बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य असफल

बागलुङ, जेठ २७ । बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य बागलुङ जिल्लामा असफल भएको छ । सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्ने कार्य जिल्लामा एक वर्ष नपुग्दै असफल भएको हो ।
गाविस सचिवमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता भएको भन्दै सरकारले परिक्षणका रुपमा गत आर्थिक वर्षदेखि बागलुङ जिल्ला सहित देशका ३ वटा जिल्लामा सिटिजन्स बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको थियो ।
बैंकमार्फत समाजिक सुरक्षा भत्ता वितरण गर्दा जेष्ठ नागरिक, एकल महिला, दलित बालबालिकालाई सानो रकम लिनका लागि समेत धेरै झन्झट भएपछि गाविस सचिवमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको स्थानीय विकास अधिकारी भरत गौतमले जानकारी दिनुभयो ।
सरकारले नमुनाका रुपमा सुरु गरेको बैंकमार्फत समाजिक सुरक्षा भत्ता वितरण गर्ने अभियान असफल भएपछि बागलुङमा सामाजिक सुरक्षा भत्ता बापतको रकम गाविस सचिव र नगरपालिकको खातामा निकासा गरिसकेको स्थानीय विकास अधिकारी गौतमले बताउनुभयो ।
बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सुरक्षा भत्ता पाउनेलाई झञ्झट भएका कारण बैंकले एक वर्षका अवधीमा गरेको कार्य सन्तोषजनक नभएका कारण गाविस सचिवमार्फत रकम बाड्ने तयारी गरिएको जिल्ला विकास समितिले जनाएको छ ।
बैंकसँग एक वर्षका लागि गरिएको करार अवधी सकिएको र बैंकले करारमा उल्लेख गरेको रकममा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्ने भन्दै रकम वृद्धि गर्न आग्रह गरेपछि सचिव मार्फत भत्ता वितरण गरिने स्थानीय विकास मन्त्रालयले जनाएको छ । जिल्ला विकास समिति बागलुङले समाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन नदिने बताएको छ । गाविस सचिव मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता भएको भन्दै सरकारले बैंकमार्फत भत्ता वितरण सुरु गरेको थियो ।
समाजिक सुरक्षा भत्ता वितरणको बारेमा अनुगमन, मुल्याङकन लगायतका काम गर्न एक समिति बनाउने जिल्ला विकास समितिले तयारी गरेको छ । निर्देशिकामा उल्लेख भएबमोजिम सामाजिक सुरक्षा भत्ता वितरणको अनुगमनका लागि समाजिक शाखालाई जिम्मेवारी प्रदान गरि व्यवस्थीत बनाइने स्थानिय विकास अधिकारी गौतमको दावि छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment