यो वर्ष आलु उत्पादन ६० प्रतिशत घट्यो

बागलुङ, असार २०।  आलु उत्पादनको पकेट क्षेत्र बागलुङको ताराखोलाका किसानहरु आलु नफलेपछि चिन्तामा परेका छन् । 

मौसम प्रतिकुलताका कारण आलु उत्पादनमा ह्रास आएपछि आलु खेती गर्ने किसानहरु चिन्तित बनेका हुन् । आलुलाई प्रमुख बालीको रुपमा लगाउंदै आएका ताराखोलाका अधिकांश किसानले आलू बिक्री गर्ने गरेका थिए । ताराखोलामा उत्पादन भएको आलु बागलुङ लगायत, कुश्मा, पोखरा, काठमाडौं लगायतका बजारमा बिक्री हुने गरेको थियो । आलु फल्ने समयमा वर्षा बढी भएपछि आलु उत्पादनमा कमी आएको स्थानीय किसान सिता कंडेलले बताउनुभयो । गतवर्ष ३–४ बोरा विऊ रोपेको ठाउंमा २० बोरा भन्दा बढी फलाएका किसानहरुले यसपटक सोही परिणामको विऊ रोप्दा ७–८ बोरामात्र उत्पादन भएको किानहरु बताउंछन् । आलु उत्पादनमा कमी आएपछि आलु बिक्रीबाटै जिवन निर्वाह गर्नेलाई बढी समस्या भएको छ । गत वर्ष ताराखोला गाविसभित्रबाट मात्र ६ करोड रुपैयां भन्दा बढीको आलु निर्यात भएको थियो । 

मुख्य बाली आलु भएकाले सामान्य घरमा पनि १ सय मुरी भन्दा बढी आलु उत्पादन गर्ने गरेको स्थानीय किसानहरु बताउंछन् । एक सय मुरी उत्पादन भए २ लाख रुपैया पर्ने भएकाले त्यही आलु बिक्री गरेर दैनिकी चलाउंदै आएका थिए । यहा सामान्य घरमा पनि १ सय मुरी आलु फलाउँछन्, बढी फलाउनेले ७–८ सय मुरी फलाउछन्, यतिबेला सबै किसान चिन्तिन छन् । स्थानीय किसान कलाधर सुवेदीले बताउनुभयो । मौसम प्रतिकुल पर्दा आलु उत्पादनमा सोच्दै नसोचेको असर पर्दा आलु साटेर अन्य उपभोग्य सामाग्री किन्ने किसानलाई समस्या परेको छ ।

आलु खनेपछि आलु दिऊला भनेर व्यापारिहरुबाट सामान ल्याएको थिए, अहिले समस्या भयो, आलुमा फसल लाग्ने बेलामा वर्षा भएका कारण आलुले दाना नलगाएपछि साहुकोबाट ल्याएको सामानको पैसा कसरी तिर्ने समस्या परेको छ । स्थानीय एक किसानले धौलागिरि जागरणसँग भन्नुभयो । 

ताराखोलाको आलु बागलुङ बजार लगायतका शहरहरुमा प्रति किलोग्राम ५० रुपैयांमा बिक्री हुने गरेको छ । बजारमा ताराखोलाको आलुको माग अत्याधिक छ, तर यसवर्ष ताराखोलाबाट आलु आउंनै गाह्रो छ, किसानहरुले असार लाग्दा साथ आलु पठाइदिन्छौं भन्थे, अहिले त आलु फलेन पठाउंन सकिन भन्दैछन् । बागलुङ बजारमा व्यवसाय गर्ने नरबहादुर घर्तीले भन्नुभयो । 

आलुमा डडुवा रोग लागेको र दाना लाग्ने समयमा वर्षा बढी हुंदा यसवर्ष ताराखोलामा आलु उत्पादनमा ६० प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषि प्रचार अधिकृत विप्लभ अधिकारीले बताउनुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment