विकास योजनामा लघु उद्यमीलाई समेटिने

बागलुङ, जेठ २३ । जिल्ला उद्यम विकास समितिले तयार गरेको पाँचवर्षे रणनीतिक योजनालाइ आवधिक जिल्ला विकास योजना निर्माणको अभियानमा समावेश गरिने भएको छ । जिल्ला भित्र छरिएर रहेका लघु उद्यमीहरुले उत्पादन गरेका बस्तुलाइ बजारको पहुँचमा लैजाने तथा रोजगारीको अवसर बढाउने लक्षले समितिले तयार गरेको पाँच वर्षे योजनालाइ सफल बनाउनका लागि आवधिक जिल्ला विकास योजनामा समावेश गर्न लागिएको जिविसका सामाजिक विकास अधिकृत भेषराज पौडेलले बताउनुभयो । 
शुक्रवार भएको जिल्ला उद्यम विकास रणनीतिक योजना पुनरावलोकन तथा जिल्ला आवधिक योजनामा समावेश विषयक छलफल बैठकमा रणनीतिलाई योजनामा समावेश गर्ने निर्णय गरिएको हो । जिल्ला परिषदले समेत पास गरिसकेकोले आवधिक योजनामा समावेश गरिएमा सरकारी अभियान स्वरुप काम गर्न सकिने सहभागीले बताएका थिए । लघुउद्यम विकास कार्यक्रमको सहयोगमा केही बर्ष देखि सञ्चालित कार्यक्रमलाई मेड्पा मोडलमा लगेर सरकारी काम बनाउने निर्णय पछि जिल्लाको विकासे योजनामै समावेश गरिएको स्थानीय विकास अधिकारी भरत गौतमले बताउनुभयो । 
सरकारले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले सञ्चालन गर्ने गरी मेड्पा मोडल सञ्चालनमा ल्याएको हो । नेपाल सरकारले ७५ वटै जिल्लामा स्थानीय परिवेश, घरेलु, वन पैदावार जस्ता माध्यमबाट उद्यमीहरुको संख्या बढाउने, ग्रामीण उद्योगलाइ बढावा दिने र ठूला उद्योगको कच्चा पदार्थ पनि ती उद्योगबाट पुरा गराउने लक्षले मेड्पा कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रमलाइ आवधिक योजनामा समावेश गरेपछि आगामी ५ वर्ष भित्र २६ करोड ७३ लाख ७४ हजार रुपैयाँ खर्च गर्ने लक्ष राखेको छ । 
घरेलु विकास समिति, कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला वन, जिविस, नगरपालिका, गाविस, मेडेप लगायतका अन्य दातृ निकाय समेतले निश्चित रकम जम्मा गरेपछि तयार हुने कोषमार्फत अभियान संचालन हुनेछ । सबै सेवा प्रदायकको समान बुझाइ र कार्यगती कायम गर्दै आवस्यक श्रोत साधनको अनुमान गर्ने तथा लघु घरेलु तथा साना उद्योगको बढोत्तरी गराउने लक्षले यो अभियान ल्याएको मेडेपकी सरकार सहयोग विशेषज्ञ करुणा पुलामीले बताउनुभयो ।
लघु उद्यमीले निर्माण गरेका बाँसका डाला नाङ्ला । फाइल फोटो
समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी भरत गौतमको अध्यक्षता, घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक विश्वप्रेम ढकालको संचालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका कावा सभापति जगदिशचन्द्र उपाध्यायले रणनीतिक योजनालाइ प्रभावकारी बनाएर जिल्लाका लघु उद्यमीलाइ आत्म निर्भर बनाउनुपर्नेमा जोड दिएका थिए ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment