सडक वर्षौदेखि निर्माणाधिन अवस्थामा छ । रकमपनि खर्च भएको छ । तर एक सय किलोमिटर सडकसम्म राम्रोसँग चल्दैन, त्यसैले छिटो काम गर्नका लागि नेपाली सेनालाई जिम्मेवारी दिएका हौं ।’पौडेलले भन्नुभयो ।
नेपाली सेनाले सुरुको चरणमा बागलुङ जिल्ला जिल्ला भित्रको १२ किलोमिटरमा काम शुरु गरेको छ । बागलुङ नगरपालिका र भकुण्डे गाविसको सिमानामा रहेको मालढुङ्गादेखि अमलाचौरको टाकुरेसम्म पहिलो चरणको काम शुरु गरिएको नेपाली सेनाका इन्जिनियर रेश्मीराज भट्टराईले जानकारी दिनुभयो ।
नेपाल सरकारले तत्कालका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको बताउँदै भट्टराईले ४५ करोड रुपैयाँ बजेट दिए आफूले बागलुङदेखि बुटवलसम्मको ट्रयाक खोलेर सडक सञ्चालन गर्न मिल्ने गरी काम सक्ने बताउनुभयो । नेपाली सेनाले वर्षादको समयमा पनि निरन्तर काम गर्ने भट्टराईले बताउनुभयो । सडक खण्डको पैयुपाटामा ठूलो पहरो भएकाले त्यसलाई फोड्नका लागि विस्फोटक पदार्थको प्रयोग गरिएको छ ।
कालिगण्डकी करिडोरअन्र्तगत नेपाली सेनाले बेनी जोमसोम खण्ड अन्तरगतको ७५ किलोमिटर र गुल्मी बागलुङ खण्डको ४२ किलोमिटर काम सम्पन्न गरिसकेको छ । आयोजनाले बागलुङ जिल्ला भित्र मात्र काम गर्न सकेको थिएन । आयोजना अन्तर्गतका निर्माण व्यवसायीले समयमा काम नगरेपछि नेपाली सेनालाई जिम्मा दिएको मुख्य सचिव लीलामणि पौड्यालले बताउनुभयो ।
सडक खण्डको जिम्मेवारी नेपाली सेनालाई हस्तान्तरण गर्दै मुख्य सचिव पौडेलले कालीगण्डकी करिडोर निर्माणले हिमाल, पहाड र तराईलाई जोड्न सहज हुने बताउनुभयो । सडक निर्माण भए मुस्ताङदेखि बुटवलसम्म पुग्नका लागि ८ घण्टा पनि नलाग्ने बताइएको छ ।
मुख्य सचिव पौडेलले निर्माणको जिम्मा पाएका व्यवसायीहरुले काम नगर्दा योजनाहरु समयमा पुरा हुन नसकेको बताउनुभयो । पौडेलले कामै नहुनेगरी ठेक्का पट्टामा लगाउने तयारी गरिरहेको आयोजनालाई विभागीय कारवाहीको चुतावनी दिएर त्यो काम नेपाली सेनालाई दिएको पौडेलले जानकारी दिनुभयो ।
प्रसिद्ध लुम्बनी आएका धार्मिक पर्यटकहरुलाई मुस्ताङको मुक्तिनाथसम्म जाने वातावरण निर्माण गर्नका लागि छोटो दुरीको करिडोरले मुख्य भूमिका खेल्ने नेपाली सेनाले बताएको छ । गुल्मी बागलुङको सिमाना पालुङखोलादेखि टाकुरीसम्म पनि काम गर्न आफूहरु इच्छुक रहेको बताउँदै नेपाली सेनाले उक्त ट्रयाक खोलिएमा बागलुङबाट बुटवल पाँच घण्टामा पुग्ने जानकारी दिए ।  कोरलादेखि सुनौलीसम्म तीन सय ४२ किलोमिटर सडक खण्डको २८ किलोमिटर सडक बागलुङ जिल्लामा पर्छ ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment