बागलुङमा अपराधिक घटना बढे

बागलुङ, १४ साउन । जिल्ला प्रहरी कार्यालय बागलुङले गत आर्थिक वर्ष (२०७१ साउनदेखि २०७२ असार मसान्त) सम्म विभिन्न मुद्धामा २७० जनालाई पक्राउ गरेको छ । कार्यालयले एक वर्षको अवधीमा २४० वटा मुद्धा दर्ता भएकोमा सोही मुद्धाका आधारमा ति व्यक्तिहरुलाई पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक प्रेमबहादुर बस्नेतले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी एक वर्षको अवधीमा भए गरेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । पत्रकार सम्मेलनमा बस्नेतले हरेक वर्ष अपराधी घटनामा बृद्धि हुंदै गइरहेको समेत जानकारी दिनुभयो । 

प्रहरीका अनुसार आर्थिक वर्ष ०६९/७० मा १७९ वटा मुद्धा दर्ता भएकोमा ०७०/७१ मा २०१ र ०७१/०७२ मा २४० वटा मुद्धा दर्ता भएका छन् । प्रहरीले दिएको तथ्यांक हेर्दा हरेक वर्ष मुद्धा दर्ता गर्नेको संख्या बढ्दै गइरहेको छ ।

यस्तै बागलुङमा कर्तव्य ज्यान मुद्धामा भने कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा १२ वटा कर्तव्य ज्यान मुद्धा परेकोमा गत आवमा ६ वटा मात्र दर्ता भएको डिएसपी बस्नेतले बताउनुभयो । कर्तव्य ज्यान मुद्धामा ६ जना पक्राउ परेकोमा एक जना तारेखमा छुटेको र पांच जना अहिलेपनि कारागारमा रहेका छन् । ज्यान मार्ने उद्योग अन्तरग तगत आर्थिक वर्षमा ६ वटा मुद्धा दर्ता भएका छन् । यस मुद्धा अन्तरगत १६ जना पक्राउ परेकोमा एक जना कारागार र १५ जना तारेखमा छुटेको प्रहरीले जनाएको छ । 

बागलुङमा जवरजस्ती करणीका घटनामा भने बृद्धि हुंदै गइरहेको छ । तीन वर्ष अगाडि ४ वटा जवरजस्ती करणीका घटना दर्ता भएकोमा दुई वर्ष अगाडि ८ वटा र गत वर्ष ११ वटा मुद्धा दर्ता भएका छन् । ११ वटा जवरजस्ती करणीका घटनामा १२ जनालाई पक्राउ गरिएकोमा १० जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । यस्तै जिल्लामा चोरीका घटना समेत बढ्दै गइरहेका छन् । तीन वर्ष अगाडि ३ वटा चोरीका घटना भएकोमा दुई वर्ष अगाडि एउटापनि चोरीको घटना दर्ता भएको थिएन । गत वर्ष भने ७ वटा चोरीका घटना भएको प्रहरीले जनाएको छ । 

यस्तै केही सार्वजनिक अपराधका मुद्धामा समेत बृद्धि हुंदै गएका छन् । दुई वर्ष अगाडि ६३ वटा मुद्धा दर्ता भएकोमा गत आ.व.मा १ सय ४९ जना पुरुष र २१ जना महिला गरी २ सय ७० पक्राउ परेका थिए । ति मध्य २ सय २९ जना धरौटीमा छुटेका छन भने २८ जना कारागार चलान भएका छन् । 

यस्तै गत आर्थिक वर्ष २०७१/७२ मा बागलुङ जिल्लाका महिला, बालिका र बालक गरी ६७ जना सम्पर्क विहिन भएका छन् । यसरी सम्पर्कविहिन हुने महिलाहरुको संख्या ५२ मध्य एक जना महिला सम्पर्कमा आएकी र अन्य १२ जना बालिका तथा ४ जना बालकहरु अझै सम्पर्कमा आएका छैनन ।

प्रहरी नायब उपरीक्षक बस्नेतले सम्पर्कमा नआएका महिला तथा बाल बालिकाहरुको खोजी कार्य भैरहेको बताउदै गत आवमा सम्पर्क्बिहीन भएका ७ जना बालकहरु मध्य ३ जना फेला परेका र अन्य ४ जनाको अवस्था अज्ञात रहेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसरा अघिल्ला आव ०७०/७१ मा जिल्लामा आत्महत्या गर्नेहरुको संख्या ५८ जना थियो भने गत आव ०७१/७२मा आत्महत्या गर्नेहरुको संख्या ३५ रहेको छ । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment