शिक्षा ऐन संशोधन नहुँदा विकृति बढ्यो: मन्त्री यादव

बागलुङ, असार ६ । शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षा ऐनलाई समयानुकुल बनाउँन नसक्दा शिक्षा क्षेत्रमा विकृति बढ्दै गएको बताउनुभएको छ । बागलुङको धौलागिरि बहिरा आवासीय विद्यालयको भवन उद्घाटन गर्दै यादवले शिक्षा क्षेत्रको विकासका लागि शिक्षा ऐन जारी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

मन्त्री यादवले हरेक नेपालीहरुले शिक्षा लिन पाउने अधिकार रहेको उल्लेख गर्दै फरक क्षमता भएकाहरुका लागि पनि राज्यले छुट्टै व्यवस्था गरेर अगाडि बढेको बताउनुभयो । ‘हामीले फरक क्षमता भएकाहरुलाई पनि शिक्षा प्रदान गर्नेगरी योजना बनाएका छौं, दृष्टिबिहिनहरुका लागि ब्रेनलिपी, बहिराहरुका लागि सांकेतिक भाषामा अध्यापन हुने विद्यालयहरु स्थापना गरिरहेका छौं ।’ यादवले भन्नुभयो ।

सम्बोधनको सम्पूर्ण समय शिक्षा क्षेत्रको विकास र सम्भावनाका बारेमा बोल्नुभएका यादव ‘फास्ट ट्रयाक’ मार्फत शिक्षा ऐन संशोधनको तयारी गरिएको जानकारी गराउनुभयो । उहांले भन्नुभयो– ‘मन्त्रालयले शिक्षा ऐन संशोधनका लागि तयारी गरिरहेको छ, शिक्षा ऐन परिमार्जित भयो भने मात्र नेपालको शिक्षा क्षेत्रको विकृति हटाउन सहज हुन्छ ।’ शिक्षा मुलुकको मुख्य मेदरुदण्ड भएको उल्लेख गर्दै मन्त्री यादवले यसका लागि सरकारको मात्र मुख नताकी सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकारका पुर्व सचिव महाश्रम शर्मा, राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष रामकुशल पन्त, बागलुङका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल, जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद तिवारी, प्लान नेपालका क्षेत्रय प्रवन्धक मितु आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य टिकाराम सापकोटा, बागलुङ वहिरा संघकी अध्यक्ष अनिता शर्मा, नेपाल पत्रकार महासंघ बागलुङकमा उपाध्यक्ष दिलिप पौडेल, धौलागिरी बहिरा आवसिय माविका सल्लाहकार युगेश्वर ओझा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा विद्यालयको बारेमा जानकारी गराउदै बिद्यालयका संस्थापक सदस्य केबी रानामगरले ठुलो दु:ख र मेहनतले फरक क्षमता भएका बालवालिकाको भविष्यका लागि लागिपरेकाले सरकारले यथोचित रुपमा सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।

कक्षा १० सम्म प्राविधिक धारमा समेत सञ्चालन भएको विद्यालयमा प्रावि तहमा मात्र शिक्षक दरवन्दी भएकाले यस विषयमा सरकारले ध्यान पुर्‍याउनुपर्ने उहााको धारणा थियो । कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष केपी अधिकारीको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक मधुसुदन निउरेको स्वागत र शिक्षक दिपक गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment